हाम्रो हरियो पासपोर्टले निम्त्याउने हेयलाई बिर्साउन पनि होला, विगत केही वर्षदेखि म अलिक बढी नेपाल घुम्ने भएको छु । आगामी वर्ष कता जाने भनेर मन मिल्ने साथीभाइबीच निकै छलफल हुने गर्छ । गन्तव्य टुंगो लागेपछि विभिन्न व्यक्तिले इन्टरनेटमा राखेका जानकारीले नपुगेर सुरज भाइलाई अगाडि राखेर ‘लु भन त कसरी जाने ?’ नसोधी चित्तै बुझ्दैन । अनि साउन अन्तिमतिर भर्खरै नाम हराएको बाजेको सेकुवामा बसेर ‘सगरमाथा आधार शिविर र गोक्यो’को म्यापमा उनले औँला घुमाए, ‘पहिलो दिन ताक्सिन्डु, ३०३१, तेस्रो दिन नाम्चे ३४४० अनि पाँचौँ दिन गोरकसेप ५१६० ।’हिमाली पदयात्रामा उपलब्ध सीमित होटेल र बुक नगरी जाने नेपाली पदयात्रीले सितिमिति वास नपाउने भएका कारण हरेक वर्ष या त सिजनको सुरुमै या त सिजन लगभग सकिनेवेला नै हाम्रो सही समय हुने गरेको थियो । यसपालि पनि बर्खा रोकिने प्रतीक्षामा थियौँ । सगरमाथा आधार शिविरतिर लाग्न मन छ भने लुक्लासम्म प्लेनमा जाने नै उत्तम उपाय हुन सक्छ ।
तर, नेपाली नागरिकप्रतिको विभेद प्लेनको टिकटबाट नै सुरु हुन्छ । सिजनमा या त टिकट नै पाइन्न या त नियमित नभएर ‘चार्टर्ड’ उडान हो भन्ने कुरालाई शिरोधार्य गरेर महँगो टिकटका लागि विदेशीसँग प्रतिस्पर्धा गरेपछि बल्ल टिकट हात लाग्नेछ ।
यदि फर्किंदा पनि यस्तै नियति नभोग्ने हो भने नेपाली नागरिकले फाप्लुसम्मको जिपयात्रालाई पहिलो रोजाइ बनाएको बेस । हाम्रो अनुभवअनुसार तीन दिनको अतिरिक्त हिँडाइलाई ‘नेपाल हेर्ने अवसर’ मानिदिँदा त्यति फरक नपर्ने रहेछ ।
अहिले सिजन हो । त्यसैले पनि हामीले लुक्लासम्म प्लेनमा जाने योजना नै बनाएनौँ । झन् त्यो विमानस्थललाई संसारकै ‘खतरनाक’मध्येको एउटा भनेकाले र निथारपिथार मनसुन चलिरहेको हुनाले पनि हामी काठमाडौँबाट नै गाडीमा फाप्लुसम्म जाने, त्यहाँबाट हिँड्न सुरु गर्ने अनि फर्किंदाचाहिँ लुक्लाबाट काठमाडौँ उड्ने निधोका साथ तिजको दिन टाटा सुमो चढ्न पुगेका थियौँ । ‘तिजको दिन पनि घर छाड्ने ?’ यो प्रश्न र मानसिकताको ‘पोलिटिकल्ली करेक्ट’ जवाफ पदयात्रा भन्दा साँच्चै नै गाह्रो थियो !
‘अघिल्लोपटक त तिम्रो गाडीमा बुद्धको मूर्ति र त्यसमा सुइरो बनाएर उनिएका नेपाली नोट हुन्थे त, कता गए ?’ दुई वर्षअघि सोलुको पत्ताले पुर्याउने गुरुजी र गाडी देखेपछि बाटैमा सोधेको थिएँ । ती भाइले उतिवेला नबिर्सिने गरी नै पत्ताले भन्दा तल केरुङको गुम्बामा गजबले भजन गाउँदै हामीलाई जबरजस्ती नाच्न लगाएका थिए ।
निःशुल्क गाडी उपलब्ध गराउने सुकमानका ड्राइभरले सुनकोसी तरेपछि मलाई बिस्तारै कानेखुसी गरे, ‘सर, मैले त नामै फेरिदिएँ नि !’ त्यसपछि डेबिडलाई थप कुरो नसोधीकनै फाप्लुभन्दा अलिकपर गुडबाई गर्दियौँ ।
फाप्लुदेखि अगाडि बढ्न थालेदेखि नै ठाउँहरूका साइनबोर्डमा लेखिएका ठेगाना हामीलाई भ्रमित पार्न पर्याप्त थिए । रिन्ङमुमा छेवैको दोकान ताकसिन्दु–८ हुँदा केहीबेरपछि फेरि सोलुदुधकुण्ड नगरपालिका–१ हुन्थ्यो । यो नामको चक्कर सबै स्थानीय निकायलाई परेको हुनुपर्छ ।
नयाँ साइनबोर्ड, नयाँ नाम ! पुरानो साइनबोर्ड पुरानो नाम ! जिरीबाट आउने गोरेटोमा मिसिएर हामी बीचबीचमा बत्ती बाल्दै उकालो लाग्यौँ, ताकसिन्दुमा वास बस्न । यताबाट टी–सर्टमा हिँडेका हामी राति अतिरिक्त सिरक खोज्न थालिसकेका थियौँ ।
