Saturday, April 9, 2016

मधेस आन्दोलनः सुषुप्त घुर (विचार: मधेस-२)

5:36 PM 0
मधेस आन्दोलनः सुषुप्त घुर (विचार: मधेस-२)
मधेस आन्दोलनः सुषुप्त घुर
रामेश कोइराला
एउटा पनि वजनदार र तर्कसंगत माग विनै मधेसमा चार महीनायता बालिएको आन्दोलनरूपी घुरमा छिमेकीसम्मले आफ्नो रुचि अनुसारको रोटी सेक्न पाएको छ ।
‘देश सोचेर’ वार्तामा बसेकै क्षण आन्दोलनको अवसान हुने गरिको मागमा चलेको मधेस आन्दोलन कहिले अराजक, अभद्र त कहिले शालीन बन्दै अहिले ईश्वर भरोसासहित एउटा नाकामा खुम्चिएकोछ । शीतलहरसँगै तराईका आँगनहरूमा बालिएका घुर जस्तै पुत्पुताइरहेको यो आन्दोलन फेरि जाज्वल्यमान हुन अलिकति मात्र पराल चाहिएको छ । पराल दिने र हुर्र बलेको आगोमा हात सेक्ने जमातको भने कमी छैन । मधेस आन्दोलनको समर्थन या विरोध भनेको समस्त मधेसी समुदायको समर्थन वा विरोध हैन भन्ने कुरा जानाजान बिर्सिइएको छ र अप्राकृतिक रूपमा ‘वीरगंज’ र ‘काठमाडौ’ खडा गरिएको छ ।
माओवादीको हिंसात्मक विद्रोह र २०४६ सालपछिका राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको प्रतापले नेपालमा जातीय ध्रुवीकरण तीव्र भयो । जनजाति र मधेसी गठबन्धनले गर्दा काठमाडौंलाई राज्य संचालनका पुराना अवयवहरू परिमार्जन गर्न कर लाग्यो । त्यही परिवर्तनहरूलाई आत्मसात् गर्न संविधानसभा गठन र अग्रगामी संविधान लेखन जरुरत भए पनि नयाँ संविधानलाई बहिष्कार गरेर हक–अधिकारका लागि अहिले मुलुकको मध्यतराई अर्थात् प्रदेश–२ आन्दोलित छ ।
जारी मधेस आन्दोलनमा मधेसी र पहाडीबाहेक प्रत्यक्ष–परोक्ष रूपमा देशका सबै दल, नागरिक अगुवा, जनजाति र छिमेक समेत संलग्न छन् । आन्दोलनको रापमा क–कसले के–कस्ता रोटी सेक्दैछन् भन्नेमा यो आलेख केन्द्रित छ ।
सत्ता प्रपञ्चमा लागिरहने ठूला दलहरूको स्वार्थ सिंहदरबार प्रवेश वा कुर्सी बचाउमै केन्द्रित रहने जगजाहेर भइसकेको परिप्रेक्ष्यमा तिनीहरूको चर्चाको खासै औचित्य नहोला । त्यस्तै, लोकतन्त्रको ‘कुउत्पादन’ का रूपमा आएको नागरिक अगुवाका भीडभित्र लुकेर बसेकाहरू विभेद बाहेक केही नदेखी कहिले यहाँ त कहिले त्यहाँ विद्रोहलाई मलजल गरिरहन्छन् । विरोधका लागि विरोध बाहेक केही नगर्नेहरूबारे योभन्दा बढी टिप्पणी व्यर्थ नै हुनेछ ।
मधेसको प्रतिनिधित्व
छापा, टीभी र सामाजिक संजालमा छाएका मधेसी अभियन्ताहरूको जातीय पहिचान हेर्दा धेरैजसो उच्चजातिका देखिन्छन् । ५० लाख हाराहारी जनसंख्याको प्रदेश–२ मा सवा लाखजति मधेसी ब्राह्मण, ४० हजारजति कायस्थ र त्यसभन्दा केही कम राजपूत छन्, जो बढ्दो जातीय ध्रुवीकरणप्रति सचेत छन् ।
पुराना मान्यताका उखानटुक्का र कथनीहरूले आजको मानसिकता हुबहु बोक्दैनन् भन्ने जानीजानी यसपालिको मधेस आन्दोलनमा ‘हामीलाई हेप्छन्’ भन्न काठमाडौका नेवार समुदायले प्रयोग गर्ने उखानलाई निकै उछालियो, पहाडी खस विरुद्ध ।
आन्दोलनको उच्चतहमा रहेका ‘कुलीन’ मधेसीको वास्तविक चासो आरक्षणमा रहेको बुझन गाह्रो छैन । उनीहरूको खास रुचि नयाँ संविधानमा विशेष व्यवस्था गरिएका ‘क्लस्टर’ मा छ । अन्तरिम संविधानको भाग–३ (मौलिक हक) को धारा–१३ को समानताको हकको उपधारा–३ मा जम्मा ८ क्लस्टर थिए, जसमा उनीहरूको रुचिका–मधेसी, दलित, आदिवासी जनजाति र पिछडिएका वर्ग मात्रै । नयाँ संविधानको भाग–३ (मौलिक हक र कर्तव्य) को धारा–१८ (समानताको हक) को उपधारा–३ मा भने उनीहरूको स्वार्थसँग बाझ्निे गरी २१ वटा ‘क्लस्टर’ आए ।
भन्नलाई ‘किन बढी’, ‘नराम्रो देखियो’ वा ‘विभेद गरियो’ भने पनि विगतमा ‘मधेसी’ क्लस्टरले समेटिएका दलित, आदिवासी, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम, पिछडा वर्ग जस्ता क्लस्टरको अलग पहिचानले आगामी दिनमा मधेसी कुलीनहरूको हैकममा ल्याउने क्षय नै प्रमुख कारण देखिन्छ । २२ प्रतिशतमा हालीमुहाली गरिरहेको मधेसी कुलीनहरूलाई दलित, मुस्लिम, थारू र पिछडा वर्गले १५ प्रतिशत आरक्षण लगे र ७ प्रतिशतमा खुम्च्याउने संभावनाले असह्य पीडा दिइराखेको हुनुपर्छ ।
जातिगत आधारमा नेवारलाई समेत पछाडि पारेर सबभन्दा बढी प्रतिशत डाक्टर, इन्जिनियरलगायत प्राविधिक सेवामा प्रवेश गरेको तथ्य नहेरेर हरेकपटक सेनाका मेजर र निजामतीका प्रमुख जिल्ला अधिकारी (सिडियो) गन्ने प्रवृत्ति यसैको उपज थियो र ‘मधेसी अधिकार’ का कुलीन अभियन्ताहरूको रोदन यसैमा छ ।
जसरी पनि ‘समानुपातिकता’ सुनिश्चित गराउनुपर्छ भने पनि भित्री स्वार्थ ‘क्लस्टर’ घटाउनैमा छ । यसका लागि भड्काइएको आन्दोलन ढुंगा–मुढा र गुलेलीबाट पेट्रोल बममा पुगिसक्दा मधेसी कुलीन अभियन्ताहरू जेनेभासम्मै पुगेर ‘शान्तिपूर्ण’ बताइरहेका छन् ।
