Friday, September 2, 2016

जनताको करमा फुर्मास

7:44 PM 1
जनताको करमा फुर्मास

जनताको करमा फुर्मास

विगतमा गणतन्त्र ल्याउन अहोरात्र खटिएकाले पनि होला, सामन्ती सरकारको चरम यातनाले पनि होला, हिजोआज हाम्रा उच्चपदस्थ नेताहरू प्राय: बिरामी परिरहनु हुन्छ। र त्यस्ता जटिल रोगहरूको उपचार आफ्नै देशमा गर्न नपाएको हीनताबोध लिएरै उहाँहरू विदेशतिर जानुपर्ने अवस्था आएकामा हामी नेपाली चिकित्सक समुदाय क्षमाप्रार्थी छौँ।
यस्तै विशेष उपचार गर्न महामहिम पूर्व राष्ट्रपति डा. रामवरण यादव केही दिनमा संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ। डा. यादवको व्यक्तित्व र आचरणको यहाँ विशेष अर्थ छ। उहाँ राष्ट्रपतिमा निर्वाचित हुँदा एउटा चिकित्सकको नाताले म गौरवान्वित हुनु मेरो व्यक्तिगत कुरा थियो। तर, स्वास्थ्य मन्त्री समेत भइसकेको चिकित्सक देशकै राष्ट्रपति हुँदा मुलुकको स्वास्थ्य क्षेत्रमा आमूल सुधार हुन नसकेपनि बेथिती थपिने छैन भनेर सर्वसाधारणले अपेक्षा राख्नु अस्वभाविक थिएन। कुनै दिन दाँत देखाउन वीर अस्पताल पुगेर अनि आँखाको अपरेसनसमेत नेपालमै गराएर वाहवाही पाउनुभएका महामहिमलाई उमेर ढल्किँदै जाँदा अचम्मको आसक्तिले समातेछ। र, उहाँ आजपर्यन्त त्यस रोगबाट मुक्त हुनु भएजस्तो बुझिँदैन। हुन त गणतन्त्रमा हलक्क बढ्न थालेको यो 'महत्त्वोन्मादी' प्रवृतिले उहाँलाईमात्र गाँजेको छैन। बृहस्पति हजारौँ छन्। राजनीतिमा पदोन्नति हुँदै गर्दा उपचार गर्न जाने ‘विदेश’मा पनि सुधार आएको पहिला पनि देखिएकै हो। प्रत्यारोपण भारतमा हुने तर त्यसको नियमित चेकजाँच अब भारतमा हुन नसक्ने वा साधारण ग्यास्ट्रिकले पनि आमासयका मालिकको हैसियतअनुसार विदेशी दबाई माग्ने कुराहरू अब हामीलाई पाच्य भइसकेका छन्। खालि स्वयम् एउटा चिकित्सकले नै यसरी जनताको करबाट उठाएको रकमको फुर्मायसी गर्दा अलिक बढी निराशा हुने रहेछ। अरूहरूलाई त मतलबको कुरा नहोला, तर डाक्टर साहेबलाई त पक्कै हेक्का हुनुपर्छ कि हरेक स-साना रोग र लक्षणका लागि विदेश दौडिँदिँदा हामी नेपालमा रहेका चिकित्सकहरूबारे आम जनता के सोच्नेछन्। नेपालका सबै चिकित्सकहरू नक्कली हुन् भनेर अविश्वास गरेको त पक्कै नहोला।
पत्रपत्रिकाअनुसार उहाँको प्रोस्टेट (पुरुष ग्रन्थि)मा क्यान्सर भएको छ र त्यसको उपचार नेपालमा र हाम्रा छिमेकी देशहरूमा पनि सम्भव नहुनाले नै उहाँ अमेरिका जानुपर्ने वाध्यता छ। उहाँको विशिष्टता र क्यान्सर जस्तो गम्भिर रोगलाई बुझेर सरकारले करोडको हाराहारी सहयोग गर्ने भएको छ। सर्वसाधारण विपन्न वर्गका जनतालाईसमेत क्यान्सरको उपचारमा एक लाख रुपैँया सहयोग गर्ने देशले यस्तो जटिल रोगका लागि पूर्व राष्ट्रपतिलाई एक करोड सहयोग गर्न सुहाउँछ नै। देशका लागि एउटा गरीब श्यामसुन्दर यादवभन्दा डा. रामवरण यादव पक्कै पनि सय गुणा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ।
