Wednesday, May 10, 2017

कुलमान-२ः दुईसय मेगावाट

7:50 AM 11
कुलमान-२ः दुईसय मेगावाट

कुलमान २ : दुईसय मेगावाट

म कुलमानजीको ठूलो प्रशंसक हुँ र विगत केही महिनादेखि उहाँले गर्नुभएको कामबारे लेख्‍ने विचारमा थिएँ। कसरी उहाँले गर्दा नेपाल (त्यसमाथि पनि काठमाण्डौँ)बाट लोडसेडिङको अन्त्य भयो भनेर। पोहोर लक्ष्मीपूजाको बेला २४सै घण्टा बिजुली आएको देखेर तत्कालै ‘कसरी संभव भयो’ भन्ने आसयका प्रश्न र बहसमा सामाजिक सञ्जालमा लागेँ पनि। कुलमानजीभन्दा अगाडिका प्रमुख र नेताहरूको बदमासी थियो अनि कुलमानजीको प्रयत्न र सरकारको सहयोगले नै यो कायापलट भएको हो भन्नेमा विश्वस्त छु। खालि पोहोर र यसपालिको २४ घण्टाको प्रतिघण्टा विद्युत मागको चार्ट नपाएर अड्किएको छ लेख। पाउनेबित्तिकै लेख्‍ने नै छु। विज्ञ नभए पनि आफूले मानेको व्यक्तिले गरेको राम्रो कामको ज्ञानले भ्याएसम्म तथ्य राखेर आफ्ना कुराहरू लेख्‍न वा भन्न वन्देज छैन नै।

हिजोको कुनै पत्रकार सम्मेलनमा यहाँ निकै भावुक हुनुभएछ। पत्रकार नभएकाले त्यहाँ जाने र प्रश्न सोध्‍ने सामर्थ राखिएन। मलाई यहाँको ‘मलाई बल्ब बेचेर जनताको पैसा खानु छैन, २-४ घण्टा लोडसेडिङ गरेकै भए करोडौँ कमाउन सक्थेँ।‘ भन्ने भनाइमा अलिकति पनि अविश्वास छैन। झन् यो भनाइले विगतका प्रशासक र नेताले करोडौँ भ्रष्टाचार गरेर हामीलाई अन्धकारमा राखेका हुन् भन्ने मेरो बुझाइलाई थप बल पुगेको छ।

मेरो विमति प्राधिकरणले चीनमा ३५ रुपैँया पर्ने चिमलाई भारतबाट त्यही चीनमा बनेको बल्ब ६५ रुपैँयामा किन्न लाग्‍नुभएको र त्यो पनि ‘अख्तियार’ छल्न मन्त्रिपरिषद्‌मा लैजानुभयो भन्ने बजारमा चलेको हल्लाका पक्ष वा अझ विपक्षमा पनि त्यति छैन। जरुरी ठान्नु भयो होला। किन्न पर्ने थियो होला। चाँडो गर्ने तरिका यही ठीक थियो होला। अझ बजारमा पाइनेभन्दा सस्तोमा उपलब्ध गराउने असल नियत थियो होला। म यो विषयमा प्रवेश गर्न चाहेकै हैन। यसबारे यहाँलाई थाहै छ र यसको जवाफ पनि सुनिसकेका छौँ। जनता र यहाँ दुवै ‘जवाफ’बाट कति आश्वस्त हुनुभयो, खैर यो पुरानो कुरा भइसक्यो र मैले उठान गर्न खोजेको क्षेत्रबारे पनि परेन। सोझै सार्वजनिक खरिद ऐनअनुसार खरिद गर्दा भ्रष्टाचारको आरोप लाग्छ कि भन्ने मनसायले मन्त्रिपरिषद्‍बाट ‘नीतिगत निर्णय’ गराइएकाले केही नैतिक प्रश्न उठ्नु जायज नै होला। अझ व्यापारी, अर्का दलका मान्छे अनि अन्य प्राधिकरणका विरोधीहरू यसलाई चर्कोरुपमा उठाउन तयार नै छन्। यसरी हाकाहाकी उनीहरूलाई थप बल अब नदिनु होला भन्ने अनुरोध पनि गर्दछु।

