Wednesday, April 4, 2018

भूमिपुत्र



हरेकपटक स्कुलमा लामो बिदा हुनेबित्तिकै हामी मावलको मेजमानी खान भद्रपुरबाट चार कोस पश्चिमको राजगढतिर लाग्थ्यौँ । बेलुकाको खाना खाइसकेपछि हामी भुराभुरी हजुरबाको वरिपरि झुम्मिन्थ्यौ । गर्मीका रात माथि बार्दलीमा जमघट हुन्थ्यो । हाम्रा हजुरबा टिनको छानामा कराइरहेको झरीलाई पनि जित्‍ने स्वर निकालेर हामीलाई कथा भनिदिनुहुन्थ्यो । उहाँको धाराप्रवाह कथावाचनलाई बेलामौकामा मच्छड मार्दाको प्याट्ट प्याट्टले मात्र अल्मल्याउँथ्यो । जाडोको छुट्टीका बेला भने केटाकेटीहरूको बढदो उत्सुकताबाट हौसिएर हजुरबा आँगनमा सालको आँख्ला परेको गिँडमा जिउँदै रहेको आगोको बिउलाई ससाना झिक्रा र घुर मिसाएर बिउँताउनु हुन्थ्यो, फूऽऽऽ फूऽऽऽऽ । सालका जरा र घुर मिसिएर पुत्पुताउँदै गरेको धुँवातल दुई-चारपटक जोडले फुकेपछि  सानो ज्वालो देखिन्थ्यो । अनि ‘सिउऽ सिउऽ‘ गर्दै त्यही मरन्च्याँसे ज्वालामा एकछिन हात सेकेपछि हजुरबा सन्तुष्ट देखिनु हुन्थ्यो । केही सुकेका झिक्रा थपथाप गर्दै हामीलाई कथा सुनाउन लेघ्रो तान्नुहुन्थ्यो ।

वर्षौँसम्म हिउँद-बर्खै सुनाउँदा पनि हजुरबाको कथाभण्डार रित्तिँदैनथ्यो । एउटा कथा चाहिँ पटक-पटक दोहोरिए पनि हजुरबाको कथा भन्ने शैली र हरेकपटक केही थपथाप गर्ने बानीले गर्दा हामी पनि त्यो पहिल्यै सुनेको कथा पनि नयाँ मानेरै सुनिदिन्थ्यौँ, बडो चाखले ।

अँऽऽऽऽऽ !
उहिले उहिले उहिले, द्वापरयुग सकिनेबित्तिकै भारतबर्षको गंगातटको मैदानको कुनै गाउँमा जन्मे-हुर्केका एकजना ज्ञानी पुरुषलाई कलियुगका बारेमा गहन अध्ययन गर्न मन लागेछ । उनी हिमालय पर्वतमा गएर अध्ययन र चिन्तन मनन गर्न भनेर मुनिभेषमा उत्तर दिशातर्फ लागेछन् । जाँदा जाँदा जाँदा एकदिन एउटा नदी पहाडको खोँचबाट निस्किएको ठाउँमा आइपुगेछन् । नदीको कलकल, दुवैतिरका घना जंगल अनि फलफूल र कन्दमूलको त भण्डारैजस्तो त्यो ठाउँ ती मुनिलाई निकै नै रमणीय लागेछ । अनि उनी केही दिनका लागि त्यसै नदीको पश्चिमी तटनजिकै एउटा कुटी बनाएर बसेछन् । उनी अधिकांश समय ध्यान, पूजापाठ र भक्तिमै दिन बिताउँदा रहेछन् । त्यस्ता ज्ञानी मान्छेलाई गुरु थापेर शिक्षा लियो भने यो इहमात्रै होइन, परलोकै समेत सुध्रिन्छ भन्ने हल्ला चारैतिर फैलिएछ । त्यसैले वर परका मान्छे शिष्य बन्न आउन थालेछन् ।