करिब दुईबर्ष अगाडि महामहिमको जापान भ्रमण भयो। त्रिवि शिक्षण अस्पतालमा पेट दुखेर जानुभएको तत्कालिन राष्ट्रपतिलाई उहाँकै विश्वासिला डाक्टरले सिटिस्क्यान गर्न भने र त्यहाँको मेसिनमा भर नपरेर ‘अत्याधुनिक’ खोज्दै ग्राण्डी अस्पताल पुगियो। यतिसम्म त ठीकै थियो, तर त्यहाँको रिपोर्टमा आन्द्रामा ‘घाउ’ हुनसक्ने शंका लेखियो। तुरुन्तै विज्ञसंग रायसल्लाह लिने काम गर्ने लेठो कस्ले उठाओस्। संसारभरि यस्तो रोगको शंका लागे कोलोनोस्कोपी (ठूलो आन्द्राको इन्डोस्कोपी-जाँच) गर्ने प्रचलन छ। तर त्यो गर्नलाई वीर, त्रिवि वा काठमाण्डौँकै पचासौँ अस्पताललाई विश्वास गरिएन। हतारहतार आन्द्रामा क्यान्सरै पो भएको हल्ला गरियो र महामहिम जापान लाग्नुभयो। धेरैले बिर्सिसकेको कुरा एकपटक स्मरण गरौँ, त्यहाँको अस्पताल बसाइमा जापानी डाक्टरले त्यही नेपाली सिटिस्क्यानको फोटो हेरे र ‘जाबो’ इन्डोस्कोपी गरेर फिर्ता पठाए। ‘नेपालमा साधारण इन्डोस्कोपी गरेको भए यत्रो ठूलो मान्छेले यति दिनसम्म आफ्नो कामबाट बिमुख त हुनुपर्दैन थियो’ भन्ने जापानी चिकित्सकका भनाइले महामहिमलाई नपिरोले पनि टोकियो युनिभर्सिटी अस्पतालमा पढिरहेका नेपाली चिकित्सकहरूलाई असाध्यै पिरोलेको हुनुपर्दछ। हो पनि, नेपाली डाक्टर र समस्त नेपालको बेइज्जत थियो त्यो जापान भ्रमण। अझ हामी जनताले त त्यो बेइज्जत पनि पैसा तिरेर किनेका थियौँ।
यसपालि महामहिमलाई अर्को रोगले आक्रान्त पारेको छ। काठमाण्डौँका हरेक स-साना पोलिक्लिनिकसमेतले सजिलै खुट्याउन सक्ने रोग भारत गएपछिमात्र थाहा पाइएछ। सूचनामा भनिएअनुसार त्यो प्रोस्टेटको क्यान्सर हो र त्यो अझसम्म ग्रन्थीबाट बाहिर फैलिइसकेको छैन। यस रोगको उपचार विश्वभर एउटै मानिएको छ, रोगी पुरुष ग्रन्थीलाई अपरेसन गरेर निकाल्नु। प्रोस्टेटको क्यान्सर पूर्णतया निको हुने निकै कम प्रकारका क्यान्सरहरूमा पर्दछ र यसको उपचार पनि निकै सूलभ र सजिलो मानिन्छ। सबै जनतालाई थाहा नहुन सक्दछ, तर सबै शल्यचिकित्सकलाई थाहा छ कि र्‍याडिकल प्रोस्टेटेक्टोमी भनिने अपरेसन स्वयम् महामहिमभन्दा निकै अग्रज, अझ नेपालकै पहिलो शल्यचिकित्सकबाटै नेपालमा समेत पचास बर्षभन्दा अगाडिदेखि नै सुरु भइसकेको थियो। हो, घाउ सानो होस्, कमभन्दा कम दिन अस्पताल बस्नु परोस् र कम खर्च होस् भन्ने चाहनाले उक्त अपरेसन गर्ने विधिहरूमा समयसमयमा परिमार्जन भइरहेको छ। आज प्रविधिको विकाससंगै त्यो अपरेसन