प्राधिकरणले २ अर्ब रुपैँयामा भारतीय सरकारी स्वामित्वको इनर्जी एफिसियन्सी सर्भिस लिमिटेड (EESL) बाट २ करोडवटा ७ वाटको LED किन्ने निर्णय गर्‍यो र यसबारे उर्जा मन्त्री, उर्जा सचिव र प्राधिकरणका कार्यकारी प्रमुखको एउटै भनाइ रह्योः यसले २०० मेगावाट बिजुली बचाउँदछ। अझ सचिवजीले त हामी २ अर्ब खर्च गरेर ४० अर्ब बचाउदैछौँ भन्नुभएछ। दुई-दुईवटा इन्जिनियर, त्यसमा पनि विद्युत-इन्जिनियरले भनेपछि पत्याउनु पर्छ नै।

तर, अहँ! पत्यार लागेन।

तपाईँ हामी प्राविधिक मानिस। मेरो विधामा त कुनै महिला या त गर्भवती हुन्छिन् या त हुँदिनन्। ‘हुन पनि सक्छ’, ‘अलिअलि छिन्’ वा ‘लगभग छिन्’ जस्ता राजनीतिक ‘काइते’ दलिललाई हाम्रो विधाले त्यत्ति मान्दैन। अनि यहाँको २०० मेगावाटको दलिल मलाई कताकता त्यस्तै अमूर्त दलिल लाग्यो त सर!

नेपाल सरकारले खरिद गर्न लागेको बल्ब बेच्‍ने भारतीय कम्पनी EESL को वेवसाइट छ र त्यसअनुसार प्रति परिवार ५ वटा incandescent (ICL) बत्तीलाई LED बल्बले प्रतिस्थापन गर्दा हरेक परिवारले दैनिक १.७७ KWh र बार्षिक ६४९ KWh बचाउँदछ। हरेक परिवारमा ५ वटा १०० वाटको बल्ब छ र हरेक परिवारले सबै बल्बहरू दैनिक पुरै ४ घण्टा बाल्दछन् भन्ने हिसाबले निकालिएको यो आँकडालाई यहाँहरूले पनि हुबहु सारिदिनु भयो। भारतीयलाई त के सोध्नु, यहाँलाई सोध्‍न मन छ, यस्तै हो र वास्तविकता? के नेपालमा हरेक परिवारमा ५ वटा पारम्परिक चिम छ र त्यो पनि १०० वाटको? हुन त यहाँलाई अहिले नेपालमा विद्युत पुगेका ३५ लाख परिवारमा कति प्रतिशत बल्ब पारम्परिक छन्, कति CFL छन् र कति अहिले नै LED प्रयोग गर्दैछन् भन्ने तथ्याङ्क पक्कै थाहा होला र यो आंकलन गर्नु भएको होला। योबारे जानकारी गराउनु भएको भए तपाईँका कुरा अलिक पुख्ता हुन्थे नि हैन?

प्राधिकरण जहाँ पनि ‘२ सय मेगावाट’, ‘२ सय मेगावाट’ भनेर भन्दैछ। सरलाई त थाहै छ, संसारमा विद्युत बचतबारे बताउनु पर्दा कुन ‘शब्द’ प्रयोग गरिन्छ। सायद विदेशीहरू हामी नेपालीजति ‘मेवा’मा आसक्त छैनन् र त्यता विद्युतीय बचतलाई मेवामा नगरेर किवा-आवर वा युनिटमा हिसाब गरेर देखाइन्छ। मेवा भन्नाले कुनै पनि विद्युतगृहबाट उत्पादन हुने विद्युत बुझाउँदछ र हरेक नेपालीले २०० मेवा भन्नेबित्तिकै माथिल्लो तामाकोसीभन्दा आधा वा कालीगण्डकी र मर्स्याङ्दी जोड्दा निस्कने बिजुलीजति बुझ्दछन्। के २४सै घण्टा २०० मेवा बिजुली बराबरको बचत हो त? यो ‘ग्रे एरिया’ नराखेको भए हुन्थ्यो र सिधा दैनिक यति युनिट (वा प्रति युनिटको ग्राहस्थ महसुल जोडेर यति रुपैँया)को बचत हुन्छ भन्नु बढी वैज्ञानिक र पारदर्शी हुन्थ्यो नि, हैन र? हुन त यहाँ पिक-आवरमा भनिँदैछ। यसको मतलब बेलुकाको हरेक घण्टा २०० मेवाको बचत हुनुपर्दछ। या बेलुकाको सबै घण्टा जोडेर त पक्कै नभनिनु पर्ने। हो, यहीँ मलाई चित्त बुझेन। सबैतिर चलनमा रहेको ‘यति युनिट बिजुलीको बचत हुन्छ’ किन भन्न सक्‍नुभएन? मलाई त कताकता डर पनि लाग्यो, १३ करोड LED बल्ब किनेर पुरै १३०० मेगावाट बचत गर्दिन्छौँ भन्नु होला भन्ने।