भोलिपल्ट बिहानै खाजा खान नुनथला पुग्ने हिसाबले ओरालो लाग्दा बीचबीचमा विकास ल्याउँदै गरेको मोटर बाटो र त्यो विकासको संवाहक सुन्तले रङको डोजर देखिन्थ्यो । गाउँ बुझाउने स्कुले केटाकेटी र कोदो रोपेका गह्रा पनि थिए । निर्जीव, तर चिटिक्क परेका घरबाहेक पनि । उसिनेको आलु र लगभग ‘राष्ट्रिय खानेकुरा’ बनिसकेको चाउचाउ खाएर हामी अझ ओरालो लागेर दुधकोसीको तिरमा पुग्यौँ ।
अतिरिक्त चुनले हुनुपर्छ, दुधकोसी त्यो बर्खामा पनि नसंग्लिइकन दूधजस्तै सेतो बग्थ्यो । त्यहाँबाट उकालो लागेपछि जुभिन नामको सानो राई गाउँ पनि भेटियो । पिँढीमा बसेर बुढी आमै चोयाजस्तै केही ताछ्दै थिइन् । ‘सुनाखरी हो नानी ! टोपीमा लाउने फूल बनाउँछु’ भन्दैथिन् । पहिला प्रशस्तै भेटिन्थ्यो, तर अहिले त्यत्ति भेटिन्न रे ! दुर्लभ भएकैले अलिक महँगो पनि छ नि त !
‘दाइ, ऊ त्यो पहाडबाट फुत्त रेल निस्किएर दुधकोसीको पुल तरेर यो पहाडको सुरुङबाट फुत्तै भित्र छिर्न सक्छ नि हैन ?’ रेलले मलाई त्यहाँ पनि छाडेन । इन्टरनेट भएको भए ती पहाडका उचाइ र दुधकोसीको तिरको उचाइ देखाएर लोपर्दिन्थेँ होला, धन्न थिएन ।
त्यस्तै, तेन्जिङलाई लिएर हिलारी कसरी त्यो वेला सगरमाथासम्म पुगे होलान् भन्ने जिज्ञासालाई जितेर मेरो मन त्योभन्दा सय वर्षअघि बेलायतीले नेपालको टोपोग्राफी कसरी बनाए होलान् भन्नेमा अल्झिएको थियो । ‘ऊ त्यो डाँडा यति मिटर अग्लो र यी यो डाँडो यति मिटर अग्लो भन्न कसरी सके होलान् र कति समय लाग्यो होला ?’ म यसैमा चित खाँदै उकालो चढ्दै थिएँ ।
‘अहिलेको भारत वा चीन भएको भए अनि लुम्बिनी र सगरमाथाको महत्व उतिवेला नै थाहा भएको भए न त लुम्बिनी नेपालमा हुन्थ्यो न त सगरमाथाको चुचुरो नै । यो फगत ‘टाइमिङ इरर’ हो, हामीले फोकटमा पाएको,’ मेरो भनाइ कतिलाई पचेन नै । नपचोस् पनि । ‘बुद्ध वाज वर्न इन नेपाल भन्दा केपी इज’ भनेर गर्व गर्न चाहने म एउटा अदना नेपाली !
दुधकोसीबाट उकालो लाग्दा पछाडि दक्षिणतिर दुई–चार डाँडा पर हिजोको ताकसिन्दु देखिँदैथियो । बीचबीचमा परेको पानीले घरी हामीलाई बर्सादी ओढाउँथ्यो त घरी गर्मीले उकुसमुकुस्याएर झोलामा कोच्याउन लगाउँथ्यो ।
झरीसँगको लुकामारी हामीले अर्काे तीन दिन बेहोरे पनि बाटोले राम्रो खबर भनिसकेको थियो, ‘लुक्लामा चार दिनदेखि प्लेन उत्रिन सकेको छैन र दुई दिनदेखि त एउटा–दुईटाबाहेक हेली पनि उडेन रे !’ नाम्चेदेखि नै हाम्रो प्रतिस्पर्धामा विदेशी नहुने र सजिलै कोठा पाइने सम्भावनाले ‘अझ दुई दिन यस्तै होस्’ भनियो नै ।
एकनासको उकालोपछि खरिखोला आयो । पासाङल्हामुको गाउँ । भर्खरै गाउँपालिकाले पनि त्यही नाम पाएछ । ठूलो बजार । सायद खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो गाउँ होला । खाना हाम्रा हितैषीकै होटेलमा खाने भनेकाले अलिकति ओरालोपछि फेरि उक्लिन थालियो ।
३ बजे बल्लतल्ल आङ छोटी र पेम्बाको सुन्डुप लज पुगियो । दिउँसोको खाना खाने योजना बनाएर हिँडेका हामीभन्दा केही साथी निकै पछि थिए । आइपुग्दा नपुग्दै साँझ पर्न थालेकाले त्यो रात बुप्सामै बस्ने निधो गरियो ।
निःशुल्क वास र खानाका लागि अनुगृहीत हुँदै एकाबिहानै उकालो लागियो । करिला भन्ज्याङ अनि ओरालो, पैँयासम्मै । पानीले बीचबीचमा भिजाइरह्यो । अझ भिज्दा जाडो पनि हुन थाल्यो । खुम्बु–पासाङ गाउँपालिकामा वस्तुभाउ चराउँदा कर तोक्ने र लिने निकायचाहिँ कुनै नौ–लेख युवा क्लब रहेछ ।
‘स्थानीय’लाई अलिक कम र ‘अस्थानीय’लाई अलिक बढी कर । साँच्ची ती क्लबका सदस्यहरूले काठमाडौँ महानगरपालिकाले त्यसरी नै ‘अस्थानीय’ भएर घर बनाएबापत थप कर तिर्नुपर्ने नियम बनाए के गर्थे होलान् ? वा क्लबलाई अतिरिक्त कर तिर्थे कि ?
