Friday, December 25, 2020

स्वास्थ्य बजेट २०७७ - महामारीले दिएको मौका

1:13 PM 1

बिल्कुलै पूरा नहुने कार्यक्रम ‘छिराइदिएपछि’ बजेट तथा कार्यक्रम र दलको चुनावी घोषणापत्रमा अंकबाहेक कुनै फरक बाँकी रहन्न


कुनै समय थियो, असार अन्तिमतिर घरभरिका मानिस रेडियोवरिपरि झुम्मिएर श्री ५ को सरकारको बजेट सुन्थे । बा–काकाको तलब कति बढ्यो, के–के महँगा भए अनि आफ्नो गाउँ–ठाउँमा के–के विकासका आयोजना परे भन्नेबाहेक चासो नभए पनि बजेट भाषण पूरै सुनिन्थ्यो । अनि त्यसैवेला थाहा पाइएको थियो, बजेटको आधाभन्दा धेरै रकम विकासमा भए राम्रो ।


दिन बदलिए । शासकलाई ‘त्यसले भन्दा ठूलो र पोहोरभन्दा विशाल’ बजेट बनाउने बानी परेझैँ लाग्छ । झन् आफ्ना सुविधा थप्दाथप्दा कहालीलाग्दो बनिसकेको चालू खर्चलाई सम्पूर्ण बजेटको आधाउधीमै राख्ने प्रयत्नमा बन्दै नबन्ने विकासका आयोजना ‘हाल्दिएर’ हामीले स्कुलमा बनाएको जस्तै कुनै कृत्रिम ‘रामप्रसाद राइसमिल’को वासलातजस्तै बनिसकेको भान हुन्छ । हुन त एक मनमा यसरी बाह्रथरी विकासका सपनामै बजेट छुट्याउँदा पनि पुँजीगत खर्च बजेटको एकचौथाइ मात्र हुन सकेको लज्जाबाट बरु ३० खर्बको बजेट, दोलालघाटसम्मको पानीजहाज मार्ग र कुश्मा हुँदै मुक्तिनाथ पुग्ने बुलेट ट्रेनसम्मका गफ दिएर किन मुक्त हुन खोजेनन्, अलिक अचम्म पनि नलागेको हैन ।


तर पनि अचम्म लाग्दालाग्दै यस वर्षको स्वास्थ्य क्षेत्रका कार्यक्रम हेरियो । लगभग ३२ प्रतिशत वृद्धि भएको यो क्षेत्रको बजेट साँच्चै उत्साहजनक छ वा छैन भनेर समग्रमा दाँजियो । अनि भौतिक विकासतर्फ हरेक खोल्साका पुलपुलेसाका नाम लिन छाडिए पनि स्वास्थ्य क्षेत्रको कार्यक्रमचाहिँ उही बाल्यकालकै बजेट भाषणको निरन्तरता बुझेर अलिक खिन्न भइयो ।


करिब ६८ अर्ब ७८ करोड रुपैयाँको चालू आर्थिक वर्षको स्वास्थ्य क्षेत्रको बजेटमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्दै आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ भनियो, कार्यान्वयन भएन । क्यान्सर, उच्च रक्तचाप र मधुमेहजस्ता रोग प्रतिरोध तथा निदान कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको भनिए पनि वर्षभरि लगभग कुनै कार्यक्रम नै सञ्चालन भएनन् । भनियो कि स्वास्थ्य पूर्वाधार नभएका स्थानीय तहमा कम्तीमा एक प्राथमिक अस्पताल स्थापना गरी सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सकको व्यवस्था गरिनेछ । तर, आर्थिक वर्षको अन्त्यमा आइपुग्दा न चिकित्सक बढे, न सेवा नै । बरु बजेटलगत्तै मन्त्रीजीको ‘स्वास्थ्य मन्त्रालयअन्तर्गत कति चिकित्सक र कति अन्य स्वास्थ्यकर्मी छन् भन्ने नै एक वर्षमा पनि पत्तो लगाउन सकिनँ’ भन्ने निरीहता आयो ।


अर्को बुँदामा सबै प्रदेशका कम्तीमा एक अस्पतालबाट विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने नीतिअनुरूप कोसी अस्पताल, भरतपुर अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पताल सुर्खेत, भेरी अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नति गरिने प्रतिबद्धता भए पनि हाल आएर सरकार नै उल्लेखित अस्पतालमा के कस्तो विशिष्टीकृत सेवा सुचारु भए, अनभिज्ञ छ । यसैगरी, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन, सिराहामा क्यान्सर अस्पताल निर्माण गरी बिपी कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सेवा सञ्चालन गर्ने कार्यक्रममा परे पनि उल्लेख्य प्रगति भएन । वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको विशिष्टीकृत सेवासहितको उत्कृष्टता केन्द्रको रूपमा विकास गरिने र भक्तपुरको दुवाकोटमा सेवा विस्तारका लागि विस्तृत अध्ययन सम्पन्न गरी अत्याधुनिक भवनको निर्माण कार्य अघि बढाउने भनियो मात्र, देखिने प्रगति भएको छैन ।


यसरी १४ बुँदाको कार्यक्रममा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा, बालपोषण, खोप, आरोग्य भवन, आयुर्वेद, युनानीजस्ता सदा भन्दै आइने ‘कपी पेस्ट’ कार्यक्रमलाई समेत समावेश गरेर हेर्ने हो भने बिल्कुलै खराब कार्यान्वयन भएको स्वास्थ्य क्षेत्रमा तेस्रो चौमासिकमा कोरोना कहर थपियो र गत वर्षको बजेट तथा कार्यक्रमअनुसार झन् कुनै कामै नगरिएको क्षेत्र बन्न पुग्यो । 


र, यसपटकको बजेटमा विगतमा भन्दा तीनवटा फरक देखियो । कोरोनाका कारण बजेटमा सबैभन्दा प्राथमिकतामा स्वास्थ्य क्षेत्र पर्‍यो र स्वास्थ्यका कार्यक्रम पहिला पढियो । दोस्रो फरक, स्वास्थ्यमा करिब ३२ प्रतिशतले बजेट बढ्यो । जसमा अस्पताल निर्माण र सामान खरिदमा करिब १३ अर्बको ठूलो रकम विनियोजित छ । स्वास्थ्य बजेटको उल्लेख्य हिस्सा कोरोना र सम्बन्धित खरिददारी र तयारीमा जाने देखिन्छ । हुन त यसपटकको स्वास्थ्य बजेटबाट कोरोना पक्षलाई अलग गर्ने हो भने बजेट वृद्धि त्यति धेरै नदेखिन सक्छ । झन् विगत १० वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको रकम प्रतिशतमा हेर्ने हो भने सुरुका वर्षमा साढे ६ प्रतिशत हाराहारीको बजेटको तुलनामा यसपटक महामारीबीच आएको ६ प्रतिशतको बजेटलाई धेरै ठूलो भन्न नसके पनि चालू वर्ष हेरी एकैपटक करिब २२ अर्बको वृद्धिलाई सकारात्मक मान्न सकिन्छ ।


यसैगरी तेस्रो फरक, केही कुरामा लक्ष्य कम तोकियो । यसै आर्थिक वर्षभित्र सबै स्वास्थ्य संस्थाबाट देशैभरि निःशुल्क आधारभूत अत्यावश्यक सेवा प्रदान गरिने उद्‍घोषबाट केन्द्रीय अस्पतालबाट मात्रमा झरियो भने यसै आर्थिक वर्षमा सबै जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने कुराबाट आगामी तीन वर्षभित्र पूरा गरिने लक्ष्य राखियो । यसलाई यथार्थ वस्तुस्थिति अवगत भएको भनेर बुझ्न सकिन्छ ।


अपेक्षाअनुरूप नै महामारी प्राथमिकतामा परेको छ र अरू संक्रामक तथा अन्य रोगबाट सिर्जना हुने स्वास्थ्य जोखिमको न्यूनीकरण गर्न, रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि गुणस्तरीय स्वास्थ्य सेवा, पूर्वाधार विकास, औषधि एवं उपकरण र दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा विस्तार गर्न उच्च प्राथमिकता दिइएको छ । यससँगै क्वारेन्टाइन, औषधि, कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता, बिमा समावेश छन् । महामारीबाट शिक्षा लिँदै भविष्यमा यस्ता प्रकोपका लागि पूर्वतयारीस्वरूप काठमाडौं उपत्यकामा तीन सय शय्याको छुट्टै सरुवारोग अस्पताल निर्माण, काठमाडौं उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप दुई सय ५० शय्या आइसियू बेड र सबै प्रदेश राजधानीमा ५० शय्याको सरुवारोग अस्पताल सञ्चालन गरिने प्रतिबद्धता छ।


बिल्कुलै पूरा नहुने कार्यक्रम ‘छिराइदिएपछि’ बजेट तथा कार्यक्रम र दलको चुनावी घोषणापत्रमा अंकबाहेक कुनै फरक बाँकी रहन्न । यो बजेट पनि त्यस्तै चुनावी हावामहल हो भन्ने आधार नभएको होइन । दशकौँदेखि तदर्थवादले थलिएको सरकारी स्वास्थ्य सेवा प्रणालीको ‘पाराडाइम सिफ्ट’ अपरिहार्य छ । अनि यो बजेट त्यही तदर्थवादमा उभिएको छ वा बदलिने छाँट छ, पानी अझै धमिलै छ।


बितेका केही दशकमा नेपालको स्वास्थ्यसम्बन्धी सूचकांकमा सुधार आएको छ । नवजात मृत्युदर, सुत्केरी मृत्युदर, क्षयरोग आदिमा उल्लेख्य कमी भएको छ भने औसत आयु बढेको छ । तर, सूचकांकको सकारात्मक प्रगतिमा सरकारको तत्परताको भन्दा गाउँगाउँमा वैदेशिक रोजगारीले ल्याएको पैसा, कम सन्तान जन्माउने चाहना र समयमै स्वास्थ्य सेवा लिने सचेतनाको हक लाग्छ । आँकडाअनुसार बितेको २० वर्षमा जनताको आयबाट स्वास्थ्य सेवामा गरिने खर्चमा ३० प्रतिशतको औसतमा बढोत्तरी भएको छ, तैपनि त्यो रकम दक्षिण एसियाली देशहरूको तुलनामा न्यून नै छ । अहिले नेपालीले प्रतिव्यक्ति आयको लगभग ५.५ प्रतिशत स्वास्थ्यमा खर्च गर्छन् । झन् गरिबीका रेखामुनि रहेका नेपालीले हाल २० वर्षअघिभन्दा १० गुणासम्म ज्यादा खर्च गर्नुपरिरहेको छ । अर्को अध्ययनअनुसार हाल हरेक नागरिकले वार्षिक तीन हजार पाँच सय रुपैयाँजति प्रत्यक्षरूपमा आफ्नै गाेजीबाटै स्वास्थ्यमा खर्च गर्छन् । यो भनेको नेपालमा वार्षिक लगभग १ खर्ब रुपैयाँ स्वास्थ्य सेवा प्राप्ति गर्नका लागि जनताले नै थप खर्च गरिरहेका छन् । र, पूर्वाधारका साथै उपचारात्मक सेवामा मात्र नभएर रोकथाम तथा प्रतिरोधात्मक क्षेत्रमा समेत गरेर सरकारले जम्मा ९० अर्ब रुपैयाँको स्वास्थ्य बजेट ल्याएको छ । ‘युनिभर्सल हेल्थ’मा जान हामीले निकै ठूलो खाडल पुर्नुपर्ने जरुरत यसैबाट महसुस गर्न सकिन्छ नै ।


स्वास्थ्य सेवाप्रदायक संस्थाका लागि चारवटा अवयव आवश्यक हुन्छ– जनसंख्या, भवन, उपकरण र स्वास्थ्यकर्मी । यसपटकको बजेट विगतमा झैँ मुख्य अवयव स्वास्थ्यकर्मीको उपलब्धता र तिनलाई सरकारी अस्पतालमै टिकाइरहने उपायबारे मौन छ । चिकित्सकको तलब सुविधा र अन्य वृत्ति विकासका कार्यक्रम नल्याई ती भवन र औजार काम लाग्ने रहेनछन् भनेर यही महामारीमा सरुवारोगको केन्द्रीय अस्पतालमै भेन्टिलेटर र त्यो मेसिन चलाउन जान्ने जनशक्ति अभावले कति पंगु हालतमा हामी रहेछौँ भनेर चेतेको देखिएन । फेरि पनि घर बनाउन र सामान किन्न नै प्राथमिकतामा पर्नुका कारणबारे केही लख काट्न सकिन्छ नै । नेपाल मेडिकल काउन्सिलका अनुसार हालसम्म करिब ३० हजार चिकित्सक दर्ता छन् । १० हजार चिकित्सक नेपालबाहिर मान्दिँदा पनि बाँकी २० हजारमा जम्मा दुई हजार पनि स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालमा कार्यरत छैनन् । अधिकांश जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र छात्रवृत्ति करारका चिकित्सक तथा ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको प्रतापले चलेको यथार्थ जहिलेसम्म बिर्सिन्छौँ, तहिलेसम्म हाम्रो जमिनी हालत बदलिँदैन । भूकम्पले जर्जर भइसकेको घरलाई बाहिरी भित्तो लिपलाप गरेकै भरमा बलियो मान्न नसकिएजस्तै मूल खाँबाहरूको सबलीकरण नगरी नयाँ भवन र उपकरण किनेकै भरमा सरकारी अस्पताल बलिया हुन्नन् । पहिला भवन निर्माण तथा खरिदको सजिलो बाटो रोज्नाले गाह्रो मानव संसाधनको कुरो चटक्कै बिर्सिएको देखिन्छ । हुन त ‘कीर्तिप्रेमी’ समाजमा मान्छेको निधारमा शिलान्यास र उद्घाटनको शिलालेख टाँस्न सकिन्न नै ।


विगत केही वर्षदेखि सरकारलाई हरेक नेपालीको आधारभूत स्वास्थ्यमा पहुँच पुर्‍याउन ‘स्वास्थ्य बिमा’ अचुक अस्त्र हो भन्ने भान परिरहेको छ । स्वास्थ्य संस्था सबल नबनाई आएको यो बिमा कार्यक्रम ‘घाँडो’ हुने निश्चित छ । यति हुँदाहुँदै सरकारले यो कार्यक्रम सबै जिल्लामा पुर्‍यायो भन्ने आत्मरतिका लागि जबरजस्ती यसको प्रचार गरिँदै छ ।


दुई वर्षअघि नै ३६ जिल्लामा लागू भइसकेको यो कार्यक्रम देशैभरि किन पुगेन ? सरसर्ती हेर्दा कुनै अप्ठ्यारो पनि थिएन । कार्यक्रममा सूचीकृत हुन चाहने निजी अस्पतालका लागि सूचना निकाल्ने र सरकारी तथा सूचीकृत निजी अस्पतालमा इन्टरनेटसहितको कम्प्युटर राख्नेबाहेक स्वास्थ्य बिमा बोर्डका निर्देशकले खादा ओढेर अर्को कुनै मन्त्रीलाई खादा ओढाएर एउटा फ्लेक्सअघिल्तिर उभ्याउँदै उद्घाटन भाषण गर्न लगाउनु मात्रै पर्ने यो कार्यक्रम देशैभरि पुग्न किन बाटो निर्माणजस्तै कठिन भयो त ? यथार्थ यति सरल छैन । सरकारले नै यसै आर्थिक वर्षभित्र सबै जिल्लामा स्वास्थ्य बिमा गर्ने भने पनि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा यसलाई अर्को तीन वर्षका लागि तन्काएको छ । पहुँच पनि घटाएर जम्मा ४० प्रतिशतमा झारेको छ । किन त ?


