Saturday, May 12, 2018

नेपाल-भारत सम्बन्धः नयाँ उचाईमा!

8:33 PM 0


सम्बन्ध त नयाँ उचाईमा पुग्यो पुग्यो।
यसपालि नेपाल-भारत सम्बन्ध फेरि नयाँ उचाईमा पुग्यो। केही महिनाअघि नेपालका प्रधानमन्त्रि भारत गएर आउनु भयो। त्यसबेला पनि परापुर्वकालदेखि चलिआएको नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको थियो। नेपालमै संसारको अग्लो स्थान भए पनि हामी त्यत्ति उचाईसंग अभ्यस्त छैनौँ, जति नै केशव स्थापीतजीले रारामा पौडी खेलाएर अरुलाई स्वाँ स्वाँ हुँदा हामीले फ्याट्ट गोल्ड मेडल जित्‍छौँ भने पनि। त्यसैले भारत गएर नयाँ उचाईमा पुगेको त्यो सम्बन्धलाई पनि सास फेर्न अलिक गाह्रो पर्‍यो। फ्याँ फ्याँ गर्दै 'एकछिन त बिसाउन देऊ' भन्दैथ्यो छन चैँ। फगत त्यो सम्बन्धलाई बोक्ने र माथि लैजानेभन्दा बाहेक हाम्रो सरकारको चैँ के कामै छैन र? सुन्ने कुरो पनि थिएन, सुनिएन र त त्यसका बाजे त्यो सम्बन्धलाई अझ उचाईमा लाने निर्णय फ्याट्टै गरियो। हुन त त्यो निर्णय हामीले हैन भारतले गरेको भनेर पनि भन्छन् नै। तर हामीलाई परिणामसंग मतलब छ। समृद्धिसंग मतलब छ। विकाससंग मतलब छ। आफ्ना जनताको पीडासंग मतलब छ। पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौति! (फेरि केही उपबुज्रुकहरू भतुवा किन भनिस् भनेर नखनिनु होला!)। हामीले पनि त्यसलाई बोक्न विश्वका महान नेता, प्रजावत्सल, दयासागर, हिन्दुसम्राट, करुणापति, जशोदापति, अधिपति, पछिपति महामहिम श्री श्री श्री श्री श्री नरेन्द्र दामोदार मोदीदेवलाई बोलायौँ। भन्न त मान्छेहरू उनले नै 'म यति गते आउँछु' भनेर भनेका भन्छन्। हो पनि। नजिकका साथीहरूले भन्ने नै त्यसरी हो। हाम्रा घरमा पनि त 'ओइ! के गर्दैछस्? भोलि म तेरामा आउँछु' भन्ने यारहरू हुन्छन् नि। याराना भन्ने नै त्यस्तै सम्बन्धलाई हो। हाम्रो यार-दोस्ती छ त अरुले रिस गरेर हुन्छ? नयनराज पाण्डेको मात्रै यार हुने, हामी यत्रो सरकारको चैँ यार नहुने? मोदी सर हाम्रा यारमात्रै हैन सुपर यार हुन्। लु जा त!

अँ, कुरो सम्बन्धलाई नयाँ उचाईमा लैजाने थियो। गहन छलफल गरियो। भूपू प्रधानमन्त्रिदेखि भविष्यका प्रधानमन्त्रि, आसेपासे, डोले, झोलेहरू सबैसंग सल्लाह गरियो, कसरी सम्बन्धलाई उच्चस्तरीय ट्रेकिङमा लैजाने। बोकेर कि उडाएर भन्नेमा डोले र झोलेबिच केहीबेर चर्काचर्की भए पनि अन्त्यमा हल निस्कियो। त्यो 'कसरी', 'कहिले' र 'किन' भन्ने कुराको निर्णय हाम्रा पाहुनाकै हुन्छ भनेपछि मत्थर भए। हाम्रा दलगत सेनाहरूलाई पनि 'तिमेरू हाम्रो लाज छोप्‍ने काममा लाग' भनेर खटाइयो। मन त 'एक जान' हुन तयार भइसकेको त्यो माओवादीका सेनालाई पनि काममा खटाउने इच्छा थियो तर प्रचण्डजीहरू त्यत्तिकै बाउँठिनु भएको छ। हामी एकता गरेर सग्लो जिनिस बनाऔँ भन्छौँ उहाँहरू चैँ दुईटा अध्यक्ष नभई त नाइँ भन्नुहुन्छ।  अरे यार! यो दल बनाउने कि भारुण्ड? दुईटा टाउका त त्यसकै हुन्छ के रे।

'अस्ति कै उचाईमै सास फुलेको छ। यति चाँडै फेरि बोक्ने? लेक लाग्ला कि?' एउटो जान्ने भो।
'तपाईँ डाक्टर कि म डाक्टर?' गज्जबले हकार्दिएपछि बल्ल त्यो चुप लाग्यो।
'जनकपुरले अभिनन्दन गर्ने रे। हामी चैँ के गर्ने?' यसपालि चैँ नेपालजी बोले।
'आरति उतार्ने। पूजा गर्ने' भन्दिउँ कि जस्तो त लागेको थियो। फेरि उनैले बजारमा भन्देलान् भनेर भनिएन। यो नेपालभन्ने चिजै किलकिले नभएको जिनिस हो कि क्या हो!
'यता पनि अभिनन्दन गर्ने नि। नयाँ उचाई भनेको छ अनि त्यो दुईसय मिटरको जनकपुरमा झार्न त मिल्दै मिल्दैन हाम्रो सम्बन्धलाई। बाह्रसय मिटरको डाइभ? हैट!'
यो नेपाल र नेपालीको चित्त बुझाउन चैँ साह्रै गाह्रो के। त्यत्रो भारत अनि यत्रो नेपाल। बराबरीको हैसियत चाहियो रे। हाम्रो पार्टीभित्र पनि नेपालको त्यही चाहना। देशभित्र पनि नेपालको त्यही चाहना। 'इस् पाइस् बराबरीको हैसियत'।
'अँ त अभिनन्दनमात्रै दिने कि अरु पनि केही?
'चाबी दिने। सुनको कलात्मक चाबी दिउँ।'
कुरो त ठीकै हो। तर यो आइडिया लगाएर गोरेले भारत सुन पठाउने हो कि? भुत्रै सित्ति! पठाएछ भने बरु पार्टीलाई लेभी माग्‍ने हो, हाम्रो आइडिया चोरेबापत।

यो हाम्रो हाम्रो भन्दा भन्दा यो ल्वाँठ सम्बन्ध नै मेरै छोरो हो कि जस्तो भइसक्यो यार!
'अनि पृथ्विनारान काम्रेड, समृद्धि कसरी आउँछ भन्नु?'
'नयाँ सम्बन्धले आउँछ नि। पर्यटक आउँछन्। पर्यटकसंग पैसो आउँछ। पैसोसंग विकास आउँछ। विकाससंग समृद्धि आउँछ', किताबै लेखिसकेछन्, अर्को पनि। दिए।(लिएँ र पछि डस्टबिनमा फाल्दिएँ।)
'अनि जनतालाई चैँ कसरी देखाउने?'
'अरे काम्रेट, सम्बन्ध कुनै वस्तु हो र देखाउने? मार्क्सको द्वन्दात्मक भौतिकवाद हो के काम्रेट द्वन्दात्मक भौतिकवाद। सम्बन्ध नयाँ उचाईमा पुगेको फोटो राख्दिने र भन्ने अब समृद्धि टाढा छैन। भइहाल्यो नि।'
विकास कसरी गर्ने भनेर किताबै लेखेका हाम्रा काम्रेटसंग पनि गजबकै आइडिया रछन्।

आउने दिन पनि आयो। बोलाएको हाम्रो सरकारले तर कता उत्रिन्छन्, के मा उत्रिन्छन् अनि कतिबजे कता जान्छन् फुट्टि थाहापत्तो नाइँ। लाजगाल भए पनि जनकपुर गएर पर्खिनै पर्‍यो। जसो जसो उनी गर्छन् त्यसै त्यसै हामी पनि गर्दिन्छौँ। पछि मैले गरेको उनले नक्कल गरे भनेर खोक्न सकिहालिन्छ के रे।
'ओइ सेना! सावधान!'
ए! सेना त उताबाट पनि पो आएको छ त।

के भाउँतो आइलाग्यो। अब यो कुर्ता सुरुवाल पनि लाउने बनायो यो छोरोको मायाले। श्रीमतीसंग सिकेर लगाए पनि कस्तो कस्तो भइरह्यो। बरु अर्कोपालि बर्माको प्रधानमन्त्रि बोलाउँला। लुङ्गी लगाउन सजिलो।
अँ! साले, त्यो विश्वदीपसंग अलिक होस् गर् है। अर्कोपटक हामीले जसरी नै राष्ट्रवादको नारामा त्यसले पछार्देला', लुगा फेर्दाफेर्दै नभएको सालोलाई पनि सतर्क गराइयो।
'त्यसले परार पनि विरोध गरेको थियो', लाचार सालो।
त्यसले हामीलाई भोट हाल्छ?'
'कांग्रेसलाई हालेजस्तो छ।' सेनाबाट कोही बोल्यो।
'तिम्रो नाम के बानर?'
'प...'
'जे सुकै होस्। अँ त्यसो भए त्योसंग देउवा जोडिदेऊ। मिनेन्द्र जोडिदेऊ। विमलेन्द्र जोडिदेऊ। त्यो संग्रौला पनि जोडिदेऊ। मलाई देखी सहन्न। स्साला कुमाई!'
हैट! कहाँ कुमाई भनेछु!
'तिमी नै सञ्जालको सेनापति' त्यो नाम पनि थाहा नभएको ठिटोलाई जिम्मा दिएर सरकार जनकपुरतिर हिंड्यो। 'कदम कदम पे कदम मिलाओ रे!'

एक्लै जान डर लाग्थ्यो, सजिलो भयो साथी हुनाले। तर एउटा काम चैँ नकाम गरे मोदीजीले। हाम्रा प्रधानमन्त्रिलाई कोहली भन्दिए। कोहली नै भन्नु थियो भने विराट कोहली भने हुन्थ्यो। अनुष्का कोहली भने हुन्थ्यो। आहा! कति राम्री नि तिनी त! झन् त्यो ओठ ठूलो पारेपछि त बिछट्टै। हाम्रातिर त्यस्ता कस्मेटिक सर्जन छैनन् र?

गजब बोले मोदीजी। उहिले दिएको ऋण हो कि सहयोगको हजारौँ करोड नदिएकै भए पनि उताका फेँकुले यसपालि पनि गफ दिए। हुन त हामी पनि के कम छौँ र फेँक्न? केही थप कुरा त यिनीबाट पनि सिकियो। फेँकु रिसाएर सम्बन्धलाई बाटैमा छाडेर फर्केला कि भन्ने डर ले मात्र हो चुप लागेको नत्र त म पनि 'नेपालले पनि बम्बैको झोपडपट्टी हटाएर आवासगृह बनाउन नेपालले भारतलाई पचहत्तर खर्ब सहयोग गर्ने' भनेर बोल्नै लागेको थिएँ। खुनका घुँट पिउन गाह्रो रहेछ। महादेवले कसरी कालकुट निले होलान् नि? जय पशुपतिनाथ!
'जय सियाराम!"
हामीलाई त जनताको विरोधले गर्दा त्यो सम्बन्धलाई बिच्चैमा छाडेर फर्कौँजस्तो त लागेको थियो तर मोदीजी गजबका रहेछन्। एक्लै बोके गाँठे हाम्रो सम्बन्धलाई। अब्सोलुट्ली फिट एण्ड फाइन!

यहीबेला त्यो विवेकशील हो कि साझाबसले बेलुनमा नाकाबन्दी उडायो रे। हामीले जनतालाई नै उडाउँदा त केही नापिएन, त्यस्ता जाबो बेलुनको उचाई! चुस्स सियोले घोच्दियो भने प्याट्टै!