ती मुनि बेलाबेलामा भने उनी अनौठा अनौठा प्रयोग गर्ने र त्यसबाट आफूले थाहा पाएका कुरा भोजपत्रमा लेख्ने काम पनि गर्न थालेछन् । एकदिन ती महात्माले आफ्ना शिष्यहरूलाई नदीको किनारामा एउटा ठूलो खोर बनाउन लगाएछन्, बीचमा एउटा काठको सिँढी समेत हालीवरी । छेवैको रूखको सियालमा आफू बस्ने व्यवस्था गरेर शिष्यहरूलाई अह्राएछन्, ‘जाओ, उताको जंगलबाट एक हुल बाँदरहरू समातेर ल्याओ !’
शिष्यहरूले पनि आज्ञा शिरोपर गरेछन् । मुनिले बाँदरहरू ल्याइनु पूर्व नै खोरको छतमा एकघरी केरा पनि बाँध्न लगाएछन्, सिँडी चढेर भेटिने ठाउँमै । शिष्यहरूले पनि जंगलबाट पाएसम्मका जात-जातका खोजेर बाह्र-पन्ध्रवटा बाँदरहरू ल्याइपुर्‍याएछन् । मुनिले तीमध्ये दशवटालाई छानेर खोरमा थुन्न लगाएछन् र बाँकीलाई जंगलमै छाड्न लगाएछन् । अनि त शिष्यहरूलाई ‘यसो यसो गर्नु है’ भनेर अह्राईवरि उनी ती बाँदरहरूको गतिविधिको विवरण लेख्‍न बसेछन् ।

केही क्षणपछि एउटा बाँदरले छतको केरा देखेछ । स्वाभाविक कुरो थियो, देखेपछि त्यो बाँदर केराको लोभमा सिँडी चड्नु । त्यसपछि त मुनिका शिष्यहरूले तुरुन्तै पिँजडाभित्रका सबै बाँदरहरूलाई ठिहिर्‍याउने चिसो पानी छ्याप्न थालेछन् । बाँदर एकैठाउँ भेला भएछन् । सिँढी चड्दै गरेको बाँदर पनि लुगलुग काम्दै बथानमा मिसिएछ । केहीबेरपछि अर्कालाई पनि केरा खान मन लागेछ । तर ऊ पनि सिँढीको खुड्किलो उक्लिन के  खोजेको थियो फेरि सबैलाई चिसो पानीले निथ्रुकै पारिएछ । एवं रितले चार- पाँच पटक भिजेपछि उनीहरूले बुझेछन्।
‘केराको लोभ गरेर  जसले सिँढी चढ्न खोजे पनि सबैले दु:ख पाउँदा रहेछन् ।’

अनि उनीहरू सिँढी चढ्नु त परै जावस्, त्यतातिर हेर्न पनि छाडेछन् ।
मुनि लेख्दै गएछन् । विचार गर्दै गएछन् ।
‘जाओ, फेरि त्यो पारिको वनबाट एउटा बाँदर पक्रेर यहाँ हुलिदेओ अनि एउटा पुरानोलाई यतापट्टीको जंगलमा छाडिदेओ !’ उनले अर्को आदेश दिएछन् ।

शिष्यहरूले फेरि पनि पहिले जसरी नै आज्ञा शिरोपर गरेछन् र पिँजडाको छेउमा चिसो पानीको भाँडो लिएर बसेछन् ।

अब त्यो नयाँ बाँदरले पनि केरा देखेछ । उसलाई पनि केरा खान मन लाग्नु स्वाभाविक नै थियो । ऊ पनि सिँडी समात्‍न पुगेछ । तर अचम्म ! उसलाई नौवटै बाँदरले झम्टेर सिँडीबाट तानेछन् । लछारपछार पारेछन् । पिटेछन् । चिथोरेछन् । नयाँ बाँदर रनभुल्ल परेछ । आफूलाई त्यस्तो गरिंदैछ भन्ने उसले बुझ्नै सकेनछ । केहीबेर सुस्ताए पछि उसले विस्तारै कहिले अरू बाँदरतिर त कहिले केराको घरीतिर हेरेछ । लोभले फेरि जितेछ र ऊ फेरि सिँडीतिर लम्किएछ ।
तर उसले फेरि पनि गोदाइ नै खाएछ र केरा खान पाएनछ । एवं रितले दुई-चारपटकको भकुराइपछि बल्ल चेतेछ ।
‘सिँडीतिर गइयो भने बर्बाद हुन्छ ।’
त्यो अद्‍भुत प्रयोगको अभिलेख लेखिरेहका ऋषीले शिष्यहरूलाई फेरि अह्राएछन्, ‘फेरि एउटा पुरानो बाँदरलाई पश्चिमतिर छाडेर नदी पारिबाट नयाँ बाँदरलाई पक्रेर ल्याएर पहिला जसरी नै थुन ।’