मधेसी ‘उच्च’हरू बाहेक आन्दोलनमा रोटी सेक्ने राजनीतिक तप्काहरू पनि छन् । राजपूत सिर्जित सद्भावना पार्टी आफ्नो चोला फेर्न तल्लीन छ भने ब्राह्मण–कायस्थ बहुल तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जनाधार बनाउने कसरतमा छ । त्यसका लागि नेपाली जनसंख्या आफू सुहाउँदा नभएकाले हरेक घरमा हुने ‘वारिपारि’ को विवाहलाई मनन् गरेर अंगीकृत अधिकारका कुरा उचालिएको छ । भोलिको जातीय ध्रुवीकरणमा आफूलाई ठूलो जमात हुने देखिरहेको संघीय समाजवादी फोरम, नेपाल भने अंगीकृत ‘अजेण्डा’ आफ्नो होइन भन्दै ब्राह्मण–कायस्थ नेतृत्वको पाइन झर्न खोजिरहेको देखिन्छ ।
भारतीय संस्थापनको गहिरो अभिरुचि भइकन पनि यसपालिको मधेस आन्दोलनले ‘हिन्दू राज्य’ भने मागेन । किनभने यो माग राख्नेले मधेसमा सबभन्दा ठूलो मुस्लिम समुदायको आधार गुमाउँछ । अधिकतम प्रतिनिधित्वको सवालमा त्यस्तै विरोधाभास छ ।
जनसंख्या र भूगोल वा पूर्णतया जनसंख्या, जे आधारबाट पनि व्यवस्थापिका संसद्मा जम्मा ३३ सीट पाउने २ नम्बर प्रदेशले  समानुपातिक’ तर्फको प्रतिनिधित्वलाई अचम्मसँग बिर्सिएको छ । नयाँ संविधानमा पूरै देशबाट ११० समानुपातिक सदस्य चुनिने व्यवस्था छ, तर बन्दसूचीका उम्मेदवारहरूबाट छान्ने क्रममा कुनै प्रदेशबाट एउटा पनि सदस्य नपर्न सक्छन् । प्रादेशिक प्रतिनिधित्वका हिसाबले यो व्यवस्था त्रुटिपूर्ण रहेकाले हरेक प्रदेशमा प्राप्त समानुपातिक मत अनुसारको प्रतिनिधि सोही प्रदेशबाट चुन्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न लगाउँदा प्रदेश–२ को हितमा हुनेमा अन्य प्रदेशका धनी ‘आकांक्षी’ हरूबाट लाभ लिनलाई हुन सक्छ, आन्दोलनकारी दलहरूले यसलाई माग बनाएका छैनन् । जनसंख्या र भूगोलबारे बखेडा झिकेका उनीहरू समानुपातिक प्रतिनिधित्वतर्फ पूरै २२ सीटमध्ये एउटा पनि नचुन्दा हुने प्रावधानबारे अचम्मसँग मौन छन् ।
जनजाति गठजोड
मधेसी जनअधिकार फोरम, नेपाल र संघीय समाजवादी पार्टीबीच एक्कासी एकीकरण हुँदा अब यो पार्टी राष्ट्रिय दल हुनेछ भनियो, तर त्यसको के ही महीनामै यसले मधेसरूप देखाउँदा अशोक राईहरूको मुख देखिन छाडेको छ ।
यो अप्राकृतिक गठजोड कसका लागि थियो ? के मधेसका मागहरू जनजातिसापेक्ष छन् ? मधेस आन्दोलन उठाउँदा जनजातिहरूलाई के फाइदा हुन्छ ? निर्वाचन क्षेत्रसँग सम्बन्धित ‘पूर्ण जनसंख्याको आधारमा क्षेत्र निर्धारण गरिनुपर्छ’ भन्ने मधेसी मागबमोजिम हुँदा सम्पूर्ण जनसंख्यालाई १६५ ले भाग गरेर आउने संख्यालाई एउटा क्षेत्रको आवश्यक जनसंख्या मानिनेछ । त्यसअनुरुप गर्दा १८ वटा पहाडी र हिमाली जिल्लाले प्रत्यक्ष प्रतिनिधित्व पाउने छैनन् । मननीय के छ भने, पछिल्लो संविधानसभा निर्वाचनमा ती १८ जिल्लाबाट निर्वाचितमध्ये ३७ प्रतिशत प्रतिनिधि जनजाति समुदायका छन् । अझ् त्यस चुनावमा अधिकतम भोट ल्याउने पहिलो तीन उम्मेदवारमा त ५१.५ प्रतिशत जनजाति नै छन् । एक लाखभन्दा कम जनसंख्या भएका सातमध्ये चार जिल्लाबाट जनजाति नै चुनिए । ‘पूर्ण जनसंख्या’ को आधार हुँदा आफ्नै प्रतिनिधित्व नहुने जानीजानी पहाडी जनजातिले मधेस आन्दोलनको समर्थन गर्नु सजिलै बुझन सकिने कुरा होइन ।
यो मधेस आन्दोलन त तराईका पनि आदिवासी–जनजातिका अधिकार विरुद्ध छ । काठमाडौंको राजनीतिक–प्रशासनिक संरचनामा जति झा, मिश्र या यादवहरू छन् तराईमा त्योभन्दा बढी जनसंख्या भएका थारू, राजवंशी या सतारहरू किन भेटिंदैनन् ? संविधानले अलग ‘क्लस्टर’ बनाएर उनीहरूको आरक्षणमा ‘मधेसी’ हालीमुहाली रोकिदिएपछि भने यो आन्दोलनमा ती जनजातिको रुचि नभएको देखिन्छ। तर, केही दिनअघि पूर्वको लिम्बूवान अभियन्ताहरूले मधेस आन्दोलनलाई समर्थन गरेको समाचार आयो । लिम्बूवानको मागमा झापा, मोरङ र सुनसरी छ । मधेस आन्दोलनको ‘बटमलाइन’मा पनि ती जिल्ला छन्। छलछाम वा गोप्य लेनदेन नभइकन एउटै क्षेत्रको आधिपत्यलाई लिएर दुई फरक धार कसरी मिल्न सक्छन् ?
देशका हरेक क्षेत्रको समानुपातिक विकास होस् भनेर संघीयता स्वीकारिएको हो । बढी जनघनत्व भएको समग्र तराईमा एक वा दुई प्रदेश भए ती प्रदेशबाट केन्द्रीय सदनमा आधाभन्दा बढी प्रतिनिधि आउने छन् । प्रतिनिधित्व बढी भएको प्रदेशमा विकास पूरै केन्द्रित हुनेमा द्विविधा छैन । त्यो अवस्थामा जनजातिबहुल प्रदेशहरू फेरि विभेदमै पर्नेछन् । त्यसैले, राज्यसभाको बनोट पनि त्यस्तो नहोस् भनेर सबै प्रदेशलाई समान प्रतिनिधि छुट्याइएको हो ।
स्थानीय पहाडी
प्रदेश–२ का पहाडी समुदायले मधेस आन्दोलनको समर्थनमा निकालेको जुलूसको फोटाहरू छापामा आइरहन्छन् । ‘मधेसी समुदायलाई अग्राधिकारका लागि पहाडको दानापानी बन्द गर्ने आन्दोलन’ मा यो समुदायको समर्थन किन आयो भनेर बुझन सशस्त्र द्वन्द्व अघि र पछिको रोल्पालाई हेर्दा हुन्छ । द्वन्द्वकालमा कोही गैर–माओवादी छ भनेर नसोचिने रोल्पामा दोस्रो संविधानसभा निर्वाचनमा दुई सीटको लागि खसेको ६० हजार हाराहारी मतमा माओवादीले २५ हजारजति मात्र पायो । जहाँ बस्नु छ, त्यहाँका बहुमतले गरेका कार्यलाई गलत भन्नलाई कानूनी राज हुनुपर्छ । आज मधेसमा कसको राज छ, सबैलाई थाहै छ ।