अझ दलिल त यसरी पनि दिन सकिन्छ। दैनिक २०० मेगावाट बचत भनेको भारतसंग प्रतियुनिट ५ रुपैँया नेपालीमा बिजुली किनेको खण्डमा बार्षिक जम्मा ३६ करोड नेपाली रुपैँयामात्र पर्दछ। अझ घण्टाको २०० मेगावाट भनेको हो भने पिक-आवरको तीन घण्टाको हिसाब गर्दा पनि बार्षिक १ अर्बमा त्यति बिजुली आयात गर्न सकिन्छ। पक्कै पनि विद्युत बचाउनु पर्दछ र घरायसी खपत कम गर्न ICL वा CFL भन्दा LED बल्ब किफायती हुन्छ र त्यसमा जोड दिनु पर्दछ। तर यसको मतलब यो हैन कि त्यसका लागि अपत्यारिला तथ्यहरू अघि सार्नु जायज मानिन्छ।

भारतीय इनर्जी एफिसियन्सी सर्भिस (EESL) ले २०१६ मा प्रति परिवार बार्षिक ४००० रुपैँया बचत गर्ने भन्छ। यस हिसाबले नेपालमा १६ अर्ब नेपाली रुपैँया भन्न सकिन्छ। तपाईंका सचिव त फ्याट्टै ४० अर्ब भन्दिनु हुन्छ। यानेकी पुरै २०० मेवाको जलविद्युत आयोजनाको खर्च बच्‍ने आँकडा देखाउनु हुन्छ। क्षोभ यसमा हो कि दिनमा जम्मा २-३ घण्टा बिजुली निकाल्ने २०० मेवाको आयोजना कता र किन बन्ने रहेछ? तपाईँहरूको भाषामा Q10 जस्तो कुनै एक्स्ट्रिमतिर पर्छ होला यस्तो आयोजना। पिक आवरमा तपाईँले भनेअनुसार नै २०० मेवा बचत हुन्छ भने त्यही समयका लागिमात्र बिजुली निकालिने विद्युतगृह बनाइन्छ र? यस्तै भन्ने हो भने त २०० मेवा उत्पादन गर्ने थर्मल प्लान्ट वा अझ एटमिक रियाक्टरकै लागत भनिदिँदा पनि केही जाँदैन। भन्दिनुस्, २०० मेवा उत्पादन गर्ने एटमिक रियाक्टर बनाउने ३० खर्ब रुपैँया हामी २ अर्बका बल्ब बेचेर हाँसिल गर्दैछौँ। यस्तो पो बचत!

EESL कै हिसाबमा जाउँ ल। भारतले सबै बत्ती LED मा परिवर्तन गर्दा १०० विलियन युनिट बचत गर्ने रहेछ र त्यसबाट बार्षिक ४ खर्ब भारु (६.४ खर्ब नेरु) बचत हुने रहेछ। नेपालभन्दा लगभग ५० गुणाबढी जनसंख्या र विद्युतमा पहुँच भएको भारतमा त जम्मा ६.४ खर्ब बचत देखिँदा नेपालमा बार्षिक ४० अर्बको बचत-प्रक्षेपण अलिक बढी नै भयो कि!

