Tuesday, October 15, 2019

नेपाली रेलः कसको सपना? (रेल विचार भाग ४)

5:53 PM 0

नेपाली रेलः कसको सपना?
- रामेश कोइराला

       चिनियाँ होस् वा भारतीय, नेपाली पहाडी क्षेत्रका लागि रेल भौतिकशास्त्रीय तथा भूगर्भशास्त्रीय हिसाबले दुरुह र अर्थशास्त्रीय हिसाबले घाटाको परियोजना हो।  तर पनि नेपालका सबै दल र विज्ञहरूका मनमा रेलको सपना कसरी आयो त? किन र कस्तो पृष्ठभूमिमा यो सपना जन्मियो अनि हाम्रो अर्थतन्त्रमा रेलको के भूमिका हुनेछ भनेर थप केही कुरा प्रष्ट पार्न  आवश्यक देखिन्छ।

एकछिन बाहिर हेरौँ।
       अगस्त, २०१४। तीन वर्षको म्याद भएको कुन्मिन- म्यानमार रेलमार्ग बनाउने सम्झौता एक किलोमिटर पनि नबनिकन समाप्त भयो। भनियो, २० खर्ब रुपैँयाभन्दा बढी लागतको त्यो रेलमार्ग बनाउन शक्ति क्षीण हुँदै गएको म्यानमारको सैनिक शासन अनिच्छुक देखियो। उसले लगानीको केही प्रतिशत सहयोग र बाँकी ठूलो प्रतिशत ऋणमा बनाउन त्यति आर्थिकरूपले ‘फाइदाजनक’ देखेन र भन्यो, ‘आदिवासीको बासस्थानबाट जान्छ, सोच्नुपर्छ’। ‘फोकट’मा बनाइदिने भनेको भए नमान्ने कारण देखिन्न नै। म्यानमारलाई पनि समृद्धि त चाहिएकै छ, तर त्यही रेलमा गुडेर समृद्धि आउने कुरामा चाहीँ हामी जति विश्वस्त हुनसकेको रहेनछ! जापानमा द्रुतरेलले ल्याएको आर्थिक कायापलटबारे पर्छ थाहा नपाएर पनि हो कि?
       १८ सेप्टेम्बर, २०१४। चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग गोमती किनारमा चीन-भारत व्यापार सुदृढ गर्न पिङमा मच्चिँदै गफ गर्दै थिए। गुजराती र चिनियाँ संसारमा एक नम्बरका चतुर व्यापारी मानिन्छन्। अनि आगामी साल नै लगभग १०० खर्बको द्विदेशीय व्यापारको लक्ष राखेका उनीहरूलाई रेलमार्गको आवश्यकता र म्यानमारको अनिच्छाले निक्कै पिरोलेको हुनुपर्छ। उनीहरूलाई आफ्नो कम लगानीमा नै रेलमार्ग बनोस् भन्ने लाग्नु अस्वाभाविक होइन पनि।  त्यसबेला सदियौँ पूरानो चीन-भारत कनेक्टिभिटीका अन्य विकल्पबारे पनि कुरा गरे होलान्। युगौँ अधिनायकवादको अभ्यास गरेको चीन र जनतालाई चुप्प लगाएर अर्बौँको शालिक ठड्याउने  भारत दुवैलाई थाहा थियो, अधिनायकवादले जसरी प्रश्नहरूलाई  नामेट गर्न नसके पनि  उग्र-राष्ट्रवादले प्रश्नहरूको मुख थुन्ने तागत राख्दछ।
अनि त्यसको ठीक एक वर्षपछि नेपालमा भारतको अघोषित नाकाबन्दी लाग्यो।
       त्यसैताका म्यानमारमा सैनिक शासकका हातबाट आङ सान सुकीको पार्टीको हातमा पुरै सत्ता आयो।
शताब्दीअघिदेखि नै बेलायती साम्राज्यले ट्रान्स एसियन रेल-वे नेटवर्क (टार्न)को अवधारणा ल्याएको थियो। ऊ रेलमार्फत मलेसिया, बर्मा र भारतलाई चीनसंग जोड्न चाहन्थ्यो। ब्रिटिस साम्राज्यको पतनका बेलामा चीन र भारत जोडिन बर्मा, चीन र भारतमा केही सय किलोमिटर रेलमार्ग बनाउनमात्र बाँकी थियो।
       चीन आफ्ना उत्पादनहरूको लगभग एकलौटी बजार बर्माको सदा पक्षमा रह्यो भने भारत पनि बर्माको सैनिक शासनका केही सुरुवाती वर्षहरूबाहेक सम्बन्ध सुधारका लागि उसका ‘आन्तरिक कुराहरू’मा चासो नराख्ने बन्यो। राजीव गान्धीका पालामा शुरू गरिएको वैदेशिक सम्बन्ध सुधारको प्रयास ‘पूर्व हेर’को नीति लागु गरेपछि द्रुतगतिमा अघि बढीरहेको छ। भारत र चीनले म्यानमारमा  आर्थिक सहयोग र विकास परियोजनाका साझेदारी वर्षेनी बढाउँदै लानुको विशेष प्रयोजन छ।
       भारत भौगोलिक हिसाबले अलिक सहज बांग्लादेश हुँदै अनि पूर्वोत्तर भारतमा आतङ्कवाद कम हुने आसमा मणिपुरबाट पनि सिधै म्यानमारसम्म रेल पुर्‍याउन चाहन्छ र त्यसका लागि  ३१५ किलोमिटर लामो भारत-म्यानमार रेलमार्गमा पर्ने आफ्नो भूभागको १८० किमिमा धमाधम काम गरिरहेको छ। उता चीन पनि सन् २०२० सम्ममा म्यानमारको सिमानामा रेल पुर्‍याउन धमाधम काम गर्दैछ। भारत र चीन दुवै अहिले ‘चीन, म्यानमार, बंग्लादेश र भारत (बीसीआईएम) परियोजना’लाई मूर्तरूप दिन लागिपरेका छन्। चीन र भारतका उच्चस्तरीय नेता तथा पदाधिकारीको बाक्लो भ्रमण र द्विपक्षीय वार्ताको परिणामस्वरूव म्यानमार आफ्नो देशमा यातायात लगायत बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन क्रमशः तत्पर भएको देखिँदैछ। चीन र भारत दुवैको ध्याउन्न रेलमार्गका लागि सजिलो भूगोल भएको म्यानमारबाटै जोडिनुमा छ। लाग्दैछ, उनीहरूको ‘प्लान ए’ कुनै व्यवधान नभए समयमै पूरा हुनेछ।
        यसै परिप्रेक्षमा बंगलादेश, भारत, नेपाल र भुटान बीचको पारवहन सम्झौतालाई पनि अर्कैरूपले हेर्न आवश्यक छ। एउटा देशको कन्टेनर अर्को देश हुँदै आफ्नो देशमा नखोलिकन आइपुग्ने प्रस्तावमा भारतको अचाक्ली जोड नेपाल वा बंगलादेश वा भुटानलाई सुविधा दिनभन्दा पनि पूर्वोत्तर भारतमा सहज आपूर्ति पुर्‍याउन र बंगलादेश-बर्मा हुँदै चीनसम्म मालवाहक रेलको कनेक्टिभिटी गुढ तत्व हो भनेर बुझ्न त्यति गाह्रो छैन। सन् २०११ पछि बंगलादेश भारतबीचको क्रमिक सम्बन्ध-सुधार यसै भू-राजनीतिले अभिप्रेरित देखिन्छ। नत्र भने २०१२ मा बंगलादेशको अशुगंजमार्फत भारतले त्रिपुराको पालाटना पावर प्रोजेक्टका लागि भीमकाय टर्बाइन, मेसिन र कार्गो ल्याउन सक्ने थिएन। त्यसपछिको भारतीय विदेश मन्त्री सुषमा स्वराजको बंगलादेश भ्रमणमा बंगलादेशले पूर्वोत्तर भारतका लागि आफ्नो भूमि भएर कार्गो, खाद्यान्नलगायत सामान भारतलाई लैजान दिने सम्झौता यसैको निरन्तरता थियो।
       