प्रस्तावित प्रदेश–२ मा ‘पहडिया’ को जनसंख्या १२ प्रतिशत जति छ । त्यहाँका थारूसँग कुनै गठबन्धन भए पनि उनीहरूको संख्या १८ प्रतिशत भन्दा बढी हुँदैन । यो प्रदेशको सीमा झापासम्मै पुग्यो भने चाहिं पहाडी जनसंख्याले प्रदेशको एकचौथाइ नाघ्ने सबैलाई थाहा छ । थारू तथा गैरमधेसी आदिवासीसँग मिलेको अवस्थामा ४५ प्रतिशत जनसंख्याको शक्तिले पूरै प्रदेशको राजनीति उलटफेर गर्न सक्ने सम्भावना देखेकैले प्रदेश–२ का पहाडी समुदायले सीमांकनको मुद्दामा मधेस आन्दोलनलाई समर्थन गर्नुमा ‘अल्पसंख्यक’ को पीडाबाट मुक्ति दिलाउने विषयका रूपमा लिएका हुनसक्छन् ।
दुई छिमेकी
संसारकै ठूलो अर्थतन्त्र भइसकेको चीनको नेपालमा प्रमुख तीन स्वार्थ छन्– ‘नेपालको उत्तरी सीमामा भारतीय चलखेल नहोस्, नेपाल ‘एक चीन’ नीतिमा अडिग रहोस् र नेपालमा आफ्नो बजार विस्तार भइरहोस् । यस अतिरिक्त उसलाई न नेपालको संविधानमा रुचि छ न संघीयतामा । यद्यपि नेपालको पछिल्लो तरल अवस्थामा आफ्ना स्वार्थका आधारहरू नहल्लिउन भन्नेमा उसको चिन्ता चाहिं छ । यही चिन्ताकै कारण उसको सक्रियता बढेको महसूस गर्न सकिन्छ । र, वर्षौंको भारतीय लगानीले दिल्लीपरस्त बनिसकेको नेपाली सत्तासँग आश्वस्त हुन नसकिरहेको चीन हिमालमुनि भारतजत्तिकै दक्खल दिने हैसियत बनाउन चाहन्छ ।
तर दुर्भाग्य, हिमाल निकै अग्लो र भिरालो छ । बेइजिङले काठमाडौंमा भरपर्दो मित्र खोजेकै दशकौं बितिसक्यो । ऊ कहिले यो ठीक होला कि भनेर वामपन्थी आवरणको अमूक पार्टीसँग नजिकिन्छ, कहिले अर्कोतर्फ फर्किन्छ, तर चाहेजस्तो ‘भर्जिन’ पार्टी भेटिरहेको छैन । नेपालमा आज उसको हैसियत त्यो ग्राहकको जस्तो छ, जो दक्षिणकाले रोजेर लिइसकेको रासमा गोलभेंडा छान्न बाध्य छ ।
दक्षिणी छिमेकी भारत चाहिं नेपालमा के चाहन्छ– पानी, जवानी, रोटी या बेटी ? सदा स्वतन्त्र राष्ट्र भनेर जति नै नाक फुलाए पनि अंग्रेजका पालाबाटै नेपाल दक्षिणको खटनपटनमा बाँचेको यथार्थ अब त्यति अपाच्य रहेन । २००७ सालबाटै चलेको राजाका निजी सचिव छान्नेदेखि मन्त्रिपरिषद्मा भारतीय राजदूत उपस्थित हुनेसम्मका चलनले हाम्रो हैसियत बुझइसकेको छ, भलै पछिल्ला दिनहरूमा त्यो स्तरको ‘हाकाहाकी’ गर्न छाडियो । दिल्लीमा नेपालको दैनिकी संचालनमै ‘दखल’ दिनुपर्ने अनेकौं ‘मुद्दा’ पुगिरहन्छन्। त्यस्तोमा आफ्नो स्वार्थको रखवाली गरिदिने मान्छेहरू चाहिन्छन्, काठमाडौंमा । त्यसैलाई भारतले चाहेको ‘स्ट्रक्चरल ग्यारेन्टी’ भन्छन्, कतिपय जानकार ।
यही कारणले यसपालि मधेस आन्दोलनमा भारत देखादेखी सहभागी भयो भनिंदैछ, तर अलिकति गहिरिएर सोच्दा भारतले मधेसलाई आफ्नो ठान्छ र मधेसी नेतामार्फत ‘स्ट्रक्चरल ग्यारेन्टी’ गर्न खोजेको भन्ने तर्क कमजोर लाग्छ । नेपालका मूलधारका राजनीतिक दल र कर्मचारीतन्त्रमा वर्षौंबाट खर्बौं लगानी गरेको भारतलाई जातीय ध्रुवीकरणमा लागेर क्षीण हुने लक्षण देखाइरहेका बग्रेल्ती मधेसवादी पार्टीहरूसँग लहसिनुपर्ने जरुरत नै छैन । त्यसमाथि, काठमाडौंमा उसका स्वार्थका पैरवी गर्नेहरूको तँछाडमछाडमा कमी आउने कुनै सम्भावना छैन ।
हो, ऊ आफ्नो स्वार्थ विरुद्ध कोही उभिएको देख्न चाहँदैन र मधेसवादीहरूलाई तत्कालका लागि काखी च्यापेजस्तो देखाइरहेछ भन्ने कुरा त नेपाली शहरी युवामा बढ्दो ‘आम आदमी’ मार्काको राजनीतिक रुझनलाई ‘यथोचित व्यवस्था’ गर्न भइरहेको प्रयास हेर्दा छर्लङ्गै भइहाल्छ ।
भारत संसारकै ‘सुपर पावर’ बन्ने सपनालाई विपना बनाउने पूरा कोशिशमा छ । शीतयुद्धकालमा उसले अमेरिका र सोभियत संघका अगाडि उदीयमान शक्ति चीनलाई पनि देखेको थियो । अविकसित राष्ट्रहरूमा अमेरिकी प्रभुत्व नहोस् भन्ने सोभियत सदासयतामा उसले पंचशीलको सिद्धान्त अगाडि सारेर ‘असंलग्न राष्ट्रहरूको संगठन’ नामक तेस्रो गठबन्धन पनि तयार पार्‍यो । कालान्तरमा त्यस्तो ‘भुख्खड’ हरूको जमातले अरूको प्रभुत्व रोके पनि आफ्नै प्रभाव क्षेत्र भने विस्तार नहुनेरहेछ भनेर उसले  त्यो प्रयोगलाई तिलाञ्जली दियो र त्यो नेहरूकालीन नीतिबाट उनकै पुत्री इन्दिरा गान्धीको शासनकालमा दोस्रो बाटो समात्यो– छिमेकी पहिला ।
यही नीति अन्तर्गत भारतले छिमेकका देशहरूमा आफ्नो प्रभुत्व बढाएको छ । भूटानको कुरै भएन, माल्दिभ्समा समेत ऊ सैनिक पठाउन, सरकार बनाउन, गिराउन, अनिच्छितलाई जेल पठाउन, जे गर्न पनि सक्षमछ । ‘दुस्मन’ पाकिस्तानमा समेत चाहेजस्तो गर्ने  कोशिश छाडेको छैन ।
उसले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्ष बेइजिङसँग नजिकिनु र चिनियाँ युद्धपोतलाई श्रीलंकाली बन्दरगाहमा आउन दिनुलाई अक्षम्य विद्रोह ठान्यो । लगत्तै निर्वाचनमा राजापाक्षको युनाइटेड पिपल्स फ्रिडम अलाइन्स विरुद्ध सबै विपक्षी दलहरूको गठबन्धन मात्र शुरू भएन, राजापाक्षकै मन्त्रिमण्डलका मैत्रीपाला सिरिसेना उनी विरुद्ध उभिए । राति सँगसँगै तरकारी र  गुलियो रोटी खाएका सिरिसेनाको पार्टी परित्यागले राजापाक्षलाई त्यति नै अचम्मित बनायो जति महन्थ ठाकुरको बहिर्गमनले गिरिजाप्रसाद कोइरालालाई बनाएको थियो ।  अझ् अचम्म,  तमिल र मुस्लिमदेखि दक्षिणपन्थी सिंहालाहरूसम्मको गठजोडमा बनेको युनाइटेड नेसनल फ्रन्ट फर गुड गवर्नेन्सले राजापाक्षको सरकारमा तमिल युद्धको अन्तिम दुई हप्ता रक्षामन्त्री रहेका उनै सिरिसेनालाई राष्ट्रपतिको उम्मेदवार बनायो ।