त्यसैले हेर्नोस्, चौधसय मिटरको काठमाण्डौँभन्दा माथि नउक्लेको त्यो सम्बन्धलाई यसपालि हामीले सैतीससय मिटरको मुक्तिनाथ पुर्‍यायौँ। अब त्योभन्दा माथिको चौवन्नसय मिटरको थोराङ-ला त के उहाँको शक्तिपीठ र हाम्रो भक्तिपीठ त्यता पनि छ भनेर हौवा फिँजाउन सकियो भने त्यो सम्बन्धलाई सगरमाथाको चुचुरोमै पुर्‍याउने हो। अझ अमेरिका, रुस, इजरायल, केन्या, पेरु, कति छन् कति  हाम्रो सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने।
हन चन्द्रमामै पुग्छ कि के हो ठिटो? रकेट नै नचाहिने हो त?
जय नयाँ उचाई! जय म!

Sunday, April 15, 2018

विद्यालय भर्ना

11:52 PM 0


‘तान्, तान्। जोर लगा के हैँऽ साऽऽ‘।
'स्साला बंगाली! तैँ तान् न जोडले। सक्किनै लाग्यो’।
‘चिनीको बोरा हो, यार। तान् न तान्’, बोराको गुणस्तर बताउँदै मलाई अझ बल लगाउन हौस्यायो।
‘पसिनाले कट्टु भिजिसक्यो। तँ बरु अलिक जोडले तान् न’।
वर्ण सरको पिठ्युँपछाडि हामी हाम्रै उद्दममा ब्यस्त थियौँ।
‘आयो। हुर्ऽऽराऽ!’ उताबाट हारेर छोडिदिए जस्तो लाग्यो। जे होस्, हामी दुवैजना आफ्नै बलले उत्तानो पर्‍यौँ, बोरासंगै।

‘एई केटा हो! केको हल्ला हो त्यहाँ?’ कालोपाटीमा आठको पहाडा लेख्‍दै गर्नुभएका वर्ण सर हामीतिर फर्किनु भयो। हतार हतार सोझो परिवरि हामी पनि सिलोटमा आठ एकान आठ, आठ दुने सोह्र लेख्‍न थाल्यौँ, मानौँ हामीले सरको प्रश्नै सुनेनौँ। ख्याउटे अनुहारमा अलिक भित्र पसेका चहकिला आँखालेसमेत कुनै सुत्र भेटेनछ। त्यसैले हामीलाई भकुर्न नआई पु:न पाटीतिरै फर्किनुभयो, आठ छका अढ्चालिस लेख्‍न। त्यै मौकामा हामीले पनि तानेको नयाँ चिनीको बोरा दोब्र्याएर दुवैजना बस्न मिल्ने बनायौँ, अनि पढन्दास बनिटोपल्यौँ।

झापा जिल्ला, भद्रपुर नगर पंचायत, वार्ड नं ७, भानुनगरको यो गोरूहट्टी स्कुल। खास नाम तीन नंबर केन्द्र। नयाँ शिक्षा सुरु हुनपूर्व भद्रपुरमा केही नयाँ प्राथमिक स्कुलहरू खोलिएका थिए, अनि नाम चैँ खै किन हो, नंबरमात्र। भद्रपुर हाटको दुई नंबर, गोरुहट्टी तीन नंबर र नगर पंचायतपछाडि देवी बस्ती चार नंबर स्कुल। तीन नंबर भए पनि गाउँ, शहर, गुरू-गुरुमादेखि सारा विद्यार्थी यसलाई गोरूहट्टी स्कुल भनेरै चिन्थे। हरेक बुधवार र शनिवार चौपायाको हाट लाग्थ्यो, स्कुलको चौरीमा। कोसी पूर्वको सबैभन्दा ठूलो पशुहाट। शनिवार त त्यस्सै बिदा। बुधवार थप बिदा हुन्थ्यो। ढोकामा पल्ला नभएर उदाङ्ग बस्ने कोठाहरूमा हाटका दिन नगर पंचायतका मुखियाबाजे र छिर्नसक्ने बलियाबाँगा गाईगोरुहरू पनि विद्यार्थी बनिदिन्थे। त्यसैले आइतवार र बिहिवार पहिला दुई घण्टी पढाइ हुँदैनथियो। पालैपिलो कक्षा कोठा र चौरीको गोबर सोहोर्नु पर्ने। अनि त्यै फोकटमा प्राप्त भएको गोबरले लिपेको भुईँमा घरबाट ल्याएको बोरा ओछ्छ्याएर हामी बस्थ्यौँ। जाबो त्यै बोरामा पनि वर्गविभेद भेटिँदोरहेछ। सक्नेले मिहिनतवरले बुनिएको बाक्लो चिनीको बोरा ल्याउथ्यो। त्यसपछि हैसियतअनुसार चामलका बोरा, सिमेन्टका बोरा, आलुका बोरा र झुलजस्तै पातलो बिंडी फ्याक्टरीका बोरा आइपुग्थे गोरुहट्टी स्कुल। हरेक दिन घरबाट बोरा, सिलेट र खरी बोकेर हामी पढ्न जान्थ्यौँ। बाँसको टाटीले बारेको भित्तामा झुण्ड्याइएको सेतो-सेतो हुँदैगएको कालोपाटीमा सर र गुरुमाहरूले चकले के-के लेख्थे। हामी पनि आ-आफ्ना टुटे फुटेका सिलेटमा खरीले के के लेख्थ्यौँ। दैवै जानोस्। यति चैँ थाहा थियो, चकले लेख्‍न सजिलो हुन्छ, तर मोटो लेख्छ। अनि खरीले मसिनो लेख्छ, तर फारु हुन्छ। निश्चय नै हामीलाई घरमा चक किन्दिदैन थिए।

वर्ण सरले दुई कक्षाको गणितको अध्यापन त्यसदिनलाई सक्नुभयो। आउनेबित्तिकै चारदेखि सातसम्मको पहाडा सोधेर प्राय सबैको हात सेकिसकेपछि संतुष्ट मुद्रामा कालोपाटीतिर लाग्नुभएको थियो, आठको पहाडा लेख्‍न। कुर्सीमा बेतको छडीलाई रामको खराउ बनाइवरि एकछिन हामीले आठ एकान आठ, आठ दुने सोह्र घोकेको घुमिघुमी हेर्नुभयो। बेतराजालाई उठाउनु भयो, देब्रे हातको घडी हेर्दै दाहिने हातमा समातेको खराउ महासयलाई लिरिकलिरिक हल्लाएर हामीलाई निर्देशन दिनुभयो।
‘चिच्याइचिच्याई घोकिराख!!!’

सर ढोकाबाट बाहिरिनेबित्तिकै अगाडिको श्यामेले रामेलाई चिमट्यो। सीताले गीताको रिबन तान्दिई। सोहनलालले बोरा मिलाउदै खोक्यो। राजेन्द्रेले अगाडि बसेकी मेरी दिदीको फ्रकमा कागजको पुच्छर उन्दियो। चार दशाङ चालिसमात्र हैन, चार बाराङ चौवालिससम्म भनेर वर्ण सरको ‘गुड’ भेटेकी दिदी पनि के कम थिई र! लगत्तै थाहा पाइहाली अनि पछाडि फर्केर राजेन्द्रेलाई भुत्ल्याई। तर यी सब कर्तुत ‘आठ एकान आठ, आठ दुने सोह्र’ कै पार्श्व ध्वनिमा भइरह्यो, स्कुलको घण्टी नबजुन्जेल।

बल्लतल्ल कार्की दाइले बरण्डाको घण्टी बजाए। सबका स्वरमा अचानक पूर्णविराम लाग्यो। कोही ‘आठ चौको बऽऽ’ मै अडिए, कोही ‘आऽऽऽ’ मै। स्वच्छन्द कल्याङ्कुलुङ सुरु भइहाल्यो। अनि घण्टी बजेपछि तीनमा पढ्ने गोपाल दाइले हाम्रो कक्षामा आएर सोहनलाल र मलाई पनि बजाए, बोरा चोरेको निउँमा।

जस्ताको छानामुनि अलकत्राको टिन सोझ्याएर वरिपरिबाट बारबेर गरेर काठका खाँबामा उभिएको एकतले घर, बाँसको टाटीले बारेर छुट्याइएका बाह्रै महिना गोरब गनाउने कक्षाकोठाहरू, कठोरभन्दा कठोर सजाय दिन लालयित सरहरू र पेन्सिलको अनुहार पनि देख्‍न नपाएका हामीहरू- गोरुहट्टी स्कुल यस्तै थियो। तर त्यही अवस्थाले गर्दा हामी पुछारतिर बस्ने ‘गवाँरहरू’लाई एउटा नितान्त नौलो खेलको आविस्कार गरिदिएको थियो।
बोरा चोर्ने खेल।

हामी पुछारवालाहरू टाटीमुनिको भुईँ यताबाट पनि खोतल्थ्यौँ, उनीहरू उताबाट पनि खोतल्थे। मंसिरमा टालटुल पारेका कोठाहरूमा पुस नबित्दै हरेकका पछिल्तिर एउटा सुरुङ बनिसक्थ्यो, एउटा कोठाबाट अर्को कोठामा हात छिराउन मिल्ने। सुरुसुरुमा अर्काको बोरा तान्न प्रयोग हुने मुख्य सुरुङले फागुन-चैततिर बिस्तारै हाँगाबिँगा हाल्दै जान्थ्यो। यो दाहिनेतिरको सह-सुरुङ सरले नभेटुन् भनेर गुच्चा लुकाउने ठाउँ बन्थ्यो त देब्रेतिरको पहिलो मोडमा लट्टु र धागो, दोस्रोमा सरले छाडेका चकका स-साना टुक्राटाक्रीहरू। बैसाखदेखि त एउटा पुरै भूमिगत संसार बनिसक्थ्यो, हाम्रैपछाडि।

त्यही मुख्य सुरुङबाट सोहनलाल र मैले मिलेर तान्न भ्याएको बोरा परेछ तीन कक्षामा पढ्ने हाम्रै वर्गमित्र गोपाल दाइको। आ-आफ्ना बोरा छेउमा पट्याइवरि राखेर ती दाइको बोरामा गजधम्म बसेर आठ एकान आठ गर्दै नै थियौँ, उनी आएर हामीलाई छ छक्के छत्तिस नगर्दासम्मै। पछि थाहा भयो, पारिपट्टि देवकी गुरुमाले ‘राम इज अ गुड ब्वाइ’ लेख्‍न नआएकोमा औँलाका बिचमा बाँसको सिर्कनो हालेर तिरिमिरी झ्याँई बनाउनु भएको रहेछ, हामीतिर आएर ‘ब्याड ब्वाइ’ बनिहाले।

तर हामी रोएनौँ। हाँसी हाँसी लात सह्यौँ।
त्यो सोहनलालसंगै म पनि थेत्तरो जो भैसकेको थिएँ।
'जौँ तेरोमा। आज त गुलगुल्ला खिलाउछस् नि हैन?' बोरा चोर्नमा मद्दत गरेकोमा सोहनलाल खुसी भएर उसको दोकानमा बेच्न राखेको गुलगुल्ला आधा भए पनि कसो नदेला त!
*
मेरो र सोहनलालको भेट एउटा काकताली नै थियो।
*

सात सालदेखि सत्र सालसम्मै सत्रौँपटक ‘काङ्ग्रेस’ लागेर आजित भएपछि मधेस झरेको मेरा हजुरबाको परिवारले सस्तो जमिनकै कारणले होला, झापालाई नै आफ्नो नयाँ थातथलो बनायो। कतै नम्बरी त कतै वन फँडानी गरेका ऐलानी, जे होस्, जस्तो होस्, बस ‘जग्गाजोड अभियान’ चलाउनुभयो, हजुरबाले पनि। बनियानी, राजगढ, चकचकी, बालुबाडी अनि अरु पनि बाह्र-सत्ताइस गाउँतिर गरेर दुखमसुखम बर्षभरि खानपुग्ने खेत जोडेर भद्रपुरमा एउटा टाँडेघर पनि बनाउन भ्याउनु भएको थियो, म जन्मिनु भन्दा निकै अगाडि नै। अझ ब्राम्हण खलकको जन्मले स्व:त दिएको साक्षरताले अड्डा-अदालततिरको विचारीसमेत बन्नु भयो। निश्चित थियो, त्यसैले त हजुरबाले उपनाम पनि पाइहाल्नु भयो। विचारी बा। बुबा जिल्ला पंचायतको सानो जागिरे, कहिले खोटाङ त कहिले इलामतिर पुग्नु हुन्थ्यो। खोटाङको दिक्तेलमा जन्मिएर तीन बर्षको हुँदै पढ्नलाई भद्रपुर झरेको म चार पुगेपछिमात्र बल्ल स्कुल जान लायक भएँ।