किनभने, हरेक वर्ष प्रयत्नका बाबजुद अघिल्लो वर्ष बिमा गराएको परिवारले नवीकरण गरिरहेका छैनन् । सरकारले जम्मा १५ प्रतिशले मात्र पुनर्बिमा गरेका छैनन भने पनि चितवनमा बिमा गरेका ४९ प्रतिशत हाराहारीमा मात्र नवीकरण भएको छ । ज्येष्ठ नागरिक, एकल महिलालगायत विभिन्न वर्गलाई निःशुल्क गरेर लगभग १३ प्रतिशत जनताको सरकार आफैँले प्रिमियम तिरिदिएर बिमितको आँकडा बढाए पनि जिल्लाभित्रै साँच्चैको उपचार गर्ने सरकारी अस्पताल भएका चितवन, सुनसरी र मोरङजस्ता जिल्लामा त अपेक्षाकृत सफल हुन नसकेको यो कार्यक्रम इलाम, हुम्ला वा कपिलवस्तुमा कसरी सफल मानिनेछ, समयले देखाउँछ नै ।


सबै औषधि नपाइने, बिमाका सेवाग्राहीलाई दोस्रो दर्जाको व्यवहार, झन्झटिलो प्रक्रिया, उपचार सेवा दिन अक्षम प्राथमिक अस्पतालजस्ता कारणले बिमा सुविधाभन्दा सास्ती भइरहेको गुनासोलाई न्यूनीकरण नगरी सरकारले फगत अंक बढाउने लक्ष्य राखेको बुझिन्छ । तीन वर्षदेखि हरेकपटक सबै जिल्लामा स्वास्थ्य बिमा भने पनि किन सबैमा पुगेन ? सबै जिल्लामा पुगेका दिन किन आधाभन्दा बढी जनसंख्या बिमामा समाहित भएनन् र किन अघिल्लो वर्ष बिमा गर्नेमध्ये आधाले अर्को वर्ष गरेनन् भन्ने अप्ठ्यारो प्रश्न आउनेछ र कार्यक्रम असफल देखिनेछ भनेर नै सबै जिल्लामा पुग्ने समय जानाजान तन्काइँदै छ ।


अझ बिमा बोर्डले आफ्नो वेबसाइटमा ०७४/७५ यताको वार्षिक प्रगति विवरणसमेत राख्न छाडेको छ । विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार देशको जनसंख्याको ७५ प्रतिशतभन्दा बढी बसोवास गर्ने ५६ जिल्लामा लागू गरिसकिए पनि जम्मा ९ प्रतिशत जनताले मात्र स्वास्थ्य बिमा गराएको दुःखी आँकडा छ । अझ प्रदेश २ मा हालसम्म जनसंख्याको डेढ प्रतिशतभन्दा कमले बिमा गराएको अवस्था छ । जनसंख्याको ९ प्रतिशत सहभागिताले गर्दा प्रदेशका सबै जिल्लामा लागू भइसकेको सुदूरपश्चिमको हालत पनि उत्साहजनक छैन । र, आगामी वर्षका लागि ४० प्रतिशत जनतामा स्वास्थ्य बिमा पुर्‍याउने असम्भवप्रायः लक्ष्य सरकारले तोकेको छ ।


कुनै रोगले च्यापेमा ‘उपचार नपाउने’ यकिन हुँदाहुँदै पनि एकबाट अर्को अस्पताल डुल्नुपर्ने झन्झटले बिमा योजना सुरुवातमै असफल हुने देखिँदै छ । सरकारी स्वास्थ्य संस्थाबाट स्तरीय सेवा दिन नसकेपछि सरकार बिमा कार्यक्रममा निजी अस्पताललाई पनि सहभागी गराइरहेको छ । तर, कमजोर अनुगमनका भरमा ‘नाफामूलक’ निजी अस्पताल र मेडिकल कलेजले कति प्रतिशत कागजी उपचार गरेरै बिमा रकम लैजानेछन् भन्ने हेक्का सरकारलाई नहुनु अर्को विडम्बना हो । स्वास्थ बिमा बोर्डले लगभग सबै ५० लाख परिवारबाट वार्षिक १५ अर्ब रुपैयाँको प्रिमियमबापत आय गरेर उनीहरूको उपचार र कागजी उपचारमा पाँच खर्ब रुपैयाँ कुनै पनि उपायबाट तिर्न सकिन्न भन्ने सरकारलाई थाहा नभएको हैन । तसर्थ, सरकार उपचारप्रदायक संस्था ‘झुर’ र सेवा पाउने प्रक्रिया ‘झन्झटिलो’ बनाउनमा नै व्यस्त देखिन्छ ।


यस्तै, बजेटमा मुलुकमा कतिवटा मेडिकल कलेज खोल्ने र कसरी चलाउने भन्ने ठोस योजना देखिएन । हरेक प्रदेशमा प्रतिष्ठान खोल्नुभन्दा एउटै चिकित्सा शिक्षा विश्वविद्यालय बनाएर विभिन्न मेडिकल कलेजलाई समाहित गर्ने नीतिबारे प्रस्टता आएन । केही विशेषज्ञताका अस्पताललाई स्नातकोत्तर अध्यापन गराउन एउटा छाता ऐन ल्याउने कुरो मात्र आयो, देशभरि चलिरहेका र खुल्न गइरहेका सबै प्रतिष्ठान यथावत् रहने भए । हरेक प्रभावशाली नेताका चुनावी क्षेत्रमा मेडिकल कलेजको घोषणा र भवन निर्माणमा ध्यान केन्द्रित गरियो । आगामी वर्ष कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनेदेखि बर्दिवास, राजविराज, बुटवल तथा सुर्खेतका मेडिकल कलेजको पूर्वाधार विकास गर्ने कुरा मात्र गरिएन कि यथार्थमा कतिवटा मेडिकल कलेज खुल्न लागेका हुन्, सरकारलाई नै थाहा नभएको भान हुन्छ । तत्तत् कलेजका भौतिक पूर्वाधार बनाइसकेपछि त्यहाँ कसरी अध्यापन गराउने चिकित्सकको व्यवस्था गरिनेछ भनेर कुनै सोच राखेको पाइएन । अझ योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने भनिएको छ ।


विगतको एकैनासको बजेटभन्दा यसपटक भौतिक पूर्वाधारका लागि उल्लेख्य बजेट, कतिपय अस्पतालको स्तरोन्नति, प्रमुख प्रवेश नाकामा स्वास्थ्य डेस्क स्थापना, प्रयोगशालाको स्थापना, एकीकृत एम्बुलेन्स सेवा र नेपाल औषधि लिमिटेडको क्षमता विस्तारजस्ता महत्वका कार्यक्रम समावेश गरिएकाले केही सुधार हुने आशा पलाएको छ । स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पताल सञ्चालनमा एकरूपता ल्याई व्यवस्थित गर्न क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिने, स्वास्थ्य सेवाको विद्यामान दरबन्दीलाई पुनरावलोकन गरी स्वास्थ्यकर्मीको संख्या थप गर्ने अनि ‘सेन्टर फर डिजिज कन्ट्रोल’, ‘फुड एन्ड एडमिनिस्ट्रेसन’ र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनका लागि प्रारम्भिक कार्य सुरु गर्ने कार्यक्रम सकारात्मक कदम मान्न सकिन्छ । निजी अस्पतालका चिकित्सकले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य विशेषज्ञ सेवा दिनुपर्ने व्यवस्था मिलाएको भनिए पनि यसको कार्यान्वयन जटिल हुनेछ नै । यसैगरी, बजेटमा भनिएको अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने व्यवस्थाले स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रका रिक्त तथा नयाँ दरबन्दीमा के कस्तो असर पर्नेछ भन्ने द्विविधा कायमै छ । सुर्तीजन्य तथा मदिरामा लगाइएजस्तै पत्रुखाना र गुलियो पेय पदार्थ तथा खाद्यवस्तुमा अतिरिक्त स्वास्थ्य कर यसै वर्षदेखि सुरु हुने अपेक्षा थियो, तर भएन । सरकारी अस्पतालमा चिकित्सकलाई आकर्षित गर्न र टिकाउन बजेट मौन रहेकाले फेरि पनि वर्षको अन्त्यमा अघिल्लो वर्षको बजेटजस्तै यो बजेट पनि स्वास्थ्य विषयमा अनुत्तीर्ण हुने सम्भावना जीवितै छ । झन् विनाकुनै प्रोत्साहन यस वर्ष सरकारले ल्याएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’को प्रावधानले चिकित्सकलाई सरकारी जागिर खान अझ विकर्षित गर्ने त हैन भन्ने आशंका पनि उब्जाएको छ ।


अन्त्यमा, एकातिर बजेट बढाएर र कोरोना महामारीका कारण आइसियू थप्ने, सरुवा रोग अस्पताल बनाउने, उपकरणको खरिद गर्ने र केही अस्पतालमा सेवा थप गर्नेबाहेक अधिकतर पुरानै कार्यक्रमलाई नयाँ बोतलमा हालेर विगतमा भन्दा केही संयमित भएर आएको यो बजेटले आर्थिक वर्षको अन्त्यमा स्वास्थ्यकर्मीविनाका भवन बनाउने र मेसिन किनेर थन्क्याउनेबाहेक केही दिगो उपलब्धि हासिल गर्न सकोस् भन्ने जनअपेक्षा अन्यथा होइन नै ।

***

(जेठ २०, २०७७ को नयाँ पत्रिकामा प्रकाशित)

सगरमाथा, चोमोलोङ्मा वा एभरेस्ट? मानसिकता र नाम दुवै सुधारौँ !

11:42 AM 0

हाम्रो हरियो पासपोर्टले निम्त्याउने हेयलाई बिर्साउन पनि होला, विगत केही वर्षदेखि म अलिक बढी नेपाल घुम्ने भएको छु । आगामी वर्ष कता जाने भनेर मन मिल्ने साथीभाइबीच निकै छलफल हुने गर्छ । गन्तव्य टुंगो लागेपछि विभिन्न व्यक्तिले इन्टरनेटमा राखेका जानकारीले नपुगेर सुरज भाइलाई अगाडि राखेर ‘लु भन त कसरी जाने ?’ नसोधी चित्तै बुझ्दैन । अनि साउन अन्तिमतिर भर्खरै नाम हराएको बाजेको सेकुवामा बसेर ‘सगरमाथा आधार शिविर र गोक्यो’को म्यापमा उनले औँला घुमाए, ‘पहिलो दिन ताक्सिन्डु, ३०३१, तेस्रो दिन नाम्चे ३४४० अनि पाँचौँ दिन गोरकसेप ५१६० ।’हिमाली पदयात्रामा उपलब्ध सीमित होटेल र बुक नगरी जाने नेपाली पदयात्रीले सितिमिति वास नपाउने भएका कारण हरेक वर्ष या त सिजनको सुरुमै या त सिजन लगभग सकिनेवेला नै हाम्रो सही समय हुने गरेको थियो । यसपालि पनि बर्खा रोकिने प्रतीक्षामा थियौँ । सगरमाथा आधार शिविरतिर लाग्न मन छ भने लुक्लासम्म प्लेनमा जाने नै उत्तम उपाय हुन सक्छ ।


तर, नेपाली नागरिकप्रतिको विभेद प्लेनको टिकटबाट नै सुरु हुन्छ । सिजनमा या त टिकट नै पाइन्न या त नियमित नभएर ‘चार्टर्ड’ उडान हो भन्ने कुरालाई शिरोधार्य गरेर महँगो टिकटका लागि विदेशीसँग प्रतिस्पर्धा गरेपछि बल्ल टिकट हात लाग्नेछ ।


यदि फर्किंदा पनि यस्तै नियति नभोग्ने हो भने नेपाली नागरिकले फाप्लुसम्मको जिपयात्रालाई पहिलो रोजाइ बनाएको बेस । हाम्रो अनुभवअनुसार तीन दिनको अतिरिक्त हिँडाइलाई ‘नेपाल हेर्ने अवसर’ मानिदिँदा त्यति फरक नपर्ने रहेछ ।


अहिले सिजन हो । त्यसैले पनि हामीले लुक्लासम्म प्लेनमा जाने योजना नै बनाएनौँ । झन् त्यो विमानस्थललाई संसारकै ‘खतरनाक’मध्येको एउटा भनेकाले र निथारपिथार मनसुन चलिरहेको हुनाले पनि हामी काठमाडौँबाट नै गाडीमा फाप्लुसम्म जाने, त्यहाँबाट हिँड्न सुरु गर्ने अनि फर्किंदाचाहिँ लुक्लाबाट काठमाडौँ उड्ने निधोका साथ तिजको दिन टाटा सुमो चढ्न पुगेका थियौँ । ‘तिजको दिन पनि घर छाड्ने ?’ यो प्रश्न र मानसिकताको ‘पोलिटिकल्ली करेक्ट’ जवाफ पदयात्रा भन्दा साँच्चै नै गाह्रो थियो !