कसैको बोटबाट टिपेका केही दाना आरु अनि बल्लतल्ल भेटिएको एक प्लेट सुकुटीसहित भात खाएर सुर्केबाट फेरि उकालो हिँड्नुपर्ने भयो । त्यस दिन भने पानीले अलिक मजाले नै चुट्न भ्यायो । तेस्रो दिनसम्म पनि हिमाल त के राम्ररी साथीको अनुहारसमेत हेर्न पाइएन ।
लुक्ला र नाम्चेको बीचको कुनै ठाउँ बस्ने योजना फेरि तुहियो । ‘मरेर लानु के छ र दाइ ? आज यतै बसौँ’, चौँरीखर्कमा निस्किएको अनिलको आग्रहमा लगभग सबैको स्वर मिसिएको थियो । हामी लुक्ला एयरपोर्टको ठीकमुनि सुतेका थियौँ र सुन्दैथ्यौँ ६ दिनदेखि प्लेन नउडेका कथा ।
लुक्लामा प्लेन कुर्दाकुर्दै निराश भएर हिँडेरै फाप्लुतिर झर्दै गरेका विदेशीका साथ आएका भरियाले धन्न हौसला दिइरहे, ‘उता माथि त गज्जब छ, वेदर ।’
चौथो बिहान चौँरीखर्क कट्नेबित्तिकै देब्रेतिर अलिकति हिउँ भएको सानो टुप्पो झलमल्ल भयो । चौँरीखर्क र घाटका मानिसले त्यसलाई कोङ्दे भने पनि न त दाहिनेतिरको कुसुम न कोङ्देले हामीलाई उतिसारो उत्साहित बनाउन सक्यो ।
काला चट्टानका टुप्पामा एक डोको हिउँ खन्याएकै भरमा तिनलाई ‘हिमाल’ मान्न मन मानेन नै । अन्नपूर्ण क्षेत्रमा जस्तै बेलायती संस्था ‘कादुरी’ले यता पनि निकै सहयोग गरेको रहेछ । केही झोलुंगे पुल, खानेपानी र ठाडोकोसी लघु–जलविद्युत् ।
अब हामी लगभग फाक्दिङ नजिक आइपुग्यौँ । र, अब छ्याप्छ्याप्ती भए, ‘मेरो घर जलेकाले सहयोग गर्न अनुरोध’, ‘यो माने घुमाए आत्मा शुद्ध हुनेछ’ र ‘यो मानेमुनिको पानी खाए पाप नाश हुन्छ’ भन्ने आशयका अंग्रेजी सूचना पाटीहरू ।
हामी ‘माग्न कहिले छाड्छौँ होला ?’ हुन त सरकारै मगन्ते छ । सालोको जेठानको गाडी मागेर कुदाउन पाउँदा नै ‘पत्याउने’ हैसियत बनाएकामा दंग पर्ने मानसिकताका जनताको सरकार कुन स्वर्गबाट छानिएर आउने हुन् र ?
