दरशन दो घनश्याम नाथ मोरी अँखियाँ प्यासी रे
मन मंदिर की ज्योति जगादो घट घट बासी रे
मंदिर मंदिर मूरत तेरी फिर भी ना दीखे सूरत तेरी
युग बीते ना आई मिलन की पूरनमासी रे ....।
सन् २००८ का आठवटा अस्कर अवार्डबाट पुरस्कृत ‘स्लमडग मिलेनियर’ सिनेमामा एउटा प्रश्न यसै गीतका रचनाकारबारे सोधिएको थियो । सिनेमाका नायक जमाल मलिकले सुरदास भनेर सही जवाफ दिँदै प्रतियोगितामा आफ्नो अविजित यात्रा जारी राख्छन् र अन्त्यमा दश लाख डलर जित्छन् ।
तर, के यो गीत सुरदासद्वारा नै रचित हो त ? ब्रज भाषामा लेख्ने सोह्रौँ शताब्दीका सन्तकवि सुरदासका अरू दोहाको भाषासित यो गीतको भाषा मिल्छ त ?
कहाँको सुरदासको भाषा –
जसोदा हरि पालनै झुलावै ।
हलरावै दुलरावै मल्हावै जोई सोई कछु गावै ।।
मेरे लाल को आउ निंदरिया कहे न आनि सुवावै ।
तू काहै नहि बेगहि आवै तोको कान्ह बुलावै ।।
र, कहाँ यो गीतको भाषा –
पानी पी कर प्यास बुझाऊँ नैनों को कैसे समझाऊँ
आँख मिचौली छोडो अब मन के बासी रे...।
त्यसो भए कसको हो त यो गीत ? ८० वर्षअघिको हिन्दी फिल्म ‘नरसी भगत’को यो गीत हाम्रा लागि कतैबाट सान्दर्भिक छ र ? वर्षौं अर्काले गरिदिएका अनुसन्धान र खोजमा गर्व गरेर अलिकति आत्मरतिमा रमाइरहेका हामी नेपालीलाई अहिले कोरोनाको महाव्याधिले समय दिएकाले वा खोज भनेको फुर्सदमा गर्ने काम हो भनेर सोच्ने चलनले हामी बल्ल अनुसन्धानमुखर हुँदै छौँ । लकडाउन र सटडाउनले गर्दा जनता र सरकार दुवैलाई फुर्सद भएको छ । त्यसैले हामी आफू–आफूलाई चाख लागेका कुरा खोज्दै छौँ । हामी अहिले राम, अयोध्या, शृंग ऋषिजस्ता पुराकथाका पात्रदेखि अनेक किंवदन्तीका नायकहरू खोज्नेसम्मको फुर्सदमा छौँ । पतञ्जलि, धन्वन्तरि, पाणिनिजस्ता शास्त्रकारका रचनाका अध्ययन अनुसन्धान एवं प्रवर्द्धनमा भन्दा अहिले हामीलाई तिनको जन्मस्थल वा कर्मस्थल हाम्रै यही पावन भूमि भएको प्रमाणित गराउने लहड जागेको छ । कुरा अस्ति साउन २७ गते मंगलबारको हो । एकाबिहानै लाग्यो, ओहो, आज त कृष्णाष्टमी ! कृष्णजीको चाहिँ नेपालसँग के सम्बन्ध थियो होला ? एकाबिहानै कृष्णजीलाई नेपाली बनाउने रहर जन्मियो र गुगलिएँ, ‘कृष्ण नेपाली’। गुगलले केही फेसबुक प्रोफाइलबाहेक खासै केही संकेत गरेन । अनि, कृष्णजीकै अर्काे नाममा च्याँखे हानेँ, ‘गोपाल नेपाली ।’