‘अघिल्लोपटक त तिम्रो गाडीमा बुद्धको मूर्ति र त्यसमा सुइरो बनाएर उनिएका नेपाली नोट हुन्थे त, कता गए ?’ दुई वर्षअघि सोलुको पत्ताले पु‍र्‍याउने गुरुजी र गाडी देखेपछि बाटैमा सोधेको थिएँ । ती भाइले उतिवेला नबिर्सिने गरी नै पत्ताले भन्दा तल केरुङको गुम्बामा गजबले भजन गाउँदै हामीलाई जबरजस्ती नाच्न लगाएका थिए ।


निःशुल्क गाडी उपलब्ध गराउने सुकमानका ड्राइभरले सुनकोसी तरेपछि मलाई बिस्तारै कानेखुसी गरे, ‘सर, मैले त नामै फेरिदिएँ नि !’ त्यसपछि डेबिडलाई थप कुरो नसोधीकनै फाप्लुभन्दा अलिकपर गुडबाई गर्दियौँ ।


फाप्लुदेखि अगाडि बढ्न थालेदेखि नै ठाउँहरूका साइनबोर्डमा लेखिएका ठेगाना हामीलाई भ्रमित पार्न पर्याप्त थिए । रिन्ङमुमा छेवैको दोकान ताकसिन्दु–८ हुँदा केहीबेरपछि फेरि सोलुदुधकुण्ड नगरपालिका–१ हुन्थ्यो । यो नामको चक्कर सबै स्थानीय निकायलाई परेको हुनुपर्छ ।


नयाँ साइनबोर्ड, नयाँ नाम ! पुरानो साइनबोर्ड पुरानो नाम ! जिरीबाट आउने गोरेटोमा मिसिएर हामी बीचबीचमा बत्ती बाल्दै उकालो लाग्यौँ, ताकसिन्दुमा वास बस्न । यताबाट टी–सर्टमा हिँडेका हामी राति अतिरिक्त सिरक खोज्न थालिसकेका थियौँ ।


भोलिपल्ट बिहानै खाजा खान नुनथला पुग्ने हिसाबले ओरालो लाग्दा बीचबीचमा विकास ल्याउँदै गरेको मोटर बाटो र त्यो विकासको संवाहक सुन्तले रङको डोजर देखिन्थ्यो । गाउँ बुझाउने स्कुले केटाकेटी र कोदो रोपेका गह्रा पनि थिए । निर्जीव, तर चिटिक्क परेका घरबाहेक पनि । उसिनेको आलु र लगभग ‘राष्ट्रिय खानेकुरा’ बनिसकेको चाउचाउ खाएर हामी अझ ओरालो लागेर दुधकोसीको तिरमा पुग्यौँ ।


अतिरिक्त चुनले हुनुपर्छ, दुधकोसी त्यो बर्खामा पनि नसंग्लिइकन दूधजस्तै सेतो बग्थ्यो । त्यहाँबाट उकालो लागेपछि जुभिन नामको सानो राई गाउँ पनि भेटियो । पिँढीमा बसेर बुढी आमै चोयाजस्तै केही ताछ्दै थिइन् । ‘सुनाखरी हो नानी ! टोपीमा लाउने फूल बनाउँछु’ भन्दैथिन् । पहिला प्रशस्तै भेटिन्थ्यो, तर अहिले त्यत्ति भेटिन्न रे ! दुर्लभ भएकैले अलिक महँगो पनि छ नि त !


‘दाइ, ऊ त्यो पहाडबाट फुत्त रेल निस्किएर दुधकोसीको पुल तरेर यो पहाडको सुरुङबाट फुत्तै भित्र छिर्न सक्छ नि हैन ?’ रेलले मलाई त्यहाँ पनि छाडेन । इन्टरनेट भएको भए ती पहाडका उचाइ र दुधकोसीको तिरको उचाइ देखाएर लोपर्दिन्थेँ होला, धन्न थिएन ।


त्यस्तै, तेन्जिङलाई लिएर हिलारी कसरी त्यो वेला सगरमाथासम्म पुगे होलान् भन्ने जिज्ञासालाई जितेर मेरो मन त्योभन्दा सय वर्षअघि बेलायतीले नेपालको टोपोग्राफी कसरी बनाए होलान् भन्नेमा अल्झिएको थियो । ‘ऊ त्यो डाँडा यति मिटर अग्लो र यी यो डाँडो यति मिटर अग्लो भन्न कसरी सके होलान् र कति समय लाग्यो होला ?’ म यसैमा चित खाँदै उकालो चढ्दै थिएँ ।


‘अहिलेको भारत वा चीन भएको भए अनि लुम्बिनी र सगरमाथाको महत्व उतिवेला नै थाहा भएको भए न त लुम्बिनी नेपालमा हुन्थ्यो न त सगरमाथाको चुचुरो नै । यो फगत ‘टाइमिङ इरर’ हो, हामीले फोकटमा पाएको,’ मेरो भनाइ कतिलाई पचेन नै । नपचोस् पनि । ‘बुद्ध वाज वर्न इन नेपाल भन्दा केपी इज’ भनेर गर्व गर्न चाहने म एउटा अदना नेपाली !


दुधकोसीबाट उकालो लाग्दा पछाडि दक्षिणतिर दुई–चार डाँडा पर हिजोको ताकसिन्दु देखिँदैथियो । बीचबीचमा परेको पानीले घरी हामीलाई बर्सादी ओढाउँथ्यो त घरी गर्मीले उकुसमुकुस्याएर झोलामा कोच्याउन लगाउँथ्यो ।


झरीसँगको लुकामारी हामीले अर्काे तीन दिन बेहोरे पनि बाटोले राम्रो खबर भनिसकेको थियो, ‘लुक्लामा चार दिनदेखि प्लेन उत्रिन सकेको छैन र दुई दिनदेखि त एउटा–दुईटाबाहेक हेली पनि उडेन रे !’ नाम्चेदेखि नै हाम्रो प्रतिस्पर्धामा विदेशी नहुने र सजिलै कोठा पाइने सम्भावनाले ‘अझ दुई दिन यस्तै होस्’ भनियो नै ।


एकनासको उकालोपछि खरिखोला आयो । पासाङल्हामुको गाउँ । भर्खरै गाउँपालिकाले पनि त्यही नाम पाएछ । ठूलो बजार । सायद खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो गाउँ होला । खाना हाम्रा हितैषीकै होटेलमा खाने भनेकाले अलिकति ओरालोपछि फेरि उक्लिन थालियो ।


३ बजे बल्लतल्ल आङ छोटी र पेम्बाको सुन्डुप लज पुगियो । दिउँसोको खाना खाने योजना बनाएर हिँडेका हामीभन्दा केही साथी निकै पछि थिए । आइपुग्दा नपुग्दै साँझ पर्न थालेकाले त्यो रात बुप्सामै बस्ने निधो गरियो ।


निःशुल्क वास र खानाका लागि अनुगृहीत हुँदै एकाबिहानै उकालो लागियो । करिला भन्ज्याङ अनि ओरालो, पैँयासम्मै । पानीले बीचबीचमा भिजाइरह्यो । अझ भिज्दा जाडो पनि हुन थाल्यो । खुम्बु–पासाङ गाउँपालिकामा वस्तुभाउ चराउँदा कर तोक्ने र लिने निकायचाहिँ कुनै नौ–लेख युवा क्लब रहेछ ।


‘स्थानीय’लाई अलिक कम र ‘अस्थानीय’लाई अलिक बढी कर । साँच्ची ती क्लबका सदस्यहरूले काठमाडौँ महानगरपालिकाले त्यसरी नै ‘अस्थानीय’ भएर घर बनाएबापत थप कर तिर्नुपर्ने नियम बनाए के गर्थे होलान् ? वा क्लबलाई अतिरिक्त कर तिर्थे कि ?


कसैको बोटबाट टिपेका केही दाना आरु अनि बल्लतल्ल भेटिएको एक प्लेट सुकुटीसहित भात खाएर सुर्केबाट फेरि उकालो हिँड्नुपर्ने भयो । त्यस दिन भने पानीले अलिक मजाले नै चुट्न भ्यायो । तेस्रो दिनसम्म पनि हिमाल त के राम्ररी साथीको अनुहारसमेत हेर्न पाइएन ।


लुक्ला र नाम्चेको बीचको कुनै ठाउँ बस्ने योजना फेरि तुहियो । ‘मरेर लानु के छ र दाइ ? आज यतै बसौँ’, चौँरीखर्कमा निस्किएको अनिलको आग्रहमा लगभग सबैको स्वर मिसिएको थियो । हामी लुक्ला एयरपोर्टको ठीकमुनि सुतेका थियौँ र सुन्दैथ्यौँ ६ दिनदेखि प्लेन नउडेका कथा ।


लुक्लामा प्लेन कुर्दाकुर्दै निराश भएर हिँडेरै फाप्लुतिर झर्दै गरेका विदेशीका साथ आएका भरियाले धन्न हौसला दिइरहे, ‘उता माथि त गज्जब छ, वेदर ।’


चौथो बिहान चौँरीखर्क कट्नेबित्तिकै देब्रेतिर अलिकति हिउँ भएको सानो टुप्पो झलमल्ल भयो । चौँरीखर्क र घाटका मानिसले त्यसलाई कोङ्दे भने पनि न त दाहिनेतिरको कुसुम न कोङ्देले हामीलाई उतिसारो उत्साहित बनाउन सक्यो ।


काला चट्टानका टुप्पामा एक डोको हिउँ खन्याएकै भरमा तिनलाई ‘हिमाल’ मान्न मन मानेन नै । अन्नपूर्ण क्षेत्रमा जस्तै बेलायती संस्था ‘कादुरी’ले यता पनि निकै सहयोग गरेको रहेछ । केही झोलुंगे पुल, खानेपानी र ठाडोकोसी लघु–जलविद्युत् ।


अब हामी लगभग फाक्दिङ नजिक आइपुग्यौँ । र, अब छ्याप्छ्याप्ती भए, ‘मेरो घर जलेकाले सहयोग गर्न अनुरोध’, ‘यो माने घुमाए आत्मा शुद्ध हुनेछ’ र ‘यो मानेमुनिको पानी खाए पाप नाश हुन्छ’ भन्ने आशयका अंग्रेजी सूचना पाटीहरू ।


हामी ‘माग्न कहिले छाड्छौँ होला ?’ हुन त सरकारै मगन्ते छ । सालोको जेठानको गाडी मागेर कुदाउन पाउँदा नै ‘पत्याउने’ हैसियत बनाएकामा दंग पर्ने मानसिकताका जनताको सरकार कुन स्वर्गबाट छानिएर आउने हुन् र ?


ऊ पनि दुई लाखको एम्बुलेन्समा ‘भारतीय सहयोग’ लेखाएर बाटामा दौँडाउँदा अलिकति पनि लाज मान्दैन । बल्ल आइपुग्यो, औसत नेपालीलाई तर्साउने लुक्ला–सगरमाथा आधार शिविरको बाटो । अनि स्वागत गर्न तयार थियो, ड्रिमल्यान्ड लज एन्ड रेस्टुरेन्ट ।


एउटा सुख्खा रोटी र सानो कचौराको आलुको तरकारीलाई सात सय रे ! त्यो पनि लजका साउजीका अनुसार नेपालीलाई भनेर डिस्काउन्ट गर्दिएका । सोध्यौँ, ‘डिस्काउन्ट नगरे कति हुन्छ ?’ ‘आठ सय,’

साउजीको जवाफ ।


अनि आठ सयकै दरले तिरेर नाम्चेतिर लाग्यौँ । यही फाक्दिङबाट सुरु हुने रहेछ, विदेशी मापदण्ड । सगरमाथाको हिउँ आउने खुम्बु ग्लेसियरबाट प्रशोधित भनिने मिनरल वाटर अब बोतलको सय रुपैँयामा उक्लिएछ । उचाइअनुसार पानी पनि महँगो हुने नै भयो ।


फाक्दिङमा दुधकोसी फेरि तरियो र त्यसको पारिपट्टि जर्मन सहयोगमा हिमालयन शेर्पा हस्पिटल बन्दै रहेछ । ठूलो र एकदमै राम्रो । बिरामी त फाट्टफुट्ट होलान्, चिकित्सक पनि त्यस्तै फाट्टफुट्ट त हुने होलान् नि !


अब गाउँ नभए पनि होटेल र ठाउँका नामहरू प्रशस्तै थिए । त्यसरी नै हरेक १०–१५ मिनेटमा ठाउँको नाम बदलिने र दुई–चार होटेल देखिइहाल्ने । जति नै होटेल भेटिए पनि खानामा उही दाल, भात र तरकारी ।


तरकारी पनि एकनासः आलु, आलु, आलु, गाजर र कताकता रायोको सागको अलिकति हरियो त्यान्द्रो। अनि अन्नपूर्णतिर पाइने टिम्मुर र खुर्सानीको धुलोभन्दा फरकचाहिँ अकबरे खुर्सानीका टुक्रा र भिनेगरमा डुबाएका टिम्मुरका झुप्पा । बाटामा फाट्टफुट्ट ‘यहाँ नेपालीका लागि खान र बस्नको उचित व्यवस्था छ’ लेखेका झुप्रे होटेल पनि देखिन थाले ।


‘इन्ट्री गर्दिनुस् न । हामी पनि त हराउन सक्छौँ’, जोरसालेको सेनाको चेकपोस्टमा नाम, ठेगाना लेखाएर हामी फेरि दुधकोसीको तिरमा झर्‍यौँ । ‘यो उकालो चढिसकेपछि किन बाटो ओराल्ने होला नि ?’ दुधकोसीको जोरपुल कटेर लगातार उकालो चढेपछि कष्टले नाम्चे पुगियो । नाम्चेः एक हिसाबले स–सानो ठमेल ।


दिनभरिको पानीमा भिजेका मेरा जुत्ताले चाँडै सुकाउने रहरमा भान्साघरको उन्नत चुलोमा झ्याम्मै सेकाउने हुँदा चौँरीखर्कमै मुख बाइसकेको थियो । जेनतेन नाम्चे आइपुगेको जुत्ताले माथि धोका दिने पो हो कि भनेर दाहाल स्टोरमा नयाँ जुत्ता पनि किनियो, सायद ठमेलमा १५ सय जतिमा आउनेलाई त्यहाँ ठ्याक्कै पाँच हजार तिरेर ।


‘एक दिन ढिलो’, निवेशलाई हाम्रो हिँडाइँबारे टिप्पणी गरेँ । लिक्विड बार । भारत र मालदिभ्सको फुटबल फाइनलको दिन । हामी सानो टिभीमा दाहिने हेर्दै थियौँ र केही विदेशी आएर देब्रेतिर ठूलो पर्दामा ‘एभरेस्ट–१५’ हेर्न थाले । माल्दिभ्सले बल अगाडि बढाउँदा हामी ताली बजाउँदै थियौँ र हिलारी पुल देख्दा विदेशीहरू । अनि जान्ने पल्टिए, एकजना नेपाली ।


‘मेरा गेस्टहरूलाई डिस्टर्ब हुन्छ । तपाईंहरू चुप लागेर बस्दिनुस् है !’ ‘साथी, यो बार हो र हामी पनि फुटबल हेर्दै छौँ’, अनिल सदाझैँ मृदुभाषी ।‘नो ! फुटबल हेर्ने भए चुपचाप हेर्ने । राम दाइ, आवाज म्युट गर्दिनुस् त ।’ अनि हामी जंगियौँ, ‘बारमा बसेर बोल्न नपाइने, उत्ति नै पैसा तिरेर खान नपाइने अनि उनीहरूको बिलभन्दा तीन गुणा बढी बिल तिर्दा पनि हेपिनुपर्ने ?’