        नेपाल चीन व्यापार सन् ०१४-१५ को आर्थिक वर्षमा लगभग एक खर्ब रुपैँया बराबरको थियो र नेपालले दुई अर्बको निर्यात गरेर ९९ अर्बको सामान आयात गर्थ्यो। त्यस्तै सोही आर्थिक वर्षमा नेपालले भारततिर ५५ अर्बको सामान निर्यात गरेर पाँच खर्बको सामान आयात गर्थ्यो। यसरी चीनसंग निर्यातःआयातको अनुपात १:४८ (प्रति एक रुपैयाँ निर्यातमा ४८ रुपैयाँको आयात) जति र भारतसंग सो अनुपात १:१० जति थियो। त्यसरी नै चीन-भारतको व्यापार अघिल्लो वर्ष ८४ खर्बभन्दा माथि लागिसकेको छ जसमा भारतले चीनमा १६ खर्बको निर्यात गर्दछ भने चीनले भारतमा ६८ खर्बको। उनीहरूको लक्ष यसलाई एक सय खर्बको हाराहारीमा पुर्‍याउने छ र भारत चीनसंगको व्यापार घाटा कम गर्न चीनमा औषधी र आइटीको प्रवेश खोजिरहेको छ। चीन-भारत व्यापारमा न त दलाई लामाले असर पार्छन् न त विवादित सीमाक्षेत्र दोक्लामले। पैसा कसलाई चाहिएको छैन र?
चीन-भारतको व्यापार हेर्दा यदि चीनबाट भारतले चारवटा कन्टेनरमा सामान आयात गर्‍यो भने कमसेकम एउटा कन्टेनरमा सामान भरेर पठाउन सक्ने रहेछ भने नेपाल-चीनको व्यापार आँकडाअनुसार नेपालले चीनबाट अड्चालीसवटा कन्टेनर सामान आयात गर्दा जम्मा एउटा कन्टेनरमात्र भरेर फिर्ता पठाउने रहेछ। सामानको तौल र आयतनले यसमा केही तलमाथि भए पनि सार लगभग यही नै हुनेछ।
        कृषिजन्य उपजको कुरा गर्दा मैले केहीवर्ष पहिलेको हाम्रो तथ्याङ्क सम्झिएँ। अदुवा बर्षैभरि सजिलै भण्डारण गर्न र सुकाएर पनि बेच्न सकिने नगदेबाली हो, तर नेपालले एक वर्षमा २ करोड ८३ लाख किलो अदुवा ६४ करोड (सरदर २३ रूपैयाँ प्रतिकिलो भन्दा कम) मा भारतलाई बेच्छ भने सोही अवधिमा चीनसंग २ करोड ४० लाख किलो ७४ करोड (प्रतिकिलो झण्डै ३१ रूपैयाँ) मा किन्छ। आफूले बेच्नेभन्दा महँगोमा उति नै अदुवा किन्ने नेपाली ‘व्यापार’ बुझ्न अर्थशास्त्र बुझ्नभन्दा गाह्रो छ। उत्पादनभन्दा बढी निकासी गर्ने सुपारी, जुट, मरिच वा मुसुरोजस्तै यस्ता गजबका कृषिजन्य उपज चीन पठाएर धनी हुन त्यति सजिलो छैन नै।
        बिजुली सस्तो, जमिन सस्तो अनि चुनढुङ्गा पनि आफ्नै भएको नेपालमा कसरी सिमेन्ट चीन वा भारतमा भन्दा दोब्बर महँगो हुन्छ वा कसरी भारतमाभन्दा  बाख्रा-कुखुरा तीनगुणा महँगा हुन्छन् भन्ने हामी सोच्दैनौँ। यो ‘कार्टेलिङ’ले चलेको देशमा रेलमा  उताबाट चाइनिज प्याज त आउला तर नेपाली काँक्रो जान सजिलो छैन।  सगरमाथाको पानी बेच्ने  सपनाले समृद्धि ल्याउन सक्दैन भन्ने कुरा त यस शृङ्खलाका अघिल्लै लेखहरूमा भनिएको छ। भारत वा चीनसंग नै तुलना गरेर सोच्दै जाँदा लाग्छ कि यो देशमा बालुवा, गिट्टी, इस्कुस, चुरोट, गाँजा, नेता, हुक्के र जनताबाहेक केही पनि सस्तो छैन। अनि सपना देख्छौँ, नाफाको व्यापारको!
         सारांश के हो भने चीन-भारतबीचको ‘कनेक्टिभिटी’ का लागि नेपाली भूभाग रोजिए मात्र कार्गो रेल आर्थिक हिसाबले सम्भव हुनेछ। पहिलै भनिसकियो कि केरुङ-काठमाण्डौँ रेलमार्ग पाइकु तालबाट र्‍याकैर्‍याकको ओरालोबाट लाङटाङ वा बेत्रावतिको खोँचमा ओर्लिन्छ, त्यहाँबाट तीस किलोमिटरजति सुरुङ र पुलमार्फत विदुरआसपास आइपुग्छ अनि फेरि र्‍याक वा र्‍यामको सहाराले साँखु वा टोखा उक्लिन्छ। तर त्यसरी ओर्लिने-उक्लिने रेल  द्रुतगति वा मध्यमगतिको नभएर न्यूनगतिको मात्र हुनेछ। वकल्पमा दार्जिलिङतिरको जस्तै पहाडी ‘खेलौना रेल’ बन्नेछ। जसरी बने पनि ‘आठौँ आश्चर्य’को रेल चढ्ने रहर गर्ने फाट्टफुट्ट विदेशी वा चिनियाँ नागरिकबाहेक ल्हासा आएका पर्यटकहरू सस्तो ल्हासा-काठमाण्डौँकै प्लेन चढ्नेछन् र यात्रुवाहक रेलले मात्रै हाम्रो केरुङ-काठमाण्डौँ रेलमार्गलाई नाफामा लान सक्नेछैन।
        आजका दिनमा चीनको पूर्वी तटीय क्षेत्रका औद्योगिक शहरहरूबाट नेपालमा सामान ल्याउन रेल र ट्रकले भन्दा कलकत्तासम्म पानीजहाज र त्यहाँबाट नेपालसम्म रेल वा ट्रकमा ल्याउन सस्तो नै छ तर ‘समय’ लाग्छ। यदि कालान्तरमा विसाखापट्टनमको बन्दरगाह सिंगापुरको जस्तै ‘फ्रेट-फ्रेन्डली ’ भइदियो भने ती चिनियाँ शहरहरूबाट हजारौँ किलोमिटर टाढा ल्हासाको रेलमा सामान ल्याइएला? अझ रेलमार्ग नै रोजेछन् भने पनि नेपाली व्यापारीले हरेकपटक रेल कुद्‍दा लिकमुनि जमेको हिलो नपग्लियोस् भनेर चिस्याउनु पर्ने देखि डिजेल इन्जिन नै चाहिने महँगो ल्हासाको रेलमार्ग रोज्लान् कि बर्मा हुँदै भारत छिर्ने रेलमार्ग?
         यी हावादारी तथ्याङ्क त सरासर ‘म्यानिपुलेसन’ भए। विज्ञहरूले भनेअनुसार आगामी चारवर्षमै नेपालमा ल्हासाबाट पन्ध्रलाख पर्यटक आउने ‘सत्य’ तथ्याङ्क पनि हेरिहालौँ। चिनिया सरकारी तथ्याङ्क भन्छ कि गतवर्ष साढेदुई करोड पर्यटकले ल्हासा भ्रमण गरे र चालुवर्ष तीन करोड तीस लाखले भ्रमण गर्नेछन्। तर फेरि सिजनमा अधिकतम ३० वटा जहाज उत्रिने ल्हासाको विमानस्थलको तथ्याङ्कले चैँ सो वर्ष जम्मा सातलाखमात्र उत्रिए भन्दोरहेछ। अनि ल्हासाको रेल स्टेसनले दैनिक जम्मा साढेचारवटा (दुईवटाबाहेर अन्य पाँच शहरबाट दिन बिराएर रेल चल्दारहेछन्) यात्रुवाहक रेल आउने भन्दोरहेछ। अब प्लेन र रेलमा त्यहाँका स्थानीय चढ्दैनन् र सतप्रतिशत ‘पर्यटक’मात्र आउँछन् भनेर प्रतिरेल पाँचसय ‘पर्यटक’ मान्दिँदा पनि वार्षिक सात-आठ लाखभन्दा बढी पर्यटक रेलबाट ल्हासा उत्रिएको हिसाब निस्किन्न। एउटा पर्यटक जम्मा एकदिनमात्र ल्हासा बस्ने भए पनि प्रतिदिन एकलाख पर्यटक राख्ने ल्हासाको होटेल-क्षमताको कुरै छाडौँ, बाँकी दुईकरोड पर्यटक कुन यातायातबाट ल्हासा आउँछन् भन्ने प्रश्न नसोचिकन गरिने चीन-नेपालको पर्यटकीय हिसाब पक्कै पनि ‘यथार्थ’मा आधारित नै हुनुपर्छ। पुरै चीनबाट प्रतिदिन जम्मा साढेचारवटा रेल ल्हासा आउँदा ल्हासा-केरुङ-काठमाण्डौँ चै प्रतिदिन दशवटा रेल छुट्ने तथ्याङ्क तथ्यपरक नहुन सक्दैन नै।
         नाकाबन्दीताका मलाई अचम्म लाग्थ्यो, हामीलाई किन चीनले तेल बेच्दैन? जम्मा चार-पाँच ट्यान्कर पेट्रोलियम ‘सहयोग’ गरेको देशले नेपाललाई अति आवश्यक भएकोबेला अरु तेल बेच्न किन चाहेन? पाँच सय रुपैँया लिटरमा तेल किनिरहेका नेपालीलाई ‘हाम्राबाट किन्दा तिमीहरूलाई महंगो पर्छ’ भनेर किन झारा टार्‍यो? केरुङमा लगभग १३६ रुपैँया नेपाली पर्ने पेट्रोल आफ्नो कर नलिएर नेपाललाई ६० रुपैँयामा बेच्न किन चाहेन? चीनले आफ्नो बजार-मूल्यमै हामीलाई बेचेको भए पनि नेपालले केही रुपैयाँ कर छुट गर्दा समान मूल्यमा आउने तेल किन नेपाल आएन? नेपालले भारतीय आयल निगमसंग बाहेक पनि तेल किन्न सक्ने सम्झौता भए पनि चिनियाँ तेल किन नेपाल पसेन? त्यस्तै तातोपानीको बाटो किन भुइँचालोपछि खुलेन? खासा शहर भए पनि नभए पनि दुई देशको सिमामा  सञ्चालित नाकालाई केही फरक नपर्नु पर्ने हो। सेनाका संरचना यथावत रहँदा एउटा भन्सारको घर पुनर्निर्माण गर्न चीन अक्षम छ र? वा केही किलोमिटर बाटोको मर्मत त्यति गाह्रो थियो र वर्षौँ लाग्दैछ चीनजस्तो विश्वशक्तिलाई?
        अझ नेपालले धेरै आशा गरेको विद्युत ट्रान्समिसन लाइन चीनले ‘बनाइदिन’ रहर गरेन। चीनलाई बिजुली बेच्ने सपना देखिरहेको नेपाल सरकारलाई उल्टै तिब्बतबाट कति बिजुली किन्ने हो हिसाब देखाऊ भनेर जिल ख्वायो।
        सिधा हिसाबमा चीनलाई तातोपानी नाका बन्द गरेर केरुङ खोल्नु थियो र खोल्यो। उसको मर्जीमा हामीले चल्नु हाम्रो निरीहता थियो, चल्यौँ। राम्ररी नबनिसकेको केरुङको बाटो बर्खाभरि घरिघरि बन्द भइरह्यो तर हामीले कुतिको बाटो पनि  चलेको भए यस्तो भोग्नु पर्दैन थियो भन्न पनि सकेनौँ।
        यदि चीनले आफ्नोपट्टिको सिगात्से- केरुङ रेलमार्ग बनाएन भने हाम्रो केरुङ- काठमाण्डौँ रेलमार्गको उपादयता के हुन्छ? वा बनाएको एक-दुई वर्षमा कुनै दैवीप्रकोपबाट चिनियाँ रेलमार्गमा क्षति पुगेपछि त्यसलाई मर्मत गर्नका साटो खासाको बाटोजस्तै ‘बन्द’ गर्ने निर्णय गरेका दिन के हुन्छ? वा मानौँ, हाम्रो सम्बन्ध चीनसंग राम्रो नबनेका दिन त्यो केरुङ-काठमाण्डौँ रेलमार्ग नामक सेतो हात्तीलाई हामी कसरी पाल्छौँ?
        अब चीनबाट नेपाल रेल सुरुमा ‘कार्गो’ मात्र बन्ने भनिएको छ। यात्रुवाहक द्रुतरेलको सट्टामा र्‍याम्प र र्‍याकका भरका बिस्तारै कन्दै उकालो-ओरालो गर्ने चिली वा भिडियो गेमतिर देखिने ‘पूरातनपन्थी’ रेल चीनबाट नेपाल आउने छ। अनि केरुङबाट प्रतिदिन अहिले आइरहेका ३०- ४० कन्टेनरको संख्यामा कति प्रतिशतले बृद्धि हुनेछ? हरेक दिन केरुङ- काठमाण्डौँ कतिवटा मालगाडी आउनेछन्? जाँदा खालि फर्किनुपर्ने भएकाले दुईतर्फी भाडा जोड्दा प्रतिटन कति खर्च लाग्ने रहेछ? दशौँ खर्ब लगाएर बनाएको रेलमार्गमा दैनिक पाँच वा दशवटा मालबाहक रेल कुदाएर लगानीमात्र पनि कसरी उठाउन सक्नेछौँ? संचालन र सम्भार खर्च ‘मात्रै’ पनि उठ्ला? वा अन्धाधुन्द हावामा महल बनाउनबाहेक साँच्चैको ‘सफल संचालन’का लागि हामीसंग ‘ठोस’ के योजना छ? बिना योजना किनिएको वाइडबडी हवाइजहाजको हविगत देखेभोगेका हामीले त्यस्ता सैयौँ जहाजबराबर मूल्यको रेलमार्गबारे संचालन-योजना बनाएका छौँ त?
         