सुरुमा त जगन्नाथ मिलछेउ भरखर-भरखर खुलेको विदेशी स्कुल, ‘आनन्दमार्गी’मा कक्षा एकमा भर्ना भइयो।

एघार-बाह्र सालतिर भारतको जमालपुरबाट सुरु भई मुख्यतया पश्चिम बंगालमा हुर्केर एउटा धार्मिक विचारधारा सुरु भएको रहेछ, आनन्दमार्ग भन्ने। पश्चिम बंगालको छिमेकी सहर भएर होला, आनन्दमार्गीहरूले आफ्नो विचारधाराको प्रचारप्रसारका लागि नेपालमा पहिलो स्कुल भद्रपुरमा खोले। आँप र रुखकटहरको बगैँचाबिच हरियो टिनको छाना भएको एकतले राम्रो घर- भद्रपुरको आनन्दमार्गी स्कुलमा भद्रपुरका सबै भुराभुरी ओइरिए। जगन्नाथ मिल वरपरका मात्र नभएर संगम, लालमाटी, भानुनगर, जनताचोक आनि बजारैसम्मका चार बर्षमाथि आठ बर्षसम्मका केटाकेटीहरू तछाँडमछाँड गर्दै शिशुदेखि तीनसम्ममा भर्ना भए। विदेशीले खोलेको स्कुल भएरमात्र त्यस्तो भएको थिएन। मुख्य आकर्षण चैँ दिउँसो खान दिने दुध, खिर, मिठाईजस्ता खाना नै थियो। हामी हन्तकालेहरू पनि मस्तिष्कमा कलाकन्द या सन्देश राखेरै आचार्यले भनेको ‘आत्मामोक्षार्तम जगद्धिताया’ भट्याइदिन्थ्यौँ। त्यतिमात्रै कहाँ हो र, आसन, मुद्रा, बन्ध, योग, सम्भूति, महासम्भूति, ध्यान, चक्र, तत्व, प्राणायाम आदि-ईत्यादि कुराहरू सारतत्व नजानिकनै भन्न चाहिँ सक्ने भइसकेका थियौँ। हरेक कोठाका भित्तामा कुनै सरकार थर भएका बंगाली बाबाको फोटो सबैभन्दा माथिल्लो स्थानमा टाँगिएको हुन्थ्यो। ती फोटाका मानिसलाई गुरुहरू बाबा भन्थे अनि हामी साधकलाई श्री श्री आनन्दमुर्ति भन्न लगाउँथे। त्यसको अलिक तल कुनै आचार्य श्रद्धानन्द अवधुत: नामधारी लामो दारी पालेका अर्का फेटावालको फोटो हुन्थ्यो। हरेक गुरुले नाम लिइरहने भएर होला, सबैलाई त्यो नाम कण्ठै थियो। त्यसपछि एउटा लामो फोटो हुन्थ्यो ‘आनन्द शुत्रम्’ भन्ने, जसमा सोह्रवटा बुँदा हुन्थ्यो। हामी एक कक्षाका साधकलाई घोकाएनन्, त्यसैले सुत्रहरू जानेकै थिएनौँ।

हामी त्यो अचम्मको स्कुलमा विद्यार्थी थिएनौँ, साधक थियौँ। हरेक आइतबार राष्ट्रिय गानपछि आचार्यलगाएतका गुरुहरूले ध्यानमन्दिर भन्ने गरेको बिचको ठूलो कोठामा धर्मचक्र सुरु हुन्थ्यो। सबैभन्दा पहिला प्रभात संगीत अनि किर्तनका साथ लतिका मार्मिका:। पार्वतीको नाच भनेर गुरुहरू हामी सब भुराभुरीलाई किर्तनको लयमा पिटी खेलाएजसरी नचाउँथे। त्यस नृत्यपछि केही बेर आँखा चिम्लेर ध्यान गर्ने अनि अन्त्यमा गुरुमन्त्र। पालैपिलो आचार्य र गुरुहरू भुत्लोभाङ नबुझेका हामी केटाकेटीहरूलाई १०-१५ मिनेटजति धर्म के हो, धर्मको रक्षा कसरी गर्नु पर्छ, धर्मका दुश्मन कसरी चिन्ने- यस्तै यस्तै भाषण दिन्थे। त्यसपछि बल्ल हाम्रो मनको कुरा आइपुग्थ्यो।

सदाभन्दा अलिक बिशेष खाना। ध्यानमंदिरको जुटको कार्पेटमा पिँडुलामा कोठे छाप परुन्जेल पलेँटी कसिन्थ्यो र मस्तले बजाइन्थ्यो प्रसाद। यस्तो रमाइलो स्कुलमा पनि एकादशी-एकादशीमा चैँ प्राय विद्यार्थीको टाउको दुख्थ्यो, या छेरपाटी चल्थ्यो। कसैको मामाको बिवाहमा धुलाबारी जानुपरेको हुन्थ्यो त कसैको आमासंग अस्पताल। येनकेन प्रकारेण छुट्टीको बहानाको ताकमा हुन्थ्यौँ हामीसब। कारण प्रस्ट थियो, स्कुलमा हरेक विद्यार्थीले एकादशीमा अनिवार्य बर्त बस्नु पर्ने नियम। झन् आचार्यहरू त औँसी र पूर्णिमामा पनि उपवास बस्थे। अनि त्यो उपवासी औँसी र पूर्णिमामा गुरुहरू आचार्यसंग मिलेर अद्भुत तरिकाले नाच्थे। एउटा खुट्टा उचालेको महादेवको मुर्तिलाई नमस्कार गरेर नाचिने ताण्डव नृत्य साँच्चै नै डरलाग्दै हुन्थ्यो। एकथरि छेउमा ढोल, हार्मोनियम, खैँजडीआदि बजाउँथे र गुरुहरू उफ्री उफ्री नटराज बन्थे। हामी डराएरै तालीको ताल दिन्थ्यौँ।

आँप र रुख कटहरका रुखैरुखले घेरिएको त्यो हरियो टिनको छानो भएको स्कुलमा टाउकामा ठूल्ठूला फेटावाल बंगाली र पंजाबी गुरुहरूबाट आफ्ना संतानले के कस्तो पढ्दैछन्, सायद अविभावकहरूलाई त्यति चासोको बिषय पनि थिएन। हामी क ख पनि सिक्थ्यौँ, ए बी सी डी पनि जान्दैथियौँ अनि धर्मका कुराहरू पनि सिक्दैथियौँ । धर्मको रक्षाका लागि गुरुले तरवार घुमाएको पनि रमाइरमाई हेर्दै थियौँ। ताण्डव नृत्यका बेला हरेक गुरुसंग हुने लठ्ठीबाट एक्कासि निस्किने लामो चुप्पीसंग समेत अभ्यस्त हुँदैथियौँ।
सब ठीकै थियो।

अनि एकदिन भद्रपुरे त्यसै बौलाए।
‘त्यो आनन्दमार्गीमा त ती फेटावालहरूले बच्चाहरूलाई तरवार देखाएर तर्साउछन्’।
‘त्यहाँ त कालाजादुले भुराभुरीलाई लठ्याएर एकोहोर्‍याउछन् र पछि बंगालका नक्सलवादी र पाकिस्तानका मुसलमानसंग लड्न पठाउछन्’
‘हाम्रो किस्ने लडेछ अनि उसको औँलाबाट आएको रगत त त्यसको सरले मुखैले चुसेछ। तिनीहरू त पक्का तान्त्रिक हुन्’
‘फेटा त झुक्याउन ला’का रैछन्। वास्तवमा त अघोरी बाबा बनाउने चाल पो गरेका रै’छन्’
भद्रपुर भिड बन्न बेर लागेन। हामी मध्ये केही विद्यार्थी नै त्यो भिडका साक्षी बनिदियौँ। भिडका अगुवाहरूले निर्णय गरे, ‘त्यस्ता तान्त्रिकहरूकोमा बच्चा पनि पढाइदैन, भद्रपुरमा बस्न पनि दिइँदैन’।

भोलिपल्ट धर्मसभा सकिनेबित्तिकै जगन्नाथ मिलतिरबाट भद्रपुरेको हुल स्कुलतिर आयो। अलिअलि गाइँगुइँ सुनेर होला, आचार्य केही दिनअगाडि नै सिलिगुडीतिर गएका थिए। स्कुलतिर बढ्दै गरेको भिड देखेर गुरुहरू डराएर घोडामारातिर भागे। हामी भुराभुरी बरण्डामा निस्कियौँ, तमासा हेर्ने बालसुलभ ईच्छाका साथ।

तीन-चारजना दाइहरूको अगुवाईमा भिड स्कुल पस्यो। स्कुलका कोठाबाट जसले जे भेट्यो च्यातचुत, भाँचभुँच पारेर बाहिर फाल्न थाले। एउटा सिकुटे मान्छे म उभिएको ठाउँको छेवैमा आएर आचार्यको कोठाको ढोकामा लात्ता बजाउन थाले। अरुहरू पनि मिसिए र ढोका फोरे। हुल भित्र छिरेर भएभरका सामानहरू बाहिर हुर्‍याउन थाल्यो। ‘ढोकाफोड’ युवकले सरकार गुरुको फोटो आँगनतिर फालिदिए। हिजोसम्म रमाइरमाई पढेको स्कुलमा ब्रह्मलुट मचाउन हामी साधकहरू पनि के कम थियौँ र। अलिक ठूला कक्षाका साधकहरू कसैले ‘आनन्द शुत्र’ च्याते त कसैले खैँजडी भाँचे, कसैले ग्लोबलाई भकुण्डो खेले त कसैले भकुण्डोलाई आफ्नै घरतिरको बाटो देखाए। हामी सानाहरू चाहिँ तमासैमा मख्ख पर्‍यौँ। त्यसैबेला ती ख्याउटे नेता आचार्यको कोठाबाट बाहिर निस्किए। दाहिने हातमा नटराजको मुर्ति लिएर बाहिरिएका तिनलाई देखेर म चिच्याएँ।
“हाम्रो ताण्डव भगवान!”
नेता दाइले अलिक चकित हुँदै मलाई हेरे। रिसाए। पहिला त हातको नटराजलाई बेस्मारी रुखकटहरको बोटतिर हुर्‍याए अनि मलाई कस्सिएर एक लात्ता जमाए। हाम्रा नटराज आकासमार्गबाट र म ढुन्मुनिँदै स्थलमार्गबाट करिव करिव एकै ठाउँमा पुगेछौँ। रुखकटहरको फेदको गिलो भुइँबाट म उठ्दा भुइँमै पिँडुलाको छाप परेछ, स-साना कोठाहरू परेका। माथि हाँगामा उल्टो परेर बिस्तारै हल्लिरहेका नटराजलाई हेरेर म बिदा भएँ।

भोलिपल्टदेखि झापामा प्रचारको पहिलो अभियानस्वरुप खुलेको आनन्दमार्गी स्कुल बन्द भयो। रहलपहल फेटावालाहरूलाई भद्रपुरले खोजिखोजी लखेट्यो। हामीलाई पनि तीन-चार महिना स्कुलै जानु परेन। दिउँसो फोकटमा खान पाइने दुध, खीर, हलुवा र अरु मीठाईहरूले समय समयमा थकथक्याउदै थिए। अजिँगरको आहार दैवले पुर्‍याउँछ भनेजसरी नै श्री ५ को सरकारले त बालमंदिर पो खोल्दियो, आनन्दमार्गी स्कुलमा।