राजापाक्षले तिनै सिरिसेनाबाट पराजित भएर भारतलाई जिस्क्याएको दण्ड भोगे । उता,  बाङ्लादेशमा शेख हसिनाको अवामी लिग भारतको सहयोगले सम्भव भएको लगभग एकदलीय चुनावबाट दोस्रो कार्यकालका लागि देश चलाइरहेको छ । यसरी भारत मुस्लिम बहुल बाङ्लादेशलाई औंलामा नचाउने भएको छ । बर्मा र अफगानिस्तानतिर पनि प्रभुत्व विस्तारमा लागेको भारतलाई नेपाल भने ‘घाँडो’ भइरहेको देखिन्छ ।
भारतीय लगानी
आजको भूराजनीतिक परिवेशमा भारतले नेपालसँग बिजुली, पानी, तराई, चुरे, हिमाल केही चाहेको छैन । औपनिवेशिक सामन्ती संस्कारमा हुर्केको भारतलाई राम्रोसँग थाहा छ– छिमेकी तबसम्म निहुरिरहन्छ, जबसम्म ऊ दलिने हदसम्मको गरीब हुन्छ । भारत यो ‘अड्बाङ्गे’ छिमेकीलाई यही रूपमा आफ्नो ‘गिरफ्त’ मा राखिराख्न चाहन्छ । त्यसमा उसले दुई उपाय अपनाएको छ– पहिलो, नेपाललाई सबल तुल्याउन सक्ने आयोजनाहरू लागू हुन नदिने ।
त्यसका लागि ऊ कहिले नेपालभित्रको अतिराष्ट्रवादलाई प्रयोग गर्छ त कहिले विश्व ब्यांकतिरको आफ्नो पकडलाई । पूर्वी एशियाको ‘पूर्व हेर’ नीति जस्तै नेपालले पनि ‘उत्तर हेर’ नीति लिएर सम्बन्ध विस्तार गर्दै आर्थिक प्रगति गर्न नसकेको यहाँको बिजुली उत्तर लैजान नसकिने भएर हैन, बरु हाम्रो सरकारी संयन्त्रमा भारतीय लगानी भएकाले हो ।
भारतले नेपालको अस्थिरतालाई उपयोग गरिरहने दोस्रो उपाय अपनाएको छ, शंका गरिए जस्तो नेपालको विखण्डन उसको ध्येय होइन । विखण्डनले भारतलाई सानो भूगोल देला,  तर ठूलो भूगोलमा ‘ड्रागन’ को चलखेल प्रवेश गराउने भूल ऊ गर्ने छैन । हालसम्म पनि अलगाववादी सोचलाई उसले हावा नदिएबाट पनि यसको पुष्टि हुन्छ । नेपालमा उसलाई चाहिएको केवल राजनीतिक अस्थिरता हो । त्यसका लागि कहिले राजा त कहिले पार्टीहरू, कहिले उग्रवामपन्थी त कहिले उग्र दक्षिणपन्थी, जातिवादी त कहिले क्षेत्रवादीहरूलाई उचाल्ने–थेचार्ने गरिरहन्छ । हाम्रा लागि अफसोचको र भारतका लागि गर्वको कुरा– यसरी ऊ आजसम्म पनि दुवै ‘फ्रन्ट’ मा सफल भइरहेको छ ।
नेपाल कतै दिल्लीको प्रयोगशाला त भएन भनेर संशय गर्ने  वेलामा हामी पुग्दा ऊ मक्खसँग यहाँ ‘कारखाना’ चलाएर आफू अनुकूल ‘माल’ निकालिरहेछ । चालढालले छनक दिंदैछ– आजकाल बजारमा आएको नयाँ ‘माल’ पनि यही कारखानाको उपज हो, र हो आजको हाम्रो ‘हैसियत’ पनि ।
यो पुस त्यसै फासफुस् हुने देखिंदैन । कठ्यांग्रिंदो शीतलहरकै बीच मधेसी घुरमा थरीथरीका रोटी सेकिने छन् । फरक यति हुनेछ कि थोरैका रोटी पूरै पाक्नेछ भने धेरैजसोको अधकल्चो र काँचै रहनेछ ।  सद्भाव– कसैका हात नपोलिउन्…

हिमाल, पुष १२, २०७२

http://www.himalkhabar.com/118728#sthash.jQgs4iTE.dpuf

मधेस आन्दोलन: विरोधाभासको जञ्जाल (विचार: मधेस-१)

5:26 PM 0
मधेस आन्दोलन: विरोधाभासको जञ्जाल (विचार: मधेस-१)
विरोधाभासको जञ्जाल (विचार: मधेश आन्दोलन)
रामेश कोइराला 

‘कालो मन्दाकिनीको जल, जलनिधिका मोतीको ज्योति कालो’ होस् या ‘मौकामा हीरा फोड्नु’, हामीलाई नयाँ शिक्षाले सदा सप्रसङ्ग व्याख्या गर्न मात्र सिकायो । प्रवीणता प्रमाणपत्र तहमा बल्लतल्ल समालोचना गर्न त भनियो, तर अंग्रेजी कविताको मात्र । अनि नयाँ शिक्षाका उत्पादन हामी हरेक विषयका धुरन्धर व्याख्याता भयौं, समालोचक हुन सकेनौं । यो कमजोरी यस पटकको मधेश आन्दोलनको विषयमा पनि देखियो ।
तीन महीनाबाट तराई–मधेशमा जारी आन्दोलनले मुलुकलाई निकै असहज पारिसकेको छ– आन्तरिक र छिमेकीसँगको सम्बन्धमा समेत । आन्दोलनले यो रूप लिनुमा चार कारण छन्– मधेशी समुदायलाई संविधानबारे भ्रामक सूचना दिएर गुमेको राजनीतिक धरातल फर्काउने प्रयत्न हुनु, मस्यौदा लिएर जनताबीच जाने वातावरण तराईमा बन्न नदिनु, कैलाली घटनापश्चात् सुरक्षा संयन्त्र प्रतिशोधात्मक हुनु र मधेशी आक्रोशलाई राज्यले उचित सम्बोधन नगर्नु ।
अब पछाडि फर्किनु असम्भव भए पनि राज्यले विगतका कमि–कमजोरी न्यून गर्दै संयमित तवरले संविधानका प्रावधानहरू मधेशको हकमै छ भनेर बुझए यो आन्दोलन सकिन्छ ।
यो आन्दोलनले अगाडि सारेको मागमा मुख्यतः नागरिकता, समानुपातिक समावेशिता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र प्रदेश सीमांकन पुनरावलोकन देखिन्छ ।
पहिलेका र यसपालिको मधेश आन्दोलनको गहिराइ हेर्दा के देखिन्छ भने यो आन्दोलन सतहमा सरल र भित्र जटिल छ । मधेश किन नेपालको तराईमा एक (अधिकतम दुई) प्रदेशको मात्र कुरा गर्छ ? तराईमा किन पहाडी भू–भाग मिसाउनै चाहन्न ?
आरक्षणमा किन उच्च जातिकै पकड चाहिरहेछ ? पछिपरेका जातीय समुदायका लागि आरक्षण त के समानुपातिकताको समेत किन कुरा गर्दैन ? किन मधेश निरन्तर आफूलाई आत्मघाती ठहरिने परस्पर विरोधी मागहरू गरिरहेको छ ?