         यस लेखको शुरूतिरै चर्चा गरिएको भारत – म्यानमार – चीनको प्रसङ्ग फेरि उठाऊँ। विश्वले म्यानमारका सैनिक शासकबारे जति नै ‘कुरा’ गरे पनि चीन र भारतले त्यसमा आपत्ति जनाएनन्। अझ म्यानमारको जुन्टा सैनिक शासनका बेलामा चिनियाँ सहयोगको आँकडा गजबको छ। जुन्टा शासकलाई हातमा लिइरहन सन् २०११ मा म्यानमारमा चीनले १३ खर्ब रुपैँया बराबरको सहयोग गरेको थियो भने सन् २०१२ मा जम्मा ४० अर्ब रुपैँया बराबरको सहयोग दिएर अलिअलि प्रजातान्त्रिक बनेको म्यानमारलाई ‘आफ्नो महत्त्व’ महसुस गराउने प्रयत्न गरेको थियो।
        यसबाट के देखिन्छ भने तर्साएर होस् वा फकाएर, चीन र भारतलाई म्यानमार चाहिएको छ। त्यसैले त उनीहरू सन् २०१६ बाट असली सत्तामा आइपुगेकी ‘प्रजातान्त्रिक म्यानमार’की सुकीलाई खुसी पार्ने कसरतमा छन्। उनीहरू रोहिँग्याबारे या त म्यानमार सरकारको खुला समर्थनमा देखिए या त मौन बसे। व्यापार र आफ्नो स्वार्थ उनीहरूका लागि प्रधान थियो र रहने छ। आजका दिनमा चीन र भारत दुवैले दिने वैदेशिक ऋण र आर्थिक सहयोगको ग्राफमा म्यानमारले लगातार लगाइरहेको भ्यागुते छलाङ्ग अकारण देखिन्न।
       र हामी सायद यही कुरो नबुझेर अलमलिइरहेका छौँ। हालै संयुक्त राष्ट्र संघको मानवअधिकार समितिमा रोहिँग्यालाई हिँसात्मक बल प्रयोग गरी देश निकाला गरेको कुरालाई लिएर म्यानमारलाई कारबाही गर्ने मागमा मतदान भयो। चीनलाई म्यानमार चाहिएको थियो, विपक्षमा मतदान गर्‍यो। भारतलाई म्यानमार र बाङ्लादेश दुवैलाई चिढ्याउनु थिएन, मतदानमा भाग नै लिएन। नेपाललाई न त म्यानमार चाहिएको थियो न त बाङ्लादेशसंग उतिसारो चासो नै थियो, तर पनि ऊ मतदानमा गएन। यो हाम्रो मानवअधिकारप्रतिको उदासिनता वा असंलग्न नीति नभएर निरीह भू-राजनीति थियो। करोडको पुरस्कारले नअचेट्ने हो भने त्यो घटनाको लगत्तै गरिएको धार्मिक (?) सम्मेलनमा तिनै सुकीलाई निमन्त्रण र स्वागत गर्नु हाम्रो त्यही निरीहताको पराकाष्ठा थियो।
        चीन र भारतको हाम्राप्रतिको व्यवहारमा ‘मित्रता’ कति र कस्तो छ, हेर्नै पर्छ। अन्त्यन्त आशाले हेरेको चीनले पनि अन्तर्राष्ट्रिय मान्यताअनुसार आफ्ना प्लेनबराबर नेपाली प्लेनलाई चीनमा प्रवेश दिएको छैन। अझ ‘फोकटमा बनाइदिने’ आस गरेको नेपाल-चीन ट्रान्समिसन लाइनबाट चीनमा बिजुली बेच्ने सपना देखेको नेपाललाई ‘बार्षिक कति बिजुली चीनबाट किन्ने, हिसाब दिन’ आग्रह गरेर कुटनैतिक लोप्पा ख्वाइदिएको छ। उता ‘दुश्मन’ भारतसंगको सम्बन्ध सुधारेर नयाँ उचाइमा पुर्‍याइवरी घनिष्ट मित्र बनाउँदै गर्दा दिन्छु भनेको ‘नयाँ हवाइ रुट’ नदिने छाँट देखाएको छ।
        जनमानसमा नाकाबन्दीप्रति असाध्यै ठूलो रिस छ। हामीलाई लाग्छ, केरुङको रेल आए फेरि कहिल्यै त्यो दिन देख्नु पर्दैन। तर यो कुरो बुझिरहिएको छैन कि चिनियाँ नाकासम्म पुग्ने दुई-चारवटा चारलेनका बाटाहरू भए चैँ के फरक पर्छ? ट्रकले चैँ ओसार्नै नभ्याउने हो? अझ भन्ने हो भने त ट्रकहरूले रेलभन्दा धेरै सामान ल्याउन सक्दछन्। बीसवटा कन्टेनर बोकेको रेल उकालो-ओरालोमा निकै पर नपुगी अर्को रेल हिंड्दैन नै। ट्रकको बाटो सजिलो, सस्तो, तुलनात्मकरूले दिगो, जनताले आफूखुसी पनि प्रयोग गर्न सक्ने र कम जोखिमयुक्त हुन्छ।
        कुनै पनि सपनालाई विपना बनाउने ध्येय भए पहिला त्यसमा छलफल हुन्छ, पूर्व-सम्भाव्यता अध्ययन हुन्छ, त्यसपछि सम्भाव्यता अध्ययन हुन्छ र सम्भव छ भनेपछि मात्र त्यसलाई मूर्तरूप दिन विस्तृत परियोजना रिपोर्ट तयार पारिन्छ। र यो केरुङ-काठमाण्डौँबीचको ठीकठाक गतिको रेलमार्गको सपनाको सम्भाव्यता अध्ययन नै नचाहिने वातावरण किन आयो, बुझिन्न। भौगोलिक, भौतिकशास्त्रीय, भौगर्भिक र आर्थिक हिसाबले कति सम्भव परियोजना हुनेछ भनेर जानकारीसमेत दिन खोजिएको छैन। तर पनि रेल इगोनोमिक्सका लागि नभई इकोनोमिक्सका लागि आउने हो भने सपना र भिजन पर्यायवाची शब्दहरू हैनन् भन्ने थाहा पाउन गाह्रो हुन्न।
गोमति किनारको पिङमा झुल्दै ‘प्लान बी’बारे पनि कुरा भयो होला।
        अनि नेपालमा भारतले नाकाबन्दी लायो। नाकाबन्दी खोल्न भारतसंग ‘कुरा’ गर्न नेपाल सरकारले दूत खटायो। चीनबाट भइरहेको केरुङको बाटोबाट केही आएन। राष्ट्रवाद चम्क्यो। चीन सदा सही भयो। नाकाबन्दी खुल्यो। खासाको बाटो खुलेन। रेल र पानीजहाज जसरी पनि चाहियो। केरुङको रेल प्राथमिकतामा पर्‍यो। हरेक दलका केही नेताहरूलाई जापानदेखि भारतसम्मका रेल-इन्जिन र ट्रयाक बनाउने कम्पनीका स्थानीय एजेन्सी दिने सपना देखाइयो। विदेशी एनजीओका प्रायोजनमा भारत-चीनका रेल घुमाएर केही इन्जिनियरलाई एकाएक रेल नेपालको समृद्धिका लागि अपरिहार्य हो भन्न लगाइयो। ठूला दलदेखि न्वारान गर्न नभ्याएका दलमा पनि रेलविज्ञ जन्मिए। रेल नभएका घोषणापत्रलाई किन्तु परन्तु गरियो। भारतसंग सम्बन्ध नयाँ उचाइमा पुग्यो। भारतले पनि वीरगंजबाट काठमाडौँसम्म रेल बनाउने भयो। रेलबारे प्रश्नहरू वर्जित भए। अर्थशास्त्र वा भूगोल वा भौतिकशास्त्रका कुरा गौँण ठानिए। रेल प्रश्नभन्दा माथिको ‘पंचायती श्री ५’ बन्यो।
         तर हाम्रो बिडम्बना! २०१४ ताका जोरसोरले चम्केको रेल-सपना र त्यसका केही वर्ष चीन र भारतले देखाएको तत्परता आजका दिनमा निकै शिथिल भइसकेको छ। पाँच वर्षभित्र केरुङबाट काठमाण्डौँमात्र हैन, पोखरा र लुम्बिनीसम्मै पुर्‍याइहाल्ने जोस अझसम्म सिगात्से-केरुङ रेलमार्ग निर्माण सुरु नै नभएर हतोत्साहित छ। भारतले बनाउने घोषणा गरेको वीरगंज-काठमाण्डौँ रेलको थप प्रगति शून्यप्रायः छ। चीन र भारतको चासोमा कमी हुनाले यताको ‘पाँच वर्ष’ एघार वर्षमा पुगिसकेको छ। पूर्व-सम्भाव्यतापछि लगत्तै चीनले डीपीआर बनाइदिने भने पनि त्यसको खर्च ब्यहोर्न ऊ तयार देखिन्न। हुन त नौ वर्षसम्म बार्षिक ३० अर्बजति (पक्कै लागत बढ्ने नै छ) रकम हाल्न तत्पर नेपाललाई डीपीआर बनाउन जाबो दुईअर्ब रुपैयाँ गाह्रो नहुनु पर्ने हो। सार्वजनिक खपतका लागि चीन र भारतले समय-समयमा केही गरिरहेको देखाएकामा हाम्रो सरकारले जति नै ‘गजब’ भने पनि भनेजस्तो र हुनुपर्ने ‘काम’ भइरहेको छैन। यो यथार्थ हो कि हामी अब उनीहरूको प्राथमिकतामा छैनौँ अनि आज चीन र भारत यो नेपाली रोलर कोस्टरभन्दा सजिलो, सस्तो र सुलभ बर्मेली रेलमार्गतिर नै बढी चाख दिइरहेका छन्।
         फेरि दोहोर्‍याउँ, म रेलविज्ञ त परको कुरो, इन्जिनियर पनि हैन। तर रेलप्रति मेरो अति नै अनुराग छ। त्यसैले त सानैमा गलगलियामा गएर घण्टौँ रेल हेरेको छु, किन पाँच पैसाको सिक्का रेलले कुच्याउँछ तर बसले कुच्याउँदैन भनेर गम खाएको छु, मेडिसिनका किताबबाहेक रेलका किताब पनि किनेर पढेको छु।  मैले रेलसित सम्बन्धित कथा भएका  लगभग सबै हिन्दी सिनेमा हेरेको छु अनि मेग्लो चढ्न भनेरै बाटो नपरे पनि साङ्घाइ गएर ४३१ किमी प्रतिघण्टा लेखेको सूचनातल फोटो खिचेर दंग परेको छु। त्यसैले रेल आउने कुराले म जति पुलकित को होला र ? तर अलिकति संशय चाहीँ बाँकी नै छ कि किन मलेसिया, घाना वा भियतनाममा बेलायती साम्राज्यकै बेला बनेका रेलमार्गले ती देशमा अपेक्षित समृद्धि ल्याउन सकेनन् ? के समृद्धि रेलै चढेर मात्र आउने हो ?
         हालसालै केही भारतीय चिकित्सकसंग भेट भएको थियो र उनीहरूको प्रश्न थियो, ‘नेपाल किन चीनतर्फ ढल्किँदैछ?’ मेरो सजिलो प्रतिप्रश्न थियो, ‘ तिमीहरूको देशमा कुनै एउटा विज्ञले एउटै लेखमा रेल सबैभन्दा सस्तो यातायातको साधन हो भनेर पनि, अनि रेलमार्गको समानान्तर सडक बनाए रेल घाटामा जान्छ भनेर पनि लेख्‍न सक्दछन्? वा कुनै व्यापारीले चीनमा बनेको भन्दै भारतमा बनेको बस बेच्न सक्दछन्? नेपालमा जे देखिन्छ, त्यो हुन्न र जे भइरहेको हुन्छ, त्यो देखिन्न’ भन्ने  तर्कसहित भू-राजनीतिलाई अर्थ-राजनीतिले धपक्कै गाँजेको योबेला मेरो ‘पटक्कै छैन’ भन्ने जवाफले उनीहरूलाई केही हदसम्म आश्वस्त तुल्याएको थियो।

अन्त्यमा,
'        सपना' शब्दको शाव्दिक अर्थ एउटै भए पनि भावार्थ फरक फरक हुन्छ। सपना देख्‍न पनि सकिन्छ, देखाउन पनि सकिन्छ, सपना मस्तले सुतेर पनि देख्‍न सकिन्छ अनि निदाउनै नदिने सपना पनि हुन्छन्। ‘सपना देख्न पनि नपाउनू?’ भन्ने प्रतिप्रश्नले बजार तताउँदै गरेको अहिलेको चीसो मौसममा यो नेपाली रेल-सपना कस्तो प्रकारको हो भनेर खुट्याउने जिम्मा पाठकहरूलाई छाड्दै रेल-विचारबाट हाललाई बिदा!
धन्यवाद!
Twitter: @raameshkoirala
(नयाँ पत्रिका १५ पौष, २०७५)
(फोटोः संजालबाट साभार)

सोम शर्माको सपना नबनोस् नेपाली रेल (रेल विचार भाग ३)

5:45 PM 0

सोम शर्माको सपना नबनोस् नेपाली रेल !
- रामेश कोइराला
       आजभन्दा पन्ध्र वर्षअघि वीपी राजमार्ग निर्माणको रेखदेख गरिरहेका इन्जिनियर बिन्दु शमशेर राणालाई “यत्रो महत्वको सडक किन एकैपटक कम्तीमा दुई लेनको नबनाएको?” भनेर  सोधेको थिएँ। उहाँको जवाफ थियो, ‘पहिला एक लेनको बनाएर पछि चौडा पार्न सस्तो हुन्छ ।’
       तीन वर्षमा त्यो बाटोबाट गाडी चढेर झापा जान सक्ने  दावी गर्ने राणा रिटायर्ड भएको निकै वर्षपछि पह्रारसाल घर जाँदा त्यो बाटो  हिँड्न मिल्यो र देखियो,  ठूला गाडी चल्न नसक्ने र चौडा बनाउनै नमिल्ने जापानी उपहार! ‘हामी हस् बहादुर भएर यस्तो भयो’ पछि एउटा भेटमा जापान सरकारबाट असल कार्यका लागि उच्चस्तरीय पदकसमेत थापिसकेका राणाजी बिरक्तिनु भयो।
       