फेरि दिउँसोको खाजाको लोभमा हामी बालमंदिर जाने भयौँ। तर त्यहाँ एक कक्षा थिएन। खालि शिशुमात्र। आमाले म र दिदी दुवैलाई घटुवा गरिदिनुभयो। खीर खान हामी पनि बिना कचकच त्यै शिशु कक्षामा भर्ना भयौँ। आमाहरू दंग पर्ने कारण अर्को पनि पो रहेछ। दश बर्षमुनिको एउटा बच्चा बराबर महिनाको एकपटक एक किलो पाउडर दुध समेत बाँड्नेरहेछ, हाम्रो बालमंदिरले। दिदी र म- आमाले नै दुई किलो पाउडर दुध पाउने हुनुभयो। अरुहरूले पनि सके आफ्ना, नसके अरुका बच्चालाईसमेत आफ्ना बनाएर दुध लिने अक्कल लगाए। म पनि आफ्नी आमाको छोरामात्रै भइन, शान्ता दिदीको एउटै छोरो अनि जमुना काकीको माइलो छोरो पनि बन्दिएँ।

त्यस्तो ब्रम्हलुटमा दुध बाँडने काम के टिक्थ्यो र ! एक बर्षैमा ‘पाउडर दुध युग’ सकियो। दुध नपाउने भएपछि पाँच बर्ष पुगिसकेको कान्छोलाई कसले बालमंदिर पढाइराख्छ र?
यसरी थरिथरिका स्कुल चहारेपछि म तीन नंबर स्कुलमा भर्ना भएँ।
कक्षा: एक
रोल नंबर: छब्बीस।
*

Wednesday, April 4, 2018

भूमिपुत्र

10:33 PM 7


हरेकपटक स्कुलमा लामो बिदा हुनेबित्तिकै हामी मावलको मेजमानी खान भद्रपुरबाट चार कोस पश्चिमको राजगढतिर लाग्थ्यौँ । बेलुकाको खाना खाइसकेपछि हामी भुराभुरी हजुरबाको वरिपरि झुम्मिन्थ्यौ । गर्मीका रात माथि बार्दलीमा जमघट हुन्थ्यो । हाम्रा हजुरबा टिनको छानामा कराइरहेको झरीलाई पनि जित्‍ने स्वर निकालेर हामीलाई कथा भनिदिनुहुन्थ्यो । उहाँको धाराप्रवाह कथावाचनलाई बेलामौकामा मच्छड मार्दाको प्याट्ट प्याट्टले मात्र अल्मल्याउँथ्यो । जाडोको छुट्टीका बेला भने केटाकेटीहरूको बढदो उत्सुकताबाट हौसिएर हजुरबा आँगनमा सालको आँख्ला परेको गिँडमा जिउँदै रहेको आगोको बिउलाई ससाना झिक्रा र घुर मिसाएर बिउँताउनु हुन्थ्यो, फूऽऽऽ फूऽऽऽऽ । सालका जरा र घुर मिसिएर पुत्पुताउँदै गरेको धुँवातल दुई-चारपटक जोडले फुकेपछि  सानो ज्वालो देखिन्थ्यो । अनि ‘सिउऽ सिउऽ‘ गर्दै त्यही मरन्च्याँसे ज्वालामा एकछिन हात सेकेपछि हजुरबा सन्तुष्ट देखिनु हुन्थ्यो । केही सुकेका झिक्रा थपथाप गर्दै हामीलाई कथा सुनाउन लेघ्रो तान्नुहुन्थ्यो ।

वर्षौँसम्म हिउँद-बर्खै सुनाउँदा पनि हजुरबाको कथाभण्डार रित्तिँदैनथ्यो । एउटा कथा चाहिँ पटक-पटक दोहोरिए पनि हजुरबाको कथा भन्ने शैली र हरेकपटक केही थपथाप गर्ने बानीले गर्दा हामी पनि त्यो पहिल्यै सुनेको कथा पनि नयाँ मानेरै सुनिदिन्थ्यौँ, बडो चाखले ।

अँऽऽऽऽऽ !
उहिले उहिले उहिले, द्वापरयुग सकिनेबित्तिकै भारतबर्षको गंगातटको मैदानको कुनै गाउँमा जन्मे-हुर्केका एकजना ज्ञानी पुरुषलाई कलियुगका बारेमा गहन अध्ययन गर्न मन लागेछ । उनी हिमालय पर्वतमा गएर अध्ययन र चिन्तन मनन गर्न भनेर मुनिभेषमा उत्तर दिशातर्फ लागेछन् । जाँदा जाँदा जाँदा एकदिन एउटा नदी पहाडको खोँचबाट निस्किएको ठाउँमा आइपुगेछन् । नदीको कलकल, दुवैतिरका घना जंगल अनि फलफूल र कन्दमूलको त भण्डारैजस्तो त्यो ठाउँ ती मुनिलाई निकै नै रमणीय लागेछ । अनि उनी केही दिनका लागि त्यसै नदीको पश्चिमी तटनजिकै एउटा कुटी बनाएर बसेछन् । उनी अधिकांश समय ध्यान, पूजापाठ र भक्तिमै दिन बिताउँदा रहेछन् । त्यस्ता ज्ञानी मान्छेलाई गुरु थापेर शिक्षा लियो भने यो इहमात्रै होइन, परलोकै समेत सुध्रिन्छ भन्ने हल्ला चारैतिर फैलिएछ । त्यसैले वर परका मान्छे शिष्य बन्न आउन थालेछन् ।

ती मुनि बेलाबेलामा भने उनी अनौठा अनौठा प्रयोग गर्ने र त्यसबाट आफूले थाहा पाएका कुरा भोजपत्रमा लेख्ने काम पनि गर्न थालेछन् । एकदिन ती महात्माले आफ्ना शिष्यहरूलाई नदीको किनारामा एउटा ठूलो खोर बनाउन लगाएछन्, बीचमा एउटा काठको सिँढी समेत हालीवरी । छेवैको रूखको सियालमा आफू बस्ने व्यवस्था गरेर शिष्यहरूलाई अह्राएछन्, ‘जाओ, उताको जंगलबाट एक हुल बाँदरहरू समातेर ल्याओ !’
शिष्यहरूले पनि आज्ञा शिरोपर गरेछन् । मुनिले बाँदरहरू ल्याइनु पूर्व नै खोरको छतमा एकघरी केरा पनि बाँध्न लगाएछन्, सिँडी चढेर भेटिने ठाउँमै । शिष्यहरूले पनि जंगलबाट पाएसम्मका जात-जातका खोजेर बाह्र-पन्ध्रवटा बाँदरहरू ल्याइपुर्‍याएछन् । मुनिले तीमध्ये दशवटालाई छानेर खोरमा थुन्न लगाएछन् र बाँकीलाई जंगलमै छाड्न लगाएछन् । अनि त शिष्यहरूलाई ‘यसो यसो गर्नु है’ भनेर अह्राईवरि उनी ती बाँदरहरूको गतिविधिको विवरण लेख्‍न बसेछन् ।

केही क्षणपछि एउटा बाँदरले छतको केरा देखेछ । स्वाभाविक कुरो थियो, देखेपछि त्यो बाँदर केराको लोभमा सिँडी चड्नु । त्यसपछि त मुनिका शिष्यहरूले तुरुन्तै पिँजडाभित्रका सबै बाँदरहरूलाई ठिहिर्‍याउने चिसो पानी छ्याप्न थालेछन् । बाँदर एकैठाउँ भेला भएछन् । सिँढी चड्दै गरेको बाँदर पनि लुगलुग काम्दै बथानमा मिसिएछ । केहीबेरपछि अर्कालाई पनि केरा खान मन लागेछ । तर ऊ पनि सिँढीको खुड्किलो उक्लिन के  खोजेको थियो फेरि सबैलाई चिसो पानीले निथ्रुकै पारिएछ । एवं रितले चार- पाँच पटक भिजेपछि उनीहरूले बुझेछन्।
‘केराको लोभ गरेर  जसले सिँढी चढ्न खोजे पनि सबैले दु:ख पाउँदा रहेछन् ।’

अनि उनीहरू सिँढी चढ्नु त परै जावस्, त्यतातिर हेर्न पनि छाडेछन् ।
मुनि लेख्दै गएछन् । विचार गर्दै गएछन् ।
‘जाओ, फेरि त्यो पारिको वनबाट एउटा बाँदर पक्रेर यहाँ हुलिदेओ अनि एउटा पुरानोलाई यतापट्टीको जंगलमा छाडिदेओ !’ उनले अर्को आदेश दिएछन् ।

शिष्यहरूले फेरि पनि पहिले जसरी नै आज्ञा शिरोपर गरेछन् र पिँजडाको छेउमा चिसो पानीको भाँडो लिएर बसेछन् ।

अब त्यो नयाँ बाँदरले पनि केरा देखेछ । उसलाई पनि केरा खान मन लाग्नु स्वाभाविक नै थियो । ऊ पनि सिँडी समात्‍न पुगेछ । तर अचम्म ! उसलाई नौवटै बाँदरले झम्टेर सिँडीबाट तानेछन् । लछारपछार पारेछन् । पिटेछन् । चिथोरेछन् । नयाँ बाँदर रनभुल्ल परेछ । आफूलाई त्यस्तो गरिंदैछ भन्ने उसले बुझ्नै सकेनछ । केहीबेर सुस्ताए पछि उसले विस्तारै कहिले अरू बाँदरतिर त कहिले केराको घरीतिर हेरेछ । लोभले फेरि जितेछ र ऊ फेरि सिँडीतिर लम्किएछ ।
तर उसले फेरि पनि गोदाइ नै खाएछ र केरा खान पाएनछ । एवं रितले दुई-चारपटकको भकुराइपछि बल्ल चेतेछ ।
‘सिँडीतिर गइयो भने बर्बाद हुन्छ ।’
त्यो अद्‍भुत प्रयोगको अभिलेख लेखिरेहका ऋषीले शिष्यहरूलाई फेरि अह्राएछन्, ‘फेरि एउटा पुरानो बाँदरलाई पश्चिमतिर छाडेर नदी पारिबाट नयाँ बाँदरलाई पक्रेर ल्याएर पहिला जसरी नै थुन ।’

शिष्यहरूले गुरुले भने बमोजिम नै गरेछन् । नयाँ बाँदर पनि केरा देखेपछि लोभिएछ । अनि सिँडीतिर लम्किएछ । पुराना आठवटै बाँदर झम्टिएछन् । नवौँ, अर्थात् ऊभन्दा अगाडि ल्याइएको बाँदर शुरुमा त अलि अलमलिएर अरू आठवटाले नयाँ बाँदरलाई पिटेको हेरिरहेछ ।
अनि अचम्मसित ऊ पनि हुलमा मिसिएर त्यो सिँडीतिर लम्किने  नयाँ बाँदरलाई कुट्न थालेछ । उसलाई केरा खान खोज्दा पहिलो, दोस्रो बाँदरले कुटाइ खाएको प्रसङ्ग थाहा थिएन । आफूले किन कुटाइ खाएँ र यो नयाँले किन कुटाइ खाँदैछ भन्ने पनि थाहा थिएन । तर पनि उसले पनि नयाँ बाँदरलाई पिटेछ । 
मुनि मुसुक्क मुस्कुराएछन् । फेरि भोजपत्रमा केही लेखेछन् र उसैगरी शिष्यहरूलाई अह्राएछन्, ‘पुरानो एउटालाई पश्चिमतिर छाडेर पूर्वबाट नयाँ ल्याएर थुन्नू !’
यही प्रयोगलाई फेरि फेरि दोहोर्‍याउँदै बिस्तारै त्यस खोरबाट पुराना सबै बाँदरहरू अर्कै जंगलमा पुर्‍याइएछन् । पिँजडामा नयाँ बाँदरहरू मात्र बाँकी भएछन् । ती मध्ये कुनैले पनि ठिहिर्‍याउने पानीमा भिज्नुपरेको थिएन । कसैलाई पनि थाहा थिएन, एउटाको केरा खाने लोभले सबैलाई कसरी सताउँछ भन्ने ।

