Saturday, May 12, 2018

नेपाल-भारत सम्बन्धः नयाँ उचाईमा!



सम्बन्ध त नयाँ उचाईमा पुग्यो पुग्यो।
यसपालि नेपाल-भारत सम्बन्ध फेरि नयाँ उचाईमा पुग्यो। केही महिनाअघि नेपालका प्रधानमन्त्रि भारत गएर आउनु भयो। त्यसबेला पनि परापुर्वकालदेखि चलिआएको नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको थियो। नेपालमै संसारको अग्लो स्थान भए पनि हामी त्यत्ति उचाईसंग अभ्यस्त छैनौँ, जति नै केशव स्थापीतजीले रारामा पौडी खेलाएर अरुलाई स्वाँ स्वाँ हुँदा हामीले फ्याट्ट गोल्ड मेडल जित्‍छौँ भने पनि। त्यसैले भारत गएर नयाँ उचाईमा पुगेको त्यो सम्बन्धलाई पनि सास फेर्न अलिक गाह्रो पर्‍यो। फ्याँ फ्याँ गर्दै 'एकछिन त बिसाउन देऊ' भन्दैथ्यो छन चैँ। फगत त्यो सम्बन्धलाई बोक्ने र माथि लैजानेभन्दा बाहेक हाम्रो सरकारको चैँ के कामै छैन र? सुन्ने कुरो पनि थिएन, सुनिएन र त त्यसका बाजे त्यो सम्बन्धलाई अझ उचाईमा लाने निर्णय फ्याट्टै गरियो। हुन त त्यो निर्णय हामीले हैन भारतले गरेको भनेर पनि भन्छन् नै। तर हामीलाई परिणामसंग मतलब छ। समृद्धिसंग मतलब छ। विकाससंग मतलब छ। आफ्ना जनताको पीडासंग मतलब छ। पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौति! (फेरि केही उपबुज्रुकहरू भतुवा किन भनिस् भनेर नखनिनु होला!)। हामीले पनि त्यसलाई बोक्न विश्वका महान नेता, प्रजावत्सल, दयासागर, हिन्दुसम्राट, करुणापति, जशोदापति, अधिपति, पछिपति महामहिम श्री श्री श्री श्री श्री नरेन्द्र दामोदार मोदीदेवलाई बोलायौँ। भन्न त मान्छेहरू उनले नै 'म यति गते आउँछु' भनेर भनेका भन्छन्। हो पनि। नजिकका साथीहरूले भन्ने नै त्यसरी हो। हाम्रा घरमा पनि त 'ओइ! के गर्दैछस्? भोलि म तेरामा आउँछु' भन्ने यारहरू हुन्छन् नि। याराना भन्ने नै त्यस्तै सम्बन्धलाई हो। हाम्रो यार-दोस्ती छ त अरुले रिस गरेर हुन्छ? नयनराज पाण्डेको मात्रै यार हुने, हामी यत्रो सरकारको चैँ यार नहुने? मोदी सर हाम्रा यारमात्रै हैन सुपर यार हुन्। लु जा त!

अँ, कुरो सम्बन्धलाई नयाँ उचाईमा लैजाने थियो। गहन छलफल गरियो। भूपू प्रधानमन्त्रिदेखि भविष्यका प्रधानमन्त्रि, आसेपासे, डोले, झोलेहरू सबैसंग सल्लाह गरियो, कसरी सम्बन्धलाई उच्चस्तरीय ट्रेकिङमा लैजाने। बोकेर कि उडाएर भन्नेमा डोले र झोलेबिच केहीबेर चर्काचर्की भए पनि अन्त्यमा हल निस्कियो। त्यो 'कसरी', 'कहिले' र 'किन' भन्ने कुराको निर्णय हाम्रा पाहुनाकै हुन्छ भनेपछि मत्थर भए। हाम्रा दलगत सेनाहरूलाई पनि 'तिमेरू हाम्रो लाज छोप्‍ने काममा लाग' भनेर खटाइयो। मन त 'एक जान' हुन तयार भइसकेको त्यो माओवादीका सेनालाई पनि काममा खटाउने इच्छा थियो तर प्रचण्डजीहरू त्यत्तिकै बाउँठिनु भएको छ। हामी एकता गरेर सग्लो जिनिस बनाऔँ भन्छौँ उहाँहरू चैँ दुईटा अध्यक्ष नभई त नाइँ भन्नुहुन्छ।  अरे यार! यो दल बनाउने कि भारुण्ड? दुईटा टाउका त त्यसकै हुन्छ के रे।

