ट्विटर र भालेवादमा को छुच्चो?
'जति गरि दिनमा काम् सो सबै विन्ति गर्दी।
मधूर बचन बोल्दी स्वामिको चित्त हर्दी।।
पतिकन यस रित्ले बातले खुस बनाओस्।
जब त पति निधाउन् काखमा त्यो निधाओस्।।'
सामाजिक सञ्जालबारे विश्वमा निकै अनुसन्धान भएका छन्। आ-आफ्नै विशेषताले गर्दा लोकप्रिय सामाजिक सञ्जालहरूका चरित्रबारे पनि मोटामोटीरुपमा अध्ययन भइसकेकै छ पनि। भनिन्छ फेसबुकमा मानिसहरू आफ्ना वास्तविक सहपाठीहरूसंग जोडिएका हुन्छन् भने ट्विटरमा चाहिँ कस्ता मानिसहरू सहपाठी भएका भए हुन्थ्यो भन्नेहरूसंग। फेसबुकको दाँजोमा ट्विटरलाई यूवाहरूले अनि पुरुषहरूले बढी रुचाउँदारहेछन् भन्ने पनि देखिएको रहेछ।
सिमित वाक्यमा केही भन्न पर्ने हुनाले र संचारसंग सम्बन्धित व्यक्तिहरूको बाक्लो उपस्थितिले पनि होला, विश्वका प्रायदेशमा जस्तै नेपालमा पनि ट्विटरलाई पारिवारिक भन्दा पनि वैचारिक र सूचनाको मञ्चका रुपमा लिएको देखिन्छ। प्रयोगकर्ता पहिलो फलोअर भएकै दिनदेखि २४० क्यारेक्टरमा आफ्नो धारणा बताइरहेको हुन्छ। उसका कुरालाई मन पर्न पाउनेजत्ति नै मन नपर्न पाउने पनि अधिकार पाठकमा छ भनेरै ऊ आफ्नो विचार सम्प्रेषण गरिरहेको हुन्छ। तर, तबसम्म मात्र, जबसम्म भानुभक्तहरू मोरल पोलिसिङका लागि आधुनिक वधुशिक्षा लिएर आउन्नन्।
नेपाली समाजमा कुनै पनि विषयका बारेमा धारणा बनाउने र जनतामा संप्रेषण गर्ने अधिकार पहिला राजा, राणा र तिनका भारदारमा मात्र सिमित थियो। करिब डेढसयवर्षअघि तत्कालिन शासक र समाजका दृष्टिले भानुभक्तले वधुशिक्षा नामक कविताद्वारा महिलाका आचारसंहिता लेखे। त्यसबेलाको सत्ताले त्यस्तै कुरालाई मानक बनाउन चाहेको थियो। त्यस्तै धारणा संप्रेषण गर्यो। तर सातसालपछि र मूलतः ४६ सालपछि शासकहरूको त्यो एकाधिकार खोसियो। विचारविशेषको अधिकार खोज्ने समूहहरूको वृद्धिसंगै अब त्यो पुरानो ठूलो संरचना स-साना मठहरूमा बाँडियो। विकासको आफ्नै मठ। महिला-अधिकारवादीको आफ्नै मठ। मधेस-अधिकारवादीको आफ्नै मठ। कहिले काहीँ एउटै लक्ष लिएका अलग अलग मठहरू बनेका खण्डमा ‘उही पुरानो बाजेको असली पेडा दोकान’ यही नै हो भनेर विज्ञापन गर्नु पर्ने लेठोलाई बिर्सने हो भने मुस्लिम, पहाडे, चुरे, तिज, दसैँ, वैदेशिक रोजगार, पानीजहाज,रेल, अर्थशास्त्र, स्वास्थ्य, शिक्षाजस्ता हरेक क्षेत्रबारे बोल्ने र विचार बनाउने एकाधिकार अब तत् तत् मठाधीसहरूलाई प्राप्त भयो। यसबाहेक पनि मेलाको मौकामा राखिने पसलजस्तै शान्ति, हतियार व्यवस्थापन र द्वन्दजस्ता केही अस्थायी मठहरू पनि परिदृष्यमा देखिन्छन्। यसरी मठहरूको उदयसंगै आफ्नो मठले संप्रेषण गरेका आधिकारिक विचारलाई प्रश्न गर्नेलाई धुरिएर अलग्याउने र ठुङग्ने भालेवादको विकास भयो। अब पुरातन भालेवाद लिङ्गविहिन भएको छ। भालेवादी हुन पुरुष भइरहनु पर्दैन, यो एउटा चरित्र भइसकेको छ।