अब पेटमा प्वाल पारेर वा अझ रोबोटिक्सको मद्दतले पनि गर्न थालिएको छ। अनि त्यस्तो ‘मिनिमल इन्भेजिभ’ प्रकृयाबाट त्यो पुरुष ग्रन्थी निकाल्न नेपालमा पनि सम्भव नभएको हैन। तर, अनुभवी नै खोज्ने हो भने पनि सर्वविदितै छ, त्यस्तो ‘मिनिमल इन्भेजिभ र्‍याडिकल प्रोस्टेटेक्टोमी’ महामहिमले रोज्नुभएको डेट्रोयटको हेनरी फोर्ड क्यान्सर अस्पतालका युरोलोजिस्टभन्दा बढी बिरामीमा सफलतापूर्वक सम्पन्न गरेका डाक्टर भारतमा पनि निक्कै छन्। नेपाली समाचारहरूमा आएजस्तो चण्डिगढका कुनै चिकित्सकले सो अपरेसन त्यही ‘मिनिमल इन्भेजिभ’ विधिबाट भारतमा सम्भव छैन भनेर भनेको भारतीय समाचारहरूमा लेखिएको देखिएको छैन। वास्तवमा भारतमैँ अस्पताल, दबाई र अपरेसन सबैको गरेर पाँच-सात लाखमा हुने अपरेसन गर्न महामहिमलाई किन अमेरिका जानुपर्‍यो, आशा गरौँ कुनैबेला वहाँले नै बताउनु हुनेछ। अपरेसन गरेको भोलिपल्टै अस्पतालबाट डिस्चार्ज हुनुपर्ने रोगका लागि पूर्व राष्ट्रपति केका लागि र कति दिनसम्म अस्पतालमै आराम गर्नुहुनेछ, केही दिनमा जानकारी पाइने नै छ। हुन त दुई बर्षअगाडि जापानमा पनि जाबो कोलोनोस्कोपीमात्र गरियो भन्दा अलिक लज्जास्पद देखिने डर भएरै दिनहुँ अन्य परिक्षण हुँदैगरेका समाचारहरू नेपाली संचारमा प्रायोजन गरिँदै थियो। आशा गरौँ, जम्मा एक रात अस्पताल बसे हुने अपरेसनबारे पनि यस्ता ‘थप’ जाँचहरूका कुराहरू यसपालि पढ्नुपर्ने छैन।
नेपालमा चिकित्सक, नेता र मन्त्री: राम्रो आर्थिक अवस्था भएका व्यक्ति मानिन्छन्। त्यसमाथि जीवनको लामो समय नेपालको राष्ट्रपति बन्नुभएका डा. यादवले आफ्नै खर्चमा विदेशमा उपचार गर्न जान चहानुलाई उहाँको पारिवारिक र आर्थिक पृष्टभूमिमा असम्भव देखिँदैन। भलै नेपालमै गराएर चिकित्सा क्षेत्रको आत्मबल किन नबढाउने भन्ने नैतिक प्रश्न बाँकी नै रहन्थ्यो। हाम्रो देशमा सक्षमलाई अझ सुविधा प्रदान गरिने परिपाटीको अन्त्य गर्ने पहल एउटा चिकित्सकबाट हुने आशाले नै यस प्रथाको चौतर्फी विरोध हुन थालेको छ, महामहिमले सुनिरहनु भएकै होला। त्रिवि शिक्षण अस्पतालले महामहिमको जापान खर्च बराबरको रकमले एउटा इन्डोस्कोप किनेर लगभग सातहजारपटक कोलोनोस्कोपी गर्न सक्थ्यो भने यसपालिको अमेरिकी खर्चले एउटा ल्याप्रोस्कोप किनेरै लगभग ५०० जना क्यान्सर रोगीको ‘मिनिमल इन्भेजिभ र्‍याडिकल प्रोस्टेटेक्टोमी’ गर्न सक्षम हुने थियो। आशा गरौँ, अबदेखि यो हिसाब सामाजिक प्रतिष्ठाकै लागि विदेशी उपचार खोज्ने हरेक ठूला नेताहरूले गर्न थाल्नु हुनेछ।