       यसअगाडि रेलबारे लेखिएका मेरा दुईवटा लेखहरूको उदेश्य विकट भूगोलबाट चीनियाँ वा भारतीय रेलहरू कसरी काठमाडौँ आउँछन् र त्यसका प्राविधिक तथा आर्थिक पक्ष कस्ता हुनेछन् भन्ने कुरामा नेपाल सरकार प्रष्ट हुनुपर्छ भन्ने थियो। मैले तिनमा केही सैद्धान्तिक र केही व्यावहारिक प्रश्नहरू उठाएको थिएँ। तर ती लेख पढेर  एकथरी मलाई सरकारविरोधी वा विकासविरोधी वा रेलविरोधी बिल्ला भिराउनैमा मग्न भए र अर्काथरीले  ‘खुच्चिङ हावादारी सरकार’ भनेरै आफ्नो काम पूरा भएको ठाने।  मेरो चाहना दुवैतर्फका अतिवादीहरूबाट आफ्नो नचाहिँदो प्रचार होस् भन्ने थिएन, बरु विज्ञहरूले तथ्यपूर्ण जानकारी बाहिर ल्याऊन् भन्ने थियो। सरकार र रेल विभागले यस विषयमा गम्भीर भएर सोचोस् भन्ने थियो। जो बोलून् भन्ने थियो, ती मध्येका धेरैले चूप लागेरै टारे। जो बोले, उनीहरूले पनि मैले भित्तामा लेखेका अक्षरहरूलाई पूर्वसम्भाव्यता, सम्भाव्यता र डीपीआरको अमूर्त चित्रले छोपिदिए।
       अझ, विभिन्न माध्यमबाट आफूकहाँ आइपुगेका प्रतिक्रिया देखेर म छक्क परेँ, नेपालीको ज्ञानको स्तर नेपालभन्दा उत्तरमा हामीभन्दा अग्ला ठाउँमात्र छन् र जाडो वा हिउँ भनेकै उचाइ हो भन्ने नै देखियो। तर यो लेखको उद्धेश्य तिनलाई भूगोल पढाउन होइन नै। त्यसैले यस लेखमा मुख्यतया ‘नेपाल आउने’ भनिएको चीनिया रेलका प्राविधिक पक्ष, नेपालमा भइरहेका रेलका गतिविधि र त्यसका विरोधाभाष र नेपाल-चीन वा नेपाल-भारत व्यापारमा रेलको उपादेयताका बारेमा केही प्रष्ट पार्ने जमर्को गरेको छु।
       कुनै दिन भारतले वीरगंज-काठमाडौँ रेल बनाइदिएको खण्डमा वा नबनाइदिएकै खण्डमा पनि केरुङ-काठमाडौँ रेलको अर्थशास्त्रबारे अध्ययन गर्न जरुरी छ। दशौँ खर्ब लगानीको रेलले हाम्रो अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ र त्यो कुनैरूपको ‘डेट ट्रयाप’ हुन्छ कि हुन्न भन्नेबारे प्रश्नलाई निषेध नगरी छलफल हुन जरुरी पनि छ। विगत पाँच वर्षदेखि बन्द रहेको जयनगर-जनकपुर रेलवेलाई हाल धमाधम बर्दिवाससम्म विस्तार गरिँदैछ र त्यसैको आंशिकरूप जयनगर-कुर्थासम्मको ३४ किलोमिटर रेलमार्ग उद्घाटन गर्न भारतीय प्रधानमन्त्री फेरि एकपटक नेपाल आउने हल्ला पनि व्याप्त छ। अनि बर्दिवासमा आइपुग्ने रेललाई पूर्व-पश्चिम रेलमार्गसंग जोडिएको छ। उता गत असारमै तीन महिनाभित्र बुझाउने भनिएको केरुङ-काठमाडौँ रेलमार्ग निर्माणको संभाव्यता (वा पूर्व-संभाव्यता) अध्ययन बल्ल अहिले बुझाउँदैछ अनि भनिँदैछ, अबका दुई वर्षभित्र चीनले डीपीआर बनाउँदैछ। तर अथाह प्रश्नहरू बाँकी नै छन्।
        केही महिनाअघि चीन गएको नेपाली सरकारी टोलीसंग छलफल गरेर हालसालै नेपाललाई बुझाएको भनिएको संभाव्यता अध्ययनको प्रारम्भिक रिपोर्टको सारांश हेर्ने मौका मिलेको थियो, जसअनुसार चीनले केरुङ-काठमाडौँ रेलमार्ग एकदमै जटिल भएको र ऊसंग हाल त्यस्तो भूगोलमा रेलमार्ग बनाउने प्रविधि नभएको जनाएको छ, तर चाँडै त्यसको विकास गर्ने भरोसा पनि व्यक्त गरेको छ। त्यस्तै चीनमा प्रयोग गरिने रेलमार्ग निर्माण तथा सुरक्षा मापदण्ड (कोड) अनुसार यो रेलमार्ग बनाउन नसकिने र केही कोडलाई बेवास्ता गर्नु पर्ने भनेर सिधै उल्लेख गरिएको छ। अझ सो रिपोर्टमा ४००० मिटर हाराहारी उचाइको पाइकु तालवरपरबाट काठमाडौँ रेलमार्ग बनाउन विभिन्न स्थानमा र्‍याम्प र र्‍याक बनाउनु पर्ने, ओरालो लाग्दाको लगातारको घर्षणले ब्रेकिङ सिस्टममा अत्याधिक भार पर्ने, चाँडै लिक बिग्रने र दुर्घटनाका बारेमा के कस्तो सावधानी अपनाउने भनेर थप जटिलता देखाएको छ। उक्त सारांशमा उल्लेख भएको अझ महत्त्वपूर्ण कुरा त टेक्टोनिक प्लेटको घर्षणको स्थानका कमजोर पहाडहरूमा यो मार्ग बनाएर संचालन गर्न लगानीका हिसाबले घाटाजनक हुन्छ भन्ने हो।
       प्रारम्भिक रिपोर्ट फगत उपलब्ध ज्ञानका आधारमा गरिएको पूर्व-सम्भाव्यता अध्ययनमात्र थियो र भनिएको छ, रेलमार्ग निर्माण गर्ने भए विस्तृत सम्भाव्यता अध्ययनको जरुरत हुनेछ। तर यति मात्रका आधारमा भन्न सकिने कुरा के हो भने यो रेलमार्ग एक हिसाबले चीनकालागि पनि एउटा ‘लाइफ-साइज’ एक्स्पेरिमेन्ट नै हुने रहेछ। सहयोग नै भए पनि वीपी राजमार्गका नाममा जापानको लाइफ-साइज एक्स्पेरिमेन्ट बेहोरिसकेका हामीलाई फेरि त्यस्तै ‘गिनीपिग’ बन्न किन रहर लाग्दैछ?
       पहाडी भूभागमा रेल कुदाउने कुरा गर्दा संसारमा यस्ता भूभागमा कसरी बाटो बनाइन्छ भनेर पनि जान्न जरुरी छ। काटेर र आवश्यक ठाउँमा रिटेनिङ  वाल लगाएर  (मुग्लिङखण्ड लगायतका धेरै सडक जसरी) बाटो बनाउने प्रविधि हामीकहाँ सबभन्दा प्रचलित छ। वीपी राजमार्ग भने पहाडलाई नकाटी भिरमा रिटेनिङ वाल बनाएर ढुंगामाटो भरेर बनाइएको हो। पहाडमा सुरुङ खोपेर वा पहाडलाई काटेरमात्र (बक्स कटिङ) गरेर बाटो बनाउने प्रविधि पनि छन् जो हामीकहाँ उति प्रयोगमा छैनन्। रिटेनिङ वाल जति बढी भयो, त्यति त्यस बाटोको भारवहन क्षमतामा कमी आउँछ भन्नलाई वीपी राजमार्ग हेरेपछि अन्त हेर्नै पर्दैन।  रेल सडकमा कुद्‍ने होइन, तर बाटो त यसलाई पनि चाहिन्छ।  यो यहाँ बताउनुको तात्पर्य हाम्रा कमजोर ढुङ्गे पहाडमा बक्स कटिङ सहितको  मिश्रित प्रविधिले बन्ने बाटाले रेलको भार बोक्न अत्याधिक बलिया रिटेनिङ वाल नलगाए सक्दैनन् र सुरुङ रहर नभएर एकमात्र विकल्प हो। अझ समयसमयमा आउने पहिरो र त्यसको रोकथामका लागि हुने ठूलो खर्चबाट जोगिन रेलमार्गका लागि सुरुङ अपरिहार्य नै हुन्छ।
        कुनै पनि गुड्ने वाहनको भार त्यसको हरेक एक्सेल र चक्कामा पर्छ र रेलको लिकमा पर्ने चापलाई एकै ठाउँमा पर्न नदिन कडा जमिनमाथि गिट्टी ओछ्याएर त्यसमाथि काठ वा सिमेन्टका बिमहरू (स्लिपर) राखिएका हुन्छन्।  त्यस्ता बिमको लम्बाइ लिकको प्रकारअनुसार फरक हुन्छ। ब्रोडगेजमा अलिक लामा र स्ट्यान्डर्ड गेजमा अलिक छोटा। एउटा स्थिर रहेको चौध चक्के ट्रकको सामानसहितको वजन ४० टन छ भने हरेक एक्सेलमा १० टनको चाप परिरहेको हुन्छ र त्यो चाप दुईतर्फी प्रत्येक चक्कामा बराबर हिसाबमा बाडिँदा प्रति चक्का ५ टनको चाप त्यसले जमिनमा पारिरहेको हुन्छ। त्यसरी नै त्यो भार दुईवटा एक्सेलमा मात्र छ र रेलको ट्रलीसहित कार्गोको वजन १२० टन छ भने प्रति चक्का जमिनमा दिने चाप ३० टनको हुन्छ। वाहन सिधा गुडेको खण्डमा काइनेटिक इनर्जीको सिद्धान्तअनुसार गतिअनुरूप थप चाप दिन्छ भने मोडमा सेन्ट्रिपिटल र सेन्ट्रिफ्युगल फोर्स थप हुन्छ अनि उकालो र ओरालोमा ग्राभिटेसनल फोर्स। अझ भन्ने हो भने ट्रकमा २० टनको सामान बोक्दा ट्रकको अतिरिक्त भार जम्मा तीन टनमात्र हुन्छ भने त्यति नै सामान ढुवानी गर्दा रेलको इन्जिन र ट्रलीकारूपमा आठ टनको अतिरिक्त भार बोक्नु पर्छ। एउटा चक्काले सम्म सतहमा गुड्दा लिकमा १२ टनको चाप पार्छ भने जति दुईवटा समानान्तर चक्काबीचको दूरी जति कम हुन्छ त्यति नै बढी दवाब कम क्षेत्रफलको जमीनमा परिरहेको हुन्छ। त्यस अर्थमा लिक जति कम चौडाइको हुन्छ, लिक ओच्छ्याइएको जमीन त्यति नै बलियो हुनुपर्छ।
       अहिले नेपालमा भारतीय सीमाबाट केही सुख्खा बन्दरगाहसम्म ब्रोडगेज (बडीलाइन) का रेलमार्ग बनिसकेका छन् भने त्यही बडीलाइनको लिक जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्म तन्किँदैछ। उता चीनमा स्ट्यान्डर्ड गेजको रेल प्रचलनमा छ र पक्कै पनि केरुङ-काठमाडौँ रेलमार्ग त्यही स्ट्यान्डर्ड गेजमा बन्नेछ। पूर्व-पश्चिम रेलमार्गको बर्दिबास-निजगढ खण्ड ब्रोडगेजमा बन्दैछ। रेल, मेट्रोरेल तथा मोनोरेल आयोजनाले चन्द्रनिगाहपुर नजिकका तीनवटा खोलामा रेलका लागि पुल बनाउन दुई महिनाअघि टेण्डर आह्वान गरेको छ भने केही दिनअगाडि निजगढ-हेटौँडा-भरतपुर खण्डको विद्युतीय रेलमार्गका लागि डीपीआर बनाउन आशयपत्र माग गरेको छ। जमीनमाथि त त्यति फरक नपर्ला, तर ब्रोडगेज र स्टान्डर्ड गेजका लागि बनाइने पुलको इन्जिनियरिङ र लागतमा पक्कै पनि फरक हुनेछ। यिनै भुलभुलैयामा नेपाल सरकारको कुन गेजको रेलमार्ग बनाउने योजना छ,  ब्रोडगेजको हो भने किन चीनलाई स्ट्यान्डर्ड गेजको डीपीआर बनाउन लगाइँदैछ र यदि स्ट्यान्डर्ड गेजको हो भने भारतीय सहयोगमा पूर्व-पश्चिम रेलमार्ग किन ब्रोडगेजमा बिच्छ्याइँदैछ भन्ने यक्ष प्रश्न ओझेलमा परेको छ। देशभर एउटै गेजको रेलमार्ग बनाउन हामी किन चुक्दैछौँ, प्रष्ट जवाफ भेटिँदैन। रेलबारे प्रश्न गर्नेलाई देशद्रोही सम्मको विशेषण दिँदा यो अहम् प्रश्न ओझेलमा परिरहेछ। किन बेलैमा भारतलाई स्ट्यान्डर्ड गेजमा लिक बिच्छ्याउन भन्न सकिरहेका छैनौँ? भोजमा पुगेर ‘ला! दौरामुनि पाइन्ट लगाएछु’ भन्न भन्दा किन घरमै ऐना नहेर्ने? ब्रोडगेज र स्ट्यान्डर्ड गेजमा बनाउने संरचनामा केही फरक हुने नै छ। अनि चीनले बनाएर दिने ‘बृहद परियोजना रिपोर्ट (डीपीआर)’ पक्कै पनि स्ट्यान्डर्ड गेजका लागि हुनेछ। हामीले चाहेको के हो, अहिले नभने कहिले भन्ने हो? यदि हामीले पछि ब्रोडगेज भन्यो भने फेरि केही वर्ष लगाएर चीनलाई नयाँ डीपीआर बनाइदेऊ भन्ने हो? बुलेट ट्रेन होइन, ४०- ५० किमी प्रतिघण्टा चल्ने रेल बनाउनु पर्यो, मिटरगेज वा स्ट्यान्डर्डगेज वा ब्रोडगेजमा बनाउनु पर्यो, विद्युतीय बनाउनु पर्यो अनि त्यसैअनुसारको डीपीआर बनाइदेऊ भन्ने हो वा तिमीलाई जस्तो बनाउन मन छ त्यस्तै रेलको डीपीआर बनाइदेऊ भन्ने हो?बरु रेल विभागका प्रवक्ता भारतीय १६७६ मिमीको ब्रोडगेजको रेल सजिलै १४३५ मिमीको चीनिया स्ट्यान्डर्ड गेजमा चलाउन सकिन्छ भनेर दिउँसै अंध्यारो बनाइरहेका छन्। अझ ब्रोडगेजभन्दा स्ट्यान्डर्ड गेज राम्रो र उन्नत भनिँदैछ।
        भारतमा ब्रोडगेज बेलायती साम्राज्यले राखेको  होइन। भारतले स्वतन्त्रतापछि त्यसबेलाका सबै स्ट्यान्डर्ड गेजलाई ब्रोडगेजमा फेरेको  हो र अहिले पनि छिटपुट बाँकीरहेका स्ट्यान्डर्ड गेजका रेलमार्गहरूलाई बडिलाइनले विस्थापित गरिरहेको छ। भारतले किन त्यसो गर्‍यो त? भएका ‘राम्रा’ स्ट्यान्डर्डगेजलाई ‘नराम्रा’ ब्रोडगेजमा बदलिने हावादारी योजनालाई भारतमा किन कसैले विरोध गरेनन्? त्यो पाकिस्तानसंग युद्ध भएको खण्डमा देश बचाउन गरिएको ‘सामरिक’ महत्वको योजनामात्र थिएन। दुई चक्काबीचको दूरी जति बढी भयो त्यति ‘स्टेवल’ हुने र उस्तै गुणस्तरको लिक भएका खण्डमा ब्रोडगेजको लिकमा रेल बढी गतिमा कुदाउन सकिनेरहेछ भन्ने अध्ययनको निष्कर्षपछिमात्र भारतले यो कदम उठाएको थियो।
       स्ट्यान्डर्डगेजबारे अर्को भनाइ छापामा देखिन्छ, यो सबैभन्दा राम्रो हो र पहाडमा कटान पनि कम गर्नु पर्छ। समुद्री जहाजबाट ल्याइने कन्टेनरहरू लगभग दुई साइजमा आउँछन्, चालीस फुटे र बीस फुटे। अनि दुवै कन्टेनरको चौडाइ र उचाइ  उत्ति नै हुन्छ। यदि पानीजहाजबाट आउने कन्टेनर बोकेर रेल आउने हो भने जुनसुकै गेजको रेल भए पनि उत्ति नै पहाड काट्नु पर्छ। अब समान आयतनका कन्टेनर बोक्ने उही नापको पहाडी बाटो वा सुरुङमा दौडिने मध्यम गतिका कार्गो रेलका लागि ब्रोडगेज ठीक हो वा स्ट्यान्डर्ड गेज?
        अर्को कुरो आउँछ, ट्रक उकालो चढ्छ भने रेल किन चढ्दैन? ‘फ्रिक्सन’ भन्ने कुराको सामान्यज्ञान यहाँ काम लाग्दछ। यसलाई बच्चाहरू खेल्ने चिप्लेटीको उदाहरणबाट बताउन सकिन्छ। चिप्लो जुत्ता लगाएर चिप्लेटीमा उल्टो चढ्नभन्दा राम्रो ‘ग्रिप’ भएको जुत्ता लगाएर चढ्न निकै सजिलो हुन्छ। त्यस्तै चिप्लो जुत्ता लगाएर चिप्लेटीमा ओरालोमा नचिप्लिइकन हिंडन कठिन हुन्छ। सामानले भरिएको एउटा रेलको डिब्बाको चक्का र फलामको लिकमा फ्रिक्सन कोअफिसियन्ट अधिकतम ०.८ मात्र हुन्छ। त्यसले गर्दा सम्म सतहमा कम तागतले नै धेरै भार बोक्न सक्दछ भने उकालो चढ्दा ‘पछाडि तान्ने ड्रयाग’लाई जितेर अगाडि बढ्न अत्याधिक मात्रामा तागत चाहिन्छ। ओरालोमा त्यसरी नै ‘चिप्लिने’ भएकाले ब्रेकको अत्याधिक प्रयोग गर्नु पर्छ। भनिरहनु परेन, ब्रेकको अत्याधिक प्रयोगले लिक चाँडै बिग्रिन्छ। हामीले डीपीआर बन्नअगावै रेलका लिक कति समयमा बिग्रिन्छन् र त्यसको मर्मत-संभारमा बार्षिक कति खर्च हुन्छ भनेर पनि नसोध्ने र? रेलका इन्जिन र कार्गो वा यात्रुबाहक डिब्बाहरूको वजनले गर्दा बढी भार लिएर ४% उकालो-ओरालोको सामान्य लिकमा रेल गुड्दैन नै।
        हो, रेलमा सामान ढुवानी गर्नु ट्रकमा ढुवानी गर्नभन्दा चार गुना सस्तो हुन्छ। तर त्यो समथर जमिनमा मात्र। २% को उकालो उक्लिन रेललाई चार गुना बढी तागतको जरुरत पर्ने खण्डमा त्यो सस्तोपन समाप्त भइसक्नेछ। एउटा कन्टेनर बोकेको ट्रकले १:५० को उकालो चढ्दा प्रति तीन किलोमिटर एक लिटर डिजेल खपत गर्छ भने एउटा कार्गो रेलले दशवटा त्यस्ता कन्टेनर बोकेर १:५० कै उकालो चढ्दा प्रतिकिलोमिटर पचास लिटर डिजेल खपत गर्छ। अझ रेलका कर्मचारी, राखन-धरन, स्टेसनबाट फेरि फ्याक्टरी वा बजारसम्म लैजाने अतिरिक्त ढुवानी खर्चः रेल कसरी सस्तो भयो? समथर जमिनमा व्यस्त रेलमार्ग र बन्दरगाह अनि एकिकृत उद्योग भएका ठाउँको औसत लिएर किन यस्तो कुरा गर्ने त? अमेरिकामा जम्मा १०% कार्गोमात्र रेलबाट बोकिन्छ जब कि त्यहाँ २ लाख किलोमिटरभन्दा बढी रेलमार्ग छ र ७१% कार्गो ट्रकबाट ढुवानी गरिन्छ। अझ भारतीय अध्ययनअनुसार सात सय किलोमिटरभन्दा बढी दूरीमा सामान ढुवानी गर्दामात्रै रेल-कार्गो सस्तो हुन्छ भनिएको छ।
        हाल उद्घाटनको तयारीमा रहेको जयनगर-जनकपुर खण्डमै रेल संचालन गर्न नेपालसंग प्राविधिक त टाढाको कुरो, इन्जिन र यात्रुवाहक डिब्बाहरूसमेत नभएर भारतलाई नै ‘भाडा’मा दिने भनिँदैछ। फेरि लगत्तै पत्रिकामा चिल्ला र चुच्चे रेल देखाइँदैछ, ‘यी अब नेपाल सरकारले नै आफ्नो रेल किन्छ’ भन्ने छाँटमा। किनेर होस् वा भाडामा चलाउन दिएर, नेपालले नाफाको आस गरेर बसेको छ । नेपाली ‘हिसाबकर्ताहरू’ले भारतले ‘वेट लिज’मा जयनगर-जनकपुर रेलसेवा चलाउँदा नाफामा जाने हिसाब निकालेको सूत्र गजबकै हुनुपर्छ। उद्घाटन हुने हल्ला चलेको जयनगर- जनकपुर रेल होस् वा पूर्व-पश्चिम रेल, नेपालमा काठमाडौँलाई नजोडे दुवै ‘नाफा’मा चल्न गाह्रो छ। मेरो व्यक्तिगत विचारमा त तराईबाट फगत ६०-६५ किलोमिटरको दूरीको काठमाडौँ रेल कसरी चढ्छ, कस्तो रेल चढ्छ भनेर अध्ययन नै नगरी पूर्व-पश्चिम रेलमार्ग बनाउन हतारिनु पनि त्यति दूरदर्शी योजना थिएन।