शिष्यहरूले गुरुले भने बमोजिम नै गरेछन् । नयाँ बाँदर पनि केरा देखेपछि लोभिएछ । अनि सिँडीतिर लम्किएछ । पुराना आठवटै बाँदर झम्टिएछन् । नवौँ, अर्थात् ऊभन्दा अगाडि ल्याइएको बाँदर शुरुमा त अलि अलमलिएर अरू आठवटाले नयाँ बाँदरलाई पिटेको हेरिरहेछ ।
अनि अचम्मसित ऊ पनि हुलमा मिसिएर त्यो सिँडीतिर लम्किने  नयाँ बाँदरलाई कुट्न थालेछ । उसलाई केरा खान खोज्दा पहिलो, दोस्रो बाँदरले कुटाइ खाएको प्रसङ्ग थाहा थिएन । आफूले किन कुटाइ खाएँ र यो नयाँले किन कुटाइ खाँदैछ भन्ने पनि थाहा थिएन । तर पनि उसले पनि नयाँ बाँदरलाई पिटेछ । 
मुनि मुसुक्क मुस्कुराएछन् । फेरि भोजपत्रमा केही लेखेछन् र उसैगरी शिष्यहरूलाई अह्राएछन्, ‘पुरानो एउटालाई पश्चिमतिर छाडेर पूर्वबाट नयाँ ल्याएर थुन्नू !’
यही प्रयोगलाई फेरि फेरि दोहोर्‍याउँदै बिस्तारै त्यस खोरबाट पुराना सबै बाँदरहरू अर्कै जंगलमा पुर्‍याइएछन् । पिँजडामा नयाँ बाँदरहरू मात्र बाँकी भएछन् । ती मध्ये कुनैले पनि ठिहिर्‍याउने पानीमा भिज्नुपरेको थिएन । कसैलाई पनि थाहा थिएन, एउटाको केरा खाने लोभले सबैलाई कसरी सताउँछ भन्ने ।

तर पनि कुनै बाँदर सिँडी चढ्न लम्कियो कि बाँकी सबै मिलेर त्यसलाई भकुर्न थालेछन् । मुनि यो देखेर दङ्ग परेछन् । उनले मन्द मन्द हाँस्दै भोजपत्रमा लेख्‍ने काम सकेछन् । आसनबाट उठेर नदीसम्म गएछन् । बगर मा उम्रिएको एउटा सिरुको पात टिपेछन् । अलिक मधुरो स्वरमा मन्त्रोच्चारण गरेर त्यो पात नदीतिर हुर्र्याएका मात्र के थिए, नदीमाथि डोरीको पुल बनेछ। अनि फर्केर बाँदरहरूलाई पनि त्यसैगरी मन्त्रिएर खोरको ढोका खोलिदिएछन् । बाँदरहरू सम्मोहितजस्तै भएर खुरुखुरु नदीतिर लागेर डोरीमा झुण्डिएछन् । शिष्यहरू पनि गुरुको चमत्कार देखेर दङ्ग परेछन् ।

अझ ठूलो चमत्कार त बाँकी नै रहेछ । जसै ती बाँदरहरू नदीमाथि डोरीमा झुण्डिएर नदीको पल्लो किनारातिर पुग्न थाले उनीहरूको पुच्छर पनि फुतुफुतु खसेछ । झन् किनारैमा पुग्दा त शरीरका रौँ पनि खस्न थालेछ । अन्तिम बाँदर पारि पुग्नेबित्तिकै उनीहरू तरेको डोरीपनि उनीहरूको पुच्छर जसरी नै हराएछ ।

अनि ती बाँदरहरू मानिसका रूपमा विकसित भएछन् । ती मुनीले पनि भोजपत्रमै एउटा शोधग्रन्थ तयार पारेछन् । स्वाभाविक थियो, कालान्तरमा त्यो नदीको पूर्वपट्टिको देश तिनै मुनीको नामबाट चिनिन थालेछ ।

**

7 comments:

  1. गज्जब! म फ्यान भएको त्यसै होइन । You are undoubtedly real genius 🙏🙏

    ReplyDelete
  2. राम्रो छ सर!हजुरको हरेक ट्वीट स्तरीय हूँछ

    ReplyDelete
  3. हैट्ट ! क्या गजब । यसले तहल्का पिट्छ । थोरै सम्पादन गर्न चैं बॅाकी होला जस्तो छ है ।

    ReplyDelete