महामहिम ‘भूतपूर्व’ भएपछि एउटा चिकित्सक भएका नाताले मेरो बुझाइ थियो कि आगामी दिनहरूमा उहाँले आफ्नो चिकित्साशास्त्रको ज्ञानको भरपुर उपयोग गरेर उदाहरण प्रस्तुत गर्नु हुनेछ। महामहिमले निवृतिभरणलाई ‘नाईँ’ नभने पनि भूतपूर्व अमेरिकी राष्ट्रपतिहरूले जसरी निवृतिभरण, घर र अफिसको सुविधा लिइसकेपछि कम्तिमा पनि आफ्नो गच्छेअनुसार समाजसेवा र राष्ट्रिय हितमा जोडिनु हुनेछ। चुरे संरक्षणको कुरामा उहाँले देखाएको रुचिले उहाँ आजीवन त्यसमा जोडिएर निस्वार्थ काम गर्नु हुनेछ। अझ धनुषाको विपन्न सपही गाउँबाट आउनुभएको उहाँले कमसेकम आफ्नै गाउँमा आफ्नै पैसाले विपन्नहरूका घरघरमा शौचालय बनाइदिनु हुनेछ। विगतमा वहाँले बिपी कोइरालाको नाडी छामेका फोटा हेरेका हामीमा महामहिमको हात छोएर त्यो बिपीको समाजवादलाई अलिकति भए पनि महसुस गर्ने अजिबको रहर थियो। समयले कोल्टे फेरिसकेको हामीले पत्तै पाएनछौँ  र त वहाँको औँलामा बिपीभन्दा पनि राष्ट्र बैँकको भुक्तानी रसिदको खस्रोपन हामीलाई आजन्म बिझाइरहनेछ।
एकहिसाबमा महामहिमले सोच्न सक्नुहुन्छ, सैयौँले लुट्दा हुने तर मैले लिँदा नै किन विरोध? पक्कै पनि कारण छन्। जनताले विरोध त्यसकै गर्दछन्, जसले केही गर्छभन्ने आशा राखेका हुन्छन्। पहिलो त वहाँ आफैँ चिकित्सक भएर नेपाली चिकित्सकको चीरहरण गर्दै हुनुहुन्छ। दोस्रो हामीले तिरेको करमा सपरिवार ‘कस्मेटिक’ अपरेसन गर्न बेफ्वाँकमा जाँदै हुनुहुन्छ। र तेस्रो अनि महत्वपूर्ण कारण चाहिँ वहाँको उपचारका लागि सहायता गर्ने सरकारी निर्णयमा कुनै सरोकार नभएका एउटा आशालाग्दा मन्त्रीलाई स्वास्थ्य क्षेत्रसंग सम्बन्धित मन्त्रालयमा आसिन भएकै कारणले चौतर्फी आरोपहरू लगाएर फेरि कहिल्यै उठ्न नसक्नेगरी थला पारिनेछ। महामहिम देशप्रति यति साह्रो निर्दयी हुनुहुन्न भन्ने आशाले नै यी विरोधका स्वरहरू सुनिएका हुन्, अन्यथा नबुझियोस्।
देशको स्वास्थ्य सेवा क्षेत्र दिनप्रतिदिन ओरालो लाग्दैछ। हरेक महिना अझ बढी सूदुरका जनताहरू स्वास्थ्य सेवामा आफ्नो पहुँच नपुगेर र शहरी जनताहरू सेवा किन्ने हैसियत नपुगेर मृत्युवरण गरिरहेका छन्। यस्तो स्थितिमा कुनैबेला स्वास्थ्य मन्त्रीसमेत भइसक्नु भएका महामहिमले आफ्नो ‘रिटायर्ड’ समयमा यो बेथितिलाई ठीक ठाउँमा ल्याउने डा. गोविन्द केसीको सत्प्रयासमा होस्टेमा हैँसे गर्नु हुनेछ भन्ने झिनो आशा त थियो नै।
तर अफसोस! माइतीघर मण्डलमा स्वास्थ्य क्षेत्र सुधार गर्न डा. केसीसंगै उभिनुहुन्छ कि भन्ने सोचेका डा. यादव आफ्नै पुरुषग्रन्थी काटेर मिल्काउन गरीब जनताको पैसाको साह्रै गरुङ्गो भारी बोकेर विमानस्थलतिर लाग्दै हुनुहुन्छ। यो बुढेसकालमा देशको पहिलो राष्ट्रपतिले यो अकल्पनीय बोझ कसरी थेग्नु होला, चिन्ता त्यसैको छ।  खैर, उहाँको यात्रा सुखद रहोस।

प्रकाशित: १७ भाद्र, २०७३।

*****