       औसत नेपालीलाई आफ्नो देशमा नभएकाले हुनुपर्छ, समुद्र र रेलप्रति अलिक बढी नै आशक्ति हुन्छ। अहिले रेलबारे हाम्रो त्यही आशक्तिका भरमा यसरी भनिँदै छ कि रेल नभई समृद्धि आउन सक्दैन। मेरो संशय यसमा पनि थियो कि त्यसो भए किन अमेरिकामा नै बन्दरगाहबाट आधाभन्दा बढी कार्गो ट्रकबाट उठाइन्छ? किन सिंगापुर-मलेसिया रेलमार्ग हुँदाहुँदै पनि लगभग सबै कार्गो ट्रकले नै लैजान्छन्? किन घाना वा भियतनामले ब्रिटिस सामाज्यकै बेला बनिसकेका रेलमार्गलाई उखेलेर द्रुत सडक बनाएरै पनि समृद्धिपथमा अगाडि बढे? किन मलेसियालाई अर्को रेलमार्ग बनाउने चीनिया योजना र ऋणलाई तिलाञ्जली दिनु पर्‍यो?
       नेपालले चीनलाई बनाइदिन आग्रह गरेको केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर आश्चर्यजनक देखिन्छ। त्यो मैले नेपालको कुनै बैँकलाई ‘मलाई काठमाडौँ उपत्यकामा एउटा सपिङ-मल बनाइदिनु पर्यो र त्यसको डिजाइन, लागत सबै तपाईँ नै तयार पारिदिनु होस् , तपाईँ नै बनाउनु होस्  र तपाईँ नै ऋण दिनु होस् ’ भनेर निवेदन दिएजस्तै छ। काठमाडौँको कुन कुनामा, कुन जग्गामा, कस्तो, कति तले, अहँ, केही नखुलाउने। यो चीनिया डीपीआर पनि न त नेपालले यस्तो, यति गेजको, सिङ्गल वा डबल लेन, कार्गो वा यात्रुवाहक वा दुवै, विद्युतीय वा डिजेल, कत्तिको ढलान भएको, अहँ, केही पूर्वसर्त वा चाहना नभएको बस ‘रेल’मात्र चाहिएकाले बन्दैछ। स्ट्यान्डर्ड गेजमा बनाए पनि हुने, ब्रोडगेजमा बनाए पनि हुने! अचाक्ली महंगो तर द्रुत-रेलमार्गको डीपीआर बनाए पनि हुने, अलिक ठीकठीकै गतिको सस्तो रेलमार्गको डीपीआर बनाए पनि हुने। जग्गा कस्तो छ, आवश्यकता के हो र बजेट कति छ त्यसको आधारमा सामान्य नागरिकसमेतले घर बनाउँदा ध्यान दिने यस्तो कुरामा देशले चैँ कस्तो ठट्टा गर्दैछ?
        अझ भनिँदैछ, चीनले गत सोमबार पूर्व-संभाव्यता अध्ययनको रिपोर्ट बुझायो र अब दुई वर्षभित्रमा डीपीआर बनाएर दिनेछ। हुन त म धेरै कुरो बुझ्दिन, यहाँ त थप अर्को कुरो पनि बुझिरहेको छुइँन, पूर्व-संभाव्यता अध्ययनपछि संभाव्यता अध्ययन चैँ नचाइने रहेछ? अनि वातावरणिय प्रभावको मूल्याङ्कन नि? डीपीआर बनाउनअघि हाम्रा केही ‘टेक्निकल’ प्रश्न र आग्रहहरू हुनै नपर्ने यो डीपीआर कस्तो बन्ने हो? केरुङ-काठमाडौँ रेल भौतिकशास्त्रीय, भौगर्भिक र अर्थशास्त्रीय हिसाबले कसरी आउन सम्भव छ त भनेर गरिने प्रश्नलाई नेपाली पूर्वाधार विज्ञहरू सजिलै ‘हतारको टिप्पणी’ भनेर ‘पहिला डीपीआर त आओस्, अनि बल्ल छलफल योग्य हुन्छ’ भन्नु हुन्छ। फेरि केही विद्वानहरूको दोस्रो विमानस्थलबारे डीपीआर नै नबनीकन ठूलो क्षेत्रफलको रुख किन काट्नु  भन्ने चासोको उत्तर लेखमार्फत दिनु हुन्छ, ‘कस्तो, कत्रो र कहाँ बनाउने भन्ने कुरो पूर्व-संभाव्यता र संभाव्यता अध्ययनमा नै किटान भइसकेको हुन्छ, डीपीआर भनेको त विशुद्ध इन्जिनियरिङ कुरो हो, घर कहाँ बनाउने, कतिवटा पिलरको र कति तले भनेर तिनीहरूको डिजाइन र लागत-इस्टिमेटसमेत गरेको’ भनेर। पक्कै पनि दोस्रो जवाफ सही हो। द्रुतमार्गको डीपीआर नबनीकनै संभाव्यता अध्ययनका भरमा त्यो मार्ग कहाँबाट जान्छ भनेर सो स्थानका जमीनको क्षतिपूर्ति दिएर सरकारीकरण गर्ने, रुख काट्ने, ट्रयाक खोल्ने जस्ता कामहरू सुरु हुन्छन्। यसो हो भने नबुझेको कुरो, रेलका बारेमा पनि कुन गेजको, कुन गतिको, कति भार बोकेर उकालो जान सक्ने, कुन भूगोल भएर जान्छ र कता कति जमीन अधिग्रहण गर्नु पर्छ भनेर पनि त डीपीआरअगावै थाहा हुनु पर्ने होइन र? यो डीपीआरमा पनि त कुन सुरुङ कसरी बनाउने, कतिवटा इँटा लाग्छ, सिमेन्ट कस्तो चाहिन्छ वा कुन पहरो ताछ्न कति लागत लाग्छ भनेर नै लेखिन्छ नि!
        लौ, केरुङ (४१०० मिटर)बाट काठमाडौँ (१४०० मिटर) रेल आउने भयो रे। केरुङ वा पाइकु तालबाट र्‍याक वा केवलले रसुवागढी नजिकै नेपालमा पनि ल्याए रे। अनि त्यहाँबाट लगभग साढे दुई हजार मिटरमा सुरु भएको सुरुङले दश किलोमिटरमै तल १००० मिटरमा लाङटाङ खोलो बग्दैगरेको खोँच भेट्नेछ। ४% ढलानमै सिधा सुरुङ बनाएर त के सम्भव, तर पनि फनफनी घुमाए नै भनेर मानिदिँदा पनि १४०० मिटरको काठमाडौँ ल्याउने रेल सुरुङको अर्को मुख  २००० मिटरमाथि भिरमा निस्किन्छ र खोलाको बगरबाट एक किलोमिटर माथि डेढ किलोमिटर लामो पुलबाट फेरि अर्को सुरुङमा छिर्छ। अनि रेलको पुल बस वा ट्रक चल्ने पुलजस्तो हुन्न। त्यति उचाइमा एक-डेढ हजार टनको रेल कुदाउन निक्कै बलियो पुल हुनुपर्छ र त्यति उचाइमा त्यति लामो पुल बनाउन पक्कै पनि असाध्यै बढी खर्च लाग्दछ। यस हिसाबमा सुरुङैसुरुङ कुदेको रेल पनि एउटा पहाड छेडिसकेपछि खोँचमा उत्रिने नै छ। अनि यसरी उक्लिने र उत्रिने गर्दा ठूला कोणका ढलान बन्ने नै छन् र ती कोणका ढलान भएका सुरुङभित्र नै र्‍याक र र्‍याम्प बनाउनु पर्नेछ। हामीलाई संसारको आठौँ आश्चर्य चाहिएको हो वा चीनसंग ‘कनेक्टिभिटी’?
        भनिँदैछ, केरुङ-काठमाडौँ रेलमार्ग ९०% सुरुङ र पुल भएर आउनेछ र डीपीआर बनेको नौ वर्षमा बनिसक्नेछ। मानिलिउँ, पच्चीसवटा सुरुङ हुनेछन् र पचासवटा पुलहरू हुनेछन्। केरुङ र काठमाडौँबाट रेलमार्ग बनाउँदै गए र त्यही रेलबाट नै अगाडिको सुरुङ वा पुल निर्माणका लागि सामान लैजाने गरे पचास वर्षमा पनि पुरै रेलमार्ग बन्ने छैन, यसलाई बुझ्न जम्मा तीनवटा अडिटबाट काम थालिएको मेलम्ची हाम्रालागि दरिलो उदाहरण हो। त्यसैले चाँडो बनाउन निकैवटा सुरुङ र पुलको एकैपटक निर्माण थालिनेछ। त्यतिबेला ती सुरुङका मुहानमा अजङ्गका टनेल बोरिङ मेसिन (टिबिएम) वा त्यस्तै सुरुङ खोप्ने मेसिनहरू पुर्‍याउने तथा भिरका बीच अग्ला पुलका लागि निर्माण यन्त्र र सामाग्री लैजाने एक्सेस बाटो कसरी बन्नेछ र कति खर्चमा बन्नेछ भन्ने सोचेर नै कहाली लाग्दछ। सरकारले डीपीआरमा यो अतिरिक्त खर्चको पनि हिसाब राख्न लगाउने नै छ। अँ, चीनिया विज्ञले प्रारम्भिक अध्ययनमा टोखा होइन साँखु आउने भन्यो भनेर काखी बजाएको ध्वनि प्रवल हुँदा मैले चैँ त्यो रेलले मेलम्चीको टनेललाई माथि वा मुनिबाट क्रस गर्ने संभावना रहेछ र कथंकदाचित त्यसमा क्षति भएमा अर्को कति वर्ष उपत्यका काकाकुल बन्ने होला भन्ने सोचेँ।
सोच्न त पाइन्छ नि?
       