विगतमा काठमाडौंको सत्ताले मधेशी र पहाडका आदिवासीहरूलाई विभेद गरेकै हो र तत्–तत् समुदायका केही टाठाबाठालाई टिपेर समावेशिताको ढोंग गरेकै हो भन्ने कुरामा आज कुनै मतान्तर नहोला। तर, २०४७ सालपछि र अझ् २०६४ पछिका सरकारहरूले ‘सकारात्मक विभेद’ लगायतका नीतिबाट समावेशितालाई निश्चित आकार दिन गरेका प्रयासहरूलाई बिर्सिने छूट पनि कसैलाई नहोला । समानुपातिक समावेशिता सुनिश्चित गरे पनि देशको जातीय जनसंख्या अनुसारको परिणाम केही वर्षमै देखिन सम्भव छैन भन्ने बुझन स्वनामधन्य विज्ञ बनिरहनु पर्दैन ।
आन्दोलनको औचित्य
मधेशी भनेको को हो भन्नेमा प्रष्ट हुनु जरूरी छ । परापूर्वकालदेखि जनकपुरमा बसोबास गरिरहेका साह परिवारका विश्वास वा वि.सं. १९८० तिर भोजपुरबाट विराटनगर झरेका आचार्य परिवारका राम वा अघिल्लो पुस्ताबाट सप्तरीमा बसोबास गरिरहेका वान्तवा परिवारकी सीता वा २० वर्ष अगाडि पूर्वी चम्पारणबाट वीरगंज आएका जनक यादवमध्ये को–को हुन् मधेशी ? अहिलेको मधेश आन्दोलनले ‘सबै’ भने पनि मागहरूमा देखिने आरक्षण पाउने जाति, भाषिक कुरालगायत आन्दोलनका नेतृत्व र सहभागीहरूले व्यक्त गरिरहेका अवधारणाहरूले पहिलो र चौथो समूह मात्र मधेशी मानेको अब त्यति अस्पष्ट रहेन ।
गैसस अवस्थाको तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो किताबमा लेखेका छन्– ‘तराईमा बस्ने सबै तराईवासी हुन्, तर तराईका सबै मधेशी होइनन् । मधेशी भनेको खास भाषा, संस्कृति, भेषभुषा, रहनसहन र परम्परा भएको समुदाय हो ।’ यो ‘खास भाषा, संस्कृति, भेषभुषा, रहनसहन र परम्परा’मा अवधी बोल्ने नेपालगञ्जका हरिराम रेग्मी वा छठमा व्रत बस्ने राजविराजकी मैयाँ श्रेष्ठ नसमेटिने प्रष्टै छ ।
‘मधेश’ भनेर मैथिली, भोजपुरी, बज्जिका र अवधी बोल्ने समुदायलाई मात्र लिइएपछि जनमत सिर्जनाका लागि थारू, मुसलमान र अरू समुदायलाई पनि ‘हाम्रै हो’ भनियो । मधेशी नेताहरूका समय–समयका भाषणबाट पनि यो कुरा प्रकट भइरहेछ । सरकारी सेवामा पाइने आरक्षणको ‘मधेशी’ महलले यस कुरामा थप बल दिएको छ– मौका हेरी कहिले ती समुदायलाई ‘मधेशी’ भन्न त कहिले नभन्नलाई । थारू समुदायले मधेशी पहिचान अस्वीकार गरिसकेको र तीन प्रकारका मुसलमान (पृथ्वीनारायण शाहकै पालातिर नेपाल आएका पहाडे रहनसहनका, तराईमा बसोबास गरिरहेका र काश्मिरी) समुदायमा एक थरी तराईमा मात्र बसोबास गर्ने तथा बाँकी कुनै पनि प्रकारले ‘मधेशी’ नभएको परिप्रेक्ष्यमा ती समुदाय वास्तवमा ‘मधेशी’ हुन् वा होइनन् थप परिचर्चाको विषय बन्ने नै छ ।
मधेश आन्दोलनका अभियन्ताहरूको पहिचान हेर्दा भने मधेशी भनेको केवल मैथिली, बज्जिका, भोजपुरी र अवधी बोल्ने तथा बिहार वा उत्तरप्रदेशमा वैबाहिक सम्बन्ध भएका नेपाली नागरिक मात्रलाई जनाउने प्रष्ट हुन्छ । ‘मधेशी’ ले मधेशका अरूलाई पनि जनाउँदो हो त संविधानमा मधेशी आयोगबाहेक थारू, मुस्लिम आयोगहरूको उपादेयता नै नहुँदो हो । यही भुलभुलैयामा घुमिरहेको आन्दोलनको क्रममा देखिने तस्वीरहरूको मुन्तिर ‘मधेश आन्दोलनको समर्थनमा गौरमा निस्किएको स्थानीय पहाडी समुदायको र्‍याली’ लेखिन्छ, ‘पहाडी मूलका मधेशी’ लेखिंदैन । उनीहरू भविष्यमा पनि ‘पहाडिया’ पहिचानमै बाँच्नेछन् । मधेश आन्दोलनमा भीड बढाउने हतियार मात्र भइरहेको कुरा पहाडिया र गैर–मधेशी आदिवासीले बुझिसकेका हुनाले नै आजको तराईमा ‘दुई हातको ताली’ बजेको सुनिन्न ।
मधेशी जनसमुदायलाई उच्च शिक्षा र सरकारी सेवामा आरक्षण शुरू गरिएपछिका लोकसेवाका नतीजाहरू हेर्दा लाग्छ, कतै मधेश यो अवसरलाई आफ्नो समुदायभित्रका विभिन्न जातजाति र अझ् अति विपन्नहरूलाई भन्दा न्यून प्रतिशतमा रहेका ब्राह्मण, राजपूत र कायस्थहरूकै उत्थानमा प्रयोग गरिरहेको त छैन ?