‘राम दाइ, विचार गर्नुस् है । म त आइरहने मान्छे,’ गाइड भाइले धम्क्याउन छाडेनन् । नाम्चेभन्दा माथि लागेपछि साँच्चैको गाउँ पाङ्बोचे आयो । तल खोलाको छेउमा खेत र खेतमा आलु र गाजर खन्दै गरेका ‘किसान’हरू ।


त्यसभन्दा माथि दिङ्बोचेबाहेक कतै–कतै चौँरी र घोडा चराउने खर्क र होटेलबाहेक केही थिएन । तेङ्बोचेबाटै रुख त गायब भइसकेका थिए । दिङ्बोचेमा आलु खन्न आएका केही भाइहरूको सहायताले चार–पाँचवटा होटेल चहारेपछि वास पाइयो । हाम्रो चारहजार मिटर माथिको पहिलो वासको त्यो होटेलमा विदेशीलाई दिने कोठाहरू र ‘नेपाली’लाई दिने कोठाहरू बाहिरैबाट ‘स्तर’ छुट्टिने किसिमका थिए ।


कोठाबाहेक होटेल साहु रामजीको आतिथ्य राम्रै थियो, तर पनि मनमा विभेदको खिल गढाउन तिनै ‘कोठा’ पर्याप्त थिए । बाहिरको हावासमेत नआउने स–साना कोठाका रात हामी सबैलाई ‘लेक लागेको’ डर देखाउन सफल पनि भए ।


दिङ्बोचेबाट माथि लागेपछि बुझियो, यो ‘फेक रेस्क्यु’को धन्दा । बरु मैतिदेवीमा हिँड्दै गर्दा जमल–बानेश्वरको माइक्रो त्यति नभेटिएला जति फेरिचे–गोरकसेपका हेलिकोप्टरहरू । नुप्से, थामसेर्कु र कान्टेग्रा हिमालको फोटो खिच्दा हेलिकप्टर बीचमा नआइदिओस् भनेर लगभग पर्खिनुपर्ने ।


डेढ घन्टाको ओरालोलाई डरमर्दाे भनेर विदेशीलाई फेरिचे ल्याउन हारालुछ हुनेरहेछ । हुन त झट्टै समृद्धि यहाँ हरेकलाई चाहिएकै छ । अनि त्यही वेला मेरा नयाँ जुत्ताले पनि समृद्धि हेर्न मुख बाए । अब कताको मोची, कताको सुपरग्लु ? भगवान् भरोसे हिँड्नुबाहेक अरू उपाय थिएन नै ।


अनि लोबुचेमा भेटिए, नाम्चेको कम्फर्ट इन होटेलका जस्तै मान्छे, ‘नेपालीको अनुहारै मन नपर्ने ।’ कुनै विकास समितिको नाममा होटेल आउनुअघि नै पैसा बुझाउनुपर्ने, म पहिला होटेल हेर्छु भन्न पनि नपाइने र मलाई निःशुल्क बस्न दिन्छु भनेको छ भने त अपराधै ठहरिने ।


‘नेपाली दाजुभाइले बाहिरको चर्पी प्रयोग गर्नुहोला’ भनेर लेखेको ठाउँमा आएर ‘खाते नेपालीले हाम्रो ठाउँमा आएर हामीसँग नै वादविवाद गर्ने ?’, गज्जबको मानसिकता ! अनि सबैभन्दा महँगो बसाइ ! त्यहीँ थियो, लेक लागेकोबारे सूचना ।


कसरी लेक लाग्नबाट बचिन्छ, डाइमोक्स कत्तिको काम लाग्छ, घरमै आइरन चक्की खाए फाइदा हुन्छ कि हुन्न र पिसाब लगाउने साधारण ल्यासिक्स चक्की कत्तिको काम लाग्छ भन्नेबारे कुनै जानकारी बेगर नै ‘उडेर तल्लो तटीय ठाउँमा गइहाल्’ भन्ने भनाइ प्रमुख थियो । डराएको जनावर सबैभन्दा सजिलो सिकार हुन्छ । र, खुम्बु सिकार खेल्न खप्पिस देखियो !


अँ, लोबुचेतल पहाडबाट फुत्त निस्किएर खुम्बु हिमनदीको बाटामा झरेको मैलो पानीको झरना नहुने हो भने थुक्लानिर निस्किने नामबिनाको फुच्चे खोलामा कतै पानी नै पो नहुने हो कि भन्ने ‘हिसाब’ मनमा आइरह्यो । कुनवेला छ–सात किलोमिटर लामो सगरमाथाबाट निस्किएको खुम्बु हिमनदी आजका दिनमा आधार शिविरतिरै बिलाउँदा हाम्रो ‘सगरमाथाको पानी बेच्ने’ आइडिया त्यति फलदायी लागेन ।


कालापत्थर । सगरमाथा सबैभन्दा राम्ररी देखिने ठाउँ रे ! गोरेटोधरी हिउँ पग्लिएर बगेको पानीले बनाएको डोब मात्र । जोरसालेबाटै अनुभव गरेको कुरो, सेनाले गर्ला भनेर कतै पनि गाउँले वा होटेल व्यवसायीले ‘बाटो’ बनाउने जाँगर चलाएको देखिएन ।


अनि त्यही हावादारी गोरेटोबाट माथि उक्लिएपछि नुप्से र ल्होला हिमालको बीचमा क्रमशः ठूलो हुँदै गयो, चोमोलोङ्मा । त्यसपछि देखियो सगरमाथा र अन्त्यमा साक्षात्कार गरियो ‘म्याजेस्टिक’ माउन्ट एभरेस्टसँग ।


गोरकसेपबाट अलिकति पर पुग्नेबित्तिकै पुरानो आधार शिविर देखियो । खुम्बु हिमनदी खुम्चिँदै जाँदा बनाइएको नयाँ आधार शिविर अझ एक–डेढ घन्टामाथि थियो । तल हिमनदीको किनारमा केही टेन्ट थिए र माथि थियो, एउटा ढुंगाको वरिपरि ध्वजापताका । नुप्से हिमालले छेकिएको सगरमाथा, सानो अनि मैलो खुम्बुको हिउँ र तल थोक्लासम्म देखिने ढुंगैढुंगाको तथाकथित खुम्बु हिमनदी ।


डिलबाट तल ओर्लिन जाँगर चलेन । लाग्यो, ‘मिसन अकम्प्लिस्ड !’ जमानामा विदेश जाने टिकट देखाएपछि पर्यटन मन्त्रालयले दुई–तीनवटा पोस्टर दिन्थ्यो । सोभियत संघ पुगेपछि छात्रावासको कोठामा सगरमाथाको पोस्टर गर्वसाथ टाँसेको थिएँ । अनि एक दिन मेरी गुरुमाले सोधिन्, ‘त्यो कालो कालोचाहिँँ के हो ? चट्टान ?’


पाँच हजार मिटरमाथि त हिउँबाहेक केही हुन्न भन्ने पढेको मेरो दिमागले तुरुन्तै जवाफ दिएको थियो, ‘घामको छायाले कालो देखिएको हो । हिउँ नै हिउँ हुन्छ नि हाम्रो हिमालमा ।’ नेपाल फर्किएको निकै पछि पोखराबाट कालो माछापुच्छ्रे देखेपछि बल्ल मेरो घैँटामा घाम लागेको थियो, त्यो पोस्टरको कालो वास्तवमा नांगोे हिमाल नै थियो । कुनै वेला यो कालापत्थर पनि त श्वेतपत्थर थियो होला, गर्मी डाउन ज्याकेटबाहिर पनि भसक्कै बढेछ ।


सरी ! जमिला मागामेदभ्ना ! ‘सगरमाथा देखियो’ भन्ने भएपछि केही खुट्टा थाक्नेरहेछन् । गलेका खुट्टा र दुखेका घुँडाहरू गोरकसेपबाट नाम्चे फर्किने भए अनि केहीमा एकै दिनमा गोक्यो ताल हेरेर माछेमा पुग्ने जोस बाँकी नै थिए । अनि केहीमा चो–ला भन्ज्याङबाट महालंगुरको राम्रो ‘भिउ’ बिहान मात्र देखिन्छ भन्ने तिर्सना बाँकी नै थियो ।


दुखेका खुट्टाहरू गोरकसेपबाट नाम्चे पुग्दासम्म केही जाँबाजहरू जानीजानी जोङ्लासम्म आइपुगेनन् । हुन त ‘आज मेरै होटेलमा बस्नु । मेरी बहिनी गुइँठा बनाउँदै छे । उसलाई त्यो १०१ देखि १०३ नम्बरका कोठाहरू दिनू र त्यतै बस्नू’ भनेर बाटैमा भेटिएका नुरु छिरिङको भनाइ काम लाग्यो । वास र आधाउधी खानाको समेत पैसा नलिने जोङ्लाको होटेल गजब थियो ।


भोलिपल्ट मौसम बिग्रियो । हिजो देखिएका हिमालहरू दिनभरि देखिएनन् । कुहिरोकै बीच ढुंगाहरूमा फड्किँदै र घिस्रिँदै त्यो चो–भन्ज्याङनजिक पुगियो । अनि देखियो केही सय मिटर जमेको हिउँ र माथि भन्ज्याङ ।


देब्रेतिरको कालो चट्टानमुनिबाट तलतिर झरेको पुरानो हिउँ (ब्लु आइस) हेर्दा यस्तो लाग्थ्यो, कुनै वेला अजंगको चट्टानले टाउको झड्कारेर आफ्नो टाउकामा झरेको सेता हिउँलाई तल काखतिर पु‍र्‍याइदिएका हुन् । सायद रिसाएको हिउँ त्यो कालो चट्टानको शिरमा फेरि बस्न मानेन ।


‘दाजु ! नेपाली हिउँ पनि टेकियो,’ अस्ट्रेलियन भाइ दंग पर्‍यो । कनकजीले हामी सगरमाथाको सेरोफेरो जाँदै छौँ भन्ने थाहा पाएपछि थामसेर्कु र कान्टेग्रा हिमालको फोटो खिच्ने र तेन्जिङ नोर्गेकी आमा अर्काको घरमा काम गरेको थामे गाउँ जाने सल्लाह दिनुभएको थियो ।


हिमालहरूको त खिचियो नै तर हामी चो–ला भन्ज्याङ पार गर्दागर्दै यो ‘पास’ र ‘भन्ज्याङ’ खुम्बु क्षेत्रमा पर्यायवाची शब्द होइनन् भन्ने निष्कर्षमा पुगिसकेका थियौँ । कहाँ भरिया, खच्चड, घोडा र चौँरीले सामान ओसारेर जीवन धान्ने भन्ज्याङ, कहाँ चट्टानैचट्टानबीचबाट बल्लतल्ल मान्छे वल्लो फेदबाट पल्लो फेदमा पुग्ने खुम्बुका पासहरू !


यो जीवन–पद्धति बेगरको रोमाञ्च मात्र थियो, विदेशी भुल्याउने । अनि अर्काे निर्जीव ‘रेन्जो–पास’ पार गरेर तेनिजङकी आमाको जीवनगाथा सुन्ने रहर त्यो ‘थ्री सिस्टर पास’मा पहिलो भेटिएकी चो–लाले नै आसपास गरिदिइन् । अनि सुरु भयो, मनै विरक्त बनाउने ढुंगैढुंगाको बाटो । के बाटो भन्नु र ! बाटोजस्तै गोम्बु वा ज्गोङ्बु ! नामै कति अप्ठ्यारो । केही समयअघि दंग परेको भाइ त्यो हिमनदीको पूर्वी किनारा आइपुग्दा नपुग्दै सुँकसुँकायो ।


भन्थ्यो, ‘म अस्ट्रेलियामा बसिरहेको मान्छे के खान यसरी ज्यान फालेर हिँड्दै छु ?’ पछि अलिक शान्त भएपछि थप्यो, ‘जिन्दगीमा एक दिन पनि नछुट्टिएकी सानी छोरीको सम्झना आउनेबित्तिकै मन थाम्न सकिन दाजु !’


अहिले अस्ट्रेलियाबाट स्माइली पठाएर भन्छ, ‘दाजु, रुन पनि कति अलौकिक ठाउँ रोजेछु नि !’ हुन पनि हो, कुहिरो र त्यसले छाडेपछि देखिने चारैतिरका हिमाल, तर हामीले त्यता सेता हिमाल देखेनौँ । काला चट्टानहरूका बीच ऊ रोएको भने देख्यौँ ।


अन्नपूर्ण परिक्रमा र मनासलु परिक्रमा–पथमा आउने उच्च भन्ज्याङमा कमसेकम एउटा ठूलो बोर्डमा थोराङ–ला वा लार्के–ला लेखेको त हुन्थ्यो । पदयात्रीलाई फोटा खिचेर दंग पर्नकै लागि भए पनि । तर, यसपालि न त सगरमाथा आधार शिविरमा न त चो–लामा नै त्यस्ता पाटी देखिए ।


कतै कुनामा सेतो टिपेक्सले ‘इस्’ लेखेको हेर्ने इच्छा पनि पूरा भएन । दुधकोसीको मुहान र त्यो खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो हिमनदी गोम्बु तर्न सबैभन्दा डरमर्दाे थियो । बाटामा भेटिएका गोठालाहरूले भनेअनुसार पहिरो गइरहने हुनाले गोरेटोहरू मिलाएर पछ्याउनु रे ।


बीचबीचमा भेटिने ढुंगाबीच भेटिने अनगिन्ती दहहरू र सुनिने पहिराले हाम्रो आधा घन्टा त्रासमय बनाइदियो । अझ कोही चरो–मुसो नदेखिने र अन्त्यहीन लाग्ने हिमनदीकै बीचमा सुभाषको ‘पर्खिने’ निर्देशन ! अरे यार, पर्खिन त यो खतरा पार गरेपछि ऊ त्यो डाँडामा पनि त सकिन्छ ! डाँडाबाटै देखियो, गोक्यो ताल । नीलो पानी र एकछेउमा झुरुप्प होटेलहरू । ‘साँच्ची त्यो चाइनिज प्लेन पानीमा उत्रिन्न है ?