        माइतीघरबाट नयाँ वानेश्वर जाने महत्वपूर्ण ठाउँको धोबीखोलाको पुल बनाउन त दुई वर्ष लगाउने हाम्रो देशले संसारकै ‘अचम्म’मा पर्ने त्यस्तै अग्लो पुल कथंकदाचित भत्कियो र फेरि बनाउनु पर्ने भयो भने कति वर्ष लगाउने छौँ? त्यतिञ्जेलसम्म रेल यातायात, त्यसका इन्जिन, पाटपुर्जा र स्टेसनहरूको के हविगत होला, हामी यसबारे अहिले नै सचेत हुन चाहेकै छैनौँ। चल्न छाडेको केही बर्षमै कवाडी बन्न पुगेको पुरानो जनकपुर-जयनगर रेल नै हाम्रालागि ‘अगतिलो’ उदाहरण छँदैछ। किन यसै छेक हाम्रो ‘ठेकेदार-मैत्री’ सार्वजनीक खरिद ऐन संसोधन नगर्ने?
        हुन त सरकारमै रहेका उपप्रधानमन्त्रीले चीनिया वा भारतीय रेल हाम्रा पालामा आउन्न भनेको सुनियो तर यसलाई सिँहदरबारभित्र पाकिरहेको खिचडी बाहिर रहेकाले बुझ्दैनन् भन्ने जाने पनि यति चैँ सोध्न मन छ, के हामी चीन र भारत दुवैका ‘हस् बहादुर’ बनेर सोम शर्माको सातुको सपना देखिरहने हो वा हाम्रा पनि केही जिज्ञासाहरू छन् भनेर बेलैमा छलफल गर्ने हो?

(नयाँ पत्रिका ८ पौष, २०७५)

चीनिया रेलः एउटा कन्स्पिरेसी थ्योरी (रेल विचार भाग २)

5:38 PM 0
चिनियाँ रेलः एउटा कन्स्पिरेसी थ्योरी
- रामेश कोइराला

          
      कुनै जमानामा गिरिजा प्रसाद कोइराला हरेक अप्ठ्यारा कुरालाई ‘ग्राण्ड डिजाइन’मा टुङ्ग्याउँथे। हर मर्ज का एक दवा! हिजोआज त्यस्तै शुरू भएको छ, “विकास विरोधी!”
       गत असारमा प्रधानमन्त्रीको चीनभ्रमणताका भएको सम्झौताअनुरुप बताइएजस्तै अबको पाँच-सातबर्षमा केरुङबाट काठमाण्डौँ साँच्चै रेल आउँछ त भनेर मैले केही खोजतलास गरें र विज्ञहरूलाई प्रश्न गर्ने जमर्को गरेँ पनि। तर मेरा अर्थशास्त्र, भू-गर्भशास्त्र र भौतिकशास्त्रसित सम्बन्धित प्रश्नहरूलाई राजनीतिशास्त्रले जित्यो र भनियो “गुगल गरेर प्रश्न नसोध!”
       आजका दिनमा कम्प्युटर र इन्टरनेटको सहारा नलिई साहित्य वा दर्शनका अमूर्त कुरा त गर्न सकिन्छ र अरु यावत विषयमा लेख्ने सबै लेखकले गुगल गर्छन् नै।  हाम्रा पालामा ‘प्राण’ को चित्रकथामा चाचा चौधरी नामक नायक हुन्थे र ‘उनका दिमाग कम्प्युटर से भी तेज चलता है’ लेखिएको हुन्थ्यो। यथार्थमा विरलै व्यक्तिमा मात्र  कम्प्युटर नै नचलाई सबै कुरा जान्ने चाचा चौधरीको जस्तो विलक्षण प्रतिभा हुन्छ।  ममा त्यस्तो क्षमता हुने कुरै भएन। तर गर्वको कुरो, देशमा त्यस्ता चाचा चौधरीहरू बग्रेल्ती रहेछन्। मेरा गुगल गरेर सोधेका प्रश्नहरूले एकमुष्ठ जवाफ पाए, “राजनीतिले जवाफ दिनेछ।“
       अनि जब राजनीतिबाट जवाफ अपेक्षा गरेँ,  त्यताबाट जवाफ होइन, प्रतिक्रिया आयो, “यो प्रतिपक्षले उठाएको हल्ला हो।“
       उदेक लाग्छ, यदि कांग्रेसलाई  यो कुरा उठाउनु थियो भने त त्यो दलमा लागेका एकसे एक इन्जिनियरले उठाइहाल्थे नि!  विद्यार्थीकालदेखि अहिलेसम्म कहिल्यै कुनै दल वा त्यसका भातृसंगठनको साधारण सदस्यतासमेत नलिएको म अदना सरकारी डाक्टरलाई जबरजस्ती चारतारे बनाएर मेरा प्रश्नलाई ‘प्रतिपक्ष’को आक्षेप लगाउनेहरूलाई  अलिकति धक  समेत लागेन। लाज त परको कुरो। फेरि राजनीतिले भन्यो, डीपीआर नै तयार नभई असम्भव नभन (यद्यपि मैले सम्भव छैन भनेको थिइँन) अर्थात् डीपीआर तयार हुन अगाडि प्रश्न नसोध।
       तपाईँ चाहिँ डीपीआर तयार हुनु अघि नै भन्नुहुन्छ, ‘हामीले लक्षित गरेको समयभित्र नेपालमा रेल गुड्छ’। त्यो डीपीआर नबनिकनै तपाईँ चैँ कसरी पाँच वा सातबर्षमा रेल कुद्छ  भन्ने कुरोमा निश्चिन्त हुनु भयो? तपाईँको विश्वास चैँ ध्रुवसत्य र मेरो संशय चेँ बेतुकका कुरा? अझ षड्यन्त्र?
       बरु पहिलो लेखमा युनिकोडबाट प्रितिमा लाँदा र केही ठाउँमा असावधानीले गर्दा अनुपात र कोण सही भए पनि प्रतिशत र डिग्रीमा गडबढ भएको थियो। तत्कालै सच्याउन चाहेको थिएँ तर विज्ञहरूको समेत त्यता ध्यान नगएको देख्दा सच्याइनँ। त्यस्तै केरुङ सहरको उचाई ४१०० मिटर लेखेको देखियो। हैट! जम्मा २४ किलोमिटरमा दुई किलोमिटर तल रसुवागढी त कसरी झर्ला र भनेर त्यो केरुङ उपत्यकाको सबैभन्दा होचो ठाउँको उचाइ २७०० मिटरलाई मानिदिएर त्यसैअनुरुपको ढलान लेखेको थिएँ।
       फेरि तगत्तै केही चाचा चौधरीजीहरूले सोध्नु भयो, त्यत्रो अग्लो तिब्बतमा चैँ कसरी रेल आयो त?
       म भने कम्प्युटर र गुगलसंग उहाँहरूको वितृष्णा भएकाले मात्र यो प्रश्न आएको भन्ठानछु। जिनिङ-ल्हासा रेलमार्ग १९५६ किलोमिटर लामो छ र त्यो २२८३ मिटरको उचाइबाट ५०७२ मिटरको तानगुला भञ्ज्याङ हुँदै ३४९० मिटरको उचाइको ल्हासा पुग्दछ। लामो दुरीका कारण गोलमुण्ड खण्डमा बाहेक कतै पनि २ प्रतिशतको ढलान छैन र त्यो गोलमुण्ड- तानगुला खण्डमा पनि २ प्रतिशतको अधिकतम कोण राखेर दुईवटा इन्जिनले रेल तान्ने व्यवस्था मिलाइएको छ। यसै गरी २५३ किलोमिटर लामो ल्हासा-सिगात्से रेलमार्ग पनि २ प्रतिशतभन्दा कम ढलानमा बनेको छ र ५६४ किलोमिटरको प्रस्तावित सिगात्से- केरुङ रेलमार्ग पनि त्यही हिसाबमा बन्नेछ।