यो ‘मधेशवाद’ पुरानो नेपालको ‘बाहुनवाद’ को प्रतिलिपि त हैन ? कुल १५.३ प्रतिशत जनसंख्या भएको उच्च जातका मधेशी र अन्य मधेशीले आरक्षणको महलभित्र मधेशी दलित, मुसलमान, मधेशी जनजाति र आदिवासीलाई सम्मिलित गरेर लोकसेवा आयोग कार्य संचालन पाँचौं संशोधन, २०७० मार्फत ‘मधेशी’ महलमा २२ प्रतिशत आरक्षण पाएको छ । मधेशी दलितले ‘दलित’ र ‘मधेशी’ दुवैतर्फ प्रतिस्पर्धा गर्ने सुविधा पाएजस्तो देखिए पनि यथार्थमा ब्राह्मण, राजपूत, कायस्थ र यादवहरूकै संख्या बढाउने काम भएको छ । यसैगरी, तराईका रैथाने थारू र अन्य आदिवासीले जनजातिका नाममा पहाडी नेवार, थकाली वा गुरुङसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ भने मधेशीका नाममा मधेशका उच्च जातिसँग वेमेल स्पर्धा गर्नुपरेको छ ।
मधेशी अगुवाहरू पछाडि परेका मधेशी दलित, जनजाति, आदिवासी र मुसलमान समुदायको नाममा बढी प्रतिशत आरक्षण लिएर आफूलाई अझ् अगाडि बढाउने प्रपञ्चमा लागेको देखाउन यही उदाहरण काफी छ । सबभन्दा पछाडि पारिएका १२.६ प्रतिशत दलितले ९ प्रतिशत आरक्षणमा चित्त बुझउनु परेको अवस्थामा घुमाउरो हिसाबले जनसंख्याभन्दा बढी आरक्षण लिन मधेशको अग्रणी समुदाय सफल छ ।
यो कसको खेल हो भन्ने कुरा समयले कुनै दिन बताउला नै । मधेश आन्दोलनको विवेचना गर्दा आरक्षणको कुरा किन भन्ने प्रश्न उठ्न सक्छ, तर मधेशका मागहरूका विरोधाभास बुझन यो विषयमा प्रवेश अनिवार्य भयो ।
मधेशी नेताहरूले भन्दै आएका छन्– विगतको सहमति पालना होस् । विगतको सहमति भनेर १६ फागुन २०६४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको ‘आठबुँदे सहमति’ देखाइन्छ, तर त्यो सहमति अकाट्य नै हो भने संविधानसभाको औचित्य के थियो? मोर्चाले त्यही सहमतिको ६ नम्बर बुँदाअनुसार संविधानसभा निर्वाचनमा जाने निर्णय किन गर्‍यो ? तत्कालीन सरकार र मोर्चा दुवैलाई भावी संविधानसभाको बनोट आफू अनुकूल नहुने हेक्का पक्कै थियो ।
त्यो सहमतिको दोस्रो बुँदामा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुने र स्वायत्त प्रदेशहरूको संरचना संविधानसभाले निर्धारण गर्ने भनिएको छ, ‘एक मधेश एक प्रदेश हुने’ भनिएको छैन । त्यो वेलाका प्रधानमन्त्री संविधानसभाभन्दा माथि थिएनन् भन्ने कुरामा पनि द्विविधा नहोला । र पनि, सार्वभौमसम्पन्न संविधानसभाभन्दा पूर्व सरकारहरूले गरेका सम्झैताहरूलाई ‘बटमलाइन’ बनाइँदैछ । हो, कुनै आन्दोलन साम्य पार्न ‘जे कुरा पनि मान्ने’ पूर्ववर्ती सरकारहरूको नीति गलत थियो । ती सरकारप्रमुखहरू पहाडिया भएकैले त्यो लम्पटपनको परिणाम सबै ‘पहाडिया’ ले बेहोर्नु पर्छ भन्नु विल्कुलै केटाकेटी तर्क हो।
पत्रपत्रिकामा आएअनुसार मधेश आन्दोलनको १७ वटा माग छन्, त्यसमध्ये चार वटालाई प्रमुख भनिएको छ । मधेशी बुद्धिजीवीहरू तिनै मागहरूको औचित्य पुष्टि गरिरहेका छन् भने ती मागलाई ‘फितलो’ देख्नेहरू ‘अहिले बोल्नु हुन्न, आन्दोलन झ्न् भड्किन्छ’ भन्ठानेर ‘सरकार ! जायज मागलाई तत्काल सम्बोधन गर’ भन्दै बसेका छन् । मागहरू के कस्ता कारणले ‘जायज’ वा ‘नाजायज’ छन् भनेर प्रष्ट्याउने जमर्को न प्रमुख दल, न तिनका जल्दाबल्दा ‘स्टार’ नेता न त ती दलभित्रका मधेशी नेताहरूले नै गरेका छन् । बरु, ‘मधेशमा खुट्टा मात्र टेकेर देखाओ त’ भन्ने हाँकका बीच उनीहरू ‘मधेश जाने वातावरण नै छैन’ भनेर बसेका छन् । यो अवस्थामा ती मागबारेको विमर्श अझ् जरूरी भएको छ ।
समानुपातिक समावेशिता
अहिले मधेशको पहिलो आपत्ति संविधानबाट ‘समानुपातिक’ शब्द हटाइयो भन्ने छ । संविधानको धारा ४२ (सामाजिक न्यायको हक) मा राज्यको निकायमा समावेशी सहभागिताको हक हुने भनिएको छ, ‘समानुपातिक’ शब्द छैन । समानुपातिक समावेशी सहभागिता राज्यको हरेक निकायमा हुन्छ भन्नुभन्दा पहिले भारतमा झैँ आरक्षणमुक्त क्षेत्र (त्यहाँ त सेनासमेत आरक्षणमुक्त छ) निर्धारण गरिनुपर्छ । राज्यका सबै निकाय (विभिन्न आयोगका पदाधिकारी, गभर्नर र राजदूत जस्ता पदहरू समेत) मा शतप्रतिशत समानुपातिकता सम्भवै हुँदैन ।
संविधानको भाग २८ धारा २६७ को नेपाली सेना सम्बन्धी व्यवस्थाको उपधारा ३ मा सेनामा प्रवेशका लागि समानता र समावेशी सिद्धान्त भनिएको छ भने भाग ३२ को धारा २८५ को उपधारा २ को सरकारी सेवाको गठन खण्डमा संघीय निजामती सेवालगायत सबै सरकारी सेवामा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्दा संघीय कानून बमोजिम खुला र समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुने भनिएको छ । तसर्थ, मधेश आन्दोलनको ‘समानुपातिक समावेशिता’ को माग सबल छैन ।
मधेश आन्दोलनका अभियन्ताहरूको अर्को आपत्ति छ– ‘धारा ४२ मा खस–आर्य किन जोडियो ?’ जसरी सबै मधेशी पछिपरेका छैनन्, त्यसरी नै सबै खस–आर्य अगाडि आएका छैनन् । बोल्न मिल्ने भए मधेशले जनजाति, महिला वा दलित आरक्षणको पनि विरोध गर्थ्यो होला । तर, धारा ४२ मा छुटेको ‘समानुपातिक’ शब्दलाई उचित स्थान दिन पूर्ववर्ती सरकारले नै संशोधन प्रस्ताव गरिसकेकाले यसमा संशोधन हुनेवाला छ । अर्थात्, यसलाई माग बनाइराख्नु आवश्यक छैन ।
नागरिकताको निहुँ
अन्तरिम संविधान (आठौं संशोधन, २०६७ सम्म) को भाग २, धारा ८ को उपधारा २ (ख) मा ‘यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्नेछ’ भनिएको छ भने नेपालको संविधान, २०७२ को भाग २, धारा ११, उपधारा २ ले ‘यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्नेछ’ भनेको छ । अंगीकृत नागरिकलाई राज्यका केही विशिष्ट पदमा निषेध गर्नुलाई पश्चगमन नमान्ने हो भने यसमा के खराबी छ त ?
अंगीकृत नागरिकता वितरणका सम्बन्धमा अन्तरिम संविधानको भाग २, धारा ८, उपधारा ६ ले ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानून बमोजिम अङ्गीकृत नेपाली नागरिकता लिन सक्ने’ व्यवस्था गरेकोमा नयाँ संविधानको भाग २, धारा ११, उपधारा ६ ले ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने’ भनेको छ । यहाँ ‘प्रचलित’ र ‘संघीय’ भन्ने शब्दबाहेक कुनै फरक छैन । देश संघीय अवधारणामा गइसकेपछि ‘प्रचलित’ लाई ‘संघीय’ शब्दले प्रतिस्थापित गरेको कुरामा दुईमत छैन । त्यसैले, मधेशको नागरिकता सम्बन्धी माग ‘अमूर्त’ छ ।
भारतीय संचारमाध्यममा आए जस्तो नेपालको नागरिकता सम्बन्धी कानून मधेशी नेपालीका लागि एउटा र पहाडे नेपालीका लागि अर्को छैन । इलामका लेप्चाले विवाह गरेर ल्याएकी दार्जीलिङकी नारी र महोत्तरीको यादवसँग विवाह भएर आएकी सीतामढीकी नारीलाई कुनै हिसाबले भेदभाव गरेको छैन। विवाह भएर भारत जाने नेपाली चेलीलाई कहिले र कसरी नागरिकता दिइन्छ अनि भारतको भन्दा नेपालको कानून के कति कारणले कमसल छ भनेर किन बहस गरिन्न ?
कुनै पनि भारतीय नागरिकले नेपालमा निश्चित समय बसोबास गरेपछि निवेदन दिए नेपाली नागरिकता पाउने पंचायतकालीन नागरिकता सम्बन्धी व्यवस्था बहुदल आएपछि हट्यो । त्यो वेला कसैले यसमा आपत्ति जनाएनन्, तर हरेक मधेश आन्दोलनमा बुहारी र ज्वाइँको अधिकारका लागि आगो ओकल्ने गरिएको छ । भारतीयहरूलाई पहिलाकै जसरी नेपाली नागरिकता दिइनुपर्छ भन्ने मनसाय त हैन?