जवाफ मेरा लागि एकदमै अनपेक्षित थियो । गुगलको पहिलो सुझाब नै ‘गोपालसिंह नेपाली हिन्दी र नेपाली भाषाका विख्यात कवि थिए’ भन्ने भएपछि अचम्मित हुनु स्वाभाविक थियो । हिन्दी साहित्यबारे म पनि अलिकति ज्ञान राख्छु भन्नेले समेत कहिल्यै नसुनेको नाम थियो, यो । युट्युबको खोजीमा गीतकार नेपालीको ख्याति देखेर छक्कै परेँ । मलाई द्वापर युगका गोपाललाई थाँती राखेर यी यसै युगका गोपालबारे थप जान्न मन लाग्यो । अहिले हामीले धेरै चासोका साथ खोज गरिरहेको ‘सक्कली अयोध्यापुरी’बाट करिब ५० किलोमिटर दक्षिण, त्रेतायुगमा इक्ष्वाकु वंशले शासन गरेको कोशल देशको बेतियामा रहेको लगभग तीन किलोमिटर लामो सडकको नाम यो कलियुगमा ‘कविवर नेपालीपथ’ किन भयो होला ? खोज्न मन लाग्यो ।
एक सय नौ वर्षअघि सन् १९११ को कृष्णाष्टमी पनि यसपटक जस्तै अगस्ट ११ का दिन परेको रहेछ । त्यसै दिन भारतको बेतियास्थित कालीबागनजिकैको ‘नेपाली रानीमहल’मा रेलबहादुर सिंह (यिनको नाम रेलबहादुर हुनुचाहिँ मेरा लागि संयोग मात्र हो) र सरस्वतीका जेठा छोरा जन्मिए । कृष्णाष्टमीमा जन्मिएकाले उनको बोलाउने नाम ‘गोपाल’ भयो । आफ्नो थरका रूपमा ‘नेपाली’ लेख्न थालेका उनी भारतको हिन्दीभाषी साहित्यिक समाजमा ‘कवि गोपालसिंह नेपाली’ भनेर चर्चित भए ।
यसै दिन जन्मिएका गोपालबारे किन सुनिएनछ भनेर खोज्न मन लाग्यो । र, यसपालि गुगलले मद्दत गरेन र अरूको सहयोग अपरिहार्य हुन पुग्यो । नेपालमा उनका बारेमा कसलाई थाहा होला त ?
‘तपाईंले गोपालसिंह नेपालीबारे सुन्नुभएको छ ?’ एउटा कविता भावानुवाद गरेर सञ्जालमा राखेको थिएँ नि ?’
‘सुनेको छु । मैले त भेटेको पनि छु, यतै काठमाडौंमा । उहाँले वनारसबाट रिटायर्ड भएपछि ०४६–४७ सालतिर केही वर्ष त्रिभुवन विश्वविद्यालयमा पनि पढाउनुभएको थियो ।’ यो जवाफ अनुसन्धाता प्रत्यूष वन्तको थियो । समाजविज्ञानका पण्डितलाई ती समाजशास्त्रीका बारेमा पक्कै पनि अरू धेरै कुरा थाहा थियो, तर मैले खोजेको कुरा अलि फरक थियो, ‘उहाँ त काठमाडौंका नेवारहरूबारेमा किताब लेख्ने व्यक्ति हुनुभयो । मैले त कविता लेख्ने गोपालसिंह नेपाली खोजेको ।’
हाम्रो केही बेरको संवादबाट प्रस्ट भयो कि भारतमा दुईजना गोपालसिंह नेपाली रहेछन् । दुवै कुनै कालखण्डमा बम्बई बसेका रहेछन् । अर्का अनुसन्धाता रमेश पराजुलीसित सम्पर्क गर्दा थाहा भयो, कवि तथा गीतकार गोपालसिंह नेपालीबारे डा. ध्रुवचन्द्र गौतमबाहेक अरूलाई उत्तिसारो थाहा रहेनछ। गोपालसिंह नेपालीबारे डा. गौतमको कान्तिपुर दैनिकमा प्रकाशित एउटा आलेखबाहेक अरू कुनैको मधुपर्कको कुनै अंकमा छापिएको हुन सक्ने एउटा लेख नै यिनलाई नेपालले चिनेको सबैभन्दा ठूलो प्रमाण हुने देखियो ।