विज्ञानः
       मेरो अघिल्लो लेख चिनियाँ प्राविधिककै प्रारम्भिक रिपोर्ट र नेपालको रेल विभागले भनेकै कुरामा आधारित  थियो। यसपालि फेरि चीनले नेपाली विज्ञलाई सियान सहरमा छलफलका लागि बोलाएको बारे केही कुरा समाचारमा आएका छन्। चिनियाँचिनियाँ रेलवे फर्स्ट सर्वे एण्ड डिजाइन इन्स्टिट्युटले महिनादिन लगाएर गरेको प्राविधिक संभाव्यता अध्ययनले १२१ किलोमिटर लामो केरुङ-काठमाण्डौँ रेलमार्गबारे निकै प्राविधिक र भौगोलिक कठिनाइहरू देखाएको छ। तर यति चैँ सत्य हो कि सिगात्सेबाट केरुङ सहर आउने रेल पाइकु ताल वरपरबाट आउँछ र त्यसको उचाई लगभग ४६०० मिटर छ। मलाई पहिलो लेखमा डर लाग्यो, केरुङ सहरको उचाई करिब ४१०० मिटर देखेर। अनि २५ किलोमिटर दुरीमा रसुवागढीको मितेरी पुलको उचाई जम्मा १९५० मिटर। त्यो अरू सबै कुराका लागि सम्भव भए पनि रेलका लागि असम्भव थियो।  त्यो ढलानमा कसरी रेल कुद्ला भनेर केही कम अंकहरू राखेर चीनपट्टिको रेलबारे धेरै विचार नगरेकै हो। तर अहिले चीनले सन् २०२० सम्ममा निर्माण सम्पन्न गर्ने भनेको सिगात्से-केरुङ ५६४ किलोमिटर लामो रेलमार्ग बनाउन किन सुरु नै गरेन त भनेर केही संशय जन्माएको छ। किन उसले तीनबर्षसम्म पनि यस परियोजनामा काम थालेन? यो हामीलाई लालीपप त हैन? आज आएर बल्ल त्यो प्राविधिक संभाव्यता अध्ययनले पाइकु तालकै दक्षिणी पहाडमा र्‍याम्प बनाएर रसुवागढीसंगको उचाइको फरकलाई कम गर्न सकिन्छ कि भनेर भन्न थालेको छ। उसैलाई अत्याधिक प्राविधिक, आर्थिक र भौगोलिक जटिलता भएको यो केरुङ-काठमाण्डौँ रेलमार्ग दुवै देशका सरकारको चाहनामा मात्र भर पर्ने भनेर किन्तु परन्तु गर्ने बनाएको छ। राजनीतिले किन्तु परन्तु गरेमा त्यति आशंका गर्न पर्दैन तर जब विज्ञानले किन्तु परन्तु गर्न थाल्दछ, तब भ्यालु फर मनी सतहमा आउँछ नै।
       डीपीआरकै रट लगाउने हो भने भन्न सकिन्छ, उच्च रक्तचापले दुखेको टाउकाको व्यथा टाउकैको सिटी स्यान वा एमआरआई गरेर थाहा पाइन्न। हो उखान चैँ राम्रै बने पनि आजका दिनमा काशी पुग्‍न कुतीको बाटो तताउनु त्यति फाइदाजनक नहोला।
       अलिकति कति सम्भव छ भनेर प्रारम्भिक ‘विचार’मात्र गर्नका लागि आजका दिनमा काठमाण्डौँ-केरुङको होरिजन्टल तथा भर्टिकल अलायन्मेन्ट हेर्नका लागि न त हेलिकप्टरमा उड्नु पर्दछ न त थियोडोलाइट बोकेर कान्ला कान्ला कुद्नु नै। गुगल म्यापको  टेराइन पनि देखाउने विकल्पमा गएर १ सेन्टिमिटरः १किमिको स्केलमा हेरे काठमाण्डौँदेखि केरुङसम्मका हरेक पहाड र खोलानाला अनि त्यसको विभिन्न भागका उचाइहरू देख्न सकिन्छ। उदाहरणका लागि लाङटाङ खोलाको खोँच १५०० मिटरको हाराहारीमा देखिन्छ भने बेत्रावति खोला निकै पूर्वसम्म जम्मा ८०० मिटरको उचाइमा देखिन्छ। यसरी नै विदुर र छहरे पनि देखिन्छ।
       भरखरै भू-गर्भविद्हरूलाई नसमेटिएको डीपीआरको भरमा मुग्लिन-नारायणघाट सडक खण्डको विस्तार गलत तरिकाले भयो र बाटो बनाउनभन्दा पहिरो न्युनिकरणमा धेरै खर्च आउने भयो भन्ने कुराहरू आइरहेका छन्। चीनले बनाइदिने डीपीआर चैँ त्यस्तो हुन सक्दैन? अघिल्लो लेखमै लेखेको कुरोः कमजोर भूखण्ड र भूकम्पबाट अति प्रभावित यो क्षेत्रमा यस्तो हुन गएमा हाम्रो खर्बौँको परियोजनाको भविष्य के होला?
     
       केरुङबाट काठमाण्डौँसम्मै रेलमार्ग ल्याउने हो भने त्यो केवल दुई तरिकाले  मात्र आउन सम्भव छ। या त पहाडमा सुरुङ र अग्ला पुलमार्फत लगभग सिधा रेखा ताने जसरी या त त्रिशुलीको दुवैतिरका पहाडमा सडक बनाए जसरी। तर पहाडै पहाड सुरुङ र उच्च भूभागको पुलहरूमा रेल कुदाउने कुरामा उनीहरू पनि तयार थिएनन् र त उनीहरूको प्रारम्भिक रिपोर्टमा त्रिशुलीको किनारैकिनार बट्टार हुँदै काठमाण्डौँ ल्याउने संभाव्यता देखाएका थिए।
       त्यसैले उनीहरूको प्रारम्भिक अनुसन्धानहरू त्रिशुलीको लगभग किनारै किनार केही छोटा सुरुङहरूसहितको रेलमार्ग बनाउने तिर केन्द्रीत थियो। अघिल्लो लेखको प्रतिकृयामा केही विज्ञले भनेअनुसार ती स्टेसनका  नाम मैले अम्मल डम्मल खैरे पात गरेर छानेको थिइँन।  गतसाल चिनियाँ विज्ञहरूले नै गरेको प्रारम्भिक अध्ययनले त्यही बाटोबाट काठामाण्डौँ रेल भित्रिने संभावना देखाएको थियो। तर नेपालको रेल विभाग त यस्ता प्रतिवेदन बुझ्‍न र न्यारोगेज र ब्रोडगेजको फरक छुट्याउनमात्र गठन भएको देखिन्छ। विशालनगरको सानो घरले कहिले द्रुत भन्छ त कहिले १८० देखि २०० किलोमिटर प्रतिघण्टा त कहिले १०० किलोमिटर प्रतिघण्टाको गीत गाउँछ। विज्ञ इन्जिनियरहरू नै एउटै गतिमा अडिन नसक्ने कस्तो प्रचलन हो?
       अहिलेसम्म चीनले यो योजनामा कम्तिमा तीनपटकजति अध्ययन गरेको पाइन्छ। त्यसअनुसार ४१०० मिटर उचाइको केरुङ सहरबाट २५ किमीको दुरीमा रेल १९५० मिटरको उचाइमा झर्नु पर्ने हुन्छ र त्यसका लागि भरखरै पाइकु तालछेउ र्‍याम्प बनाउने खबर आएको छ। रसुवागढीबाट स्याफ्रुबेसी (१५०० मि), मैलुङ (९०० मि), बेत्रावति (९०० मि) र विदुर (६०० मि) हुँदै ककनीबाट काठमाण्डौँ ल्याउने उनीहरूको प्रारम्भिक योजना छ। ककनीको डाँडो नचढाएर सुरुङबाट ल्याए पनि विदुरबाट ३५ किलोमिटरभन्दा कम दुरीमा लगभग ९०० मिटरको उकालो  (३%) उक्लिनै पर्ने हुन्छ। यसरी समानान्तर रेखा तानेजसरी रेलमार्ग बन्छ भनेर मान्दा पनि ४% को हाराहारीको कोणमा रेल सजिलै चल्न सक्दैन। अनि यो पनि यथार्थ हो कि पहाड ताछेर बनाइने बाटो एकनासले उचाइ लिँदैन र कतै अलिक बढि ढलान र कतै अलिक कम ढलान भएकै बन्नेछ। मेरो पहिले कै प्रश्न फेरिः ४% देखि ७% सम्मका ढलानमा कसरी रेल कुद्छ त? झन् सम्झौतामा त मालगाडी (कार्गो रेल) समेत चल्न सक्ने रेलमार्ग भनिएको छ। र हामीलाई यो पनि थाहा छ कि कार्गो रेलमार्गका लागि १.५ प्रतिशतभन्दा कम कोणमात्र चलनचल्तिमा छ। र यो भनेको लगभग सत्तरी किलोमिटरको दुरीमा बल्ल एक किलोमिटर उकालो चढ्नु हो।
       त्यसो त ढलानलाई न्युनिकरण गर्ने उपायहरू पनि छन्। यसका लागि दाँती भएको र्‍याक बनाउन वा केवलले तलमाथि गराउन पनि सकिन्छ। अझ केरुङबाट सुरुङैसुरुङ सगरमाथा वा अन्नपूर्णतिर लगेर काठमाण्डौँसम्मको दुरी तीन-चारसय किलोमिटरको बनाएर त्यो ढलानलाई कम गर्न पनि सकिन्छ। त्यस्तै पहाडभित्र सुरुङ बनाएर र्‍याम्प बनाउन सकिन्छ। त्यसो गर्दा रेल कम ढलानको केही उचाइ चढिसकेपछि पुःन उल्टो दिशातर्फको अर्को सुरुङमा चढ्छ र यसै रितले आवश्यक र्‍याम्पहरूका मद्दतले उचाइ हाँसिल गर्नेछ। र अर्को उपाय चाहिँ पहाडभित्र स्पाइरल सुरुङ बनाउने र फनफनि घुमेर आवश्यक उचाइ लिने।
       सुरुङ र अग्ला भायाडक्ट र पुलवाला उपाय, पहाडभित्र र्‍याम्प सुरङवाला उपाय र स्पाइरल सुरुङवाला उपायबारे सोच्दा हामीलाई नै अलिक हावादारी लाग्दछ। हो, संसारको कुनै कुनाहरूमा यस्तो पनि भएका छन्।  हालसम्मको संसारकै अग्लोऽ फ्रान्सको ३४३ मिटर लामो पिलरमा ठडिएको ‘मिलाउ भायडक्ट’ नामक पुलभन्दा तीनगुणा माथि आकासतिर देखिने नेपाली पुलहरू लाङटाङ खोला र बेत्रावति खोलामाथि बन्ने सम्भावनालाई नकार्न सकिन्न। तर मुग्लिनमा एउटा १२० मिटर लामो पुल बनाउन चारबर्ष लगाएर अझ ‘नमुना पुल’ बनाएको भनेर पत्रिकाको मूख्यपृष्ठमा गर्वसाथ छाप्‍नुपर्ने देश खोला, खहरे र गल्छीमा एक किलोमिटर अग्लो पिलर उठाएर डेढकिलोमिटर लामो पुल बनाउन समर्थ हुनेछ  आशा गर्नु पनि राम्रै हो।
       अनि कलंकीको सानो अन्डरपास बनाउन त्यही चीनले छ बर्ष लगाएको  चाहिँ अरू नै कारणले हो भनेर अब त्यति नै बर्षमा दशौँ किलोमिटर लामा सुरुङहरूसहितको रेलमार्ग बनाउने कुरा पत्याउन सक्नु पनि राम्रै हो।
हामीले जम्मा ४० टनका ट्रकहरू अमलेखगञ्जदेखि कन्दै उकालो लागेको र त्यसले गर्दा धसिएको बाटो देखिआएका छौँ। त्यस्तै मुग्लिन-नारायणघाट खण्डको बाटोमा दिनहुँजसो पहिरोले अवरुद्ध पारेको खबर हामी सबैले पढिरहेका छौँ। लु, बाटो त अलिकति पहिरो पन्छाएर, अलिकति डाइभर्सन बनाएर केही घण्टामा खुल्ला रे। रेलको सन्दर्भमा पनि त्यस्तै हुन्छ? भास्सिएको ठाउँमा चारवटा ढुङ्गा र स्याउला राख्दिएको भरमा आधुनिक रेल रोकिन्छ?
        हजार टनको रेलले लिगमा शुन्य ढलानमा गतिअनुसार जति दबाव श्रृजना गर्दछ, त्यसै अनुरुप ओरालो लागेको रेलले ढलानको प्रतिशतअनुसार अतिरिक्त दबाव बनाउँछ। प्रारम्भिक अध्ययनअनुसार ९५ किलोमिटर लामो ओरालोमा लगातार लगाउनु पर्ने ब्रेक सिस्टमले रेलमार्गलाई निकै क्षति पुर्‍याउने देखिन्छ। भौतिक विज्ञानअनुसार सिधा लिकमा उही गतिमा गुडिरहेको रेल रोक्न जति शक्ति लाग्छ ओरालो लाग्दा त्यसमा ढलानअनुसार बृद्धि हुन्छ। १:३०० को कोण भए दुईगुणा भने १:७५ को भए पाँच गुणा बढिको घर्षण र दबाव श्रृजना हुन्छ। अब ४ प्रतिशत ढलानमा दुई-तीन हजार टनको रेल गुडेको सोचौँ। हाम्रा पहाड र बाटा यस्तो दबाव झेल्न सक्छन्?