यस्ता मठका अलावा ट्विटरमा आजका दिनमा विचार वा कर्मबाट भन्दा पनि चर्का कुराबाट सामाजिक सञ्जालमार्फत पनि केपी ओलीबाहेक कसैले देश बनाउनै सक्दैन भन्ने त देउवा नै नेपालका एक्ला उद्धारक हुन् भन्ने, त्यसरी नै माधव वा प्रचण्ड वा गगन वा रवि वा कुलमान वा धुर्मुस-सुन्तलीको महिमागान गाएर हाम्रा पालनहार श्री कृष्ण यीबाहेक कोही हुनै सक्दैनन् भन्ने मुद्दा जनमानसमा स्थापित गर्न लागिपरेको समूह पनि छ। यसका लागि सामाजिक सञ्जालमा पक्ष र त्यसको प्रतिपक्षमा बनेका यस्ता समूहइतर विचार आयो भने धुरिएर त्यो विचारकलाई खेद्नु छ। दपेट्नु छ। भगाउनु छ। जमिन फिर्ता आउनुभन्दा पनि कर्णजी भागेकामा गर्व गर्नु छ। समग्रमा ख्याँस्नु छ। यो दोस्रोवर्गका ट्विटेको आमचरित्र हो।
मठाधीसहरू संगठित हुन्छन्, उनीहरूसंग आफ्ना विचार स्थापित गराउन ठूलो संजाल हुन्छ र संचारजगतमा सजिलो पहुँच हुन्छ। ती संप्रेषित विचारमा बिमति राख्ने व्यक्तिविषेशसंग त्यस्तो पहुँच हुने कुरै हुन्न थियो। छापाकै कुरो गर्ने हो भने मदनमणि दीक्षित वा खगेन्द्र संग्रौला वा हरिहर विरहीहरू सिमित थिए। तर अहिलेको समयमा सामाजिक सञ्जालको प्रयोगसंगै इतर विचार वा प्रश्नहरूलाई पनि जनतामाझ पुग्न सजिलो भयो। पहिलेको जस्तो भालेको ठुँगाइबाट बच्न अचाक्ली साधन र स्रोतको जरुरत हुन छाड्यो। गाउँघरतिरै पाइने डोको या थुन्सेभित्र बसेर भालेनजिक जान सकिने भयो। यस्ता यी तेस्रोवर्गका असंगठित ट्विटेहरू ‘निकले उठ्नेबित्तिकै प्रियंकाको अनुहार हेर्छन्’ भन्ने समाचारलाई पनि जिस्काउछन् अनि कुनै ‘तोरी विद्वान’का लेखमा के कस्तो अपराध भयो भनेर पनि प्रश्न गर्दछन्। कुनै मठाधीसको अधिकारक्षेत्रभित्र नपरेको कुनै ट्विट गाली नखाई हराउँछ भने कुनै पुरै कोपभाजनको शिकार बन्न जान्छ।
नेपाली ट्विटरजगतका यी बाहेक पनि केही अन्य चरित्र देखिन्छ। ट्विटे प्राय समूहमा हुन्छ। ट्विटे हरेक कुरोमा बोल्दैन। ट्विटे अर्कालाई उडाउनमा दंग पर्छ। अनि ट्विटे रिसाहा छ। रीस वा छुच्चोपनबारे पनि निकै अध्ययन भइसकेको छ। समग्रमा पुरुषहरू बढी रिसाहा हुन् कि भन्ने धारणा भए पनि अध्ययनले यस्तो फरक देखाएको छैन। हो, महिलामा रीसलाई प्रकट नगर्ने क्षमता पुरुषहरूभन्दा बढी भएकाले समाज र सञ्जालमा उनीहरू कम रिसाहा देखिएका छन्। त्यस्तै पहिलादेखि मानिआएको रीसलाई पोखेपछि ‘शान्त’ हुइन्छ भन्ने सिद्धान्तलाई हाँक दिने फरकखालका परिणाम देखिन थालेका छन्। त्यस्तै अर्काको क्षेत्राधिकार हस्तक्षेप भएका निउँमा ट्विटरमा अमृता, सरला, रामेश, युग, सावित्री, कनक, खगेन्द्र कोही पनि भालेवादको ठुँगाइबाट अछुतो रहन्नन्। र, अर्को रमाइलो पक्ष भनेको चैँ हामी कतिपय भालेवादीहरू कहिले कसैलाई ठुँग्न पुग्छौँ भने कहिले कसैको ठुँगाइमा पनि पर्छौँ। मार्क्सले भनेको द्वन्दात्मक भौतिकवाद नै यही हो कि त?