नेपाली भाषाका केही पुराना विद्यार्थीहरूका अनुसार नेपालमा पनि ०१७ सालतिरसम्म त्रिभुवन विश्वविद्यालयको इन्टरको पाठ्यक्रममा नेपालीलाई ‘नेपाली’कै रूपमा नेपाली कवि मानिएको थियो । तिनको कविता पढाइन्थ्यो ।
तीर्थराज वन्तबाट भने कवि गोपालसिंह नेपालीको कविता तथा नेपाली कवितासंग्रह ‘कल्पना’बारे निकै कुरा जान्न सकियो । रोचक संयोग, उहाँका पुत्र एवं समाज अध्येता प्रत्यूष वन्तबाट चाहिँ समाजशास्त्री गोपालसिंह नेपालीका बारेमा केही कुरा थाहा भएको थियो । भारतमा १९८७ तिर प्रकाशित उक्त कवितासंग्रह मदन पुरस्कार पुस्तकालयको अनलाइन अभिलेखअनुसार नेपाली भाषा प्रकाशिनी समितिले पनि (सम्भवतः बालकृष्ण सम सचिव भएका वेला १९९२ मा) प्रकाशन गरेको पाइन्छ । २२ वटा कविता सम्मिलित यो किताबको अर्काे संस्करणचाहिँ रत्न पुस्तक भण्डारले वि.सं. २०३० मा निकालेको रहेछ । पञ्चायती व्यवस्था सुरु हुनुअगावै इन्टर पढेका तीर्थराज वन्तले पढेको पाठ्यक्रममा समाविष्ट उनको गद्यात्मक कविता ‘भ्रान्ति’ पढ्दा तत्कालीन समयभन्दा निकै अगाडि रहेको लाग्छ ।
ओडारसित सोधेँ, ‘मान्छे कहाँ गयो ओडार ?’
ओडारले भन्यो, ‘कुन्नि, तलतिर ओर्लेको मात्तै म जान्दछु ।’
‘कुटी, मान्छे यहाँ आएको थियो ?’
‘हो, किन्तु पानी खाएर आउँछु भनी गएको मान्छे, अहिलेसम्म केही पत्तो छैन ।’
‘मूलधारा, मान्छे कहाँ गयो भन् त ?’
‘हिँड्नुहोस्, म देखाउँछु ।’
अगाडि–अगाडि खोलो पछि–पछि म समुद्रमा पुग्यौँ
‘खोइ त मान्छे ?’ मैले भनेँ ।
‘ऊ उतापट्टि !’, लहरहरूले उसपार देखाइदिए ।
‘उसपार जाँदा मन्दिर भन्छ, यता नआ, यता नआ म्लेच्छ !’
नभागेको भए मस्जिदले झन्डै मेरो टाउको काटेको !
गिर्जा मलाई देखेर हाँसी मात्तै रहने !
यसबाहेक कवि गोपालले अरू थुप्रै नेपाली कविता र गजल लेखेका थिए । भनिन्छ, उनको ‘रानी’ नामक खण्डकाव्यको भूमिका लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए । तर, यो किताबबारे त्यति पत्तो लगाउन सकिएन ।
‘किन उनका बारेमा पछि पढाइएन र कविता पनि हटाइयो त ?’ प्रश्न स्वाभाविक उठ्छ ।
‘पहिलो कुरा त तिनी नेपालीका भन्दा हिन्दीका ठूला कवि थिए र भारतमै बस्थे । दोस्रो, उनले यहाँको सत्तालाई मन पर्ने शब्द लेखेनन् । र, उनका रचना पाठ्यक्रमबाट हटे वा पञ्चायतले हटाइदियो । सत्ता टिकाउन राष्ट्रवादलाई कसरी उपयोग गरिन्छ भन्ने कुरा बताइरहनु पर्छ र ?’ अर्काे वार्तालाप यसरी टुंगियो ।