नत्र त एउटा टेस्ट फ्लाइट यहाँ पनि भ्याइने रहेछ,’ प्रकाशको जोकले लगभग थकाइ मेटायो । ‘नेपाली पर्यटक त हाम्रा लागि देउतासरह नै हुन्’ भन्ने छिरिङकै पछि लागेर तालछेउकै नमस्ते होटेलमा झोला बिसाउँदासम्म हाँसो थामिएकै थिएन ।


हामी त देउता के हुन्थ्यौँ, बरु छिरिङ र उनका भाइ नोर्बु हाम्रा लागि देउतैसरह भए । अनि ती देउताहरूले आफ्नी बुढी आमाका कुनै पनि कुरा नकारेको भेटिएन । आमै उमेरले अलिक कुप्रो बनाइसकेको ज्यानलाई फुर्तिसाथ भान्सा र हामी पाहुनामाझ कुदाउँदै थिइन् ।


न त जुत्ता टाल्ने ‘असम्भवप्राय’ सुपरग्लु खोज्दिँदा न त लगभग मध्यरातमा खुकुरी रम उपलब्ध गराइदिँदा नै उनी थाकिन् । भान्सेदेखि हामीलाई अर्काे सिजन कञ्चनजंगा कसरी जाने भनेर बताइदिने पाण्डेजीको नामधरी मोबाइलमा टिपे पनि मैले ती आमाको नाम सोध्दा पनि सोधिनँ । मेरा लागि आमाहरू सबै उस्तै हुन्छन् । आमाको नामै हुँदैन !


बल्लतल्ल भाइलाई रुवाएर पुगेको गोक्यो ताल हेरिसकेपछि फेरि नाम्चे हुँदै लुक्लासम्म फर्किन ‘अल्छी’ लाग्यो । सगरमाथानजिक पुगिसकेपछि थप ‘दुःख’ खान मन नलागेर नाम्चे फर्किएका ‘गंगालालका डाक्टरहरू’सँग छिरिङ भाइको फोनमार्फत सम्भव भएको हाम्रो सम्पर्कको केन्द्रबिन्दु यही ‘अल्छी’ थियो ।


अनि उही पुरानो लिक्विड बारमा आराम गर्दै गरेका उनीहरूलाई पनि अल्छी लागेछ । र, त सजिलै हेली मिलाए । भोलिपल्ट बिहानै उनीहरूलाई लुक्ला छाडेर हामीलाई लिन डायनास्टिक एयरको हेलिकोप्टर गोक्यो तालमा उत्रियो । साथमा भएजति बैंकका डेबिट कार्डहरू नचलेपछि ‘भाडा पनि काठमाडौँ पुगेपछि पठाइदिन्छु है’ भन्दा हुन्छ भन्ने छत्रबहादुर राईजी पनि लुक्लामा भेटिए ।


अनि भर्चुअल दुनियाँमा मात्र चिनेका लीला श्रेष्ठजीको आतिथ्यप्रति नतमस्तक हुँदै त्यस दिनको अन्तिम फ्लाइटबाट काठमाडौँ फर्किन पाउनु पनि सौभाग्य नै मानियो । हिँडेको दसौँ दिन देखिएको लुक्लाको भिडभाडले सजिलै बुझियो । ‘सिजन त सुरु भइसकेछ !’ ‘एक दिन छिटो’, निवेशले भन्न बाँकी राखेनन्।


वसन्त भाइले किन सरकारले सगरमाथा वा झोमोलोङ्मा भनेर प्रचार गर्दैन र हाम्रो हिमाल जबरजस्ती बेलायती मान्छेको नामले चिनिँदै छ भनेर यात्रामा कतै कुरा गरेका थिए । लाग्यो, महेन्द्रनगर, वीरेन्द्रनगर, बिपीनगर र मदननगरजस्तै झोमोलोङ्मालाई ‘नेपालीकरण’ गर्नु नै गलत थियो ।


जुन दिन काठमाडौँले त्यो हिमाल न त माउन्ट एभरेस्ट हो न त सगरमाथा नै हो भनेर बुझ्छ त्यसै दिन संसारभर यो हाम्रो शिर आफ्नै असली नामले नै चिनिनेछ । हुन पनि हो, हिमाल आमा त होइन, नामै नचाहिँने ! वा स्थानीय सरकार पनि होइन, बाह्रथरी फुर्का जोडेर जबरजस्ती नाम जुराइदिनुपर्ने ।


‘नेपाली’ नामले समग्र खुम्बुमा हामीलाई ‘फाइदै’ गरे पनि फाक्दिङ, नाम्चे र लोबुचेजस्ता नामहरू दाँतमा लागेका ढुंगाका रूपमा सम्झनामा आइरहने भए । जबसम्म नाम्चे वा गोरकसेपमा यताबाट फोन गरेर नेपालीले पनि होटेल बुक गर्न सक्दैनन्, जबसम्म काठमाडौँ–लुक्ला प्लेनमा नेपालीले विदेशी सरोवर उस्तै हैसियतमा टिकट काट्न पाउँदैनन् ।


जबसम्म खुम्बुमा ‘नेपाली दाजुभाइले यो ट्वाइलेट प्रयोग नगर्नुहोला’ वा ‘नेपाली दाजुभाइले अर्काे कोठामा खाना खानुहोला’ लेखिइरहन्छन्, तबसम्म ‘एक वर्षमा विदेशी पर्यटकले नेपाल भ्रमणमा ७० अर्ब खर्च गरे अनि नेपालीले विदेश यात्रामा ८० अर्ब खर्च गरे’ भन्ने खबरका बीच नेपालको पर्यटन व्यवसायको भविष्य परिभाषित भइरहनेछ ।


हुन पनि हो, उत्ति नै पैसो खर्च गर्दा लक्तावीमा ‘इज्जत’ पाइन्छ भने किन ‘लोबुचे’मा मन नपर्ने नेपाली भइरहनु ? बदलिनुपर्ने कुरो एभरेस्ट वा सगरमाथाको ‘नाम’ मात्र होइन, समग्र खुम्बुको मानसिकता पनि हो किजस्तै लाग्यो । तपाईंको झोमोलोङ्मा आधार शिविर पदयात्रा शुभ रहोस् !

***

(असोज २९, २०७५ मा नयाँ पत्रिकामा प्रकाशित)

(फोटोः प्रकाश लामिछाने)

प्रधानमन्त्रीजी, मुटु नभएको को हो ?

11:28 AM 0


यसै पनि म जनता हुँ, र थप, म मुटुको उपचार गर्ने कर्म गर्छु । तसर्थ मलाई थरीथरीका मुटुबारे थाहा हुनु स्वाभाविकै हो । मकहाँ आआफ्ना मुटुको हालत के–कस्तो छ भनेर जँचाउन आउनेको मात्र हैन, सहकर्मीहरूमार्फत अन्य महानुभावको मुटु (र त्यसैका आधारमा सामान्यतया मन पनि) को हालतबारे पनि मलाई धेरथोर जानकारी भइरहेकै हुन्छ ।


नयाँ आएका मुटुबारे सोधखोज गर्ने हाम्रा आफ्नै तरिका हुन्छन् र सोही अनुसार आवश्यक जाँचहरू गरेर मुटुको अवस्था निर्क्योल गरिन्छ ।


र, केही दिनअघि मेरो देशका प्रधानमन्त्रीले बडो भावुक भएर देशमा सरकारले गरेका राम्रा कामबारे लेख्दिने आफूले खोजेजस्तै मन र मुटु भएका सम्पादक नभेटेकामा चिन्ता व्यक्त गर्नुभएछ । मैले जनता, चोर, हत्यारा, नेता, सम्पादक लगायत सबैका मुटु छाम्ने मौका पाएको हुँदा मेरो अनुभव यता पनि काम लाग्न सक्ने देखेर स्वयं प्रधानमन्त्रीको मुटुको अवस्था कस्तो होला भनेर सोधखोज गरेको छु ।


स्वास्थ्य विज्ञान अनुसार, मुटु नभएको मानिस त जन्मनै सक्दैन । तसर्थ मुटु नभएका भन्नाले उहाँले आफूले चाहेजस्तो मुटु नभएका भन्न खोज्नुभएको भनेर बुझ्नुपर्छ । नेपाली विश्वास अनुसार, मन पनि भनिने मानिसको मुटु लगभग उसकै मुठीको आकारको हुन्छ । त्यसमा दायाँतिरका दुइटा कोठामा अक्सिजन कम भएको नीलो रगत बग्छ भने देब्रेतिरका दुइटामा फोक्सोमार्फत कार्बनडाइअक्साइड फालेर अक्सिजनले भरिपूर्ण भएको रातो रगत बन्छ । गर्भमै समस्या भएर कहिलेकाहीँ दुवैतिर उस्तै नीलो रगत बग्न पनि सक्छ भने कहिलेकाहीँ बहावमा अवरोध पनि आउन सक्छ । जन्मपछि पनि कहिले भल्व बिग्रेर त कहिले कुनै कोषले खान नपाएर समस्या भइराख्छ ।


अनि विज्ञानले मानवमुटुलाई फुल्ने र खुम्चिने प्रक्रियाका दुइटा पम्प एउटै ठाउँमा जोडिएको साधारण यन्त्र हो भनेर मात्र बुझ्छ । मुटुका दुवै पम्पका कामको एकअर्कामा तालमेल (सिंक्रोनाइजेसन) हुनुपर्छ र तिनले एकैनासले काम नगरे मुटु ‘फेल’ हुन्छ ।


हुन त दुई जना पाइलट मिलेर देशरूपी जहाजलाई आफ्नै तालले उडाइरहनुभएका यहाँहरूलाई थाहै होला, दुवै पक्षको समन्वय नभए जहाजको के हालत हुन्छ भनेर त, तैपनि भनूँ, अमेरिकी सहायता लिने कि नलिने भनेर भइरहेको गलफत्तीमा दलकै मुटुले राम्ररी पम्प गर्न सकिरहेको छैन । तपाईं विकास गर्ने पैसो अमेरिकाबाट आउनेछ भनेर हौसिइरहँदा अर्का पाइलट साम्राज्यवाद कि के वाद देख्दै छन् । तपाईंहरूकै मुटुका पम्पहरू चैँ ‘सिंक्रोनाइज्ड’ छन् नि ?


मलाई निर्मला काण्ड, सिन्डिकेट काण्ड, सुन काण्ड, वाइडबडी काण्ड वा बालुवाटारै काण्डका कुरा गरेर तपाईंलाई खिस्सी गर्ने मन छैन । मलाई त तपाईं नेकपा (क) को मात्र नेता नभएर राजनेता भएको हेरेरै मर्ने इच्छा छ । तपाईंलाई सत्तामा हुँदा र नहुँदाका बखत जन्मदिनमा शुभकामना दिने भीड र जनतामा भेद नै थाहा छैन वा त्यसमा रमाइरहनुभएको छ भनेर त कसरी मान्न सक्छु र ? छिमेकीको ५६ इन्चको छातीका तुलनामा तपाईंसँग पनि कमसेकम ६० इन्चको छातीभित्र एउटा ठूलो मुटु छ भन्ने मेरो मान्यतालाई कसरी गलत भन्न सक्छु र ? वचन पनि मनको विम्ब मानिन्छ । तपाईंका वचन सम्झाऊँ ? बयलगाडादेखि आँप झर्नेसम्म, सुपर झापालीदेखि गैँडासम्म, डल्ला फ्याँक्नेदेखि अलच्छिना सरकारसम्मका आफ्ना वचनको घृतछायामा आफ्नो शरीरभित्र कस्तो मन वा मुटु रहेछ भनेर कहिल्यै आफैँ सोच्नुभएको छ ?


बहुधा नेपाली ‘मलाई केही भएकै छैन’ भनेर मुटु गधाको जत्रै हुँदासम्म अपरेसन गर्न चाहन्नन् । घरबेटी बाबै र भान्से बाहुनले गरेका भ्रष्टाचारले छियाछिया पारेको भल्व लिक हुन थाले अपरेसन नै गर्नुपर्छ । यसरी भ्रष्टाचारीको अनुहारै नदेखेकाले तपाईं निर्धक्क हुनुभएको त हैन ? एक पटक इकोकार्डियोग्राफी गराउनुस्Ù के थाहा, भल्व नै फेर्ने दिन आइसकेको हो कि ?


तपाईंलाई सम्झाऊँ है, दुई वर्षअघि चुनाव जित्नेबित्तिकै हेलिकप्टर चढेर रसुवागढी पुग्नुभएको कुरो । दुई वर्षमा ‘उ:, यताबाट त्यता हुँदै चिनियाँ रेल काठमाडौँ पुग्छ’ भनेर सोझ्याएको औँलाले अझसम्म पनि मेरो नाक छुन्छ । कुस्मामा रेल स्टेसन हुने कुरोदेखि लुम्बिनी र पोखराका चुच्चे रेल, हनुमाननगरका पानीजहाज — कत्ति कुरा छन् है सम्झाउनुपर्ने ! सपना देख्न फाफुरालाई रत्नपार्कमै सुताए पुगिहाल्थ्यो नि, हामीलाई त काम चाहिएको थियो । काम गर्नुभो ? अँ, फ्याट्ट स्विच थिचेर घर–घरमा ग्यास भनेर विराटनगरमा गोबरग्यासमा पतन हुनबाहेक के चैँ गर्नुभो ? बाहुनीको पेट्रोलखानी जाने बाटो भनेर राखिएको साइनबोर्ड देख्दा तपाईंको मन लज्जाले पानी–पानी हुन्न ? अझ त्यसैलाई महान् उपलब्धि भन्दै गर्दा तपाईंको मुटु कामेन ? त्यस्तो पानीआन्द्रे र कमजोर मुटु लिएर अर्काको मुटुको साइज खोज्ने ? मुटुमा ह्याउ खोज्ने ?