तर पनि कुनै बाँदर सिँडी चढ्न लम्कियो कि बाँकी सबै मिलेर त्यसलाई भकुर्न थालेछन् । मुनि यो देखेर दङ्ग परेछन् । उनले मन्द मन्द हाँस्दै भोजपत्रमा लेख्‍ने काम सकेछन् । आसनबाट उठेर नदीसम्म गएछन् । बगर मा उम्रिएको एउटा सिरुको पात टिपेछन् । अलिक मधुरो स्वरमा मन्त्रोच्चारण गरेर त्यो पात नदीतिर हुर्र्याएका मात्र के थिए, नदीमाथि डोरीको पुल बनेछ। अनि फर्केर बाँदरहरूलाई पनि त्यसैगरी मन्त्रिएर खोरको ढोका खोलिदिएछन् । बाँदरहरू सम्मोहितजस्तै भएर खुरुखुरु नदीतिर लागेर डोरीमा झुण्डिएछन् । शिष्यहरू पनि गुरुको चमत्कार देखेर दङ्ग परेछन् ।

अझ ठूलो चमत्कार त बाँकी नै रहेछ । जसै ती बाँदरहरू नदीमाथि डोरीमा झुण्डिएर नदीको पल्लो किनारातिर पुग्न थाले उनीहरूको पुच्छर पनि फुतुफुतु खसेछ । झन् किनारैमा पुग्दा त शरीरका रौँ पनि खस्न थालेछ । अन्तिम बाँदर पारि पुग्नेबित्तिकै उनीहरू तरेको डोरीपनि उनीहरूको पुच्छर जसरी नै हराएछ ।

अनि ती बाँदरहरू मानिसका रूपमा विकसित भएछन् । ती मुनीले पनि भोजपत्रमै एउटा शोधग्रन्थ तयार पारेछन् । स्वाभाविक थियो, कालान्तरमा त्यो नदीको पूर्वपट्टिको देश तिनै मुनीको नामबाट चिनिन थालेछ ।

**

Thursday, March 29, 2018

Redemption of Hippie trail

10:52 PM 2



The United States and Australia already legalized Marijuana. Some of the National newspapers are deliberately raising the issue and putting a pressure on government to legalize it here in Nepal also. Every fortnight there are either interviews of some Aurvedic professors talking about medicinal values of Marijuana or wise souls giving the data on how many patents we lost as they were already registered by westerners or even some botanists giving us knowledge on better quality of highland weeds with their scientific names and shapes.

Cannabis sativa. Cannabis landraces. Cannabis indica. Cannabis Nepalese. Cannabis Nepalese dragon.

I still remembered my childhood classmate, Sohanlal. In dew seasons, right after Dashain and Tihar, I usually witnessed him running through his father’s farm in a thin underwear.
‘Don’t repeat the same course! Don’t fall!’ His father constantly shouted while poor chap ran through the thick bushes of sacred and secret crops hidden from the world by vast maize field.
Half an hour would have passed easily and panting for a breath Sohanlal would be standing by his father. Uncle would have used his blunt knife to extract as much the resin from his son’s skin as possible.
‘It is expensive. You know hippies? They like it so much.’ Whipping red spots in his skin with local butter he would have explained me later. Though we both were unaware of the product and its effect we enjoyed our naive conversations. Probably few more coins what he pocketed were enough to buy us more Singadas! Or rather marbles!

And now, it seems that in no time Nepal will legalize Marijuana.

Once grass will be legal, how can running a naked boy in that grassland will be illegal?

So, Uncle will be here.

Sohanlal will be here.

Grass will be here.

Cannabis resin will be here.

Hash will be here.

Overland trail was just tested by outgoing German Ambassador.

Jhonchhe is still called Freak Street.

Monkey temple is still a popular habitat for primates.

Why Hippie era not to revamp?

************

Tuesday, March 20, 2018

वर्जित विचार

8:43 PM 2



म मरेर बाँचेको रे। आमा सुनाउनु हुन्थ्यो सात-आठ महिनाको वहाँको कान्छो छोरो झाडापखालाले अब आज राति जान्छ भनेर खाटबाट तल मलाई लिएर सुत्‍नु भएको थियो। भोलिपल्ट बिहान म खाटमुनि फेला परेँ रे निस्लोट आँखा अलिक चम्किला भएको। अनि म बाँचे रे। र त्यो बचाइले आमाको प्यारो बनायो। अलिक ठूलो भएपछि त्यही मायामा अलिकति चलखेल गर्न पाएँ। दाइले केही दिनुभएन भने म रुँदै आमाअगाडि पुग्थेँ र दाइले पिट्नु भयो भन्दिन्थेँ। दाइले कुचाले दनक भेट्दा दंग पर्थेँ पनि। सायद एघार-बाह्र बर्षजतिको उमेर पुगेपछि आमालाई अब यो मर्दैन भन्ने पनि भयो वा मेरो अतिरञ्जना आमाले बुझ्‍नथाल्नु भयो। मेरो रुवाइमा दाइले पिटाइ भेट्न छाड्नु भयो र बदलामा अब दाइले स-साना कुरामा पिट्न थाल्नुभयो।

हुन त माथिको सानो कथा लेख्‍दै गर्दा मलाई थाहा छ भरे नै कतिजनाबाट 'थुक्क! तँ त मरेकै भए जाति हुन्थ्यो' भन्ने प्रतिकृया आउने नै छ। तर पनि मनमा लागेका केही कुरा लेख्‍न यो कुथुरी जरुरी ठानेँ र लेखेँ पनि। मन नहुनेले यसभन्दा अगाडि पढेर बेकारमा आफ्नो उर्जा मलाई गाली गर्नमा खर्च गर्नु हुन्न भन्नेमा उहाँहरूको विद्वतालाई ध्यानमा राख्दा अतिसयोक्ति नहोला।

म एक साधारण मान्छे अझ भनौँ मानसिक र शारारिक श्रम गरेर जीविका चलाइरहेको एउटा आम नेपाली। न म आफूलाई विद्वान ठान्दछु न त कहिल्यै त्यसमा दावी नै गरेको छु। म मलाई मनमा लागेका केही कुराहरू हाकाहाकी भन्न रुचाउने स्वभावको भएँ। त्यसमा केही 'नभनेको भए के बिग्रिन्थ्यो' भन्ने लाग्छ पनि तर स्वभाव एकदिनमा नबदलिने रहेछ। अब त आफ्नै स्वभावको पनि आदत लागिसक्यो। हरेक कुरामा तपाईँ जे देख्‍नुहुन्छ, जसरी विश्लेषण गर्नुहुन्छ अर्काले पनि अझ सबैले त्यसरी नै देखुन् वा बुझुन् भन्ने सोच अतिवादी हो भन्ने लाग्दछ र म कुनै पनि आवरणको अतिवादको पक्षपोषण रुचाउन्न।

मधेस आन्दोलन भयो। पहिलो र दोस्रो आन्दोलनका मागमा त्यति विमति थिएन र प्रश्नहरू पनि थिएनन्। मेरा केही अग्रज र मित्रहरू नाकाबन्दीका पक्षमा धर्ना दिन वीरगंज जानुभयो। त्यो वहाँहरूको विचार र धारणा थियो। टिकापुरमा पुलिस मारिए। मलाई गलत लाग्यो। वीरगंजमा आन्दोलनकारी मारिए। मलाई गलत लाग्यो। अनि लाग्यो यो आन्दोलनको मागबारे विचार जरुरी छ। मैले मधेस आन्दोलनका माग, संविधान, राजनीति र राजनीतिक भविष्यबारे आफ्ना विचार राखेँ।

बल्ल थाहा पाएँ यो विचारको निषेध।

म रातारात गालीको पात्र बनेँ। मैले न कसैलाई मेरा विचारका अनुयायी बनाउन चाहेको थिएँ न मेरा कुरामात्र ठीक हुन् भनेर दावी नै गरेको थिएँ। ईतर विचार र प्रश्न सुन्नै नचाहने जमात हामीमाझ छ भन्ने त्यहीबेला जानियो।

मधेस मुद्दासंगै आरक्षणका कुरा स्वभाविकरुपमा आउने नै भए। म प्रष्ट थिएँ कि जातीय र लैङ्गिक आरक्षणले तत् तत् क्षेत्रका ठालुहरूले मात्र 'तर' मार्छन् र पछि परेका/पारिएका वर्गको उत्थान हुन्न। यो बाटोको कुप्रयोगले संसदमा बारम्बार दोहोरिने अनुहार, मधेसी आरक्षणबाट आउने उही जातका मानिस, जनजातिमा नेवारको वर्चस्व र लोकसेवामा लगभग सबै खस-आर्य महिला मलाई सही लागेनन्। आरक्षण जातीय वा लैङ्गिकभन्दा पनि वर्गीय हुनुपर्दछ र जाजरकोटको प्रजिअ रामानन्द झाका छोराले भन्दा उनको आवासमा भात पकाउने कार्यालय सहयोगी चक्र बहादुर शाहीको छोराले आरक्षण पाउनुपर्दछ भन्न धक लागेन न त राष्ट्रपतिको जानकी मंदिर भ्रमणपश्चात गरिएको शुद्धिकरण गलत भन्न।

तर फेरि ईतर विचारलाई आक्रमण गरियो। अनि मधेस मुद्दाभन्दा पनि त्यो मुद्दा उठाउने अगुवाबारे जानी नजानी ममा एउटा धारणाको विकास भयो। मलाई विदेशमा संधै 'तँ भारतीय होस्' भनेरै सोधे। अझ खप्तड वा सोलु वा अन्यतिर पनि घुम्‍न जाँदा भारतीय ठानेर हिन्दीमा होटेलमा सोध्‍नु सामान्य मानियो। अमेरिकी दाइलाई अझ पनि कहाँबाट आएको भनेर सोध्छन् रे। तिब्र प्रतिवाद गर्ने जरुरी ठानिएन र कसैले गरेमा अलिक 'अतिरञ्जित' भयो कि भन्दा ठूलै गल्ति गरिएको ठान्दिन पनि। म 'मोरल पोलिसिङ' गर्ने ठेकेदारी कसैमा छ भन्ने ठान्दिन नै।

अब महिला अधिकारका कुरा।

म घरमा श्रीमतिलाई प्राय भनिरहन्छु, त्यो 'सावधान इण्डिया'जस्तो कार्यक्रम नहेर। सावधानी अपनाउनु एउटा कुरा हो, अपनाउनु पनि पर्छ नै। तर यो कार्यक्रम हेर्‍यो भने तिमी डरले मर्छ्यौ। गेट खोलेर मार्न आउलान् कि, बाटोमा छेउमा कुदिरहेको मारुति भ्यानको ढोका खोलेर अपहरण गर्लान् कि, पानीमा बिष हालेको छ कि..... के के मा डराउने? छोरीलाई त अझ परिपक्व नहुँदासम्म दिनहुँ छापामा आउने हत्या, बलात्कार र हिंसाका कुरा पनि त्यत्ति नपढ भन्छु। हो! समाजमा त्यस्ता कुत्सित मानसिकताका मानिसहरू पनि छन् तर 'कम' छन् र त बस्‍न योग्य छ। दिनहुँ त्यही कुरा मनमा लिएर मेरी छोरीले बाटामा हिंड्ने हरेक लोग्‍नेमानिसलाई देख्‍नेबित्तिकै उनको मनमा संभाव्य बलात्कारीको छवि नबनोस् अनि माइक्रोको छेउमा बस्‍ने हरेक पुरुषको काम नै तिघ्रा चिमोट्ने हो भन्ने विचार लिएर यो समाजमा नआओस् भन्ने अदम्य चाहना छ। त्यस्तै हजुरबाका पालामा हजुरआमा भुइँमा गलैचामा सुत्‍नु हुन्थ्यो भनेर आफ्नो श्रीमानलाई महिनाका चारदिन भुइँमा सुत्‍न बाध्य पार्ने चैँ नबनोस् भन्ने पनि त्यत्तिकै चाहना छ।