समकालीन उत्तरभारतीय कविमाझ ज्यादै लोकप्रिय भए पनि यिनका बारेमा नेपालमा रहेका नेपालीलाई विरलै थाहा रहेछ । भारतीय साहित्य फाँटमा पनि सोचेजति नाम चलेको देखिएन । डा. दिनेशप्रसाद सिंहद्वारा सम्पादित हिन्दी गद्य–पद्य संग्रह भाग–२ मा सूर्यकान्त त्रिपाठी ‘निराला’, सुमित्रानन्दन पन्त, महादेवी वर्मा, रामधारी सिंह ‘दिनकर’ जस्ता दिग्गज साहित्यकारकै पंक्तिमा राखेर गोपालसिंह नेपालीबारे लेखिएको भेटिन्छ । त्यस्तैगरी, पटना विश्वविद्यालयको हिन्दी साहित्यतर्फको स्नातक तहको पाठ्यक्रममा मैथिलीशरण गुप्त, निराला, हरिवंशराय बच्चनका साथै गोपालसिंह नेपालीका रचना पनि समावेश गरेको पाइन्छ ।
केही स्रोतका अनुसार गोपालसिंह नेपालीका पिता रेलबहादुर गोरखा बटालियनमा सैनिक थिए । डा. दिनेशप्रसाद सिंहको किताबअनुसार चाहिँ जंगबहादुर राणाकी जेठी बुहारी तारादेवीको रानीमहलमा यिनका मातापिताले सन् १९१० मा नेपालबाट गएर आश्रय लिएका थिए, जहाँ तिनीहरू काम गर्दथे । त्यही क्वाटरमा गोपालसिंहको जन्म भएको थियो ।
‘जंगबहादुर राणाका कुनचाहिँ सन्तान बेतियामा बसाइँ सरेका थिए ? जगतजंगकी कुनै श्रीमतीको नाम तारादेवी थियो ?’ केही किताब खँगालेपछि बहुविषयक अध्येता राम लोहनीले ‘त्यसो त नहुनुपर्ने’ भन्नुभयो । उपलब्ध सन्दर्भसामग्रीहरू हेरेपछि लोहनीले बरु त्रैलोक्यकी जेठी रानी एवं जंगबहादुर राणाकी छोरी ताराकुमारीचाहिँ भारत गएको पत्ता लगाउनुभयो । जंगबहादुरकै छोराको हकमा माहिला छोरा जितजंग कानको उपचार गराउने निहुँमा केही जायजेथा लिएर भारत बसाइँ सरेको र कान्छा छोरा पद्मजंग पनि भारत नै पलायन भएकाले तिनीहरूमध्ये कुनै एक बेतियामा बसोवास गरेको सम्भावना भए पनि यकिन गर्न सकिएन । खोजको यो विषय पनि सिंगै बाँकी देखियो। अझ त्यस महललाई किन रानीमहल भनियो भन्ने पनि जान्न सकिएन ।
१० कक्षासम्मको अध्ययनपछि उनी नेपाली पत्रकारिता क्षेत्रमा छोटो समय संलग्न भएका थिए भन्ने भनाइ रहेछ । तर, उनको अधिकतर समय बेतिया र पछि बम्बईमा बितेको पाइयो । उनका पंछी, उमंग, पीपलका पेडलगायत थुप्रै हिन्दी कवितासंग्रह प्रकाशित भएका थिए । त्यसैगरी, चित्रपट, रतलाम टाइम्स, सुधा र योगी नामक पत्रिकाको सम्पादकका रूपमा पनि गोपालसिंह नेपालीले काम गरेको प्रमाण छ ।
सुनहरि सुबह नेपाल की, ढलती शाम बंगाल की !
कर दे फिका रंग चुनरी का, दोपहरी नैनीताल की !!
