Thursday, November 3, 2016

अनाहकको हन्डर: विमला गुरूङलाई चिठ्ठी



 अनाहकको हन्डर



श्रीमती विमला गुरूङजी,

तपाईँले यही असोज २९ गतेको बाह्रखरीमा ‘मरेर बाँचेको दिन’ शीर्षकमा अनुभव लेख्नुभएको रहेछ । तपाईँले दु:खमात्र हैन, एकप्रकारको यातना नै भोग्नु परेछ  । झन्, त्यसमाथि त्यो हन्डर खेपाइमा अधिकांश चिकित्सकहरू दोषी देखिँदा हामी अन्य चिकित्सकलाई पनि अपराधबोध हुनु स्वाभाविक नै हो र मलाई पनि भइरहेछ । सरी!

तपाईँका मूल प्रश्नहरू ‘विशेषज्ञ डक्टर हुँदाहुँदै मलाई किन अर्को अस्पताल पठाए? मेडिकल मूल्यमान्यताविपरीत उनले किन मलाई एक एक महिना गलत उपचार गरे ? दैलोअगाडिको डक्टरमा किन रेफर गरेनन्? किन डक्टरहरू बिरामीलाई सास्ती दिन्छन्? आफ्नो पेसामा रमाएर काम गर्ने नर्स किन छैनन्?’ भन्ने रहेछन् । तपाईँले देखाएको अस्पतालका विशेषज्ञ डाक्टर तपाईँको रोगबारे कति अनुभवी छन् भन्ने पनि बुझ्नुभएको होला । निजी अस्पतालका डाक्टरले आफ्नो अस्पतालमा त्यो सेवा हुँदाहुँदै अर्को निजी अस्पतालमा अर्कै डाक्टरलाई रेफर गर्नु त्यति सजिलो नहोला । बेकारमा अस्पताल मालिकको वक्रदृष्टीमा पर्ने चाहना कसैलाई नहोला । तेस्रो प्रश्नको उत्तर पनि यही नै हो । रहे दोस्रो, चौथो र पाचौँ प्रश्नहरू । म सकभर सबैले बुझ्ने भाषामा यी प्रश्नहरूको जबाफ र तपाईँको रोगबारे लेख्ने प्रयास गर्ने छु । अत्यावश्यक केही डाक्टरी शब्दहरूलाई पनि सरल बनाउने कोसिस गरेको छु, सायद बुझिन्छ । केही द्विविधा भए पहिलाजस्तै ‘गुगल’ गर्नुहुन अनुरोध पनि छ है !

‘पेरिफेरल आर्टरी डिजिज्’ त्यति अनौठो र दुर्लभ रोग होइन । उदाहरणका लागि हालैको अमेरिकी अध्ययनअनुसार अमेरिकामा करिब ८५ लाखलाई यो रोग छ र ६० वर्षमाथिका अमेरिकीमा त हरेक पाँच जनामध्ये एक जना यस रोगबाट ग्रसित छन् । तपाईँलाई ‘करोडौँमा एकजनालाई हुने रोग’ बताइएको भारतमा पनि प्रतिहजारमा १७ जना हरेक वर्ष यस रोगबाट आक्रान्त हुने एक अध्ययनले देखाएको छ । नेपालमा यसरी तथ्याङ्क राख्ने चलन नभए पनि टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्रमा हरेक दिनजसो आउने बिरामीहरू हेर्दा यो हाम्रामा पनि त्यति दुर्लभ नभएको बुझिन्छ । अझ टिचिङ अस्पतालको मनमोहन केन्द्रको भास्कुलर युनिटका तीनचार जना विषेशज्ञ त यसै रोगका बिरामीहरूको उपचारमा भ्याइनभ्याई लागिरहेका छन् ।