आउनुस् सर, अलिकति ‘मोडेस्ट’ हिसाबतिर लागौँ।

नेपालमा ३५ लाख परिवारमा विद्युतको पहुँच छ। तथ्याङ्क त कुल जनसंख्याको जम्मा १५ प्रतिशतमात्र भन्दछ, तर मानौँ करिब २० लाख परिवार नै विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीबाट विद्युत उपभोग गरिरहेका छन्। लौ, २५ लाख नै मान्ने हो भने पनि करिब १० लाख परिवार राष्ट्रिय प्रणालीबाट बाहिर छन्। पाँचथर र बाजुराजस्ता निकैवटा राष्ट्रिय प्रणालीबाट बाहिर रहेका स्थानहरूमा जहाँ स्थानीय विद्युत उत्पादन र खपत हुन्छ, प्राय सबै ठाउँमा आजकाल LED बत्ती प्रयोग गरिन्छ भने केही ठाउँमा रहेका CFL लाई स्थानीय तहमै LED बल्बमा लैजाने प्रकृयामा रहेको बुझिन्छ। झन् ICL त त्यस्ता ठाउँहरूमा वर्जित नै छ। केही घरमा रहेका पुराना ICL बल्बलाई छाड्ने हो भने आजकाल बजारमा कुखुरा फार्मका मान्छेमात्र किन्न आउँछन् भनिँदो रहेछ त्यस्ता बल्बहरू।

अब कुरा गरौँ LED बल्बको। हाम्रा छिमेकी देशहरूतिर औसतमा प्रतिपरिवार ५ वटा बल्ब मान्ने चलन रहेछ। भनेपछि २५ लाख परिवारलाई कसरी यी बल्बहरू बेच्नुहुन्छ? अँ, अहिले त राष्ट्रिय प्रणाली पुगेका सहरबजारमा पसलमा पुरानो ICL हत्तपत्ती पाइन छाडेछ। भनेपछि प्राय परिवारले ट्युवलाइटबाहेक या त CFL या त LED प्रयोग गर्दारहेछन्। घरमा ट्युबलाइट राखेको ठाउँमा निकालेर चिमको होल्डर राख्दा नराम्रो देखिनेभएकाले नबदलिएका तर प्रयोगमा पनि नल्याउने मजस्ता धेरै छन्, त्यस्ता ट्युबलाइटवालाहरू। CFL कै बेला बद्लिन चाहेर नबद्लिएका यस्ता ट्युबलाइटहरू अब यो LED संग पनि बदलिन्नन् होला नै। भनेपछि मुख्यतया यी LED बल्बहरूले CFL लाई प्रतिस्थापन गर्ने बुझिन्छ।

अझ मैले नबुझेको त घरभरिका सबै बल्बहरू किन ७ वाटले नै प्रतिस्थापन गर्ने? मेरो घरमा ५ वाट, ७ वाट, ९ वाट र १२ वाटका CFL बल्बहरू छन्। केही LED ‘डुम’ राखेको छु। अब सोच्दैछु, यो ७ वाटको LED ले कुन कुन बत्ती बदल्ने। सायद धेरै परिवारबाट यो प्रश्न आउनेछ। प्रति परिवार ८ वटा ७ वाटको LED बेच्‍ने योजना बनाउनुभएको यहाँसंग यसको जवाफ होला नै।

मानौँ औसतमा ११ वाटका CFL बल्बहरू ७ वाटका LED संग साटिए। २ करोड नै साटिए। त्यस अर्थमा प्रति बल्ब ४ वाटप्रति घण्टाको बचत हुनेरहेछ। एउटा परिवारले बेलुकाको सात बजे सायद औसतमा चारवटा बत्ती बाल्दछ भनेर मान्दा प्रतिपरिवार १६ वाट बचत हुनेछ। यानेकी ४० हजार युनिट (यहाँहरूको भाषामा ४० मेगावाट)। तपाईँ ICL वा ट्युबलाइटको तर्क दिनुहोला, म ७ वाटभन्दा कम पावरको CFL को। अझ समाचार त अब ९ वाटको LED बल्ब भन्ने आउन थालेको छ। भनेपछि २० हजार युनिटमात्र बचत होला नि त?