गोपालसिंह नेपालीलाई समकालीन भारतीय कवि तथा साहित्यकारहरूले उच्च सम्मान दिन्थे । कविता लेखनको सुरुवाती दिनमै प्रेमचन्दको वाहवाही पाएका नेपालीलाई हरिवंश राय बच्चन, निराला, भारतभूषण र रामकुमार वर्माहरूले अतुलनीय कविका रूपमा लिएको पाइन्छ । तत्कालीन समयमा भइरहने विभिन्न कवि सम्मेलनको मुख्य आकर्षण नै गोपालसिंह नेपाली हुने गर्दथे । प्रख्यात कविहरू सम्मिलित कवि गोष्ठीहरूमा ‘वन्स मोर’का होहल्लाले अन्य कविको वाचन गर्ने समय नै नआउला भनेर सबैभन्दा अन्तिममा यिनलाई कविता वाचन गर्न लगाइन्थ्यो रे ।
बेतिया बस्दा उनको आर्थिक अवस्था त्यति ठीक थिएन । उनीभन्दा कम चलेका निराला, हरिवंश राय र सुमित्रानन्दनहरू सत्ताको नजिक हुनाले सम्पन्न थिए । यसै परिप्रेक्षमा एक दिन कसैले उनलाई यी मित्रहरूजस्तै दिल्ली दरबार जान सल्लाह दिएछन् । उनी गएनन्, तर कविता पठाइदिए ।
तुझ–सा लहरों में बह लेता
तो मैं भी सत्ता गह लेता
ईमान बेचता चलता तो
मैं भी महलों में रह लेता ।
सन् १९४४ मा अखिल भारतीय कवि सम्मेलनमा भाग लिन बम्बई पुगेका गोपालसिंह नेपालीको कविता र ख्यातिबाट प्रभावित भएर फिल्मिस्तान थिएटरले उनलाई चार वर्षका लागि करार गरायो । र, तत्कालै उनको पहिलो गीत फिल्मिस्तानको ब्यानरमा बनेको ‘मजदुर’ फिल्ममा गुन्जियो । यसपछि गोपालसिंह नेपाली कविभन्दा पनि हिन्दी सिनेमाका महसुर गीतकारका रूपमा चिनिन थाले । उनी आफूले लेखेका प्रायः गीतको धुन पनि आफैँ बनाउँथे । त्यस समयमा उनको परिचय नै ‘गीतका राजकुमार’ भएको रहेछ । बम्बईको सिनेनगरीको चकाचौँधमा बसेर तीन सयभन्दा बढी गीतको रचना गरेका उनले सिनेमा पनि निर्माण गरेका थिए । भनिन्छ, काठमाडौंका इन्दुशमशेर राणासँग मिलेर बम्बईमा हिमालय फिल्मस् नामक सिनेमा निर्माण कम्पनी खोलेका थिए, जसले ‘नजराना’, ‘सनसनी’ र ‘खुशबू’ नामका तीनवटाजति सिनेमा निर्माण ग¥यो । तीनवटै सिनेमाका गीत ‘हिट’ भए, तर सिनेमाहरूचाहि ‘सुपर फ्लप’ भएछन् । यद्यपि, कवि र गीतकारका रूपमा उनको ख्याति दिनप्रतिदिन बढ्दै नै गयो । सन् १९६२ मा भारत–चीन युद्धका वेला उनले रचेका देशभक्तिका कविताहरूले त झन् उनलाई भारतभर तत्कालीन समयका सबैभन्दा लोकप्रिय कवि बनाएको थियो । सायद तिनै कविताका कारण नेपाली कविता जगत्बाट उनको नाम लोप भयो ।