यो रोग दुई प्रकारको हुन्छ - एक्युट र क्रोनिक ।
एक्युट भनेको पहिला रोग नलागेको रगतको नलीमा अरु ठाउँबाट (उदाहरणका लागि मुटु) जमेका रगतका ढिक्का वा अन्य बाहिरी ठोस पदार्थहरू बग्दै आएर अड्किएपछि उत्पन्न हुने ‘रक्तसंचारको कमी’ हो । यसरी एक्कासि रक्तप्रवाह बन्द हुँदा अचाक्ली दुख्छ, खुट्टा नीलोकालो हुन्छ र कालान्तरमा चाल नपाइने, चलाउन नसकिने र औँलाबाट क्रमशः कुहिन थाल्ने (गान्ग्रिन) हुन्छ । अड्किएको ठाउँ हेरी यसलाई तुरुन्तै उपचार गर्नुपर्ने वा केही समय पर्खिएर त्यस ठाउँलाई बाइपास गर्ने वा दबाईमात्र दिने हुन सक्छ । काछभन्दा तल र घुँडाभन्दा माथि यसरी बन्द हुँदा इमर्जेन्सी अपरेसन गर्ने गरिन्छ । सजिलो र न्यून खतरा हुने एम्बोलेक्टोमीले गुम्नसक्ने जोखिम भएको खुट्टामा रक्तप्रवाह सुचारु गरिन्छ ।

तर, यहाँलाई भएजस्तो काछमाथिको आइल्याक आर्टरी बन्द हुँदा चाहिँ या त एम्बोलेक्टोमी या त बाइपास गरिन्छ या त कुनै समस्या नदेखिएमा दबाईमात्र पनि दिइन्छ । क्रोनिक पेरिफेरल आर्टरी डिजिज्‌मा चैँ सुरुमा हिँड्दा दुख्ने, बिस्तारै महिनौँपछि खुट्टा सुक्दै जाने र कुहिने हुन्छ । तपाईँले भनेअनुसार तपाईँलाई एक्युट पेरिफेरल आर्टरी डिजिज्‌ भएको बुझिन्छ । काछभन्दा माथि भएकाले देब्रे खुट्टामा अन्य ससाना हाँगाबिँगाहरूबाट केहीमात्रामा रक्तसंचार भइरहने हुनाले तुरुन्तै अपरेसन नगरे पनि खुट्टा बचेको हो । संभावनाका हिसाबले त्यो रगतको ढिक्काबाट केही साना चोक्टाहरू फेरि बग्दै औँलाका नसाहरूमा आएर अड्किए र ती औँलाहरू मरे । लगभग तपाईँको रोग यही हुनुपर्छ ।

विमलाजीको अनुभवअनुसार नै घटनाहरू घटित भएका हुन् भने खुट्टालाई नछोईकनै दबाई लेख्ने डाक्टर आचार्य, चुरोटबारे चाहिआ सोध्ने तर खुट्टाको नाडी नछाम्ने डाक्टर महरा, नछामीकनै न्युरो अस्पताल कुदाउने र नीलो कालो खुट्टामा हथौडाले ठाकठुक गर्ने डाक्टर श्रेष्ठका दोष क्षम्य छैनन् नै ।

पेरिफेरल आर्टरी डिजिज्‌को जाँचमा सुरुमा चिकित्सकले छालाको रंग हेर्ने, खुट्टाको नाडी र तापक्रम छाम्ने र आवश्यक ठानेमा खुट्टा र हातको रक्तचाप नाप्ने गर्छन् । यो रोग नै हो भन्ने भएमा प्रायः खुट्टाको धमनीको डप्लर अल्ट्रासाउन्ड गरिन्छ र नलीमा रगतको बहाव कम वा छैन भन्ने रिपोर्ट आएमा सिटी, एमआरआई वा क्याथल्याबमा एन्जियोग्राम गरिन्छ र उपचार विधि निर्क्योल गरिन्छ । डप्लर-अल्ट्रासाउन्डका लागि रेडियोलोजिस्टले गुगल गर्ने के जरुरत ठाने, सजिलै बुझ्न सकिन्न । पक्कै पनि डप्लर सस्तो र सजिलो उपाय हो । रगतको नली बन्द वा साँधुरो छ भन्ने प्रारम्भिक नतिजा आएछ भने बल्ल सिटी एन्जियोग्राम गराउनु नैतिक र आर्थिक हिसाबले पनि सही कदम मानिन्छ । कुनै चिकित्सकले डप्लर वा अन्य सुलभ विधि नअपनाई एकैपटक एन्जियोग्राम गराउन थालेमा हामी नै ‘कमिसन’को खेल भन्न फिटिक्कै डराउन्नौ ।
एकैछिनमा हुनुपर्ने डप्लरमा भएको ढिलाइले सिटी-एन्जियोग्रामको रिपोर्ट आउँदासम्म अनाहकमा खेर गएको बहुमूल्य समयबारे सम्बन्धित चिकित्सक दोषी देखिन्छन् । यसबाट उनीहरू उम्किन पाउन्नन् । वीर अस्पतालका यसै रोगसँग सम्बन्धित विशेषज्ञ डा. किरण श्रेष्ठले सही सुझाव दिएको तर विविध कारणले जाँचमा ढीला भएको बुझिन्छ । चीसो र नीला काला भइसकेका खुट्टा र झन् तीनतीनवटा औँला कुहिसकेको अवस्थामा डाक्टरले कुनै पनि हालतमा रोग पत्ता लगाउन सकिन भन्न पाउन्नन् र हेल्थ असिस्टेन्टले समेत जान्नुपर्ने लक्षणहरू नदेख्नुमा हड्डीरोग विशेषज्ञ वा फिजिसियन, कानुनीरुपमा कसैले पनि उन्मुक्ति पाउन्नन् । 