मेरा एक मित्र सदा भन्नुहुन्छ, तपाईँ र म त छोरीका बाउ, कसरी महिलाविरोधी हुन सक्छौँ र? चाहेर पनि सक्दैनौँ नि। हो पनि। म मेरी छोरीले यो देशमा सबै सुख पाउन् र कुनै पनि रुपको भेदभाव देख्‍नु-भोग्‍नु नपरोस् भन्ने चाहन्न र? म छुवाछुतको विरोधी हुँ र रजस्वलामा पूजाकोठासमेत बन्देज लगाउन्न पनि। मैले मेरी दिदीलाई कहिल्यै सोध्‍ने आँट गरिन, 'यदि आमा-बुबाले तिमीलाई पनि डाक्टर, इन्जिनियर वा वकिल बनाउने सपना देखाउनु भएको भए तिमी राम्ररी पढ्थ्यौ कि नाई?' तर त्यो नसोधिएको प्रश्न मेरी छोरीलाई 'तिमी जे बन्न मन छ बन, म छु' भन्ने रुपमा मनबाट निस्किएको छ।

एकपटक कुनै व्यङ्ग चित्रकारले हाम्रा मेयरको महिला वस्त्र लगाएको कार्टुन बनाए। कार्टुन किन बनाए त्यो उनै जानुन्। कोरिया वा अमेरिकाका शासकका त्यस्ता आवरणका कार्टुन पहिला पनि देखिएकै हो र कपिल शर्माले पुरुषलाई महिला बनाएर मजाक उडाएकामा हाँस्‍ने जमात ठूलो छ भनेर जानेको पनि निकै भयो। हो, काम गर्न नसक्ने त नामर्द त हुन् नि र हामी नामर्द हौँ भनेर कतै कुनै महिलाले लेख्‍नु भयो। मैले पढे-जानेअनुसार काम गर्न नसक्ने, लडाइँमा भाग्‍ने पुरुषलाई तँ लाछी, तँ नपुँसक भनेर चुरा वा सारी पठाइन्थ्यो रे। त्यसो गरेर उसलाई महिला भइस् भनेको भन्दा पनि तँ किन्नर (यो शब्द अझसम्म पोलिटिकल इन्करेक्ट भएको जानकारी भएन) भइस् भनेको रे। पुरुषले महिलाको पहिरन लगाए ऊ तेस्रोलिङ्गी (सायद यसै भनिन्छ होला, यसमा मेरो जानकारी कम भएकाले सम्बद्ध पक्षमा पर्न जाने अपमानका लागि क्षमा माग्दछु) हुन्छ न कि महिला। नामर्द भनेको किन्नर भइस् भनेर गाली गरेको हो न कि महिला र यो मुद्दा अब महिला अधिकारवादीले भन्दा पनि किन्नर अधिकारवादीले उठाउनु पर्दछ र यसमा उनीहरूको आपत्ति जायज छ भनेर लेखेको थिएँ। के किन्नर र महिला फरक हैनन् र? त्यसरी काम गर्न नसक्ने भनेर कुनै पुरुषलाई तेस्रोलिङ्गी बनाइएकामा आपत्ति उनीहरूबाटै आओस् न कि 'नबनाइएका' महिला बनाइयो भन्दै महिला अधिकारवादीबाट भन्नु कताबाट गलत थियो, आजसम्म बुझेको छुइन। फरक विचार हुन पाउँछ र मन नपरेका कुरा पढ्नै पर्छ भन्ने पनि नहोला। तर किन हो, एकजना स्वनामधन्य महिला अधिकारवादी महिलाले घृणाको थुक मुखैमा थुक्नु भयो, छेउछाउमा थुक्ने सेनामेना त कति कति। चिकित्सक, बाहुन र पुरुष हुनुमा सायद त्यति गाली अझसम्म कसैले गरेका थिएनन्।

म त्यस दिनदेखि घटिया मानिसमा घटुवा भएँ।

फेरि केही दिनदेखि सञ्जालमा अर्को समाचार देखियो। नेपालगंजतिर कुनै महिला अधिकारको लडाइँमा पीडित छिन्। म पनि चाहन्छु कि उनले न्याय पाउन्। राम्रो होस् र फेरि यस्तो कहिल्यै पढ्नु नपरोस्। बस्, त्यहाँ लेखिएको 'बच्चालाई एक कक्षामा भर्ना गराउन धेरै स्कुल चहारेँ। .....। बाबुको फोटो टाँस्‍नै पर्ने रहेछ।' आसयका वाक्य मेरालागि नितान्त नौलो र अझ नेपालको कानूनअनुसार त पुरै अवैध थियो यो प्रावधान। आफ्नै घर सम्झिएँ। अहँ! मेरा बाको अनि मेरो फोटो टाँस्‍नु परेन। साथीभाइलाई सोधिहेरेँ, अहँ, उनीहरूले काठमाण्डौँमा पनि टाँसेनछन्। अनि नेपालगंजका सरकारी तथा निजी? सबैमा? सोधेजतिमा पर्दैन रहेछ। काठमाण्डौँमा पर्दैन अनि नेपालगंजमा पनि पर्दैन। कताका 'सबै' स्कुल हो थाहा भएन तर ती कतैका पनि होइनन् कि भन्ने लाग्यो नै। यो कुरा चैँ अलिक अतिरञ्जित, हावादारी वा बकम्फुसे भएन? यो फोटाको कुरा नलेख्‍दा के बिग्रिन्थ्यो होला? जायज मागमा यस्ता फुर्का जोड्दा के फाइदा हुन्छ, बरु जायज मागहरू नै ओझलमा पर्छन् कि भनेर सोधियो। दोस्रोपटक गल्ति गरियो। यसरी सोध्दा आकासै खस्दो रहेछ। जानिएन। यो त विल्कुल वर्जित प्रश्न रहेछ। जानिएन। र समवेदनाहीन, मुटुहीन, .... के के भइएन। फगत फोटा राख्‍ने प्रावधान छ त भनेर सोध्दा।

हालैको आक्रमण पुःन त्यही समूहबाट भयो। 'बाहुन पुरुष'ले यसभन्दा बाहेक के जान्दछ र भनेर गाली गर्नेहरूमा मभन्दा जान्ने बाहुन पुरुष पनि थिए। महिला र अन्यहरू नहुने त कुरै थिएन। आफ्ना कुरा र गाली सकिएपछि वा विवादमा अलिक कमजोर देखिएपछि सदाबहार अस्त्रजस्तै रहेछ यो शव्दावली पनि। अन्त्यमा काठमाण्डौँको भारतीय स्कुलको फारममा बाबुको फोटो लेखेको पन्नाले कुरा सकाइयो र भनियो, बहस समाप्त। त्यो फारममा फोटो नराख्दा नेपाली कानूनअनुसार भर्ना नलिँदोरहेछ भनेर सोध्‍न पनि पाइएन त्यो बहस समाप्तको नोटिसले। अनि काठमाण्डौँका अरु स्कुलमा पनि त्यस्तै छ भनेर सोध्‍ने हैसियत झन् समाप्त पारियो।

जायज मागका बिच यस्ता फुर्का जोड्नाले के फाइदा हुन्छ, बरु जायज कुराहरू ओझलमा पर्दछन् कि?' भनेर सोध्‍दा वा विचार राख्‍दा आकास खस्छ? सोध्‍नै नमिल्ने प्रश्न हो यो?

मेरा दुवैपटकका मूल प्रश्नका जवाफ कसैले दिएनन्। कोही म कहाँ गलत छु भन्न बताउन आएनन्। आए त बस् मलाई महिलाविरोधी परपीडकको लेबल लगाइदिएर थुक्न आए। सायद म यो कुरा बुझाउन सकिरहेको छुइन कि मेरो बालापनको अतिरञ्जनाले भविष्यमा मलाई नै पीडा दिएको थियो। हरेक आक्रमणले एकखालको वितृष्णा जन्माउने रहेछ र समभाव राख्‍ने तर प्रश्न गर्न पनि चाहने एउटा सानो तप्कालाई अधिकारका अगुवाहरूबाट टाढा लैजाने रहेछ। (यहाँ फेरि दोहोर्‍याउँ, अधिकारका अगुवाबाट भनेको छु, अधिकार चाहिने तप्काका मानिसबाट चैँ हैन नि)।

तपाईँहरू आफ्नाइतर विचार बोकेका सलमान रुसदी वा तसलिमा नसरिनलाई फतवा जारी गर्ने आतङ्ककारीभन्दा कसरी फरक हुनुहुन्छ? वा तपाईँ कतै आफूलाई मन नपरेका प्रश्नलाई मौत का घाट उतारिदिन चाहने विजेपीका तथाकथित गोरक्षक त बन्दै गइरहनु भएको छैन? मलाई डर यत्तिमा लागेको हो। यो डर यति गाढा भइसक्यो कि चुप बस्‍न स्रेयकर देखिंसकेँ। मणि भाइको ट्विट दिमागमा राखेर लेख्दैछु कि यो इतर विचार निषेधको क्लबले मेरो मुल्याङ्कन गलत र फगत गलतमात्र गर्नेछ। नो इन्ट्री मिन्स नो इन्ट्री!

मित्र, समवेदना मुटुमा हुन्न, मगजमा हुन्छ अनि गहिरो लेपभित्र मगजमा फोहोर थुपारेर कृतिम 'अच्छा' बन्न सजिलो छ न कि सबै फोहोर सफा गरेर 'औसत' बन्न। यहाँको विचारलाई वर्जित गर्ने न त मेरो विचार छ न त लड्न तम्तयार सेना नै!

Wednesday, February 28, 2018

वाम एकिकरणः सम्पन्न भइसकेको अपुरो घर

8:00 AM 0
वाम एकिकरणः सम्पन्न भइसकेको अपुरो घर?

स्वभाविकरुपमा हाम्रो हतपते गुणलाई झल्काउँदै प्रजातन्त्र दिवसको मध्यरात नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का बिचमा एकिकरणका प्रारम्भिक आधारहरू सार्वजनिक भए। यसै कुरालाई केही तप्काका मानिसहरू प्रेम सम्बन्ध स्थापित भइसकेको जोडीको प्रणयलाई विवाहमा परिणत भएको उद्घोष गर्न हतारिए भने केही फगत लिभिङ टुगेदरको अवस्थाकै निरन्तरताभन्दा अन्यथा मान्न तयार देखिएनन्।

केही दिनअगाडि नेपाली क्रिकेट टोलीले आफ्ना प्रतिद्वन्दीमाथि अप्रत्यासित विजय हाँसिल गर्यो त्यसले पुरानै भनाइलाई बारम्बार दोहोर्याई दियो कि क्रिकेटको अन्तिम ओभरको अन्तिम बल फाल्नअगावै परिणामको घोषणा गर्नु बेवकुफी हुनेछ। कता कता यो वाम-एकिकरणको प्रकरणले यो नियति नभोग्ला?  मनमा दीगो सरकार सम्बृद्धि भए पनिसमाजवादी विचारका दलहरूबाट शासित हुने इच्छा भए पनि अनि वामपन्थी धारहरू एकसाथ बगेको हेर्ने चाहना भए पनि एउटा सामान्य नागरिकका हैसियतले यस बहुप्रतिक्षित एकिकरण प्रकृयाको अन्तर्य बुझ्ने जमर्को गर्नु स्वभाविक बुझ्दछु, राजनीतिसंग गोरु बेचेको साइनोधरी नभए पनि।