सन् १९६३ अप्रिल १७ को एउटा कवि गोष्ठीमा कविता वाचन गरेर बेतिया फर्किंदै गर्दा भागलपुरको रेलवे प्लेटफर्ममा हृदयाघातका कारण असामयिक मृत्यु भएका, गरिबी, सम्पन्नता, गुमनाम, नाम सबै भोगिसकेका यी उत्तरछायावादी कवि गोपालसिंह नेपालीमाथि असामनिवासी टीकाराम उपाध्याय ‘निर्भिक’ले लेखेको एउटा किताब भारतको साहित्य अकादमीद्वारा प्रकाशित रहेछ । उनको कविताका प्रशंसकमा कवि रविन्द्रनाथ टैगोरदेखि हरिवंश राय बच्चन, निरालालगायत त्यसवेलाका सबै समकालीन साहित्यकारहरू रहेछन् । प्रख्यात साहित्यकार धर्मवीर भारतीले त बम्बईको कवि सम्मेलनमै ‘म दुईजना व्यक्तिबाट मात्र कविता सिक्दछु, हरिवंश राय बच्चन र गोपालसिंह नेपाली’ भनेका रहेछन् । तर, व्यक्तिगत प्रशंसाबाहेक राज्यको तर्फबाट उनलाई त्यति धेरै सम्मान गरिएको देखिएन । पहिलो फिल्मी गीतकै लागि बंगाल फिल्म जर्नलिस्ट एसोसिएसनबाट सर्वश्रेष्ठ गीतकारको मानलाई राज्यको तर्फबाट नमान्दा तत्कालीन राष्ट्रपति डा. राजेन्द्र प्रसादले दिएको ‘राष्ट्रिय कवि’को पदवी नै तिनले पाएको एक्लो ‘सम्मान’ रहेछ । नेपालले चाहिँ यी ‘नेपाली’लाई सम्मान गरेको कुनै सन्दर्भ रहेनछ ।
भारतका अहिलेका राष्ट्रपति तथा तत्कालीन राज्यपाल रामनाथ कोविंदले आजभन्दा चार वर्षअघि पटनामा कविवर नेपालीको १०५औँ जन्मजयन्ती समारोहमा गोपालसिंह नेपालीले दलितहरूको शिर उँचो बनाए भनेर भनेका भए पनि गोपाल सिंहको वास्तविक थर के थियो र उनले किन ‘नेपाली’ थर लेखे, कतै उल्लेख भएको देखिएन ।
भारतलाई अंग्रेज उपनिवेशबाट स्वतन्त्र गराउन लागिपरेका गोपालसिंह नेपालीलाई स्वतन्त्रतापछिका सरकारहरूको कामबाट बिस्तारै वितृष्णा हुँदै गएको थियो । ‘आफ्नै’ शासकहरूले गरिब जनताको जीवन उकास्न अंग्रेजले जत्तिको पनि पहल नगरेर आफ्नै वृत्तिविकासमा लागेको देख्दा उनी चुप बस्न सकेनन् । र, विद्रोही कविको छवि बनाउन पुग्छन् ।
सत्ता कति पल्टिए, भएन पूर्ण कामना
सदियौँ यही रोटी भो, गरिबको प्रार्थना !
थिएन बाँसुरी कि श्यामको, कि चढेन धनु रामको ?
बजेन कि शंख युद्धको, कि खडेरी भो बुद्धज्ञानको ?
न त सिद्धिए अरथी ती, न रोकिए कि योजना ?
रोटीबाहेक गरिबको थियो र कुन प्रार्थना ? (भावानुवाद)
विदेशमा रहेका नेपालीभाषी प्रतिभालाई नेपाल राज्यले यसरी उपेक्षा गरेको अर्काे उदाहरण भेटिएन । पारसमणि प्रधानदेखि अम्बर गुरुङ, गोपाल योञ्जन, पारिजात, इन्द्रबहादुर राई, लैनसिंह बाङ्देल, हरिभक्त कटुवाल, रञ्जित गजमेर र लीलबहादुर क्षेत्रीहरू सबैलाई आफ्ना मान्न तयार नेपाल देश र नेपाली साहित्य फाँटले किन यिनलाई चाहिँ चटक्कै बिर्सिदिएको ? पूर्वको नेपालीभाषी क्षेत्रको नभएर वा दक्षिणको हिन्दीभाषी क्षेत्रमा काम गरेकाले हो ? उनले नेपाली राष्ट्रिय पोसाक लगाएर राष्ट्रवादी कविता र गीत लेख्ने उपक्रम नगरेकाले पो हो कि ? अझ भारत–चीन युद्धका समयमा भारतको पक्षमा राष्ट्रिय गीत लेख्दै ‘हिमालय बचाउन’ उनले गरेको पुकारले पो हामीबाट तिनलाई तिरस्कृत गराइदियो कि ?