पक्कै पनि ब्लुक्रसको भन्दा केएमसीको सिटी स्क्यान मेसिन उन्नत छ र झन् सिटी एन्जियोग्रामका लागि ब्लुक्रसको मेसिनले भरपर्दो तस्बिर निकाल्न सक्दैन । आजका दिनमा केही सरकारी अनि केएमसी र ग्रान्डीलगायत थोरै निजी अस्पतालहरूमा राम्रा सिटीस्क्यान मेसिनहरू छन् जसका रिपोर्टका भरमा कस्तो उपचार गर्ने भन्ने निर्क्योल गर्न सकिन्छ । सस्तो र उही गुणस्तरको निजामती अस्पताल किन पठाएनन्, ती डाक्टरसँग जवाफ होला नै ।
****

आउनुस्, अलिकति तपाईँलाई उत्कृष्ट लागेको विदेशी अस्पतालका चिकित्सकका बारेमा पनि केही छलफल गरौँ । नेपालमा तुरुन्तै उपचार गरिने रोगका लागि पनि यहाँलाई मेदान्तामा सातादिनभन्दा बढी कुर्नुपरेछ ।

एकपटक यसो सोच्नुहोस् त, चिकित्सकले कुनै अँग काटेर अपाङ्ग बनाउनुभन्दा अगाडि अरु उपाय लगाउन्नन् होला? के डाक्टरले झिनो आशा भए पनि अँग बचाउनतिर लाग्दैनन् होला? मलाई त ती चिकित्सक बडा निर्दयी लागे, एम्बोलेक्टोमी गर्ने उपाय हुँदाहुँदै सिधै दुईटै खुट्टा काट्नुपर्छ भन्दिएछन् । ‘मिराकल’को समेत आशा नगरेका चिकित्सकले किन एम्बोलेक्टोमी गरे? बिरामी र आफन्तले भने भन्दैमा ‘काम नलाग्ने’ अपरेसन गर्न चिकित्सकको नैतिकताले दिन्छ र ? हरेक अपरेसनमा थोरबहुत ज्यान जाने जोखिम हुन्छ नै । त्यस्तै हुनु हुनामी भएको भए ती चिकित्सकले आफूलाई हत्यारा ठान्थे कि ठान्दैन थिए ? म ठम्याउन सकिरहेको छइन । झन् रगत नै नचाहिने अपरेसनका लागि १२-१५ जनाको रगत किन खोज्न लगाए, अंदाज लगाउन त सकिरहेको छु तर चिकित्सकलाई त्यस रुपमा सोच्न मन मानिरहेको छैन ।  अँ, देब्रे खुट्टाको त एम्बोलेक्टोमी गरेछन्, काट्नुपर्छ भनेको दाहिने खुट्टा चाहिँ कसरी ठीक भयो, लेखिदिनु भएको भए राम्रो हुन्थ्यो ।