बजारमुखी अर्थतन्त्रमा उत्पादनको विज्ञापनको जति महत्व हुन्छ त्यति नै सो उत्पादनको ब्राण्डको हुने गर्दछ। सहासीको चिनारी भनेर उपभोक्तालाई चुरोट बेचिरहेको उद्योगपतिलाई राम्ररी थाहा हुन्छ कि धुम्रपानले सगरमाथा चढाउन्न। मध्य मधेसमा पनि बेच्नुपर्ने तेलको नाम ढाकाटोपी राख्नु वा तनहुँतिर पनि बजार विस्तारको लक्ष राखेको तेलको नाम जय मधेस राख्नु आजको बजार विज्ञानले बुद्धिमानी ठान्दैन। उपभोक्ताहरूबिच अति नै ग्राह्य भएको नामलाई आफ्नो उत्पादनसंग जोड्दा व्यवसाय फस्टाउँदछ भनेर हरेक व्यापारीले बुझेकै हुन्छन्।

सगरमाथा र बुद्धपछि सबैभन्दा चल्तिका नेपाली ब्राण्ड कम्युनिज्म', ‘मार्क्सवाद', ‘लेनिनवाद' र ‘माओवाद' हुन् र तिनले सफलताको ग्यारेन्टी दिन्छन् भनेर दैनन्दिन देखे-भोगेका राजनीतिक व्यवसायीहरूले बुझिसकेका हुनाले नै नयाँ बन्ने दलको नाम र निर्देशक सिद्धान्त यिनै जादुइ नामहरूमा अडिएको छ। तर सार्वजनिक गरिएको आधारहरूको पहिलो बुँदाको एकिकृत दलको नामाकरणमा केही संशय देखिन्छ। निर्वाचन आयोगमा यसै नामबाट पहिलै दर्ता भइसकेकाले एकिकरणमा गइरहेका दलहरूले या त त्यस दलसंग ब्राण्ड भ्यालुको उचित मूल्य तिरेरै ‘नाम' किन्नु पर्ने हुन्छ या त अर्को कुनै ‘नेपाल', ‘कम्युनिस्ट', मार्क्सवादी', ‘लेनिनवादी' र यस्तै चल्तिका फुर्को जोडिएको नयाँ नाम जुराउनु पर्ने देखिन्छ।

त्यसै गरी शहरबाट गाउँतिर फैलाउने वा गाउँबाट घेरेर शहरमा आक्रमण गर्ने सशस्त्र क्रान्तिबाट साम्यवादमा पुग्ने एकल लक्ष नराख्ने हो भने कम्युनिस्ट नामधारी कम्पनीले आफ्नो उत्पादनको नाम मार्क्स वा लेनिन वा माओ जे राखे पनि त्यसले साम्यवाद परको कुरा, पूँजिपतिवर्गको स्वार्थरक्षामा दत्तचित्त रहन्छ भन्ने कुरा आजका दिनमा छर्लङै छ। देशकै सबैभन्दा धनाढ्यदेखि रातारात अकूत सम्पतिका मालिक बनेका दलाल पूँजिपतिहरूले मस्तले उपभोग गरिरहेको वामपन्थले कता डोहोर्याउँदैछ भन्न गाह्रो छैन। कालो धनलाई निर्वाध सेतो बनाउन साबुन लिएर बसेका वामपन्थी नेतृत्वबाट शिक्षा स्वास्थ्यजस्ता जनताका मौलिक अधिकारमा कस्तो समाजवाद हावी हुँदैछ भन्ने पूर्वानुमान तयार भइसकेको छ।

सो समझदारी पत्रको तेस्रोदेखि पाचौँ बुँदाहरू फगत पुरानै वामपन्थी जार्गनको पूनरावृति मान्न गाह्रो छैन। जनताको बहुदलीय जनवाद अनि माओवाद एक्काइसौँ शताब्दीमा जनवाद भन्ने सिद्धान्तबिचको प्रणयबाट कस्तो सन्तान जन्मिने हो भनेर आजका दिनमा ठोकुवा गर्न केपी कामरेड वा प्रचण्ड के स्वयं मार्क्स वा लेनिनसमेत अनुतिर्ण हुनेमा वामवृत नै आश्वस्त देखिन्छ। अझ अगाडि आएका एकिकृतरुपमा पार्टी संचालन गरिने कुरा समाजवादका आधारहरू निर्माण गर्ने कुराहरू सबैका लागि अमूर्त देखिन्छन्। यस अर्थमा आगामी निकैबर्ष सत्तामा रहने महत्वाकांक्षा लिएको गठबन्धनले एकताका लागि तयार गरेको यो आधारपत्रको औचित्य धरातल के हो भनेर विश्लेषण गर्नु अबको नेपाल निर्माणको आधारभूत मार्गदर्शन सिद्धान्तकै चिरफार गरेको ठहरिने छ।

राजनीतिक क्यारियरमा लगभग रजत जयन्ति मनाएका दाहाललाई दोस्रो पद कतैबाट पनि चाहिएको छैन। सेक्टर काण्डपछिका दिनदेखि निरन्तर सुप्रिमो बनेका प्रचण्डको बोली नै पार्टीको एकमत हुने गरेको विगत एवं वर्तमान प्रष्ट छ। उदाहरणका लागि कांग्रेस हाम्रो सबैभन्दा ठूलो दुश्मन शक्ति हो भन्दा समस्त दलहो' भन्ने हैन' भन्दा समस्त दलहैन' भन्ने बनाउने ल्यागत राखेका उनको दलीय प्रभूत्व अन्य निकैलाई स्वप्नसरह लाग्नु स्वभाविक नै हो। अझ आफ्नै अध्यक्षकालमा आफ्नै नामको मार्गदर्शक सिद्धान्तमा समस्त पार्टीपंक्तिलाई हिँडाउन सक्ने उनको अदम्य हैसियत लुब्धा उनीइतरका लागि सपनाको फल नै मानिन्छ।

कामरेड केपीका सन्दर्भमा समिकरण स्वार्थ सिधा छ। उनी बलियो नेकपा (एमाले) अविच्छिन्नरुपमा पाँचबर्ष प्रधानमन्त्री हुन चहान्छन्। यथासम्भव एकिकृत पार्टीको अध्यक्षसमेत आफैँ हुने उनको चाह कतै लुकेको छैन। तर लेनदेनको खेल विचित्रको हुन्छ। उमेर स्वास्थ्यका कारण ओलीलाई हतार अनि त्यसैमा खेल्ने छुट बाँकी सबैलाई।

केही महिनाअगाडि एकता घोषणाबारे गरिएको पत्रकार सम्मेलनमा कामरेड ओलीले भने, हामीलाई अध्यक्ष पदको लोभ छैन। हामी दुवै अध्यक्ष भइसकेका छौँ लगत्तै कामरेड पुष्पकमले पनि जोडे, हामीलाई प्रधानमन्त्री पदको लोभ छैन। हामी दुवै प्रधानमन्त्री भइसकेका छौँ' यसमा निहित अन्तर्य चाहिँ केपीले प्रचण्डलाई त्यसै पनि प्रधानमन्त्री भइहाल्छु, अब यो अध्यक्ष पदमा दागा नधर्नुस्' अनि प्रचण्डले चाहिँस्वत प्रधानमन्त्री बन्ने भएपछि चिची पनि मेरै पापा पनि मेरै नगर्नुस्' भनेको बुझ्नलाई कठिन थिएन। प्रचण्ड कतैबाट पनि दुईबर्षे प्रधानमन्त्रीबाट आफ्नो राजनीतिक क्यारिएर समाप्त गर्न चहान्नन् उनको अर्जुन दृष्टी केवल एवं केवल एकिकृत पार्टीको अध्यक्षको कुर्सीमा एकोहोरिएको छ। एकिकरणको आधारहरूमा हस्ताक्षर गरेको भोलिपल्टै चितवनमा प्रचण्डले पुरै पाँचबर्षका लागि प्रधानमन्त्रि केपी ओली नै हुन् भन्नु पनि यसैको निरन्तरताको रुपमा बुझ्न सकिन्छ।

हुन त स्वास्थ्यका कारण एक्कासि पर्न सक्ने चिठ्ठा पनि भलै दिमागको कुनै कुनामा लुकेको होला तर यति भन्न कुनै द्विविधा छैन कि प्रचण्डको सुषुप्त इच्छा सातोँ बुँदामा मुखारितीत भएको देखिन्छ। उनी कुनै पनि हालतमा चुनावी प्रतिष्पर्धाबाट अध्यक्ष बन्न चहान्नन। उनलाई राम्ररी थाहा छ कि ६०:४० को अनुपातमा कुनै एमाले नेतृले अध्यक्ष बन्ने चाहना राखेका दिन उनी अध्यक्ष चुनिने छैनन्। आगामी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपमा सम्पन्न गरेर निर्विरोध अध्यक्ष चुनिनु उनको एकल ध्येय हो। पार्टीको सर्वेसर्वा बनिसकेपछि सरकार र सबैभन्दा ठूलो प्रतिद्वन्दी कामरेड ओलीलाई अलोकप्रिय बनाउन उनले कुनै कसर बाँकी राख्ने पनि छैनन् नै। यसका लागि केही अवसरहरू गठबन्धनले गरेको चुनावी घोषणापत्रले नै उनलाई दिइसकेको छ। उनलाई पनि थाहा छ कि चीनिया चुच्चे रेलको सपना नै केही बर्षपछि पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका कामरेडओलीलाई असाध्य भारी हुने छ। केही अपवादलाई छाड्ने हो भने सामान्यतय :५० भन्दा बढिको कोणमा नबनाइने भारवाहक रेलका लिगहरू करिव ४००० मिटरको उचाईको केरुङबाट करिव १४०० मिटर उचाईको काठमाण्डौँसम्म सजिलै बन्ने देखिँदैन। अझ रुलिङ ग्राडियन्टमार्फत आइपर्ने सानो लम्बाईको उच्च कोण, घुम्तिका कारण क्षय हुने शक्ति पेट्रोलियमबाट चल्ने रेलका लागि अनुपयुक्त अत्याधिक टनेलहरुको हिसाब गर्ने हो भने विभिन्न उच्च प्रविधि अत्याधिक खर्चबेगर चुच्चे रेललाई सामान बोकाएर काठमाण्डौँ खाल्डोमा ल्याउन त्यति सहज नहोला। यी सबै कुरालाई ध्यानमा राखेर सुरु गरिने विष्तृत परियोजना नै सम्पन्न गर्न आगामी पाँच बर्ष अपर्याप्त हुनेछ। अझ त्यही चुनावी घोषणापत्रमार्फत बाँडिएको पाँच हजार अमेरिकी डलरको प्रतिव्यक्ति आय मासिक पाँच हजारको सामाजिक सुरक्षा भत्ताको असम्भव सपनालाई पुरा गर्न केपी ओली असमर्थ हुनेछन् भन्ने हेक्का प्रचण्डलाई राम्ररी नै छ।केपी कामरेडले गरेका केही मन्त्रीहरूको नामले प्रचण्डलाई झस्काए पनि केपी कामरेडको क्षयमा आफ्नो उन्नति देखिरहेका प्रचण्डलाई राजनीति र सत्ताको सिंडी सहज लागिरहेको हुनुपर्दछ। फगत अलमल चैँ त्यो अध्यक्ष पद आफूले पाउँछु कि पाउँदिन भन्ने एउटै उहापोसले गराइरहेको देखिन्छ। अझ माओवादी केन्द्रका दोस्रोतहका नेताहरूबाट समयसमयमा गरिने खबरदारीले माओवादी केन्द्र एमालेमा विलय भएको होइन भन्ने देखाउन पनि प्रचण्डलाई सम्मानजनक हैसियतको एकिकरण अपरिहार्य बनेको छ।

अर्को कोणबाट हेर्दा प्रचण्डको शिखर आरोहण त्यति सहज देखिँदैन। एकातिर एकिकृत पार्टीको सर्वेसर्वा बनाउन स्वयं कामरेड केपी ओलीको अनिक्षा सार्वजनिक भइरहेको छ भने अर्कातिर ठूलो दलको स्वभाविक दम्भ बोकेका एमालेका दोस्रोतहका नेताहरूलाई आफूमाथि आइपर्ने अनावश्यक ठालुहरूको भारवहन अचाक्ली लाग्न थालिसकेको छ। सकेका दिन पुष्पकमल कामरेडलाई धुलो चटाउन लालयीत यो जमातलाई आश्वस्त पार्नु प्रचण्डलाई फलामको चिउरा भइसकेको आभाष यसअघि नै दोस्रोतहका कामरेडहरूले दिइसकेका छन् नै।