ऊ पनि दुई लाखको एम्बुलेन्समा ‘भारतीय सहयोग’ लेखाएर बाटामा दौँडाउँदा अलिकति पनि लाज मान्दैन । बल्ल आइपुग्यो, औसत नेपालीलाई तर्साउने लुक्ला–सगरमाथा आधार शिविरको बाटो । अनि स्वागत गर्न तयार थियो, ड्रिमल्यान्ड लज एन्ड रेस्टुरेन्ट ।
एउटा सुख्खा रोटी र सानो कचौराको आलुको तरकारीलाई सात सय रे ! त्यो पनि लजका साउजीका अनुसार नेपालीलाई भनेर डिस्काउन्ट गर्दिएका । सोध्यौँ, ‘डिस्काउन्ट नगरे कति हुन्छ ?’ ‘आठ सय,’
साउजीको जवाफ ।
अनि आठ सयकै दरले तिरेर नाम्चेतिर लाग्यौँ । यही फाक्दिङबाट सुरु हुने रहेछ, विदेशी मापदण्ड । सगरमाथाको हिउँ आउने खुम्बु ग्लेसियरबाट प्रशोधित भनिने मिनरल वाटर अब बोतलको सय रुपैँयामा उक्लिएछ । उचाइअनुसार पानी पनि महँगो हुने नै भयो ।
फाक्दिङमा दुधकोसी फेरि तरियो र त्यसको पारिपट्टि जर्मन सहयोगमा हिमालयन शेर्पा हस्पिटल बन्दै रहेछ । ठूलो र एकदमै राम्रो । बिरामी त फाट्टफुट्ट होलान्, चिकित्सक पनि त्यस्तै फाट्टफुट्ट त हुने होलान् नि !
अब गाउँ नभए पनि होटेल र ठाउँका नामहरू प्रशस्तै थिए । त्यसरी नै हरेक १०–१५ मिनेटमा ठाउँको नाम बदलिने र दुई–चार होटेल देखिइहाल्ने । जति नै होटेल भेटिए पनि खानामा उही दाल, भात र तरकारी ।
तरकारी पनि एकनासः आलु, आलु, आलु, गाजर र कताकता रायोको सागको अलिकति हरियो त्यान्द्रो। अनि अन्नपूर्णतिर पाइने टिम्मुर र खुर्सानीको धुलोभन्दा फरकचाहिँ अकबरे खुर्सानीका टुक्रा र भिनेगरमा डुबाएका टिम्मुरका झुप्पा । बाटामा फाट्टफुट्ट ‘यहाँ नेपालीका लागि खान र बस्नको उचित व्यवस्था छ’ लेखेका झुप्रे होटेल पनि देखिन थाले ।
‘इन्ट्री गर्दिनुस् न । हामी पनि त हराउन सक्छौँ’, जोरसालेको सेनाको चेकपोस्टमा नाम, ठेगाना लेखाएर हामी फेरि दुधकोसीको तिरमा झर्यौँ । ‘यो उकालो चढिसकेपछि किन बाटो ओराल्ने होला नि ?’ दुधकोसीको जोरपुल कटेर लगातार उकालो चढेपछि कष्टले नाम्चे पुगियो । नाम्चेः एक हिसाबले स–सानो ठमेल ।
दिनभरिको पानीमा भिजेका मेरा जुत्ताले चाँडै सुकाउने रहरमा भान्साघरको उन्नत चुलोमा झ्याम्मै सेकाउने हुँदा चौँरीखर्कमै मुख बाइसकेको थियो । जेनतेन नाम्चे आइपुगेको जुत्ताले माथि धोका दिने पो हो कि भनेर दाहाल स्टोरमा नयाँ जुत्ता पनि किनियो, सायद ठमेलमा १५ सय जतिमा आउनेलाई त्यहाँ ठ्याक्कै पाँच हजार तिरेर ।
‘एक दिन ढिलो’, निवेशलाई हाम्रो हिँडाइँबारे टिप्पणी गरेँ । लिक्विड बार । भारत र मालदिभ्सको फुटबल फाइनलको दिन । हामी सानो टिभीमा दाहिने हेर्दै थियौँ र केही विदेशी आएर देब्रेतिर ठूलो पर्दामा ‘एभरेस्ट–१५’ हेर्न थाले । माल्दिभ्सले बल अगाडि बढाउँदा हामी ताली बजाउँदै थियौँ र हिलारी पुल देख्दा विदेशीहरू । अनि जान्ने पल्टिए, एकजना नेपाली ।
‘मेरा गेस्टहरूलाई डिस्टर्ब हुन्छ । तपाईंहरू चुप लागेर बस्दिनुस् है !’ ‘साथी, यो बार हो र हामी पनि फुटबल हेर्दै छौँ’, अनिल सदाझैँ मृदुभाषी ।‘नो ! फुटबल हेर्ने भए चुपचाप हेर्ने । राम दाइ, आवाज म्युट गर्दिनुस् त ।’ अनि हामी जंगियौँ, ‘बारमा बसेर बोल्न नपाइने, उत्ति नै पैसा तिरेर खान नपाइने अनि उनीहरूको बिलभन्दा तीन गुणा बढी बिल तिर्दा पनि हेपिनुपर्ने ?’