बाइपास सर्जरी भन्दा हाँस्नुपर्ने कारण देखिएन । हो, पक्कै पनि त्यो हाँसो नेपालबाट जाने प्रायशः बिरामीको ‘मुर्गा बन्ने’ चाहना लक्षित हुनुपर्छ या त नेपाली डाक्टरलाई उडाउँदा बढी ग्राहक आउँछन् भन्ने छट्टु ‘बनियाँ’ बुद्धि हुनुपर्छ । काछभन्दा माथिको आइल्याक आर्टरीमा अवरोध छ र काछतलको फिमोरल आर्टरी ठीक छ भने एम्बोलेक्टोमी वा बाइपास गर्नुपर्छ, खुट्टा काट्ने हैन भन्ने ती चिकित्सकलाई थाहा थियो, तर लेख लेख्ने लेखिकालाई थाहा हुने कुरै थिएन । हाँसे । उडाए । अनि हामी उड्यौँ । आफ्नै आङको छारो उडायौँ ।

अझ, धमनीमा जमेको रगत दिमाग वा मुटुमा पुग्छ भनेर जानकारी दिने चिकित्सकको ज्ञान अभूतपूर्व लाग्यो । संसारमा कहीँ नभएको ज्ञान दिएछन् । अर्कोपटक जाँदा कसरी धमनीको रगतको चोक्टा दिमाग वा मुटुमा पुग्छ भनेर सोध्नुहोला र हामीलाई पनि त्यो ज्ञान प्राप्त गर्ने मौका दिनुहोला है ! धमनीमा जमेको रगत तलतिर बग्दछ, मुहानमा पुग्दैन भन्ने जान्न डाक्टर नै हुनुपर्दैन, खोला हेरे पुग्छ पनि भनिदिनु होला।

तपाईँको अपरेसनकै केही कुरा पनि भन्न चाहन्छु । तपाईँलाई अपरेसन गरेपछि आईसीयुमा राखिएको बुझिन्छ । ४० घण्न्टा बेहोस? पढेर म नै झन्डै बेहोस भएँ । हाम्रामा त काछमा नदुख्ने दबाईको सुई लगाएर आधा धन्टाभित्र वार्डमा पठाउने चलन छ र यो चलन संसारभर व्याप्त छ । अझ, गंगालालमा त दबाई जाँच र अपरेसनसहित कुल लागत २० हजार हाराहारी छ । त्यहाँ कति थियो, कुन्नि ? पैसाकै लागि बेहोस बनाएर हाम्रातिरको ‘माइनर सर्जरी, ग्रेड दुईलाई ‘मेजर सर्जरी’ बनाएनन् भन्ने आधार भेटिएन । शंका त गर्न पाइन्छ नि ! 

आउनुस्, अलिकति नर्सका बारेमा पनि कुरा गरौँ । तपाईँ प्लेनमा नै दिल्ली जानुभएको होला । काठमाडौंका सार्वजनिक बसका कन्डक्टर र विमानका परिचारिकामा फरक देख्नु भयो नि, हैन? हामी नेपाली हरपल दोधारे मानसिकता लिएर बाँच्छौँ । तपाईँ आफैँ सरकारीभन्दा राम्रो पढाइ हुन्छ भनेरै आफ्नो स्कुलमा भर्ना हुन चाहने विद्यार्थीका अभिभावकहरूलाई अलिक धेरै शुल्क तिर्न लगाउनु हुन्छ । सायद अध्यापकहरू पनि सरकारी वा न्यूनस्तरका निजी विद्यालयका भन्दा राम्रा राख्नु भएको छ, कम काम दिनु हुन्छ र राम्रो पारिश्रमिक दिनुभएको छ । यहाँलाई थाहै छ, विद्यालय होस् वा अस्पताल, निजी छ भने त्यसले दिने सेवाको त्यहीअनुसार सेवाग्राहीबाट असुलउपर गर्छ । नेपालमा केही निजी अस्पतालले त कति नर्सहरूलाई तलबै नदिई वा अति न्यूनतम तलबमा काम लगाउँछन् भनेर बारम्बार छापामा आएको पढ्नु भएकै होला । अनि अलिक बढी तलब दिने केही अस्पतालमा जाँदा ‘ए! त्याँ त लुट्छन्’ भनेर भनेको पनि सुन्नु भएकै होला । मेदान्ताजस्तै हरेक बिरामीलाई स्याहार गर्न दुई दुईजना नर्स राख्न पाए कति राम्रो हुन्थ्यो, सोच्नुस् त । आहा! कति बेरोजगार नर्स नानीहरूको घर चल्थ्यो र काम होलो भएर तिनीहरू पनि हाँसीहाँसी काम गर्थे ।
तर, फेरि तिनीहरूलाई दिने तलब चैँ तपाईँ हाम्रै गोजीबाट जान्थ्यो नि । अस्पतालले लुटेको हैन है त! तन्नादेखि हाँसोसम्म सबै पैसाले किन्ने जमानामा बाँच्न गाह्रो तलब र अनगिन्ती बिरामीको जिम्मा पाएकी नर्ससँग तपाईँले राखेको अपेक्षा कति यथार्थपरक छ, सोच्नुहोला ।
****