एकिकरणको आधारहरूमा हस्ताक्षर गरेको केही समयपश्चात आएको कामरेड प्रचण्डको वक्तव्यबाट प्रष्ट भइसक्यो कि अब एकिकरणपछि निर्वाचन आयोगमा नयाँ दल दर्ता हुनेछ। तर आफ्नो अवधारणापत्रमा राखिएको नाम नै अर्कै दलले दर्ता गरिसकेकोसमेत थाहा नपाएर गरिएको महिनौँ लामो एकिकरण प्रयास कति फितलो रहेछ भन्ने जनमानसले सोच्दै गर्दा यसले दिने नकारात्मक संदेशबारे दुवै दल अनभिज्ञ थिएनन् छैनन् पनि। सर्वोच्च अदालतले समयसमयमा अजिबका निर्यणहरू गर्दछ त्यसको पूनरावृति नभएमा एकिकरण हुनेबित्तिकै नेपाल कम्युनिस्ट पार्टीले संविधानअनुसार वटै प्रदेशका सभामुख उपसभामुखमध्ये एक-एकवटा संघीय संसदको सभामुख वा उपसभामुखमध्ये कुनै एउटा पद छाड्नु पर्दछ। उपसभामुखमात्र छाडे सबै महिलाहरूलाई पाखा लगाइएको बुझिन्छ तीन नंबर प्रदेशको मुख्यमन्त्री चुनावमा अष्ठलक्ष्मी शाक्यको हारलाई आमजनतामात्र हैन पार्टीभित्रकै कार्यकर्ताहरूसमेतले कसरी हेरेका छन् भन्ने हेक्का दुवै शिर्षहरूलाई छँदैछ। यस्तो परिप्रेक्षमा केही सभामुख छाड्न एकिकृत दल तयार हुन्छ त? हालका राष्ट्रिय सभाका गौँड सदस्यहरूका लागि भएको जुँगाको लडाइँले त्यति सहज देखाउँदैन।

दल एकिकरणपछि बहुमतको आधारमा नयाँ दलको संसदीय नेतामा कामरेड केपी ओली स्वत निर्वाचित हुनेछन्। आजसम्मका अभिव्यक्तिहरूबाट बुझ्न सकिन्छ कि कामरेड प्रचण्ड यस पदमा इच्छुक पनि छैनन् र जित्दैनन् पनि। तर आलोपालो वा पालोपालो भनेर बजारमा आएको  शब्दानुसार कुनै दिन कसैका विरुद्ध पुष्षकमलले संसदीय दलका नेताका लागि चुनाव लड्नु पर्यो भने ३०:७०को हैसियतमा खुम्चिएको पुरानो माओवादी केन्द्रले उनलाई जिताउन सक्दछ त? नयाँ घरमा प्रचण्ड यही सोच्दै होलान्।

प्रचण्डलाई अर्को अड्को नयाँ दल निर्वाचन आयोगमा दर्ता गराएपछि आउने छ। नियमानुसान नयाँ एकिकृत पार्टीको महाधिवेशन ढीलो-चाँडौ हुने नै छ। यदि प्रचण्डको अद्यम चाहनाका बावजुद ‘एकता अनि समझदारीको महाधिवेशन' भएन कुनै कद्दावर पूर्ववत एमाले नेताले उम्मेदवारी दिएर उनी निर्विरोध त के अध्यक्ष नै चुनिएनन् भने उनको राजनीतिक भविष्य के हुनेछ भनेर पक्कै पनि उनले जोड-घटाउ सुरु गरिसकेको हुनु पर्दछ।

त्यस्तै पार्टी एकिकरणपश्चात संसदीय दलको नेता बन्न पनि र अझ नबनीकन त स्वयं तत्कालिन प्रधानमन्त्री केपी ओलीको निगाहामात्र एकल सहारा हुने दिन ज्वाजल्यमान प्रचण्डले कसरी लिने छन् भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्व देखिन्छ। त्यसबेला उनीसंग पक्कै पनि नपाएका खण्डमा के गर्ने भन्ने विकल्प बाँकी रहने छैन। पार्टी अध्यक्षमा हार प्रधानमन्त्री पनि बन्न नसकेका अवस्थामा उनी संविधानतः चालीस प्रतिशत सांसद लिएर नयाँ दल बनाउन सक्ने हैसियतमा हुने छैनन् नै। बरु आफ्नै केही सांसद उनीसंग बाहिरिन्नन् भन्ने हेक्का उनीलाई नहुने कुरै भएन।

यसरी आजका दिनमा प्रचण्डका सामु माधव नेपालको सानो गुट र वामदेवको अझ सानो गुटको साहारामा पुरै कम्युनिस्ट पार्टीको सर्वेसर्वा बन्ने उडानको सपना अनि साँपको लोरो न टेक्नु न बिसाउनुको यथार्थको उहापोसमा एकिकरण संवादलाई समयसमयमा चितवनतिरको कामको बहानामा थाँति राख्नुसिवाय कुनै विकल्प नरहनु यो एकिकरणको सबैभन्दा जटिल कडी बन्न पुगेको छ।

अर्कोतर्फ एकिकरण प्रकृयाबाट एमाले वर्ग अत्याधिक खुसी देखिन्छ। वाम-एकताप्रति अति उत्साहित एमालेवृत यो प्रकृयालाई सप्तकोसीको मिलन बिन्दुमा पुर्याउने भागिरथ प्रयत्नमा देखिन्छ भने माओवादी केन्द्र कताकता मौन। हुन त भारतीय चाहलाई पनि संबोधन गरेको संदेश दिन भनिने गरे पनि उपेन्द्र यादवको दललाई सरकारमा सामेत गराएर कुनै अमूर्त दुई तिहाईको बहुमत देखाइँरहँदा यथार्थमा एकिकरण नभएका दिन वा कालान्तरमा माओवादीले समर्थन फिर्ता लिएका दिनमा आफ्नो सरकारको बहुमत अक्षुण राख्ने एमालेको चाहना अब कतै लुकेको छैन। अझ सानो र छरितो मन्त्रिमण्डल बनाउने कसरतमा पनि पाँच दर्जनभन्दा ठूलो मन्त्रिमण्डल पचाइसकेका नेपाली जनताप्रति एक्कासि उत्पन्न भएको मायाभन्दा पनि संविधानले अधिकतम सिमा तोकिसकेको परिप्रेक्षमा संघीय समाजवादी वा राजपालाई भविष्यमा सरकारमा सहभागी बनाउने अवस्था आएमा ठाउँ खाली राख्नुपर्छ भन्ने अभिष्टको मात्रा बढ्ता नै होला। यसरी एमाले आफ्नो शर्तमा प्रधानमन्त्री, राष्ट्रपति र पार्टी अध्यक्ष आफैसंग राखेरमात्र माओवादीसंग एकिकरण गर्ने मुडमा छ। यसमा प्रचण्डहरू नमानेका दिन देशी अनि विदेशी शक्तिको चलखेल देखाएर आँखाबाट आँसु झार्न तम्तयार छ। कुनैबेलाको प्रेमबाट प्रेरित लिभिङ टुगेदरको सम्बन्धको जोखिम लिइसकेपछि सम्बन्धविच्छेद अपरिहार्य ठहरिएका दिन कालो बोको काटेर देखाएको पूर्विय संस्कारलाई असाध्य गाह्रो हुने रहेछ। त्यसबेला ऊ फगत आफ्नो सहयात्रिलाई गलत र आफूलाई सही देखाउनेबाहेक केही गर्दैन नै। अहिलेको अवस्था कुनै नयाँ जन्मको प्रवस-पीडा नभएर आफूलाई पीडित देखाउने नौटँकीको पटापेक्षमात्र हो कि?

यी सबै संभावनाले समस्त एमाले पार्टी केपी ओली स्वयं आफू सुरक्षितमात्र हैन कि प्रचण्डको समस्त राजनीतिक भविष्यलाई समाप्त पार्न सक्ने अवस्थामा छन्। प्रचण्डलाई अहिल्यै एकिकृत दलको कार्यकारी अध्यक्षको हैसियत नदिईकन यो एकिकरण हुनुपर्दछ र त्यसपछिका दिनमा पार्टीको लोकतान्त्रिक पद्धतिले जे गर्छ त्यसलाई सबैले शीरोधारण गर्नु पर्दछ भन्ने आसयको प्रचार यसै सुरु भएको हैन। उनीहरूलाई राम्ररी थाहा कि आजका दिनमा प्रचण्डले आफ्नो अगाडि एउटा चक्रव्युहबाहेक केही देखिरहेका छैनन् त्यसमा प्रवेश गर्ने कौशल भए पनि त्यसबाट निस्कने जुक्तिबारे जीवन त दूर गर्भावस्थामा समेत  सुनेका नै छैनन्।

एकाघरबाट छुट्टिइसकेपछि स्वयं दाजुभाइलाई सगोलको जीवन निकै अफ्ठ्यारो हुन्छ। आय आर्जनमा चार चाँद लाग्छ भन्दैमा आफूले सिउरेको चाबीको झुप्पा हठात जेठानीलाई दिन सजिलो हुन्न। यसरी एमालेले आफूलाई सिध्याउने भयग्रस्त प्रचण्ड र माओवादी केन्द्रका नेतृत्वगण एवं सानै संभावना सही तर प्रचण्ड कार्यकारी अध्यक्ष भएका दिन समस्त एमालेलाई नै आफ्नो बनाउलान् कि भन्ने भयग्रस्त ओली र एमालेका नेतृत्वगणलाई अब आ-आफ्नै पुरानो तर छुट्टै घर प्यारो लाग्न थालेको होला। आफ्नो दलीय हैसियतमा सत वा शून्यका हिसाबमा भागबण्डा गर्नुभन्दा सरकार र नियुक्तिहरूमा दलको हैसियतअनुरुपको भागशान्ति नै यो चक्रव्युहको निकास हो भन्ने कुरा दुवै दलका संयोजन समितिमा रहेका र नरहेका नेतृत्ववर्गलाई मनमा लागिसकेको हुनुपर्दछ। कहिले पार्टीको मार्गदर्शक सिद्धान्त त कहिले समायोजनका नाममा दैनन्दिन गठन भइरहेका कार्यदलहरूको एकमात्र उद्धेश्य यो एकता प्रकृयालाई लम्ब्याउनुमात्र त हैन? यो एकिकरणको ढिलाइले यस्तै संकेत गरेको बुझिन्छ।

समग्रमा प्रचण्ड र केपी दुवैको दललाई नै कसोकसो बाघको सवारी गर्न पुगेको सुरवीरजस्तै भएको यो एकिकरण प्रयास। यसै परिप्रेक्ष्यमा यो गाह्रो बाघको सवारीबाट उत्रिन पाए हुन्थ्यो भन्ने भित्री मनसायले एकदिन बहुसंख्यक नेपालीको अभिमतलाई अचम्मित पार्दै यो एकिकरणले भारतमा भाजपा अकाली दल वा कांग्रेस नेसनल कांग्रेसले गरेजस्तै दीर्धकालीन गठबन्धनमा आफूलाई रुपान्तरित गर्ने विश्लेषण गर्न रातो मार्सीको भात नखाए पनि सकिन्छ कि? संघीय तथा प्रादेशिक संसदमा दुवै दलले छुट्टाछुट्टै बनाइरहेका संसदीय दलका नेता, मुख्य सचेतक सचेतकहरूको छनौटले अब एकिकरणको कथाको पटापेक्ष यसरी नै हुने संभावना बढेको छ।


हुन क्रिकेट राजनीति दुवै अनिश्चितता खेल हुन् भन्छन् क्यारे!
**********
(फोटो साभार)