‘राम दाइ, विचार गर्नुस् है । म त आइरहने मान्छे,’ गाइड भाइले धम्क्याउन छाडेनन् । नाम्चेभन्दा माथि लागेपछि साँच्चैको गाउँ पाङ्बोचे आयो । तल खोलाको छेउमा खेत र खेतमा आलु र गाजर खन्दै गरेका ‘किसान’हरू ।
त्यसभन्दा माथि दिङ्बोचेबाहेक कतै–कतै चौँरी र घोडा चराउने खर्क र होटेलबाहेक केही थिएन । तेङ्बोचेबाटै रुख त गायब भइसकेका थिए । दिङ्बोचेमा आलु खन्न आएका केही भाइहरूको सहायताले चार–पाँचवटा होटेल चहारेपछि वास पाइयो । हाम्रो चारहजार मिटर माथिको पहिलो वासको त्यो होटेलमा विदेशीलाई दिने कोठाहरू र ‘नेपाली’लाई दिने कोठाहरू बाहिरैबाट ‘स्तर’ छुट्टिने किसिमका थिए ।
कोठाबाहेक होटेल साहु रामजीको आतिथ्य राम्रै थियो, तर पनि मनमा विभेदको खिल गढाउन तिनै ‘कोठा’ पर्याप्त थिए । बाहिरको हावासमेत नआउने स–साना कोठाका रात हामी सबैलाई ‘लेक लागेको’ डर देखाउन सफल पनि भए ।
दिङ्बोचेबाट माथि लागेपछि बुझियो, यो ‘फेक रेस्क्यु’को धन्दा । बरु मैतिदेवीमा हिँड्दै गर्दा जमल–बानेश्वरको माइक्रो त्यति नभेटिएला जति फेरिचे–गोरकसेपका हेलिकोप्टरहरू । नुप्से, थामसेर्कु र कान्टेग्रा हिमालको फोटो खिच्दा हेलिकप्टर बीचमा नआइदिओस् भनेर लगभग पर्खिनुपर्ने ।
डेढ घन्टाको ओरालोलाई डरमर्दाे भनेर विदेशीलाई फेरिचे ल्याउन हारालुछ हुनेरहेछ । हुन त झट्टै समृद्धि यहाँ हरेकलाई चाहिएकै छ । अनि त्यही वेला मेरा नयाँ जुत्ताले पनि समृद्धि हेर्न मुख बाए । अब कताको मोची, कताको सुपरग्लु ? भगवान् भरोसे हिँड्नुबाहेक अरू उपाय थिएन नै ।
अनि लोबुचेमा भेटिए, नाम्चेको कम्फर्ट इन होटेलका जस्तै मान्छे, ‘नेपालीको अनुहारै मन नपर्ने ।’ कुनै विकास समितिको नाममा होटेल आउनुअघि नै पैसा बुझाउनुपर्ने, म पहिला होटेल हेर्छु भन्न पनि नपाइने र मलाई निःशुल्क बस्न दिन्छु भनेको छ भने त अपराधै ठहरिने ।
‘नेपाली दाजुभाइले बाहिरको चर्पी प्रयोग गर्नुहोला’ भनेर लेखेको ठाउँमा आएर ‘खाते नेपालीले हाम्रो ठाउँमा आएर हामीसँग नै वादविवाद गर्ने ?’, गज्जबको मानसिकता ! अनि सबैभन्दा महँगो बसाइ ! त्यहीँ थियो, लेक लागेकोबारे सूचना ।
कसरी लेक लाग्नबाट बचिन्छ, डाइमोक्स कत्तिको काम लाग्छ, घरमै आइरन चक्की खाए फाइदा हुन्छ कि हुन्न र पिसाब लगाउने साधारण ल्यासिक्स चक्की कत्तिको काम लाग्छ भन्नेबारे कुनै जानकारी बेगर नै ‘उडेर तल्लो तटीय ठाउँमा गइहाल्’ भन्ने भनाइ प्रमुख थियो । डराएको जनावर सबैभन्दा सजिलो सिकार हुन्छ । र, खुम्बु सिकार खेल्न खप्पिस देखियो !
अँ, लोबुचेतल पहाडबाट फुत्त निस्किएर खुम्बु हिमनदीको बाटामा झरेको मैलो पानीको झरना नहुने हो भने थुक्लानिर निस्किने नामबिनाको फुच्चे खोलामा कतै पानी नै पो नहुने हो कि भन्ने ‘हिसाब’ मनमा आइरह्यो । कुनवेला छ–सात किलोमिटर लामो सगरमाथाबाट निस्किएको खुम्बु हिमनदी आजका दिनमा आधार शिविरतिरै बिलाउँदा हाम्रो ‘सगरमाथाको पानी बेच्ने’ आइडिया त्यति फलदायी लागेन ।
कालापत्थर । सगरमाथा सबैभन्दा राम्ररी देखिने ठाउँ रे ! गोरेटोधरी हिउँ पग्लिएर बगेको पानीले बनाएको डोब मात्र । जोरसालेबाटै अनुभव गरेको कुरो, सेनाले गर्ला भनेर कतै पनि गाउँले वा होटेल व्यवसायीले ‘बाटो’ बनाउने जाँगर चलाएको देखिएन ।
अनि त्यही हावादारी गोरेटोबाट माथि उक्लिएपछि नुप्से र ल्होला हिमालको बीचमा क्रमशः ठूलो हुँदै गयो, चोमोलोङ्मा । त्यसपछि देखियो सगरमाथा र अन्त्यमा साक्षात्कार गरियो ‘म्याजेस्टिक’ माउन्ट एभरेस्टसँग ।
गोरकसेपबाट अलिकति पर पुग्नेबित्तिकै पुरानो आधार शिविर देखियो । खुम्बु हिमनदी खुम्चिँदै जाँदा बनाइएको नयाँ आधार शिविर अझ एक–डेढ घन्टामाथि थियो । तल हिमनदीको किनारमा केही टेन्ट थिए र माथि थियो, एउटा ढुंगाको वरिपरि ध्वजापताका । नुप्से हिमालले छेकिएको सगरमाथा, सानो अनि मैलो खुम्बुको हिउँ र तल थोक्लासम्म देखिने ढुंगैढुंगाको तथाकथित खुम्बु हिमनदी ।
डिलबाट तल ओर्लिन जाँगर चलेन । लाग्यो, ‘मिसन अकम्प्लिस्ड !’ जमानामा विदेश जाने टिकट देखाएपछि पर्यटन मन्त्रालयले दुई–तीनवटा पोस्टर दिन्थ्यो । सोभियत संघ पुगेपछि छात्रावासको कोठामा सगरमाथाको पोस्टर गर्वसाथ टाँसेको थिएँ । अनि एक दिन मेरी गुरुमाले सोधिन्, ‘त्यो कालो कालोचाहिँँ के हो ? चट्टान ?’