मैले यो पत्र लेख्नुलाई ‘नदुखेको कपाल डोरी लगाएर दुखाएको’ नबुझियोस् । आज नेपाली चिकित्सक समाज चारैतिरबाट घेरिएर निरीह बनिरहेको देखिरहेछु । एकातिर विश्वसनीयता नबुझी लेख्ने पत्रकार छन् भने अर्कातिर कुनै बिरामीलाई तलमाथि हुनेबित्तिकै कानुनी उपायतिर नलागेर पकेटमारलाई झैँ हात जोडाएर सार्वजनिक माफी मगाउने वा लेनदेन मिलाउने प्रशासक र जनता छन् । अझ त्यसमा नुनचुक लगाउन त रुघा लाग्दासमेत राज्यको सम्पत्तिमा विदेशी उपचार खोज्ने शासकवर्ग तम्तयार बसेको छ । यो तपाईँको लेख पनि कतै त्यस्तै नियोजित हतियार त हैन भनेर शंका गरेकोमा क्षमाप्रार्थी छु नै ।

आफ्नो रोग र त्यसको निदान नहुँदा पाएको हन्डरबारे सविस्तार लेख्नु भएकीले म विश्वस्त छु यहाँसँग ती सबै नेपाली डाक्टरहरूका पुर्जा र जाँचका रिपोर्टहरू छन् । यहाँले लेखेजस्तै भएको खण्डमा ती चिकित्सकहरू कानुनतः दोषी छन् र नेपाल अझसम्म पनि कानुनी राज्य नै हो । निकैवटा कमजोरी देखिएका छन्, पक्कै पनि उम्किन पाउँदैनन् । तपाईँ जति अन्य बिरामी भाग्यमानी नहुन सक्छन् ।

तिनीहरूकै भविष्यका लागि पनि यहाँले कानुनी बाटो समात्नु जरुरी छ । आउनुस्, ती दोषीहरूलाई सजाय दिलाऔँ । हुन त यहाँको लेखमा मेरो नाम आएको भए म पक्कै पनि कानुनी उपचार खोज्थेँ, अनाहकमा मानहानि गरेको भनेर । यदि मेरो उपचार र निदानमा कुनै त्रुटि छैन भने यस्तो आरोप मलाई कदापी सह्य हुँदैन । यहाँको वा ती नाम आएका चिकित्सकहरूको मौनले भविष्यमा अर्थ लगाउने नै छ । बेकारमा मुद्दा गर्न मन लागेन भन्ने अभिव्यक्ति नआओस् । दुवै खुट्टा सद्दे नै रहुन् भन्ने शुभकामनाका साथै रगत जाँच अनि दबाई मिलाउने काम हाम्रो अस्पतालमा पनि गरिन्छ भन्ने जानकारी पनि यहीँ दिइहाल्छु । भेट्न मन छ नै । धन्यवाद !

सहयोग गर्न अग्रसर रहेको जानकारीसहित,
रामेश कोइराला

प्रकाशित: ३० असोज, ०७३, बाह्रखरी
लिङ्क: https://t.co/XorRzKyBpZ
        http://baahrakhari.com/news-details/7940/2016-10-16#sthash.K0LBkEGz.kaiyYCci.dpbs

विमला गुरुङको लेख  यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ । http://baahrakhari.com/news-details/7860/2016-10-15

No comments:

Post a Comment