जनसंख्या र निर्वाचन क्षेत्र
भारतको लोकसभामा अण्डमान तथा निकोबार द्वीप (जनसंख्याः ३,८०,०००) लाई एकजनाले प्रतिनिधित्व गर्दा दिल्ली (जनसंख्याः १,६३,१४,८३८) बाट सातजना चुनिन्छन् । नेपालमा भने एउटा जिल्लालाई कम्तीमा एक क्षेत्र निर्धारण गरेर भूगोल र जनसंख्या दुवैका आधारमा निर्वाचन क्षेत्र तोकिने संवैधानिक व्यवस्था भएकोमा मधेशले विरोध गरिरहेको छ । विकट हिमाली जिल्लाहरूबाट पनि प्रतिनिधित्व होस् भन्दा सुगम मधेश चर्को प्रतिवाद गरिरहेको छ । लाग्छ, ऊ अरूबारे सोच्नै चाहन्न ।
मधेशी नेताहरू संविधानसभा निर्वाचनहरूमा समेत प्रयोग भएको ‘मोडिफाइड सेन्टलग मेथड (एमसिएम)’ बाट पूरै तराईमा कति सीट आउँछ भनेर नबताई मनाङको जनसंख्या देखाएर जनता उचालिरहेका छन्– ‘हाम्रो घटाएर जम्मा ६ हजार जनसंख्यालाई एक सीट दिने ?’ भन्दै । उनीहरू पूर्णरूपले जनसंख्याका आधारमा तराईका २० जिल्लामा ८३ क्षेत्र हुनेमा भूगोल र जनसंख्या दुवैलाई आधार बनाउँदा ७९ क्षेत्र बन्ने तथ्य लुकाइरहेका छन् ।
यसरी १६५ प्रत्यक्ष सीटमध्ये २० जिल्लालाई ७९ सीट पर्ने कुरालाई आन्दोलन हाँक्ने विषय बनाइएको छ । जिल्लागत हिसाबमा सीट घटेका बर्दिया, दाङ, कपिलवस्तु र चितवनका जनता चाहिं शान्त छन् । जबकी, जनसंख्याको होस् या जनसंख्या र भूगोलको आधारमा, जसरी पनि प्रत्यक्षमा ३३ सिट पाउने प्रदेश २ अशान्त छ । मधेश आन्दोलनका सारथिहरूलाई एमसिएम अपनाइएको दुईटा संविधानसभा निर्वाचनमा ‘भूगोल र जनसंख्याका आधार’ मा क्षेत्र निर्धारण गरिएको जानकारी नभएको हैन । तर, उनीहरूले प्रा. कृष्ण हाछेथूले २० जिल्लामा जम्मा ६५ सीट हुने भन्दै गरेको अनर्गल आलापलाई मधेशका गाउँ–गाउँ पुर्‍याए । जबकि, एमसिएम र त्यस अनुसार प्रदेश २ ले पाउने सीटबारे सबैलाई थाहा छ । राज्यसभामा कमी हुने चार सीटकै लागि यो आन्दोलन हो भने चाहिं सुपारी काट्न बञ्चरो चलाउने सिद्धान्त स्वीकार्न खोजेको मान्नुपर्छ । तर, यसमा पनि पूर्ववर्ती सरकारले संशोधन प्रस्ताव ल्याइसकेकोले आन्दोलन जारी राख्नुको तुक देखिंदैन ।

प्रदेशको सीमांकन
वीरगंजदेखि भारदहसम्मको आन्दोलन पश्चिमको थरूहटका लागि हैन भनिरहनु पर्दैन । पहिले तराईका २० जिल्ला ‘हाम्रो हुनुपर्छ’ भन्ने मधेशी नेताहरू अहिले २२ जिल्लामा पुगेका छन् । ती २२ जिल्ला नेपालको तराईमा कहाँ छन् ? प्रदेश २ ले माग गरेको पूर्वी तराईका तीन जिल्लामा करीब तीन महीने आन्दोलनमा जनसहभागिता न्यून छ । कसैले भन्नेबित्तिकै ती जिल्लाका जनताले मान्छन् भन्ने कुरा युक्तिसंगत ठहरिने देखिदैन । जिल्ला टुक्र्याएर पनि मिलाउने तर्क गर्ने हो भने धनुषा वा सप्तरी वा पूरै प्रदेश २ को चुरे–भावर क्षेत्रलाई जनमतअनुसार किन नटुक्र्याउने ?
२००७ सालसम्म तराई भन्ने भूगोलको कुन–कुन स्थानमा बसोबास थियो र कहाँ–कहाँ पुनर्वास गराइयो भन्ने कुरा सबैलाई थाहै छ । पंचायती व्यवस्थाले चुरे–भावर र चारकोसे झडीलगायतका क्षेत्रहरू गाभिदिएर हालको तराईका २० जिल्ला बनाएको यथार्थ पनि सबैलाई थाहै हुनुपर्छ । भूगोलमा ऐतिहासिकता खोज्ने हो भने नेपाल–भारत सीमाका गाउँ–शहरबाट धेरै उत्तर पुगिन्न । यो सन्दर्भमा मधेशी अगुवाहरूले भन्ने गरेको ‘तीन जिल्ला मधेशमा दिंदा के बिग्रिन्छ र ?’ को जवाफमा ‘नदिंदा चैं के बिग्रिन्छ ?’ भन्ने प्रतिप्रश्न आउने गरेको छ । यी दुवै प्रश्नको चित्तबुझदो जवाफ भने कतैबाट आएको छैन । २ नम्बरले पूर्वका झपा, मोरङ र सुनसरी पाउँदा प्रदेश सन्तुलित वा समुन्नत हुने कुनै सूत्र भेटिंदैन, नपाउँदा आकाशै खस्ने पनि देखिंदैन ।
‘भारतीय नाकामा अधिकतम पकड राख्ने’ मनसाय प्रष्टसँग देखेरै मधेशी बाहुल्य नभएका जिल्लाहरूलाई प्रदेश २ मा राख्न नचाहेको मधेशवादीहरूले समयमै बुझनु जरूरी छ । यसपालिको मधेश आन्दोलन मूलतः राजमार्ग र मुख्य सीमा नाकाहरू बन्द गर्नमा केन्द्रित रहँदा सबै नेपालीलाई भविष्यको आभास भएको छ । यो माग मानेको खण्डमा गौंडामा रहेको प्रदेशले आफ्ना सबैखाले मागमा मनाउन भविष्यमा यसरी नै बन्दी बनाइरहन्छ भन्ने डर अन्य प्रदेशवासीको मनमा पसिसकेको छ ।
यो अवस्थामा पूर्वका तीन जिल्लालाई प्रदेश २ मा गाभ्ने छनक पाउनेबित्तिकै अहिलेको भन्दा ठूलो आन्दोलन नहोला भन्ने आधार छैन ।
तुष्टिको प्रदेश
नेपालमा संघीयताको माग पहिलो मधेश आन्दोलनले उठाएको थियो र आठबुँदे सहमतिबाट देश संघीय संरचनामा जाने निश्चित भयो । तर, प्रश्न उठ्छ– मधेशलाई संघीयताले फाइदा गर्छ ? नाका कुरेकै भरमा प्रदेश २ सबल हुन्छ त ? वीरगंज भन्सारको आयबाट भारतकै अभ्यास अनुसार पनि करीब ३० प्रतिशत मात्र प्रदेश २ ले पाउँछ । तर, सो आयको अधिकतम कारक बनेको प्रदेश ३ ले निश्चित रूपमै भविष्यमा चितवनबाट नाका खोल्नेछ भने दोस्रो ठूलो आयातकर्ता प्रदेश ४ ले पनि नवलपरासीको पूर्वी भेग हेर्नेछ ।
त्यस्तै, विद्युत् उपभोग एवं महसुल निर्धारणमा पनि उत्पादन गर्ने प्रदेशको अग्राधिकार हुनेछ । वीरगंज–पथलैया करिडोरका उद्योगधन्दाहरू स्वाभाविक रूपमा विद्युत् सुलभ–सस्तो भएका प्रदेशहरूतिर पलायन हुनेछन् ।
त्यसरी ‘जनकपुरको भेटी र केन्द्रको निगाहा’ मा प्रदेश चलाउने दिन आउने देखी–देखी मधेशी नेताहरूले प्राकृतिक स्रोतविहीन अलग मधेश प्रदेश किन खोजे ?