पाँच हजार मिटरमाथि त हिउँबाहेक केही हुन्न भन्ने पढेको मेरो दिमागले तुरुन्तै जवाफ दिएको थियो, ‘घामको छायाले कालो देखिएको हो । हिउँ नै हिउँ हुन्छ नि हाम्रो हिमालमा ।’ नेपाल फर्किएको निकै पछि पोखराबाट कालो माछापुच्छ्रे देखेपछि बल्ल मेरो घैँटामा घाम लागेको थियो, त्यो पोस्टरको कालो वास्तवमा नांगोे हिमाल नै थियो । कुनै वेला यो कालापत्थर पनि त श्वेतपत्थर थियो होला, गर्मी डाउन ज्याकेटबाहिर पनि भसक्कै बढेछ ।
सरी ! जमिला मागामेदभ्ना ! ‘सगरमाथा देखियो’ भन्ने भएपछि केही खुट्टा थाक्नेरहेछन् । गलेका खुट्टा र दुखेका घुँडाहरू गोरकसेपबाट नाम्चे फर्किने भए अनि केहीमा एकै दिनमा गोक्यो ताल हेरेर माछेमा पुग्ने जोस बाँकी नै थिए । अनि केहीमा चो–ला भन्ज्याङबाट महालंगुरको राम्रो ‘भिउ’ बिहान मात्र देखिन्छ भन्ने तिर्सना बाँकी नै थियो ।
दुखेका खुट्टाहरू गोरकसेपबाट नाम्चे पुग्दासम्म केही जाँबाजहरू जानीजानी जोङ्लासम्म आइपुगेनन् । हुन त ‘आज मेरै होटेलमा बस्नु । मेरी बहिनी गुइँठा बनाउँदै छे । उसलाई त्यो १०१ देखि १०३ नम्बरका कोठाहरू दिनू र त्यतै बस्नू’ भनेर बाटैमा भेटिएका नुरु छिरिङको भनाइ काम लाग्यो । वास र आधाउधी खानाको समेत पैसा नलिने जोङ्लाको होटेल गजब थियो ।
भोलिपल्ट मौसम बिग्रियो । हिजो देखिएका हिमालहरू दिनभरि देखिएनन् । कुहिरोकै बीच ढुंगाहरूमा फड्किँदै र घिस्रिँदै त्यो चो–भन्ज्याङनजिक पुगियो । अनि देखियो केही सय मिटर जमेको हिउँ र माथि भन्ज्याङ ।
देब्रेतिरको कालो चट्टानमुनिबाट तलतिर झरेको पुरानो हिउँ (ब्लु आइस) हेर्दा यस्तो लाग्थ्यो, कुनै वेला अजंगको चट्टानले टाउको झड्कारेर आफ्नो टाउकामा झरेको सेता हिउँलाई तल काखतिर पुर्याइदिएका हुन् । सायद रिसाएको हिउँ त्यो कालो चट्टानको शिरमा फेरि बस्न मानेन ।
‘दाजु ! नेपाली हिउँ पनि टेकियो,’ अस्ट्रेलियन भाइ दंग पर्यो । कनकजीले हामी सगरमाथाको सेरोफेरो जाँदै छौँ भन्ने थाहा पाएपछि थामसेर्कु र कान्टेग्रा हिमालको फोटो खिच्ने र तेन्जिङ नोर्गेकी आमा अर्काको घरमा काम गरेको थामे गाउँ जाने सल्लाह दिनुभएको थियो ।
हिमालहरूको त खिचियो नै तर हामी चो–ला भन्ज्याङ पार गर्दागर्दै यो ‘पास’ र ‘भन्ज्याङ’ खुम्बु क्षेत्रमा पर्यायवाची शब्द होइनन् भन्ने निष्कर्षमा पुगिसकेका थियौँ । कहाँ भरिया, खच्चड, घोडा र चौँरीले सामान ओसारेर जीवन धान्ने भन्ज्याङ, कहाँ चट्टानैचट्टानबीचबाट बल्लतल्ल मान्छे वल्लो फेदबाट पल्लो फेदमा पुग्ने खुम्बुका पासहरू !