सोध्नै नहुने कुराः
       कसैले “रेलमा के हालेर पठाउने” भन्यो भने जवाफ आउँछ, अहिले चाहिँ के हालेर पठाएका छौ नि? अहिले पनि नेपाल आउने ९६% कन्टेनर खालि फर्किन्छन् भने। त्यसैले पछि पनि रित्तै कन्टेनर पठाए आकासै खस्दैन।“तर प्रधानमन्त्रीजीले नै भन्नुभएकाले एउटा कुरा चैँ  सम्झाइराखौँ, उहाँले रेलमा हिमालबाट आउने पानी बोतलमा भरेर पठाउने भन्नु भएको छ।
       प्रश्न गर्नु राम्रो होइन, तर सोच्न त पाइएला, के तिब्बतमा चैँ हिमालबाट झरेको पानी पाइन्न? उसले त झन् सगरमाथाकै फेदिमा ‘झोमोलोङ्मा ग्लासियर’ नामकै मिनरल वाटर बनाएर बेचिरहेको छ। कसरी केरुङकै बाटो चीन हुँदै पुर्‍याइएको नेपाली पानी चिनियाँ पानीभन्दा सस्तो हुन्छ वा राम्रो हुन्छ र विदेशीले खोजिखोजी नेपाली पानी खान्छन्? विदेशी बजारमा नेपाली उत्पादनको साख चिनियाँ उत्पादनको भन्दा खत्तम छ भन्ने कुरा सबैलाई थाहै छ।
       सन २०१४ मा जम्मा डेढ लाख घनमिटर बोतलबन्द पानी उत्पादन गरेको तिब्बतबाट सरकारले सन २०२० भित्र ५० लाख घनमिटर बोतलबन्द पानी उत्पादन गर्ने लक्ष राखेको छ। त्यहाँ सिनोरेलदेखि अन्य विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरू धमाधम हिमनदीमा ड्रिल गर्नेदेखि झरनामा पानी थाप्दैछन्। तर त्यो हिमाली पानीले चीनकै बजारको पनि जम्मा तीन प्रतिशत हिस्सा ‘मात्र’ ओगट्न सक्नुमा पानी ‘नमीठो’ भएरभन्दा पनि ढुवानी खर्चले गर्दा महंगो बनाएकाले हो। अनि सोचौँ, नेपालको हिमाली ‘औषधीय’ मिनरल वाटर बनाउने उद्योगबाट केरुङ हुँदै फेरि तिनै तिब्बती पानीका फ्याक्टरीछेवैबाट संसारभर पुर्‍याइएका हाम्रा पानीका बोतलहरू। सपना राम्रै हो, तर अर्थशास्त्रअनुसार सायद हिसाब मिल्दैन।
       अर्को उच्चारण गर्नै नहुने शब्द हो ‘चीनको ऋण-पासो’। भनिन्छ, श्री लंकाको हम्बनटोटा बंदरगाहको “कुरै बेग्लै हो”। भएको खासमा चैँ के हो त? चिनियाँ डीपीआर, चिनियाँ प्राविधिक र ८५% चिनियाँ ऋणमा करिब ४० अर्बको लागतमा त्यो बन्दरगाह बन्यो। संचालन भएको ६ बर्षपछि सन् २०१६ मा पनि श्री लंकाले त्यसबाट जम्मा १ अर्बमात्र आम्दानी गर्न सक्यो। संचालन र मर्मत-संभार खर्च नकाटीकन नै त्यो आम्दानी चीनबाट लिएको ऋणको ब्याज तिर्न पनि अपुग थियो र हरेक बर्ष २०% को आम्दानीमा बढोत्तरी गर्ने प्रक्षेपण गर्दा पनि उसले कहिल्यै त्यो ऋण तिर्न नसक्ने देखियो। अन्तत पुरै परियोजनाको ८०% हिस्सा र ९९ बर्षको लिजमा श्री लंकाले त्यो बन्दरगाह र त्यसले चर्चेको जमिन चिनियाँ कम्पनीलाई बुझायो। अब भनौँ, श्री लंकाले पायो के? यदि यसलाई ठीक मान्ने हो भने २५ बर्षपछि नेपालकै हुने कर्णाली वा अन्य विद्युत आयोजनाको विरोध किन गर्ने त? शुन्य लगानीमा केही प्रतिशत निःशुल्क बिजुली पनि पाइने र चारगुणा कम समयमा नै सम्पूर्ण परियोजना नै आफ्नो हुने आयोजनाहरू पक्कै पनि श्री लंकाको भन्दा फाइदाजनक ‘डिल’ हुन्। नत्र त करिब डेढ खर्बको ८०% वैदेशिक ऋणमा निजगढ विमानस्थल चीन वा भारतलाई बनाउन दिएर त्यसको ८०% सेयरसहित उनीहरूलाई नै सयबर्षसम्म संचालन गर्न दिए हुन्छ त?
       लगभग ४ खर्ब रुपैयाँको लागतमा ब्रिटिस राजको पुरानै रेलमार्ग समानान्तर चिनियाँ ऋणबाट बनेको जम्मा बार्षिक १३ लाखले चढ्ने र प्रतिदिन दुईवटा यात्रुवाहक रेल कुद्‍ने केन्याको मोम्बासा-नैरोबी रेलमार्गले चीनलाई फाइदा भयो वा केन्यालाई कुरै गर्न नमिल्ने भएको छ यो ‘उत्तर हेर’ नीतिमा। अर्काले तर ऋणमा बनाइदिएको केन्याको रेलमार्ग बनिसक्दा अन्तराष्ट्रिय मापदण्डअनुसार तीन गुणा र आफ्नै प्रारम्भिक अनुमानभन्दा चार गुणा बढि लागतमा सम्पन्न भएको ४७२ किलोमिटर मध्यम गतिको रेलमार्ग केन्याको समृद्धि हो वा दूर्दशा, कुरै हुन पाएको छैन। केन्यामात्र हैन, दक्षिण सुडान, इथियोपिया, युगाण्डालगायतका भू-परिवेष्ठित छिमेकी देशमा पनि कार्गो बोक्ने अवसर पाएमा यो रेलमार्गको औचित्य पुष्ठी होला। र पनि केन्या सरकारलाई निकै समयसम्म दुईगुणा समय लिने पुरानै रेलमार्गलाई विस्थापित गरेको यो मार्ग यत्रो ठूलो ऋणमा तत्कालै बनाउन कति आवश्यक थियो र कसरी ऋण तिर्न सकिन्छ भनेर बताउन कठिन भइरहने छ।
       यदि नेपालले यो रेलमार्ग चिनियाँ ऋणमा बनाउन चाह्यो भने र सौभाग्यवश परियोजना जम्मा १० खर्बमै सम्पन्न भयो भने पनि अहिलेको प्रतिनेपालीको टाउकोमा रहेको आन्तरिक र बाह्य ऋणको भार २५ हजार रुपैयाँबाट बढेर ५५ हजार रुपैयाँमा पुग्छ।  किन्तु परन्तुबाट मुक्त यो ऋणको ब्याज तिर्ने २० अर्ब बार्षिक खुद नाफाको हिसाब देखाउन मेरो टाउकामा दोब्बर ऋणको भार बजार्ने विज्ञ र सरकारसंग अनुरोध गर्न सम्म त पाइएला नै।
       जम्मा केही अर्ब लागतको त्रिशुलीको दुवै किनारमा दुई-दुई लेनको गरेर काठमाण्डौँ-केरुङ चारलेनको सडक बनाउँदा सायद लागत र प्रतिफलका हिसाबले तात्कालिन अवस्थामा देशलाई फाइदाजनक हुन्छ भन्ने मेरो भनाइ हो। त्रिशुलीको तिरैतिर रेल ल्याउने उद्घोष गरेका दिन न त त्यो ठाउँमा चारलेनको बाटो बनाउन मिल्नेछ न त रेल नै फटाफट आउने छ। दशकौँ त्यही योजनाले हुनसक्ने र सस्तो सडक नै पो नबन्ने हो कि? गल्छी-त्रिशुली-मैलुङ-केरुङ लोकमार्ग अहिले धमाधम बनिरहेको छ। जम्मा ८२ किलोमिटरको बाटोमध्ये चीनले रसुवा-स्याफ्रुबेसी खण्डको १६ किलोमिटर बनाउँदैछ बने बाँकी खण्ड नेपाल सरकारले आफैँ बनाउँदैछ। जम्मा ९ अर्ब ५० करोडको लागतमा दुई लेनको ११ मिटर कालोपत्रे हुने सडक बन्दैछ। अझ टोखा- छहरे सुरुङमार्ग पनि अध्ययनमा छ। २६ अर्ब खर्चमा सुरुङमार्गसहितको बाटोबाट नै साढे दुईघण्टामा केरुङ पुग्ने बताइँदै छ। आशा गरौँ, रेलले यो बाटोको भविष्य धरापमा नपारोस्!
     
       चिनियाँ रेलबारे अलिक धेरै कुरा उठेको हुनाले र अलिक गाह्रो देखेकाले यही रेलको कुरा गरियो। तर चाचा चौधरीहरू लगत्तै प्रतिप्रश्न गर्नु हुन्छ, भारतीय रेल चैँ आउँछ? फेरि भनौँ, यदि चिनियाँ रेल काठमाण्डौँ आउने भयो भने त्यो पक्कै ऋणमा आउँछ र त्यो आउनेबेलासम्म भारतीय ऋणमा रक्सौल-काठमाण्डौँ रेल पनि आउँछ। आफ्नो लगानी नगरी दुईसय किलोमिटरमा छोटिन पाउने भएपछि कसले गर्दैन? अनि हामी पनि आफ्ना टाउकामा बोकाइएको अतिरिक्त पचास हजारको ऋणभारले बनेको घाउमा स्वतः स्टेसनमा नुन-खोर्सानी दलेको काँक्रो र चिया बेच्‍नेजस्ता असिमित रोजगारी श्रृजना गरेर मलम लगाउने नै छौँ।
        म रेल विज्ञ हैन र हुन पनि सक्दिन। तर अब यति चैँ भन्न मन छ कि केरुङबाट काठमाण्डौँ रेल आएछ भने पनि कुनै द्रुत वा मध्यम गतिको नभई दार्जिलिङको जस्तै १५-२० किलोमिटर प्रतिघण्टा चल्ने न्युनगतिको पहाडी छुकछुके रेल आउनेछ अनि अझ उच्च ढलान, पहिरोको जोखिम र कमजोर धरातलका कारण समानान्तर सर्भिस लेनमा मोटरसाइकल वा बोलेरोमा रातो वा हरीयो झण्डा बोकेका कामदारको भरमा बिस्तारै गुड्नेछ। सायद पुरै बर्खायाम रेलसेवा बन्द हुनेछ। दैव! रेल कुद्दा कुद्दै पहिरो चैँ नजाओस्!
       रेलबारे प्रश्न गर्नेबित्तिकै कसैले कन्स्पिरेसी थ्योरी लगाएर यो समृद्धि नचाहनेहरूको हल्ला भन्न सक्दछन् भने म पनि रेलको सपना देखाएर चीन जोड्ने एउटा ढंगको सडकमार्ग बन्न सक्ने ठाउँलाई रेलका लागि छुट्याएर सडक बन्न नदिने र युगौँ युग फेरि भारतपरस्त बनाइरहने ग्राण्ड डिजाइन हो भनेर आफ्नै कन्स्पिरेसी थ्योरी पनि पस्कन सक्छु नै। चिल आयो चिल आयो भनेर गाउँका कुखुरा चोर्ने बाठो स्यालको दन्त्यकथा पढेका नेपालीका सन्तानले रेल आयो रेल आयो भनेर बाटो नबनाउने सरहरूका कुरा नपत्याउन पनि के बेर?

       कि रेल नभनेर रोलर कोस्टर भन्दिउँ?

(नयाँ पत्रिका ०४ भदौ, २०७५)