सत्तालाई रुन्चे गीत वा साहित्य वा कलाले कुनै प्रश्न गर्दैन र नै संसारभर रोदन सर्वग्राह्य हुनेगर्दछ। मुनामदन भूपिका कविताभन्दा लोकप्रिय छ। गौरीसंग मनले प्रतिस्पर्धा गर्नै सक्दैन। तर यो पनि मानिन्छ कि समाज मुनामदन वा गौरीले हैन, बागी कुराले बदलिन्छ। र, सत्तालाई असहमती सदा छुच्चा लाग्दछन्। आफूलाई प्रश्न गर्ने सामान्य ट्विटेलाई छुच्चो करार दिनुमा स्वनामधन्य महान मठाधीसहरूलाई सजिलो हुने ने भयो। मठाधीसहरूले प्रश्न गरेको अपराधमा कसैलाई दोषी ठहर्याए भने उनीहरूको कार्बाही सुरु हुन्छ। उनीहरूबाट ‘तँ जस्तो मान्छेले यसो भन्ने’, डिएममा ‘माफ माग’ भन्ने, ‘तँलाई सबै नामचिनहरूले ब्लक गरिसके, के गरेको यस्तो’ भन्ने विभिन्न सजाय दिएर पनि नसुध्रिएको खण्डमा सबैभन्दा ठूलो सजायस्वरुप अन्त्यमा प्रश्नकर्तालाई ‘छुच्चो’को पदवी दिएर आफ्नो कार्बाही पुरा गर्ने गरेको देखिन्छ।
मेची खोलो बर्खामा नदी बन्छ अनि म निकैवर्ष त्यो नदीमा बहावको विपरित बाँकटे हान्ने गर्थेँ। मलाई 'एन्टिकरेन्ट'ले रोमाञ्च दिन्थ्यो होला। त्यसैले मलाई फूर्सदमा कहिलेकाँही नेपाली भालेवादलाई जिस्क्याउने रहर जाग्दछ। फेसबुकबाट सुरु गरेको मेरो सामाजिक सञ्जालको यात्रा ट्विटरमा निक्कै वर्ष अल्झिनुमा पनि सायद स्वभाव र रुचीले साथ दियो। यसरी शनैशनै म फुलटाइम ट्विटे भएँ। मदनमणि दीक्षितले लगभग तीनदशकअघि भनेको ‘ठाडा ठाडा कुराहरू गरेर मैले महान् व्यक्तिहरूमध्ये निकैलाई आफूविरुद्ध क्रुद्ध तुल्याइसकेको छु र भोलि पनि त्यसो गर्नुपर्नेछ’ भन्ने भनाइअनुरुप नै अविज्ञ र व्यङ्गका साथै फरक फरक कुरामा रुची राख्ने साधारण मानिस भनेरै आफ्नो परिचय दिएर ‘सदाचारी’ र ‘असल’ मानिसको घेराभित्र बस्न नरुचाउने यो अदना अराजक ट्विटेलाई जबरजस्ति वधुशिक्षा घोक्न लगाइयो। स्वभाविक थियो, गृहकार्यमा हेलचेक्रयाइँको कसुरमा ‘छुच्चो’को पदवी दिइयो पनि।
मैले आफैँलाई ट्विटेको रुपमा हेर्दा केही घटनाहरू सम्झिन पुग्दछु। कुनैबेला बहाव नाकाकस्सी र संविधानको विभेदमा थियो। अनि मैले संविधानको मस्यौदाभित्र छिरेर तथ्याङ्कका साथ एन्टिकरेन्ट बाँकटे हान्दिएँ। सहमतिजत्ति नै असहमतिको स्थान हुन्छ भन्ने हेक्का राखिनछु। त्यसरी नै एनसेलले कर तिर्न नपर्ने विज्ञहरूको लेख पढेरै तिर्नु पर्छ भन्ने एन्टिकरेन्ट धारमा मिसिएँ। अनि लगत्तै मधेसको पीडामा पहाडले ऋण तिर्ने हैन कि हामी नै आफ्नाका लागि हौँ भन्नु पर्छ र समानुभूत हुनु पर्छ भन्दिएँ। कतै इतर विचारलाई वर्जित गर्नु हुन्न भनेँ भने कतै नेपाली जनसाधारणको हरीयो पासपोर्टको पीडा 'नेताजी'लाईभन्दा हजार गुणा बढी छ भनेर ऐना देखाएँ। फेरि लोडसेडिङ हटाएकामा अति नै कृतज्ञ हुँदाहुँदै पनि एलइडी बत्तीका कुरामा लगभग ‘भगवान’ बनाइसकिएका कुलमानलाई नै तथ्याङ्कसहित प्रश्न गर्न धक मानिँन। रेलका प्रश्नबारे त के कुरा गराइ भो र?