म अलिअलि लेख्छु पनि । नेपाली भाषामा ‘मुटु हुनु’ र ‘उदार हृदय’ हुनु उस्तै विम्ब सुनिए पनि साहित्यिक लवजमा भन्ने हो भने फरक बुझाउन पनि सकिन्छ । देशलाई सर्वोपरि ठानेर ‘सर्वजन हिताय’ गर्ने मानिसलाई उदार हृदयको भन्न सकिन्छ भने जिउँदै मानिसलाई गिँड्ने, काट्ने वा भट्टामा पोल्ने ‘दुस्साहस’ भएकालाई ठूलो मुटु भएका भनेर बुझ्न पनि सकिन्छ । यस अर्थमा तपाईंको मुटु कुन वर्गमा पर्छ र तपाईंले खोजेका मुटुहरू कस्ता हुन् भनेर अझ प्रस्टसँग भन्दिनुभए ती सम्पादकहरूलाई पनि सजिलो हुन्थ्यो नि ! यसै पनि तपाईंलाई थाहा भएकै कुरो हो, कलेजको डिग्रीले मात्र बुद्धि पलाइदिन कहाँ सक्दो रहेछ र ? तर एउटा कुरो नि, प्रशंसा सुन्न फगत कान भए पुग्छ भने आलोचना सुन्न मुटु नै चाहिन्छ । सम्पादकसँग त्यसको अभाव हो वा आफैँसँग भनेर गुनासो गर्नुअघि सोच्नु नै भएको थियो होला ।


पहिल्यै थालिएका र स्वत: कुनै न कुनै दिन पूरा हुने मेलम्ची वा जनकपुरको रेल तपाईंकै शासनकालमा पूरा हुँदा ‘ई, मैले गरेँ’ भनेर छाती खोली हावाले भरिएको यामानको नक्कली मुटु देखाएकैले जनताले ‘वाह ! क्या दिलदार !’ भन्दिन्छन् भन्ने सोच्नुभएको हो ? हाम्रा गाउँमा एक जना रामनाथ गुरु हुनुहुन्थ्यो । गाउँघरतिर सार्वजनिक चौतारो वा मन्दिर जे बने पनि अन्तिमको इँटा हाल्ने बेला टुप्लुक्क आइपुग्ने अनि भोलिपल्टदेखि ‘मैले गर्दा फलानो मन्दिर बन्यो’ भनेर सधैँ र सबैतिर भन्दै हिँड्ने बानी भएका । तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रा गाउँलेले त तपाईंमा तिनै रामनाथ गुरुको आत्मा सरेको शंका गर्न थालिसके भनेर ?


तपाईं अहोरात्र देशको समृद्धिका लागि खटिरहनुपर्ने मान्छे । केही महिनाअघिसम्म दैनिक बीस घण्टा त तपाईं देशलाई दिँदै हुनुहुन्थ्यो । र पनि देश सोचेजस्तो अगाडि बढेको पाइएन भनेर पनि गुनासो गर्दै हुनुहुन्थ्यो । तर आजकल त तपाईंलाई हप्तामा दुई दिन डायलायसिस गर्नुपर्छ । थप आठ–दश घण्टा देशका लागि काम गर्न नसक्ने हुनुभएको छ । फेरि डायलायसिस नगरे रगतमा पोटासियमको मात्रा बढेर मुटुको गतिमा गडबडी हुनसक्छ । गति कम भए पेस मेकर पनि राख्नुपर्ने हुनसक्छ । तपाईं हाम्रो आशाको केन्द्र हुनुहुन्छ, त्यसैले यस्ता कुरामा अलिक सजग रहनुहोला भन्ने अनुरोध पनि छ ।


आजका दिनमा तपाईं तीन वर्ष यस देशलाई हाँक्ने पदमा बसिसक्नुभयो । देशका अरू भागभन्दा तपाईंलाई पनि आफ्नै निर्वाचन क्षेत्र प्यारो होला । त्यही दमकमा स्तरीय त छाड्दिनुस्, सरकारी अस्पतालधरि छैन नि ! ढुकुरपानीमा भ्युटावर र बडेमानको मूर्तिमा गर्व गर्न बेफ्वाँकमै सरकारको अर्बौं रुपैयाँ खन्याउँदै गर्दा कहिल्यै सोच्नुभो, शिक्षा र स्वास्थ्यमा सहज पहुँच पो प्राथमिकतामा पर्नुपर्ने भनेर ? त्यता कुनै सरकारी स्कुल वा कलेजबाट जनतालाई स्तरीय शिक्षा दिलाएर निजीको भर हटाउनुभो ? एउटा कुरा सम्झाऊँ, बरु अरूको मुटुको उति वास्तै नराख्ने गिरिजाप्रसादले तीन वर्षभित्रै धरानको बीपी र भरतपुरको बीपी अस्पताल खोल्ने सबै काम गरिसकेका थिए ।


बजारमा सञ्चार विधेयक त सामाजिक सञ्जाल नियमनको विधेयकबारे बग्रेल्ती असन्तोषका स्वरहरू सुनेर मेरो देब्रे छाती अलिक चसक्क गरिरहेको छ । ऐन बनेर मेरो त्यो छातीभित्र भएको मुटुमै प्रहार नगरोस् भनेर अलिक हतार–हतार म आफ्ना प्रधानमन्त्रीलाई उहाँकै मुटुबारे प्रश्न गरिरहेछु । हुन त उहाँले अरूलाई गर्न मिल्ने प्रश्न जनताले पनि गर्न मिल्नुपर्ने हो । कि त मुटु देब्रेतिर भएकाले गर्न नमिल्ने भनेर लेख्नुपर्‍यो । अँ, साँच्ची, सरहरूको मुटु त भए पनि देब्रेतिर नै छ नि ? केहीको त दाहिनेतिर पनि हुन्छ भनेर यकिन गर्न खोजेको, अन्यथा हैन नै ।


भनिन्छ, लोकतन्त्रमा पत्रकारिता स्थायी प्रतिपक्ष हो र यो स्वतन्त्र रहनुपर्छ । त्यसरी नै अधिनायकवादी सरकारलाई आफूसँग असहमति राख्ने विचारहरू पत्रपत्रिकामा आएको फिटिक्कै मन पर्दैन । अनि देशको प्रतिपक्षी राजनीतिक दल मस्त सुतेका बेला जाबा सात–आठ जना सम्पादक त छन्, सरकारका बेथितिबारे यस्सो लेख्दिने ! असहमतिका विचारहरू कहिलेकाहीँ लेख्दिने ! बाँकी बग्रेल्ती त तपाईंकै प्रशंसाको पुल बाँधेर कहिले युरोप त कहिले चीनतिर घुमेका फोटा राखिराख्छन् त । कि यहाँले तिनलाई पत्रकार नै मान्नुहुन्न ? हुन त स्तुति गाउन पालिएका भाटलाई कुन चैँ राजाले भारदारी विद्वान् ठानेका थिए र ? भर्खरै बालुवाटारको सरकारी निवासमै पत्रकारमध्ये आफ्ना दल समर्थकलाई बोलाएर मुठी उज्याउन लगाई शपथ खुवाउँदा तिनका छाती चिरेर भित्र चियाउनुभएकै थियो होला । उहिले हामी दमक बस्दा बजारको बजरंगीको सैलुनमा हनुमानले छाती चिरेर देखाउँदा त्यहाँ राम र सीता भेटिएको तर मुटु नभएको एउटा ठूलो पोस्टर थियो । याद छ नि ? ती बालुवाटार–शपथीहरूकै जस्तो छाती चिरेर ती केही थान सम्पादकभित्र खासमा हेर्न चैँ के खोज्नुभएको हो ?


मास्क लगाएपछि हतपती मान्छे चिनिँदैन । तर मुटु कस्तो र कत्रो छ भनेर नजानून् भनेर मास्क लगाउन उचित हुन्न । अनि आजकल त मास्क यसै पनि जनताले लगाउन छाडिसके । तर पनि तपाईं मास्क लगाएर अझ मेरो मुटु त कसैले देखेकै छैन भन्ने भ्रममा बसिरहने नै हो ? भ्रमले शासकलाई कहाँ पुर्‍याउँछ भनेर अन्दाज गर्न त त्यो असलहरूले मात्र देख्ने ‘दैविक पहिरन’वाला कथा पढ्नुभएकै होला ।


साँच्चै, यी दुई वर्ष प्रशंसायोग्य कुन चैँ काम गर्नुभो ? आहुतिले भनेझैँ, चीनले बनाइदिएको कोटेश्वर–कलंकी सडक उद्घाटन गर्नबाहेक अलिक गर्व गर्नलायक केही छ ? अब ‘पोलपोलमा आएको समृद्धि देखिनस्’ नभन्दिनुहोला, प्लिज!' त्यस कुरामा प्रशंसा गर्न छातीभित्र मुटु हैन, भक्ति चाहिन्छ ।


तपाईंले आफ्नो अहिलेसम्मको कार्यकालमा सरकारी नियुक्ति कतै दल नहेरेर गर्नुभो ? भागबन्डाका ती दुई आयोगबाहेक कुनै कतै उदाहरण छ ? कतै दल नहेरी सक्षमताका आधारमा नियुक्ति दिनुभो ? भारदारले भनेका भरमा दल नमिलेकाहरूलाई सकेसम्म बरखास्त गर्न खोज्नुभएन र ? दल त के, आफ्नै गुटको हुनुपर्छ भनेर संसदलाई नै महिनादिनसम्म बन्धक बनाउँदा कुनै दिन आफूभित्र चियाउनुभयो, मुटु र मन कस्तो र कत्रो रहेछ भनेर ? उहिले देशभक्त वा सक्षम हुनलाई सोभियत संघमा सोभियत कम्युनिस्ट पार्टीको सदस्यता पहिलो मापदण्ड मानिन्थ्यो । सायद चीनमा अझ पनि होला । तपाईंको पनि यो देशमा देशलाई माया गर्ने हुन वा काम गर्न सक्षम हुन पहिला नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनैपर्छ भन्ने दर्शन हो ? तपाईंको चित्त यत्रै हो ? हो भने आफ्नो मन पनि अलिक फराकिलो बनाउन नसक्नेले अर्काको मन र मुटुबारे कमसेकम गुनासो त नगर्दिनुस् !


केही वर्षदेखि देखिआएको कुरो हो, आफू सत्तामा हुँदा र नहुँदा दुर्घटनालाई तपाईंले फरक आँखाले हेरिरहनुभएको छ । हरेक मृत्युमा सबैभन्दा पहिला मनमा त्यो मेरो कार्यकर्ता हो वा होइन भनेर आउँछ भने त्यो पाषाण हृदय हो । अनि तपाईंलाई थाहै होला, ढुंगाको चैँ साँच्चै मुटु हुन्न ।


भारतले नक्सामा हाम्रो भूमि समेटेर राखिसकेपछि के गर्नुभो ? हो, छिमेकीले त्यो जमिनको भोगचलन उहिल्यैदेखि गरेको थियो रे । तर हालसाबिक गरेर त्यो जमिन आफ्नोमा पारेको त तपाईंकै पालामा हो नि ! कसैले नसुनेको फोनमा गुनासो गर्नुभो भनेर पत्याउँ कि केही नसके म पनि आफ्नो सो भूमिलाई आफ्नै देशमा राखेर नक्सा सार्वजनिक गर्छु भनेर सुर्रिनुभो ? हुन त जाबो नक्सामा त कोर्ने ‘जिगर’ नभएकासँग मुटुको के खोजीनिती भो र ?


हुन त तपाईंजस्ता विद्वान्लाई यति कुरो के थाहा नहोला र, तैपनि फेरि दोहोर्‍याऊँ, तपाईंले यतिलाई सरकारी जमिन ‘नियम मिलाएर’ दिँदाका दिन तपाईंको मन उदार भएको देखिए पनि त्यो उदारता देखाउने मनकै मुटु चैँ त्यही दिन निकै नेपालीले खुम्चिएको पाए । जनताले तपाईंलाई राज्यको सम्पत्तिको सुरक्षा र सुव्यवस्था गर्न पठाएका हुन्, न कि मनलाग्दी गर्न । हो, यहाँ चैँ तपाईंको नीलो रगत बग्ने कोठाहरू मात्र भएको आधा मुटु भेटिन्छ ।


नसरुद्दिनको कथा पढ्नुभएको छ नि ? लिनु र दिनु शब्दको चक्करमा इनारबाट बाहिर निस्किन नचाहने कृपण मुल्लाको ? तपाईंले मेरो यो कुरो मानेनन्, त्यो कुरो दिएनन् भनेर गुनासो गर्दा कहिल्यै सोच्नुभो, मैले चैँ के दिएँ, जसको उनीहरू प्रशंसा गरून् भनेर ? हो, मेरामा जँचाउन आइपुगेका सम्पादकहरूका पनि ठूला मुटु छैनन् । कहिले चन्द्रागिरि त कहिले बैंक, कहिले एनजीओ त कहिले विमान र कहिले विमानस्थलले तिनीहरूको पनि इमानमा अलिअलि खोट लाइसकेकै बुझिन्छ । उनीहरू पनि जनताले सोचेजति स्वतन्त्र रहेनछन् । तर अझ पनि तिनका साँघुरिएका मुटुमा चैँ रातो र नीलो रगत बग्ने चारै कोठा बाँकी रहेछन् है !


तपाईंलाई थाहै छ, जनताले सदा तपाईंलाई पत्याइरहे । तपाईंका एकपछि अर्का मन्त्री अक्षम हुँदा पनि, तपाईंबाट निगाह भई नियुक्ति पाएकाहरू खत्तम निस्किँदा पनि तपाईं सदा चिप्लो माछाजस्तै हरेक अपजसबाट उम्किइरहनुभयो । थाहै होला, पानीमा बाँच्ने माछाको मुटुमा दुइटा मात्र कोठा हुन्छन् ।


अरू त छाड्दिनुस्, सभामुखको उम्मेदवार चयनमा पनि अलिकति आफ्नै मुटु नियाल्न मन लाग्नुपर्ने हो । सक्षमताको परिभाषा फगत को कुन गुटको र को कोसँग कति नजिक छ भन्ने बनाउँदा सामान्य मुटुलाई त अलिकति धक लाग्नुपर्ने हो । हुन त अर्का अध्यक्षले भनेजस्तै भ्यागुते छलाङले समृद्धि ल्याउन लम्पसार परेका मुटुहरूका बारेमा के कुरागराइ भो र ? अँ, भ्यागुताको मुटुमा जम्मा तीन वटा मात्र कोठा हुन्छन् है !