यो जीवन–पद्धति बेगरको रोमाञ्च मात्र थियो, विदेशी भुल्याउने । अनि अर्काे निर्जीव ‘रेन्जो–पास’ पार गरेर तेनिजङकी आमाको जीवनगाथा सुन्ने रहर त्यो ‘थ्री सिस्टर पास’मा पहिलो भेटिएकी चो–लाले नै आसपास गरिदिइन् । अनि सुरु भयो, मनै विरक्त बनाउने ढुंगैढुंगाको बाटो । के बाटो भन्नु र ! बाटोजस्तै गोम्बु वा ज्गोङ्बु ! नामै कति अप्ठ्यारो । केही समयअघि दंग परेको भाइ त्यो हिमनदीको पूर्वी किनारा आइपुग्दा नपुग्दै सुँकसुँकायो ।
भन्थ्यो, ‘म अस्ट्रेलियामा बसिरहेको मान्छे के खान यसरी ज्यान फालेर हिँड्दै छु ?’ पछि अलिक शान्त भएपछि थप्यो, ‘जिन्दगीमा एक दिन पनि नछुट्टिएकी सानी छोरीको सम्झना आउनेबित्तिकै मन थाम्न सकिन दाजु !’
अहिले अस्ट्रेलियाबाट स्माइली पठाएर भन्छ, ‘दाजु, रुन पनि कति अलौकिक ठाउँ रोजेछु नि !’ हुन पनि हो, कुहिरो र त्यसले छाडेपछि देखिने चारैतिरका हिमाल, तर हामीले त्यता सेता हिमाल देखेनौँ । काला चट्टानहरूका बीच ऊ रोएको भने देख्यौँ ।
अन्नपूर्ण परिक्रमा र मनासलु परिक्रमा–पथमा आउने उच्च भन्ज्याङमा कमसेकम एउटा ठूलो बोर्डमा थोराङ–ला वा लार्के–ला लेखेको त हुन्थ्यो । पदयात्रीलाई फोटा खिचेर दंग पर्नकै लागि भए पनि । तर, यसपालि न त सगरमाथा आधार शिविरमा न त चो–लामा नै त्यस्ता पाटी देखिए ।
कतै कुनामा सेतो टिपेक्सले ‘इस्’ लेखेको हेर्ने इच्छा पनि पूरा भएन । दुधकोसीको मुहान र त्यो खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो हिमनदी गोम्बु तर्न सबैभन्दा डरमर्दाे थियो । बाटामा भेटिएका गोठालाहरूले भनेअनुसार पहिरो गइरहने हुनाले गोरेटोहरू मिलाएर पछ्याउनु रे ।
बीचबीचमा भेटिने ढुंगाबीच भेटिने अनगिन्ती दहहरू र सुनिने पहिराले हाम्रो आधा घन्टा त्रासमय बनाइदियो । अझ कोही चरो–मुसो नदेखिने र अन्त्यहीन लाग्ने हिमनदीकै बीचमा सुभाषको ‘पर्खिने’ निर्देशन ! अरे यार, पर्खिन त यो खतरा पार गरेपछि ऊ त्यो डाँडामा पनि त सकिन्छ ! डाँडाबाटै देखियो, गोक्यो ताल । नीलो पानी र एकछेउमा झुरुप्प होटेलहरू । ‘साँच्ची त्यो चाइनिज प्लेन पानीमा उत्रिन्न है ?
नत्र त एउटा टेस्ट फ्लाइट यहाँ पनि भ्याइने रहेछ,’ प्रकाशको जोकले लगभग थकाइ मेटायो । ‘नेपाली पर्यटक त हाम्रा लागि देउतासरह नै हुन्’ भन्ने छिरिङकै पछि लागेर तालछेउकै नमस्ते होटेलमा झोला बिसाउँदासम्म हाँसो थामिएकै थिएन ।
हामी त देउता के हुन्थ्यौँ, बरु छिरिङ र उनका भाइ नोर्बु हाम्रा लागि देउतैसरह भए । अनि ती देउताहरूले आफ्नी बुढी आमाका कुनै पनि कुरा नकारेको भेटिएन । आमै उमेरले अलिक कुप्रो बनाइसकेको ज्यानलाई फुर्तिसाथ भान्सा र हामी पाहुनामाझ कुदाउँदै थिइन् ।
न त जुत्ता टाल्ने ‘असम्भवप्राय’ सुपरग्लु खोज्दिँदा न त लगभग मध्यरातमा खुकुरी रम उपलब्ध गराइदिँदा नै उनी थाकिन् । भान्सेदेखि हामीलाई अर्काे सिजन कञ्चनजंगा कसरी जाने भनेर बताइदिने पाण्डेजीको नामधरी मोबाइलमा टिपे पनि मैले ती आमाको नाम सोध्दा पनि सोधिनँ । मेरा लागि आमाहरू सबै उस्तै हुन्छन् । आमाको नामै हुँदैन !