नेपालमा समयसंगै सायद पहिलोवर्ग र दोस्रोवर्गका ट्विटेहरू संगठित हुँदै गए। कुनैबेला नेपाल वायुसेवा निगमलाई पारा मिलेन भन्न नधकाएको ट्विटे त्यस्तै जिज्ञासामा साझाको अप्रत्यासित प्रतिकृया देखेर चकित पनि भयो। ट्विटर छुच्चो छ। किन? किनकि यो सजिलो छ। कसैका कुनै कुरा चित्त नबुझे सजिलै प्रश्न गर्न सक्दछ। यसरी नै हालसालै स्तनपानबारे एउटी लेखकको लेख आयो। शहरी महिलाबारे केही वाक्य प्रतिशतमा नभनेकाले अनि पत्रकारीताको चरित्रले मास अपिज् गर्दा हामी कतिपयलाई शिर्षक पनि अलिक नराम्रो लाग्यो। आकाश खस्यो? हैन, फगत 'हामी'लाई मन परेन।
अलिकति स्वास्थ्यक्षेत्रको कुरो हुनाले र मेरो रुचीको विषय हुनाले लेख पढेँ। ट्विटरका प्रतिकृयाले फेरि पढायो। झन् केही कुरोमा जानकारी भएकैले थप खोज्न वाध्य बनायो। र उता लेखकलाई हाकाहाकी हाम्रो सिमानामा हस्पक्षेप गर्यो भन्दैमा सो क्षेत्रको आधिकारिकता 'म'बाहेक अरूसंग हुनै सक्दैन भन्ने स्वनामधन्यहरूले 'तोरी विद्वान’ वा यस्तै कुनै पदवी दिए। अचम्मित भएँ नै, केही शब्दलाई मिलाए शहरिया महिलाले स्तनपान गराउनु पर्दछ भनेर वकालत गरेको सो लेख 'तोरी' नै हो त? पत्रिकामा लेखेकोभन्दा बढ्ता आधिकारीकता हुने संबन्धित विषयका 'म्यागाजिन'मा के कस्ता अनुसन्धानात्मक लेख रहेछन् भनेर खोज्दा पनि त्यो लेख तोरी लागेन। मलाई थाहा छ कि हरेक खोजकर्ताले सन्दर्भसामाग्री आफ्नो कुरो पुष्टी हुनेवाला नै राख्दछ। यो अनुसन्धानात्मक लेख वा शोधको बेसिक चरित्र हो। कम नै सही, शरीर बिग्रने डरले स्तनपान नगराउनेदेखि छ महिनासम्म दुधमात्रै नख्वाउने महिला पनि छन् भनेर अनुसन्धनात्मक लेखहरूमा लेखिएको पनि रहेछ।
पहिल्यै प्रतिशतात्मक शब्दहरूको प्रयोगमा केही गल्ती छ भनेर भन्दाभन्दै पनि विवादको उत्कर्ष भयो, शरीर बिग्रने भनेर स्तनपान नगराउने पनि छन् है भनेर अनुसन्धात्मक लेखको लिङ्कसहित गरेको ट्विटलाई कोट गरेर 'शरीर बिग्रनु भनेको के हो?' भन्ने प्रश्न। त्यो जम्मा एउटा क्लिक टाढा त्यसैको उत्तर हुँदाहुँदै यसरी प्रश्न सोध्नु नै असभ्य भएन र भन्ने जवाफ स्वतः दिइयो नै। तर कतिपयलाई तोरी विद्वान भन्नु सामान्य भयो, पदवी दिने मठको भालेवाद असामान्य हो भन्नु नै दोष भयो। असभ्य प्रश्न सोध्नु सही भयो तर 'असभ्य'को पर्यायवाची शब्द लेख्नुलाई अपराध ठानियो।