एउटा गुह्य कुरो भनूँ, ‘बिकिनी किलर’ भनेर कुख्यात भएको चार्ल्स शोभराजको मुटु औसतभन्दा ठूलो थियो । यस्तै मुटुको पो खोजीमा हुनुहुन्थ्यो कि ? हैन भने पनि आफूसँग माखाको पित्तजत्रो मुटु र मन भएपछि अर्कासँग भँगेराकै जत्रो मुटुको चाहना हुनु पनि अस्वाभाविक हो । छाड्दिनुस् के, भो नखोज्नुस् ठूलो मुटु ! फेरि एउटा कुरा भनूँ, झिँगाको शरीरमा हाम्रोजस्तो मुटु नै हुँदैन र त्यसलाई मार्दा निस्किएको रातो झोल पनि अर्कालाई चुसेको रगत मात्रै हो ।


बरु अस्तिका दिनदेखि मलाई तपाईंले भनेजस्तो, कसैको डरभर नमानी लागेको कुरा भन्न र गर्न सक्ने मुटु त कमरेड दीपक मनाङेको पो छ कि जस्तो लाग्न थालेको छ । तपाईंहरूले जारी गरेको आचारसंहिता तात्तातै छँदै उनले जे गरे, त्यो दण्डनीय होइन भने, मननीय वा अनुकरणीय केही त पक्कै होला । वा, कुनै दिन मुलुकमा यतिपत्र वा अरू कुनै नाममा पत्रिका निस्किएला र त्यहाँ मुटु भएका पत्रकार र सम्पादक भेटिएलान् ।

शुभकामना !

***

(माघ ९, २०७६ मा कान्तिपुर दैनिकमा प्रकाशित ! स्केच पनि सोही लेखबाट साभार)

Thursday, December 24, 2020

खोजी भारतका 'कविवर नेपाली'को

1:08 PM 0

 

दरशन दो घनश्याम नाथ मोरी अँखियाँ प्यासी रे

मन मंदिर की ज्योति जगादो घट घट बासी रे

मंदिर मंदिर मूरत तेरी फिर भी ना दीखे सूरत तेरी

युग बीते ना आई मिलन की पूरनमासी रे ....।


सन् २००८ का आठवटा अस्कर अवार्डबाट पुरस्कृत ‘स्लमडग मिलेनियर’ सिनेमामा एउटा प्रश्न यसै गीतका रचनाकारबारे सोधिएको थियो । सिनेमाका नायक जमाल मलिकले सुरदास भनेर सही जवाफ दिँदै प्रतियोगितामा आफ्नो अविजित यात्रा जारी राख्छन् र अन्त्यमा दश लाख डलर जित्छन् ।


तर, के यो गीत सुरदासद्वारा नै रचित हो त ? ब्रज भाषामा लेख्ने सोह्रौँ शताब्दीका सन्तकवि सुरदासका अरू दोहाको भाषासित यो गीतको भाषा मिल्छ त ?

कहाँको सुरदासको भाषा –

जसोदा हरि पालनै झुलावै ।

हलरावै दुलरावै मल्हावै जोई सोई कछु गावै ।।

मेरे लाल को आउ निंदरिया कहे न आनि सुवावै ।

तू काहै नहि बेगहि आवै तोको कान्ह बुलावै ।।

र, कहाँ यो गीतको भाषा –

पानी पी कर प्यास बुझाऊँ नैनों को कैसे समझाऊँ 

आँख मिचौली छोडो अब मन के बासी रे...।


त्यसो भए कसको हो त यो गीत ? ८० वर्षअघिको हिन्दी फिल्म ‘नरसी भगत’को यो गीत हाम्रा लागि कतैबाट सान्दर्भिक छ र ? वर्षौं अर्काले गरिदिएका अनुसन्धान र खोजमा गर्व गरेर अलिकति आत्मरतिमा रमाइरहेका हामी नेपालीलाई अहिले कोरोनाको महाव्याधिले समय दिएकाले वा खोज भनेको फुर्सदमा गर्ने काम हो भनेर सोच्ने चलनले हामी बल्ल अनुसन्धानमुखर हुँदै छौँ । लकडाउन र सटडाउनले गर्दा जनता र सरकार दुवैलाई फुर्सद भएको छ । त्यसैले हामी आफू–आफूलाई चाख लागेका कुरा खोज्दै छौँ । हामी अहिले राम, अयोध्या, शृंग ऋषिजस्ता पुराकथाका पात्रदेखि अनेक किंवदन्तीका नायकहरू खोज्नेसम्मको फुर्सदमा छौँ । पतञ्जलि, धन्वन्तरि, पाणिनिजस्ता शास्त्रकारका रचनाका अध्ययन अनुसन्धान एवं प्रवर्द्धनमा भन्दा अहिले हामीलाई तिनको जन्मस्थल वा कर्मस्थल हाम्रै यही पावन भूमि भएको प्रमाणित गराउने लहड जागेको छ । कुरा अस्ति साउन २७ गते मंगलबारको हो । एकाबिहानै लाग्यो, ओहो, आज त कृष्णाष्टमी ! कृष्णजीको चाहिँ नेपालसँग के सम्बन्ध थियो होला ? एकाबिहानै कृष्णजीलाई नेपाली बनाउने रहर जन्मियो र गुगलिएँ, ‘कृष्ण नेपाली’। गुगलले केही फेसबुक प्रोफाइलबाहेक खासै केही संकेत गरेन । अनि, कृष्णजीकै अर्काे नाममा च्याँखे हानेँ, ‘गोपाल नेपाली ।’


जवाफ मेरा लागि एकदमै अनपेक्षित थियो । गुगलको पहिलो सुझाब नै ‘गोपालसिंह नेपाली हिन्दी र नेपाली भाषाका विख्यात कवि थिए’ भन्ने भएपछि अचम्मित हुनु स्वाभाविक थियो । हिन्दी साहित्यबारे म पनि अलिकति ज्ञान राख्छु भन्नेले समेत कहिल्यै नसुनेको नाम थियो, यो । युट्युबको खोजीमा गीतकार नेपालीको ख्याति देखेर छक्कै परेँ । मलाई द्वापर युगका गोपाललाई थाँती राखेर यी यसै युगका गोपालबारे थप जान्न मन लाग्यो । अहिले हामीले धेरै चासोका साथ खोज गरिरहेको ‘सक्कली अयोध्यापुरी’बाट करिब ५० किलोमिटर दक्षिण, त्रेतायुगमा इक्ष्वाकु वंशले शासन गरेको कोशल देशको बेतियामा रहेको लगभग तीन किलोमिटर लामो सडकको नाम यो कलियुगमा ‘कविवर नेपालीपथ’ किन भयो होला ? खोज्न मन लाग्यो । 


एक सय नौ वर्षअघि सन् १९११ को कृष्णाष्टमी पनि यसपटक जस्तै अगस्ट ११ का दिन परेको रहेछ । त्यसै दिन भारतको बेतियास्थित कालीबागनजिकैको ‘नेपाली रानीमहल’मा रेलबहादुर सिंह (यिनको नाम रेलबहादुर हुनुचाहिँ मेरा लागि संयोग मात्र हो) र सरस्वतीका जेठा छोरा जन्मिए । कृष्णाष्टमीमा जन्मिएकाले उनको बोलाउने नाम ‘गोपाल’ भयो । आफ्नो थरका रूपमा ‘नेपाली’ लेख्न थालेका उनी भारतको हिन्दीभाषी साहित्यिक समाजमा ‘कवि गोपालसिंह नेपाली’ भनेर चर्चित भए ।


यसै दिन जन्मिएका गोपालबारे किन सुनिएनछ भनेर खोज्न मन लाग्यो । र, यसपालि गुगलले मद्दत गरेन र अरूको सहयोग अपरिहार्य हुन पुग्यो । नेपालमा उनका बारेमा कसलाई थाहा होला त ?


‘तपाईंले गोपालसिंह नेपालीबारे सुन्नुभएको छ ?’ एउटा कविता भावानुवाद गरेर सञ्जालमा राखेको थिएँ नि ?’

‘सुनेको छु । मैले त भेटेको पनि छु, यतै काठमाडौंमा । उहाँले वनारसबाट रिटायर्ड भएपछि ०४६–४७ सालतिर केही वर्ष त्रिभुवन विश्वविद्यालयमा पनि पढाउनुभएको थियो ।’ यो जवाफ अनुसन्धाता प्रत्यूष वन्तको थियो । समाजविज्ञानका पण्डितलाई ती समाजशास्त्रीका बारेमा पक्कै पनि अरू धेरै कुरा थाहा थियो, तर मैले खोजेको कुरा अलि फरक थियो, ‘उहाँ त काठमाडौंका नेवारहरूबारेमा किताब लेख्ने व्यक्ति हुनुभयो । मैले त कविता लेख्ने गोपालसिंह नेपाली खोजेको ।’

हाम्रो केही बेरको संवादबाट प्रस्ट भयो कि भारतमा दुईजना गोपालसिंह नेपाली रहेछन् । दुवै कुनै कालखण्डमा बम्बई बसेका रहेछन् । अर्का अनुसन्धाता रमेश पराजुलीसित सम्पर्क गर्दा थाहा भयो, कवि तथा गीतकार गोपालसिंह नेपालीबारे डा. ध्रुवचन्द्र गौतमबाहेक अरूलाई उत्तिसारो थाहा रहेनछ। गोपालसिंह नेपालीबारे डा. गौतमको कान्तिपुर दैनिकमा प्रकाशित एउटा आलेखबाहेक अरू कुनैको मधुपर्कको कुनै अंकमा छापिएको हुन सक्ने एउटा लेख नै यिनलाई नेपालले चिनेको सबैभन्दा ठूलो प्रमाण हुने देखियो ।


नेपाली भाषाका केही पुराना विद्यार्थीहरूका अनुसार नेपालमा पनि ०१७ सालतिरसम्म त्रिभुवन विश्वविद्यालयको इन्टरको पाठ्यक्रममा नेपालीलाई ‘नेपाली’कै रूपमा नेपाली कवि मानिएको थियो । तिनको कविता पढाइन्थ्यो । 


तीर्थराज वन्तबाट भने कवि गोपालसिंह नेपालीको कविता तथा नेपाली कवितासंग्रह ‘कल्पना’बारे निकै कुरा जान्न सकियो । रोचक संयोग, उहाँका पुत्र एवं समाज अध्येता प्रत्यूष वन्तबाट चाहिँ समाजशास्त्री गोपालसिंह नेपालीका बारेमा केही कुरा थाहा भएको थियो । भारतमा १९८७ तिर प्रकाशित उक्त कवितासंग्रह मदन पुरस्कार पुस्तकालयको अनलाइन अभिलेखअनुसार नेपाली भाषा प्रकाशिनी समितिले पनि (सम्भवतः बालकृष्ण सम सचिव भएका वेला १९९२ मा) प्रकाशन गरेको पाइन्छ । २२ वटा कविता सम्मिलित यो किताबको अर्काे संस्करणचाहिँ रत्न पुस्तक भण्डारले वि.सं. २०३० मा निकालेको रहेछ । पञ्चायती व्यवस्था सुरु हुनुअगावै इन्टर पढेका तीर्थराज वन्तले पढेको पाठ्यक्रममा समाविष्ट उनको गद्यात्मक कविता ‘भ्रान्ति’ पढ्दा तत्कालीन समयभन्दा निकै अगाडि रहेको लाग्छ ।


ओडारसित सोधेँ, ‘मान्छे कहाँ गयो ओडार ?’

ओडारले भन्यो, ‘कुन्नि, तलतिर ओर्लेको मात्तै म जान्दछु ।’

‘कुटी, मान्छे यहाँ आएको थियो ?’

‘हो, किन्तु पानी खाएर आउँछु भनी गएको मान्छे, अहिलेसम्म केही   पत्तो छैन ।’

‘मूलधारा, मान्छे कहाँ गयो भन् त ?’

‘हिँड्नुहोस्, म देखाउँछु ।’

अगाडि–अगाडि खोलो पछि–पछि म समुद्रमा पुग्यौँ

‘खोइ त मान्छे ?’ मैले भनेँ ।

‘ऊ उतापट्टि !’, लहरहरूले उसपार देखाइदिए ।

‘उसपार जाँदा मन्दिर भन्छ, यता नआ, यता नआ म्लेच्छ !’

नभागेको भए मस्जिदले झन्डै मेरो टाउको काटेको !

गिर्जा मलाई देखेर हाँसी मात्तै रहने !


यसबाहेक कवि गोपालले अरू थुप्रै नेपाली कविता र गजल लेखेका थिए । भनिन्छ, उनको ‘रानी’ नामक खण्डकाव्यको भूमिका लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए । तर, यो किताबबारे त्यति पत्तो लगाउन सकिएन । 

‘किन उनका बारेमा पछि पढाइएन र कविता पनि हटाइयो त ?’ प्रश्न स्वाभाविक उठ्छ ।

‘पहिलो कुरा त तिनी नेपालीका भन्दा हिन्दीका ठूला कवि थिए र भारतमै बस्थे । दोस्रो, उनले यहाँको सत्तालाई मन पर्ने शब्द लेखेनन् । र, उनका रचना पाठ्यक्रमबाट हटे वा पञ्चायतले हटाइदियो । सत्ता टिकाउन राष्ट्रवादलाई कसरी उपयोग गरिन्छ भन्ने कुरा बताइरहनु पर्छ र ?’ अर्काे वार्तालाप यसरी टुंगियो ।


समकालीन उत्तरभारतीय कविमाझ ज्यादै लोकप्रिय भए पनि यिनका बारेमा नेपालमा रहेका नेपालीलाई विरलै थाहा रहेछ । भारतीय साहित्य फाँटमा पनि सोचेजति नाम चलेको देखिएन । डा. दिनेशप्रसाद सिंहद्वारा सम्पादित हिन्दी गद्य–पद्य संग्रह भाग–२ मा सूर्यकान्त त्रिपाठी ‘निराला’, सुमित्रानन्दन पन्त, महादेवी वर्मा, रामधारी सिंह ‘दिनकर’ जस्ता दिग्गज साहित्यकारकै पंक्तिमा राखेर गोपालसिंह नेपालीबारे लेखिएको भेटिन्छ । त्यस्तैगरी, पटना विश्वविद्यालयको हिन्दी साहित्यतर्फको स्नातक तहको पाठ्यक्रममा मैथिलीशरण गुप्त, निराला, हरिवंशराय बच्चनका साथै गोपालसिंह नेपालीका रचना पनि समावेश गरेको पाइन्छ ।


केही स्रोतका अनुसार गोपालसिंह नेपालीका पिता रेलबहादुर गोरखा बटालियनमा सैनिक थिए । डा. दिनेशप्रसाद सिंहको किताबअनुसार चाहिँ जंगबहादुर राणाकी जेठी बुहारी तारादेवीको रानीमहलमा यिनका मातापिताले सन् १९१० मा नेपालबाट गएर आश्रय लिएका थिए, जहाँ तिनीहरू काम गर्दथे । त्यही क्वाटरमा गोपालसिंहको जन्म भएको थियो ।