बल्लतल्ल भाइलाई रुवाएर पुगेको गोक्यो ताल हेरिसकेपछि फेरि नाम्चे हुँदै लुक्लासम्म फर्किन ‘अल्छी’ लाग्यो । सगरमाथानजिक पुगिसकेपछि थप ‘दुःख’ खान मन नलागेर नाम्चे फर्किएका ‘गंगालालका डाक्टरहरू’सँग छिरिङ भाइको फोनमार्फत सम्भव भएको हाम्रो सम्पर्कको केन्द्रबिन्दु यही ‘अल्छी’ थियो ।
अनि उही पुरानो लिक्विड बारमा आराम गर्दै गरेका उनीहरूलाई पनि अल्छी लागेछ । र, त सजिलै हेली मिलाए । भोलिपल्ट बिहानै उनीहरूलाई लुक्ला छाडेर हामीलाई लिन डायनास्टिक एयरको हेलिकोप्टर गोक्यो तालमा उत्रियो । साथमा भएजति बैंकका डेबिट कार्डहरू नचलेपछि ‘भाडा पनि काठमाडौँ पुगेपछि पठाइदिन्छु है’ भन्दा हुन्छ भन्ने छत्रबहादुर राईजी पनि लुक्लामा भेटिए ।
अनि भर्चुअल दुनियाँमा मात्र चिनेका लीला श्रेष्ठजीको आतिथ्यप्रति नतमस्तक हुँदै त्यस दिनको अन्तिम फ्लाइटबाट काठमाडौँ फर्किन पाउनु पनि सौभाग्य नै मानियो । हिँडेको दसौँ दिन देखिएको लुक्लाको भिडभाडले सजिलै बुझियो । ‘सिजन त सुरु भइसकेछ !’ ‘एक दिन छिटो’, निवेशले भन्न बाँकी राखेनन्।
वसन्त भाइले किन सरकारले सगरमाथा वा झोमोलोङ्मा भनेर प्रचार गर्दैन र हाम्रो हिमाल जबरजस्ती बेलायती मान्छेको नामले चिनिँदै छ भनेर यात्रामा कतै कुरा गरेका थिए । लाग्यो, महेन्द्रनगर, वीरेन्द्रनगर, बिपीनगर र मदननगरजस्तै झोमोलोङ्मालाई ‘नेपालीकरण’ गर्नु नै गलत थियो ।
जुन दिन काठमाडौँले त्यो हिमाल न त माउन्ट एभरेस्ट हो न त सगरमाथा नै हो भनेर बुझ्छ त्यसै दिन संसारभर यो हाम्रो शिर आफ्नै असली नामले नै चिनिनेछ । हुन पनि हो, हिमाल आमा त होइन, नामै नचाहिँने ! वा स्थानीय सरकार पनि होइन, बाह्रथरी फुर्का जोडेर जबरजस्ती नाम जुराइदिनुपर्ने ।
‘नेपाली’ नामले समग्र खुम्बुमा हामीलाई ‘फाइदै’ गरे पनि फाक्दिङ, नाम्चे र लोबुचेजस्ता नामहरू दाँतमा लागेका ढुंगाका रूपमा सम्झनामा आइरहने भए । जबसम्म नाम्चे वा गोरकसेपमा यताबाट फोन गरेर नेपालीले पनि होटेल बुक गर्न सक्दैनन्, जबसम्म काठमाडौँ–लुक्ला प्लेनमा नेपालीले विदेशी सरोवर उस्तै हैसियतमा टिकट काट्न पाउँदैनन् ।
जबसम्म खुम्बुमा ‘नेपाली दाजुभाइले यो ट्वाइलेट प्रयोग नगर्नुहोला’ वा ‘नेपाली दाजुभाइले अर्काे कोठामा खाना खानुहोला’ लेखिइरहन्छन्, तबसम्म ‘एक वर्षमा विदेशी पर्यटकले नेपाल भ्रमणमा ७० अर्ब खर्च गरे अनि नेपालीले विदेश यात्रामा ८० अर्ब खर्च गरे’ भन्ने खबरका बीच नेपालको पर्यटन व्यवसायको भविष्य परिभाषित भइरहनेछ ।
हुन पनि हो, उत्ति नै पैसो खर्च गर्दा लक्तावीमा ‘इज्जत’ पाइन्छ भने किन ‘लोबुचे’मा मन नपर्ने नेपाली भइरहनु ? बदलिनुपर्ने कुरो एभरेस्ट वा सगरमाथाको ‘नाम’ मात्र होइन, समग्र खुम्बुको मानसिकता पनि हो किजस्तै लाग्यो । तपाईंको झोमोलोङ्मा आधार शिविर पदयात्रा शुभ रहोस् !
***
(असोज २९, २०७५ मा नयाँ पत्रिकामा प्रकाशित)
(फोटोः प्रकाश लामिछाने)
No comments:
Post a Comment