'अस्ति कै उचाईमै सास फुलेको छ। यति चाँडै फेरि बोक्ने? लेक लाग्ला कि?' एउटो जान्ने भो।
'तपाईँ डाक्टर कि म डाक्टर?' गज्जबले हकार्दिएपछि बल्ल त्यो चुप लाग्यो।
'जनकपुरले अभिनन्दन गर्ने रे। हामी चैँ के गर्ने?' यसपालि चैँ नेपालजी बोले।
'आरति उतार्ने। पूजा गर्ने' भन्दिउँ कि जस्तो त लागेको थियो। फेरि उनैले बजारमा भन्देलान् भनेर भनिएन। यो नेपालभन्ने चिजै किलकिले नभएको जिनिस हो कि क्या हो!
'यता पनि अभिनन्दन गर्ने नि। नयाँ उचाई भनेको छ अनि त्यो दुईसय मिटरको जनकपुरमा झार्न त मिल्दै मिल्दैन हाम्रो सम्बन्धलाई। बाह्रसय मिटरको डाइभ? हैट!'
यो नेपाल र नेपालीको चित्त बुझाउन चैँ साह्रै गाह्रो के। त्यत्रो भारत अनि यत्रो नेपाल। बराबरीको हैसियत चाहियो रे। हाम्रो पार्टीभित्र पनि नेपालको त्यही चाहना। देशभित्र पनि नेपालको त्यही चाहना। 'इस् पाइस् बराबरीको हैसियत'।
'अँ त अभिनन्दनमात्रै दिने कि अरु पनि केही?
'चाबी दिने। सुनको कलात्मक चाबी दिउँ।'
कुरो त ठीकै हो। तर यो आइडिया लगाएर गोरेले भारत सुन पठाउने हो कि? भुत्रै सित्ति! पठाएछ भने बरु पार्टीलाई लेभी माग्‍ने हो, हाम्रो आइडिया चोरेबापत।

यो हाम्रो हाम्रो भन्दा भन्दा यो ल्वाँठ सम्बन्ध नै मेरै छोरो हो कि जस्तो भइसक्यो यार!
'अनि पृथ्विनारान काम्रेड, समृद्धि कसरी आउँछ भन्नु?'
'नयाँ सम्बन्धले आउँछ नि। पर्यटक आउँछन्। पर्यटकसंग पैसो आउँछ। पैसोसंग विकास आउँछ। विकाससंग समृद्धि आउँछ', किताबै लेखिसकेछन्, अर्को पनि। दिए।(लिएँ र पछि डस्टबिनमा फाल्दिएँ।)
'अनि जनतालाई चैँ कसरी देखाउने?'
'अरे काम्रेट, सम्बन्ध कुनै वस्तु हो र देखाउने? मार्क्सको द्वन्दात्मक भौतिकवाद हो के काम्रेट द्वन्दात्मक भौतिकवाद। सम्बन्ध नयाँ उचाईमा पुगेको फोटो राख्दिने र भन्ने अब समृद्धि टाढा छैन। भइहाल्यो नि।'
विकास कसरी गर्ने भनेर किताबै लेखेका हाम्रा काम्रेटसंग पनि गजबकै आइडिया रछन्।

आउने दिन पनि आयो। बोलाएको हाम्रो सरकारले तर कता उत्रिन्छन्, के मा उत्रिन्छन् अनि कतिबजे कता जान्छन् फुट्टि थाहापत्तो नाइँ। लाजगाल भए पनि जनकपुर गएर पर्खिनै पर्‍यो। जसो जसो उनी गर्छन् त्यसै त्यसै हामी पनि गर्दिन्छौँ। पछि मैले गरेको उनले नक्कल गरे भनेर खोक्न सकिहालिन्छ के रे।
'ओइ सेना! सावधान!'
ए! सेना त उताबाट पनि पो आएको छ त।