मलाई थाहा छ, प्राय ट्विटे ट्विटरले उपलब्ध गराएका म्युट, ब्लक र अनफलोमात्र हैन कि इतर 'शब्दनिषेध'समेतका विकल्पबारे अनभिज्ञ छैनन् नै। त्यसैले म मेरा हरेक वाक्यप्रति जिम्मेबार छु र गलत भए क्षमा माग्दै मेटाउँछु पनि। तर सदा डाक्टर गोविन्द केसीका मुद्दामा ऐकबद्धता जनाउँदा जनाउँदै पनि कुनै दिन जुम्लामा एकवर्षमा कसरी एमबिबिएस पढाउन सकिन्छ भनेर उनैलाई प्रश्न गर्न छाड्दिन। म तपाईँहरू संगै छु अनि म तपाईँहरूसंग कहिल्यै छुइँन पनि। रहर भए पनि, केही गरेर देखाउने हुटहुटी भए पनि ब्रिफकेस दिएर पदमा पुगेर भ्रष्टाचार नामेट गर्न सकिन्न अनि बिना दलीय डोरो यो देशमा केही गर्न सकिन्न भन्ने ज्ञान प्राप्त गरेपछिको मेरो यो स्विकारोक्तिलाई क्षोभ वा कुण्ठा जे नाम पनि दिन सकिन्छ। यो मेरालागि यथार्थ हो। ध्रुवसत्य हो। देश बनाउने स्थानमा नपुगे पनि त्यस स्थानमा पुगेका र समाजलाई डोहोर्याउने हैसियत बनाएकासंग मेरो आस छ। मेरा सन्ततिमात्र हैन, म स्वयं बस्ने देश र समाज राम्रो बनोस् भनेरै त प्रश्न छ।
'पहुना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति।
सो जानेरै उसै बमोजिम गरोस् मर्याद् न चुकोस् रति।।'
अन्त्यमा, नेपाली समाजमा ट्विटर एउटा विशाल चौतारीमा परिणत भइसकेको छ। यहाँ आ-आफ्नै धुनमा रमाइरहेका ‘तँ मेरो कविता सुन् अनि म तेरो कविता सुन्दिन्छु’ भन्ने मार्काका कविहरू पनि छन्, फोटोग्राफर छन्, मोमो छ, घुमफिर छ, चियाको कपमा तुफान ल्याउने विश्लेषकहरू छन्, मन्द र चर्का आवाजमा आफ्ना समाचारहरू सुनाइरहेको संचारजगत छ, टेबलमा भाले राखेर प्रश्नकर्ताहरूलाई ठुंग्न तत्पर मठाधीसहरूका पसल छन् अनि छन् थुन्सेभित्र लुकेका छद्म र डोकाभित्र बसेर परिचय खुलाएरै ती भालेहरूलाई जिस्क्याइरहेका ट्विटेहरू। आजका ट्विटे नरनारीका मानक चरित्र ’आज्ञाकारी र मधुर स्वरकी धनी हुनुपर्दछ’ भनेर हामी भालेवादी भानुभक्तहरूबाट रचित आधुनिक वधुशिक्षाका श्लोकहरूमाथि यी ट्विटेहरूले प्रश्न उठाएको हामीलाई मन परिरहेको छैन नै। तर पनि हामी विभिन्न मठाधीसहरूलाई म आफैँ चैँ कसैले हाम्रो ‘स्मार्ट वधुशिक्षा’ नमानेकै कारण उसलाई तोरी वा छुच्चोको पदवी दिन हतार नगरौँ भनेर बिन्ति गर्न चाहन्छु।
आगे मौसूफको जो निगाहा!
****
[छपाउन सकिन्छ भन्दैमा जाबो ट्विटर र ट्विटेका कुरा पनि पत्रिकामा के छाप्नु र? अनलाइनतिर पनि कपी-पेस्ट नगर्न अनुरोध!]