‘जंगबहादुर राणाका कुनचाहिँ सन्तान बेतियामा बसाइँ सरेका थिए ? जगतजंगकी कुनै श्रीमतीको नाम तारादेवी थियो ?’ केही किताब खँगालेपछि बहुविषयक अध्येता राम लोहनीले ‘त्यसो त नहुनुपर्ने’ भन्नुभयो । उपलब्ध सन्दर्भसामग्रीहरू हेरेपछि लोहनीले बरु त्रैलोक्यकी जेठी रानी एवं जंगबहादुर राणाकी छोरी ताराकुमारीचाहिँ भारत गएको पत्ता लगाउनुभयो । जंगबहादुरकै छोराको हकमा माहिला छोरा जितजंग कानको उपचार गराउने निहुँमा केही जायजेथा लिएर भारत बसाइँ सरेको र कान्छा छोरा पद्मजंग पनि भारत नै पलायन भएकाले तिनीहरूमध्ये कुनै एक बेतियामा बसोवास गरेको सम्भावना भए पनि यकिन गर्न सकिएन । खोजको यो विषय पनि सिंगै बाँकी देखियो। अझ त्यस महललाई किन रानीमहल भनियो भन्ने पनि जान्न सकिएन । 


१० कक्षासम्मको अध्ययनपछि उनी नेपाली पत्रकारिता क्षेत्रमा छोटो समय संलग्न भएका थिए भन्ने भनाइ रहेछ । तर, उनको अधिकतर समय बेतिया र पछि बम्बईमा बितेको पाइयो । उनका पंछी, उमंग, पीपलका पेडलगायत थुप्रै हिन्दी कवितासंग्रह प्रकाशित भएका थिए । त्यसैगरी, चित्रपट, रतलाम टाइम्स, सुधा र योगी नामक पत्रिकाको सम्पादकका रूपमा पनि गोपालसिंह नेपालीले काम गरेको प्रमाण छ । 


सुनहरि सुबह नेपाल की, ढलती शाम बंगाल की !

कर दे फिका रंग चुनरी का, दोपहरी नैनीताल की !!    


गोपालसिंह नेपालीलाई समकालीन भारतीय कवि तथा साहित्यकारहरूले उच्च सम्मान दिन्थे । कविता लेखनको सुरुवाती दिनमै प्रेमचन्दको वाहवाही पाएका नेपालीलाई हरिवंश राय बच्चन, निराला, भारतभूषण र रामकुमार वर्माहरूले अतुलनीय कविका रूपमा लिएको पाइन्छ । तत्कालीन समयमा भइरहने विभिन्न कवि सम्मेलनको मुख्य आकर्षण नै गोपालसिंह नेपाली हुने गर्दथे । प्रख्यात कविहरू सम्मिलित कवि गोष्ठीहरूमा ‘वन्स मोर’का होहल्लाले अन्य कविको वाचन गर्ने समय नै नआउला भनेर सबैभन्दा अन्तिममा यिनलाई कविता वाचन गर्न लगाइन्थ्यो रे ।


बेतिया बस्दा उनको आर्थिक अवस्था त्यति ठीक थिएन । उनीभन्दा कम चलेका निराला, हरिवंश राय र सुमित्रानन्दनहरू सत्ताको नजिक हुनाले सम्पन्न थिए । यसै परिप्रेक्षमा एक दिन कसैले उनलाई यी मित्रहरूजस्तै दिल्ली दरबार जान सल्लाह दिएछन् । उनी गएनन्, तर कविता पठाइदिए ।


तुझ–सा लहरों में बह लेता

तो मैं भी सत्ता गह लेता

ईमान बेचता चलता तो

मैं भी महलों में रह लेता ।


सन् १९४४ मा अखिल भारतीय कवि सम्मेलनमा भाग लिन बम्बई पुगेका गोपालसिंह नेपालीको कविता र ख्यातिबाट प्रभावित भएर फिल्मिस्तान थिएटरले उनलाई चार वर्षका लागि करार गरायो । र, तत्कालै उनको पहिलो गीत फिल्मिस्तानको ब्यानरमा बनेको ‘मजदुर’ फिल्ममा गुन्जियो । यसपछि गोपालसिंह नेपाली कविभन्दा पनि हिन्दी सिनेमाका महसुर गीतकारका रूपमा चिनिन थाले । उनी आफूले लेखेका प्रायः गीतको धुन पनि आफैँ बनाउँथे । त्यस समयमा उनको परिचय नै ‘गीतका राजकुमार’ भएको रहेछ । बम्बईको सिनेनगरीको चकाचौँधमा बसेर तीन सयभन्दा बढी गीतको रचना गरेका उनले सिनेमा पनि निर्माण गरेका थिए । भनिन्छ, काठमाडौंका इन्दुशमशेर राणासँग मिलेर बम्बईमा हिमालय फिल्मस् नामक सिनेमा निर्माण कम्पनी खोलेका थिए, जसले ‘नजराना’, ‘सनसनी’ र ‘खुशबू’ नामका तीनवटाजति सिनेमा निर्माण ग¥यो । तीनवटै सिनेमाका गीत ‘हिट’ भए, तर सिनेमाहरूचाहि ‘सुपर फ्लप’ भएछन् । यद्यपि, कवि र गीतकारका रूपमा उनको ख्याति दिनप्रतिदिन बढ्दै नै गयो । सन् १९६२ मा भारत–चीन युद्धका वेला उनले रचेका देशभक्तिका कविताहरूले त झन् उनलाई भारतभर तत्कालीन समयका सबैभन्दा लोकप्रिय कवि बनाएको थियो । सायद तिनै कविताका कारण नेपाली कविता जगत्बाट उनको नाम लोप भयो ।


सन् १९६३ अप्रिल १७ को एउटा कवि गोष्ठीमा कविता वाचन गरेर बेतिया फर्किंदै गर्दा भागलपुरको रेलवे प्लेटफर्ममा हृदयाघातका कारण असामयिक मृत्यु भएका, गरिबी, सम्पन्नता, गुमनाम, नाम सबै भोगिसकेका यी उत्तरछायावादी कवि गोपालसिंह नेपालीमाथि असामनिवासी टीकाराम उपाध्याय ‘निर्भिक’ले लेखेको एउटा किताब भारतको साहित्य अकादमीद्वारा प्रकाशित रहेछ । उनको कविताका प्रशंसकमा कवि रविन्द्रनाथ टैगोरदेखि हरिवंश राय बच्चन, निरालालगायत त्यसवेलाका सबै समकालीन साहित्यकारहरू रहेछन् । प्रख्यात साहित्यकार धर्मवीर भारतीले त बम्बईको कवि सम्मेलनमै ‘म दुईजना व्यक्तिबाट मात्र कविता सिक्दछु, हरिवंश राय बच्चन र गोपालसिंह नेपाली’ भनेका रहेछन् । तर, व्यक्तिगत प्रशंसाबाहेक राज्यको तर्फबाट उनलाई त्यति धेरै सम्मान गरिएको देखिएन । पहिलो फिल्मी गीतकै लागि बंगाल फिल्म जर्नलिस्ट एसोसिएसनबाट सर्वश्रेष्ठ गीतकारको मानलाई राज्यको तर्फबाट नमान्दा तत्कालीन राष्ट्रपति डा. राजेन्द्र प्रसादले दिएको ‘राष्ट्रिय कवि’को पदवी नै तिनले पाएको एक्लो ‘सम्मान’ रहेछ । नेपालले चाहिँ यी ‘नेपाली’लाई सम्मान गरेको कुनै सन्दर्भ रहेनछ ।


भारतका अहिलेका राष्ट्रपति तथा तत्कालीन राज्यपाल रामनाथ कोविंदले आजभन्दा चार वर्षअघि पटनामा कविवर नेपालीको १०५औँ जन्मजयन्ती समारोहमा गोपालसिंह नेपालीले दलितहरूको शिर उँचो बनाए भनेर भनेका भए पनि गोपाल सिंहको वास्तविक थर के थियो र उनले किन ‘नेपाली’ थर लेखे, कतै उल्लेख भएको देखिएन ।


भारतलाई अंग्रेज उपनिवेशबाट स्वतन्त्र गराउन लागिपरेका गोपालसिंह नेपालीलाई स्वतन्त्रतापछिका सरकारहरूको कामबाट बिस्तारै वितृष्णा हुँदै गएको थियो । ‘आफ्नै’ शासकहरूले गरिब जनताको जीवन उकास्न अंग्रेजले जत्तिको पनि पहल नगरेर आफ्नै वृत्तिविकासमा लागेको देख्दा उनी चुप बस्न सकेनन् । र, विद्रोही कविको छवि बनाउन पुग्छन् ।


सत्ता कति पल्टिए, भएन पूर्ण कामना

सदियौँ यही रोटी भो, गरिबको प्रार्थना !

थिएन बाँसुरी कि श्यामको, कि चढेन धनु रामको ?

बजेन कि शंख युद्धको, कि खडेरी भो बुद्धज्ञानको ?

न त सिद्धिए अरथी ती, न रोकिए कि योजना ?

रोटीबाहेक गरिबको थियो र कुन प्रार्थना ? (भावानुवाद)


विदेशमा रहेका नेपालीभाषी प्रतिभालाई नेपाल राज्यले यसरी उपेक्षा गरेको अर्काे उदाहरण भेटिएन । पारसमणि प्रधानदेखि अम्बर गुरुङ, गोपाल योञ्जन, पारिजात, इन्द्रबहादुर राई, लैनसिंह बाङ्देल, हरिभक्त कटुवाल, रञ्जित गजमेर र लीलबहादुर क्षेत्रीहरू सबैलाई आफ्ना मान्न तयार नेपाल देश र नेपाली साहित्य फाँटले किन यिनलाई चाहिँ चटक्कै बिर्सिदिएको ? पूर्वको नेपालीभाषी क्षेत्रको नभएर वा दक्षिणको हिन्दीभाषी क्षेत्रमा काम गरेकाले हो ? उनले नेपाली राष्ट्रिय पोसाक लगाएर राष्ट्रवादी कविता र गीत लेख्ने उपक्रम नगरेकाले पो हो कि ? अझ भारत–चीन युद्धका समयमा भारतको पक्षमा राष्ट्रिय गीत लेख्दै ‘हिमालय बचाउन’ उनले गरेको पुकारले पो हामीबाट तिनलाई तिरस्कृत गराइदियो कि ? 


नेपाली भाषामा गोपालसिंह नेपालीलाई कविका रूपमा मान्यता दिएको एउटै मात्र प्रकाशन लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानले निकालेको र घटराज भट्टराईले सम्पादन गरेको ‘नेपाली लेखक कोश’ नामक किताबमा तत्कालीन नेपाली भाषा प्रकाशिनी समितिले उनका बारेमा गरेको टिप्पणी यस्तो रहेछ –‘नेपालीज्यू ज्यादै गहिरो आन्तरिक कल्पनामा डुबेर असीम आकाशमा उड्नुहुन्छ । प्रकृतिको चित्रणतिर दृष्टि दिएर पनि रहस्यवादी बन्नुहुन्छ । आशावादी भएर पनि भित्री दर्दको मधुर धारा बढाउनुहुन्छ र पिपासुहरूलाई तृप्त गराउनुहुन्छ । वेदनात्मक भावना सुन्दर ढंगबाट गर्नुमा उहाँको वैशिष्ट्य छ ।’ नेपाल भाषा प्रकाशिनी समितिलाई पञ्चायती शासनले साझा प्रकाशन बनाएपछि भने गोपालसिंह नेपाली अरूतिरबाट अलप नै भएछन् ।


सिमानाभन्दा अलिकति पर्तिर जन्मेका, यतैबाट गएका बाबुआमाका सन्तान, आफ्नो मात्र होइन, सन्तानको थरसमेत नेपाली लेख्ने जातीय गौरव भएका ती साहित्यकारलाई हामीले कहिल्यै खोज्ने जमर्काे नै गरेनौँ । एक हिसाबले ती अभागी नेपाल र भारत दुवै देशका ‘आफ्ना’ भएनन् । आफ्नो समयका उत्कृष्ट कवि एवं गीतकार हुँदाहुँदै पनि गोपालसिंह नेपालीलाई उनको देशले सायद थर हेरेर कम सम्मान गर्‍यो होला अनि हाम्रो देशले तिनको प्रधान कर्मभाषा हेरेर बिर्सन चाह्यो होला । बहानाहरूका के कमी र ! नत्र कुनै वेला डा. राहुल सांकृत्यायनले ‘कवि गोपालका कविता रचनाका अघि धेरैजना दिग्गज कवि तथा साहित्यकारका रचना पनि फिका लाग्छन्’ भनेका यी कवि किन यस्तरी बिर्सिइन्थे होलान् र ? 


स्लमडग मिलेनियरको उक्त गीतका रचनाकार सुरदास नभएर गोपालसिंह नेपाली हुन् भनेर उनका छोरा नकुलसिंह नेपालीले बम्बई हाइकोर्टमा मुद्दा पनि दायर गरेका थिए । सन् १९४० मै बनेको फिल्म नरसिं भगतका लागि नेपालीले लेखेको यो गीतलाई फिल्ममा सुरदासको भनिएकामा पाँच करोड भारुको क्षतिपूर्ति दाबी गरेर सुरु भएको तर निर्माताहरूका तर्फबाट आपसी मेलमिलापको अनुरोध आएको यो मुद्दा सम्भवतः ‘मेलमिलाप’मै गयो । हुन सक्छ, गोपालसिंह नेपालीका छोरा पनि मुद्दा नजितीकन नै ‘मिलेनियर’ भए ।


बेतियाको लालबजारस्थित उजाड एकतले ‘कविवर गोपालसिंह नेपाली भवन’मा सीमित भएका ती गोपाललाई मैले यो कृष्णाष्टमीको छेकोमा राम्ररी भेट्न नसके पनि उता चाहिँ ७० वर्षअघि नै ‘जय भवानी’मा मुकेश र सुमन कल्याणपुरले यसरी भेटिसकेका रहेछन् : 


‘समा से कोही कह दे की तेरे रहते रहते अंधेरा हो रहा !

की तुम हो वहाँ तो मिलने को यहाँ पतंगा रो रहा !!’

***

नयाँ पत्रिका (२०७७ भदौ २ गते प्रकाशित)