के भाउँतो आइलाग्यो। अब यो कुर्ता सुरुवाल पनि लाउने बनायो यो छोरोको मायाले। श्रीमतीसंग सिकेर लगाए पनि कस्तो कस्तो भइरह्यो। बरु अर्कोपालि बर्माको प्रधानमन्त्रि बोलाउँला। लुङ्गी लगाउन सजिलो।
अँ! साले, त्यो विश्वदीपसंग अलिक होस् गर् है। अर्कोपटक हामीले जसरी नै राष्ट्रवादको नारामा त्यसले पछार्देला', लुगा फेर्दाफेर्दै नभएको सालोलाई पनि सतर्क गराइयो।
'त्यसले परार पनि विरोध गरेको थियो', लाचार सालो।
त्यसले हामीलाई भोट हाल्छ?'
'कांग्रेसलाई हालेजस्तो छ।' सेनाबाट कोही बोल्यो।
'तिम्रो नाम के बानर?'
'प...'
'जे सुकै होस्। अँ त्यसो भए त्योसंग देउवा जोडिदेऊ। मिनेन्द्र जोडिदेऊ। विमलेन्द्र जोडिदेऊ। त्यो संग्रौला पनि जोडिदेऊ। मलाई देखी सहन्न। स्साला कुमाई!'
हैट! कहाँ कुमाई भनेछु!
'तिमी नै सञ्जालको सेनापति' त्यो नाम पनि थाहा नभएको ठिटोलाई जिम्मा दिएर सरकार जनकपुरतिर हिंड्यो। 'कदम कदम पे कदम मिलाओ रे!'

एक्लै जान डर लाग्थ्यो, सजिलो भयो साथी हुनाले। तर एउटा काम चैँ नकाम गरे मोदीजीले। हाम्रा प्रधानमन्त्रिलाई कोहली भन्दिए। कोहली नै भन्नु थियो भने विराट कोहली भने हुन्थ्यो। अनुष्का कोहली भने हुन्थ्यो। आहा! कति राम्री नि तिनी त! झन् त्यो ओठ ठूलो पारेपछि त बिछट्टै। हाम्रातिर त्यस्ता कस्मेटिक सर्जन छैनन् र?

गजब बोले मोदीजी। उहिले दिएको ऋण हो कि सहयोगको हजारौँ करोड नदिएकै भए पनि उताका फेँकुले यसपालि पनि गफ दिए। हुन त हामी पनि के कम छौँ र फेँक्न? केही थप कुरा त यिनीबाट पनि सिकियो। फेँकु रिसाएर सम्बन्धलाई बाटैमा छाडेर फर्केला कि भन्ने डर ले मात्र हो चुप लागेको नत्र त म पनि 'नेपालले पनि बम्बैको झोपडपट्टी हटाएर आवासगृह बनाउन नेपालले भारतलाई पचहत्तर खर्ब सहयोग गर्ने' भनेर बोल्नै लागेको थिएँ। खुनका घुँट पिउन गाह्रो रहेछ। महादेवले कसरी कालकुट निले होलान् नि? जय पशुपतिनाथ!
'जय सियाराम!"
हामीलाई त जनताको विरोधले गर्दा त्यो सम्बन्धलाई बिच्चैमा छाडेर फर्कौँजस्तो त लागेको थियो तर मोदीजी गजबका रहेछन्। एक्लै बोके गाँठे हाम्रो सम्बन्धलाई। अब्सोलुट्ली फिट एण्ड फाइन!

यहीबेला त्यो विवेकशील हो कि साझाबसले बेलुनमा नाकाबन्दी उडायो रे। हामीले जनतालाई नै उडाउँदा त केही नापिएन, त्यस्ता जाबो बेलुनको उचाई! चुस्स सियोले घोच्दियो भने प्याट्टै!

त्यसैले हेर्नोस्, चौधसय मिटरको काठमाण्डौँभन्दा माथि नउक्लेको त्यो सम्बन्धलाई यसपालि हामीले सैतीससय मिटरको मुक्तिनाथ पुर्‍यायौँ। अब त्योभन्दा माथिको चौवन्नसय मिटरको थोराङ-ला त के उहाँको शक्तिपीठ र हाम्रो भक्तिपीठ त्यता पनि छ भनेर हौवा फिँजाउन सकियो भने त्यो सम्बन्धलाई सगरमाथाको चुचुरोमै पुर्‍याउने हो। अझ अमेरिका, रुस, इजरायल, केन्या, पेरु, कति छन् कति  हाम्रो सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने।
हन चन्द्रमामै पुग्छ कि के हो ठिटो? रकेट नै नचाहिने हो त?
जय नयाँ उचाई! जय म!

No comments:

Post a Comment