संघीय नेपालको तराईमा बन्ने प्रदेशहरूको मोटामोटी बनोट हेर्दा पूर्वी तराईमा मैथिल, भोजपुरी, बज्जिका र अवधी बोल्ने समुदाय (जो आफूलाई मधेशी भन्छ) को बहुमत हुने देखिन्छ भने पश्चिम तराईमा थारूहरूको । पहाडमा जति प्रदेश बने पनि मधेशीको जनसंख्या शून्यप्राय रहनेछ ।
प्रदेश २ ले जसरी आफ्नो प्रादेशिक लोकसेवा वा प्रहरीमा कम प्रतिशतमा रहेका पहाडी जातजातिलाई केन्द्रले जस्तै २७ प्रतिशतभन्दा बढी आरक्षण दिदैन, त्यसरी नै प्रदेश १ ले १० प्रतिशत भन्दा कम संख्यामा रहेका मधेशीलाई भन्दा आफ्नो प्रदेशका राजवंशी, सन्थाल, धिमाल, राई वा लिम्बूलाई बढी प्रतिशत आरक्षण दिनेछ । त्यस्तै, प्रदेश ६ ले मगर वा पिछडिएका खसहरूलाई प्राथमिकता दिनेछ भन्ने कुरा आरक्षण पक्षधरहरूले बुझेकै हुनुपर्छ ।
पुरानो केन्द्रीकृत व्यवस्थामा एक वर्षमा २० हजार सरकारी जागिर सृजना हुन्थ्यो भने त्यसमा मधेशी मूलका कम्तीमा ४४ सयले अवसर पाउँथे । अब संघीय संरचनाको केन्द्रीय सेवामा वार्षिक करीब ६ हजार र प्रादेशिक सेवामा २ हजारका दरले नयाँ रोजगारी सृजना होला । त्यसमध्ये मधेशले केन्द्रीय सेवामा १३२० र प्रदेश २ को ४४० गरेर १७६० रोजगारी पाउने देखिन्छ । अरू प्रदेशका मधेशीहरूले पनि पाउने कम प्रतिशतका आरक्षण जोड्दा पनि रोजगारीको अवसर निकै कम हुनेछ ।
केन्द्रीय शासनसत्तासँग आरक्षणमार्फत समानुपातिक समावेशिता माग गरिरहेको मधेशले पहिचानको नाममा आफैंलाई आत्मघाती ठहरिने संघीय संरचनाको माग कुन तुष्टि पुरा गर्न गर्‍यो ? भविष्यले देखाउनेछ ।
नेपालको तराई मूलतः त्यहाँका रैथाने तथा बसाइँसराइ गरेर पहाड र भारतबाट आएका मानिसहरूको थातथलो हो । अवसरको खोजीमा पुस्तैनी भूभाग छाडेर बसाइँ सरेकाहरू रैथाने समुदायभन्दा समुन्नत हुने रहेछ भन्ने जान्न अमेरिका वा बेलायत पुग्नै पर्दैन, नेपालकै बाहुन–क्षेत्री, आप्रवासी मधेशी, नेवार, थकाली र मारवाडी आदि समुदायको अवस्था हेरे छर्लङ्ग हुन्छ ।
पहाडे अनुहारलाई निषेध गरे पनि मधेशी–आरक्षणका अधिकतम सीटमा आप्रवासी ‘नवमधेशी’ ले पाउने संभावनालाई शायद मधेशी समुदायले पनि नकार्दैन । मधेश आन्दोलनले तराईमा पुस्तैनी बसोबास गरिरहेका मधेशीहरूको भाग अरूले खोसिरहेको देखेर पनि आवाज नउठाउनुलाई भने स्वाभाविक मान्न सकिन्न ।
यो मधेश आन्दोलनले ‘होस्टाइल पूर्वी मधेश’ को हकमा पनि विरोधाभास देखाएको छ । बजार बन्द र नाका धर्नालाई शान्तिपूर्ण भनिए पनि मध्यरातमा राजमार्गमा चलेका यात्रुवाहक बसहरूमाथि ढुंगा प्रहार भए । यसलाई आपराधिक बाहेक अर्को नाम दिन सकिंदैन । अबको टड्कारो सम्भावना– कोशी पूर्वका सबै वाहन निकट भविष्यमै चतराको पुल तरेर गाईघाटहुँदै काठमाडौं पस्नेछन् । विगतमा राजविराज, सिरहा, जनकपुर, जलेश्वर, मलंगवा, कलैयालगायत शहरहरूको अवनति देखेको प्रदेश २ ले अब भारदह, लहानलगायत पूर्व–पश्चिम राजमार्गमा विकसित शहर बजार ओझेलमा परेको हेर्नुपर्नेछ । मधेशले यो विरोधाभासपूर्ण आन्दोलनको समीक्षा अवश्यै गर्नेछ ।
‘टिप अफ द आइसबर्ग ?’
तेस्रो मधेश आन्दोलनले विगतको ‘पहाडिया विरोधी’ कार्यक्रम प्रत्युत्पादक भएको महसूस गरेरै होला, निकै संयमता अपनायो र सामाजिक सद्भाव खल्बलिन दिएन । र पनि, विदेशी सहयोगमा ‘काठमाडौंको हुक्कापानी बन्द गरिदिने’ कार्यक्रमले पहाडसँगको दूरी ह्वात्त बढाएको छ । मध्यममार्गी पहाडियाहरूलाई जबर्जस्ती अर्को कित्तामा धकेलेको परिणाम आगामी चुनावले देखाए या नदेखाए पनि यो पश्चगामी कित्ताकाटमा मधेश किन उभियो, कुनै बखत थाहा हुने नै छ ।
भारत स्वतन्त्र हुनेबित्तिकै आएको उपप्रधानमन्त्री बल्लभभाई पटेलको नेपालबारेको अभिव्यक्ति, पाकिस्तान विभाजन गरी बाङ्लादेश बनाउन र सिक्किमलाई विलय गराउन प्रमुख भूमिका खेलेको ‘रअ’ का विभिन्न व्यक्तिहरूको ‘नेपाल–योजना’ का रूपरेखा र अहिले नेपालको एक पक्षलाई काखी च्यापेर भारतले गरेको नाकाबन्दीले मधेश आन्दोलनले उठाएका मागहरू ‘टिप अफ द आइसबर्ग’ (समुद्रमा तैरिरहेको हिमचट्टानको देखिने खण्ड) मात्र त होईन भन्ने आशंकालाई बलशाली बनाएको छ ।
संविधानमा राख्न लगाइएको केन्द्रलाई कमजोर बनाउने संसदीय प्रधानमन्त्रीको व्यवस्था र मिश्रित निर्वाचन प्रणाली नेपालमा सत्ताका लागि ‘मलाई बनाइदेऊ’ भनेर याचना नगरी कसैले पनि सिंहदरबारमा फोटो झुण्ड्याउन नसक्ने अवस्थाको प्रपञ्च त हैन भन्ने सन्देह पनि छँदैछ ।

(साप्ताहिक खबरपत्रिका हिमालबाट, मंसिर ६, २०७२)

http://www.himalkhabar.com/116198#sthash.Q0q2eAsX.dpuf