नेपाली भाषामा गोपालसिंह नेपालीलाई कविका रूपमा मान्यता दिएको एउटै मात्र प्रकाशन लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानले निकालेको र घटराज भट्टराईले सम्पादन गरेको ‘नेपाली लेखक कोश’ नामक किताबमा तत्कालीन नेपाली भाषा प्रकाशिनी समितिले उनका बारेमा गरेको टिप्पणी यस्तो रहेछ –‘नेपालीज्यू ज्यादै गहिरो आन्तरिक कल्पनामा डुबेर असीम आकाशमा उड्नुहुन्छ । प्रकृतिको चित्रणतिर दृष्टि दिएर पनि रहस्यवादी बन्नुहुन्छ । आशावादी भएर पनि भित्री दर्दको मधुर धारा बढाउनुहुन्छ र पिपासुहरूलाई तृप्त गराउनुहुन्छ । वेदनात्मक भावना सुन्दर ढंगबाट गर्नुमा उहाँको वैशिष्ट्य छ ।’ नेपाल भाषा प्रकाशिनी समितिलाई पञ्चायती शासनले साझा प्रकाशन बनाएपछि भने गोपालसिंह नेपाली अरूतिरबाट अलप नै भएछन् ।
सिमानाभन्दा अलिकति पर्तिर जन्मेका, यतैबाट गएका बाबुआमाका सन्तान, आफ्नो मात्र होइन, सन्तानको थरसमेत नेपाली लेख्ने जातीय गौरव भएका ती साहित्यकारलाई हामीले कहिल्यै खोज्ने जमर्काे नै गरेनौँ । एक हिसाबले ती अभागी नेपाल र भारत दुवै देशका ‘आफ्ना’ भएनन् । आफ्नो समयका उत्कृष्ट कवि एवं गीतकार हुँदाहुँदै पनि गोपालसिंह नेपालीलाई उनको देशले सायद थर हेरेर कम सम्मान गर्यो होला अनि हाम्रो देशले तिनको प्रधान कर्मभाषा हेरेर बिर्सन चाह्यो होला । बहानाहरूका के कमी र ! नत्र कुनै वेला डा. राहुल सांकृत्यायनले ‘कवि गोपालका कविता रचनाका अघि धेरैजना दिग्गज कवि तथा साहित्यकारका रचना पनि फिका लाग्छन्’ भनेका यी कवि किन यस्तरी बिर्सिइन्थे होलान् र ?
स्लमडग मिलेनियरको उक्त गीतका रचनाकार सुरदास नभएर गोपालसिंह नेपाली हुन् भनेर उनका छोरा नकुलसिंह नेपालीले बम्बई हाइकोर्टमा मुद्दा पनि दायर गरेका थिए । सन् १९४० मै बनेको फिल्म नरसिं भगतका लागि नेपालीले लेखेको यो गीतलाई फिल्ममा सुरदासको भनिएकामा पाँच करोड भारुको क्षतिपूर्ति दाबी गरेर सुरु भएको तर निर्माताहरूका तर्फबाट आपसी मेलमिलापको अनुरोध आएको यो मुद्दा सम्भवतः ‘मेलमिलाप’मै गयो । हुन सक्छ, गोपालसिंह नेपालीका छोरा पनि मुद्दा नजितीकन नै ‘मिलेनियर’ भए ।
बेतियाको लालबजारस्थित उजाड एकतले ‘कविवर गोपालसिंह नेपाली भवन’मा सीमित भएका ती गोपाललाई मैले यो कृष्णाष्टमीको छेकोमा राम्ररी भेट्न नसके पनि उता चाहिँ ७० वर्षअघि नै ‘जय भवानी’मा मुकेश र सुमन कल्याणपुरले यसरी भेटिसकेका रहेछन् :
‘समा से कोही कह दे की तेरे रहते रहते अंधेरा हो रहा !
की तुम हो वहाँ तो मिलने को यहाँ पतंगा रो रहा !!’
***
नयाँ पत्रिका (२०७७ भदौ २ गते प्रकाशित)
No comments:
Post a Comment