सर, सरकारले अनुदानमा इन्डक्सन चुलो ल्यायो। अहिलेसम्म बेच्‍न सकेको छैन। बेच्‍न थालेको दिन थाहा हुनेछ, कति प्रतिशत चुलो काम गर्ने अवस्थामा रहनेछन्। अनि तपाईँहरू त अत्याधिक टुटफुट हुने ‘बल्ब’ बेच्‍ने सोचमा हुनुहुन्छ। हाम्रो सरकारी ‘भण्डारण’ बारे त यहाँलाई थाहै छ। अनि एउटा ठाउँबाट अर्को ठाउँमा लाने ‘सरकारी’ तरिका। अझ, ‘बिके बिक्छ नबिके बिक्दैन’वाला कर्मचारीको मानसिकता। साँच्‍चै नै २ करोड बल्ब बिक्री हुन्छ भन्ने सोच्नुभएको हो भने त भन्नु केही छैन, तर ५०% ड्यामरेज सोचेरमात्र मूल्य राख्‍नु बुद्धिमानी हुने देखिन्छ है सर। अहिलकै बिक्री मूल्यमा एक बर्षपछि हिसाब निकाल्दा २ अर्ब उठेनभने के गर्नुहुन्छ त?

अलिकति स्वास्थ्यको कुरा पनि जोड्छु है। सायद यहाँलाई थाहै होला, यहाँहरूले किन्न लाग्नुभएको LED बल्बले निकाल्ने नीलो प्रकाशले आँखालाई असर पार्दछ र पढ्नका लागि योग्य बल्ब मानिँदैन। केही देशका विद्यालय र घरहरूमा पढ्ने प्रयोजनमा पारम्परिक LED बल्ब प्रयोग गर्न मनाही गरिएको छ र त्यसका लागि केही महँगो र उन्नत ‘रिडिङ LED बल्ब’ प्रयोग गरिन्छ। यी बल्ब पनि त्यस्तै हुन् र सर?

जब दिगो उपाय नखोजेर ‘पपुलिस्ट’ वा ‘शंकास्पद’ उपायतिर गइन्छ, केही प्रश्नहरू स्वत उठिहाल्दछन्। ICL प्रतिस्थापन गर्ने उत्तम उपाय त नेपालमा त्यसको उत्पादन बन्द गरेर र विदेशबाट हुने आयातमा निकै धेरै भन्सार महसुल लगाएर गर्न सकिन्छ। त्यस्तै  CFL मा भन्दा  LED मा महसुल अत्याधिक छुट दिएर बजारमा LED को भाउ घटाउन सकिन्छ। अझ, चीनमा ३० रुपैँयाको हाराहारी पाइने LED बल्बको भन्सार प्रतितपत्रअनुसार बजारमा अधिकतम मूल्य निर्धारण गर्न र अनुगमन गर्न नसकिने हैन। यति सजिला र दिगो उपायहरू हुँदाहुँदै हाम्रो असक्षम सरकारी संयन्त्र प्रयोग गरेर सबै २ करोड बल्ब बिना टुटफुट एकबर्षभित्रै बेचिसक्ने असम्भव बाटो किन समात्‍नु भयो, मेरो दिमागले उत्तर सोच्न सकिरहेको छैन। मनमा त अझ डर छ, कतै पुरानो CRT टेलिभिजन सेटभन्दा LED टेलिभिजन सेटले औसतमा ८० वाट कम विद्युत खपत गर्दछ र दैनिक ५ घण्टाको दरले चल्ने ती सेटहरू प्रतिस्थापित गरेर ४० मेगावाट विद्युत बचत हुन्छ भन्ने आँकडा देखाएर भविष्यमा प्राधिकरणले १ लाखवटा LED टेलिभिजन सेट बेच्‍ने निर्णय गर्ला।

अहिलेका पारम्परिक दलका नेताहरूलाई प्रश्न सोधिँदैन। यिनीहरू खत्तम छन् भन्ने हाम्रा दिमागमा छाप परिसकेको छ। तर एउटा ठूलो अपेक्षा राखेको यहाँसंग स-साना कुरामा पनि विमति राख्‍न मन लाग्दोरहेछ। एउटा सदाबहार प्रशंसकका हैसियतले मेरो जिज्ञासा यहाँलाई भ्रष्ट भन्न र रुवाउन हैन नै। फगत यस्ता झिनामसिना कुराहरूमा पनि भविष्यमा ध्यान दिनु हुनेनै छ भनेर नै हो। यहाँप्रति मेरो विश्वास सदा झैँ अटल रहोस्।


धन्यवाद!