Tuesday, March 20, 2018

वर्जित विचार




म मरेर बाँचेको रे। आमा सुनाउनु हुन्थ्यो सात-आठ महिनाको वहाँको कान्छो छोरो झाडापखालाले अब आज राति जान्छ भनेर खाटबाट तल मलाई लिएर सुत्‍नु भएको थियो। भोलिपल्ट बिहान म खाटमुनि फेला परेँ रे निस्लोट आँखा अलिक चम्किला भएको। अनि म बाँचे रे। र त्यो बचाइले आमाको प्यारो बनायो। अलिक ठूलो भएपछि त्यही मायामा अलिकति चलखेल गर्न पाएँ। दाइले केही दिनुभएन भने म रुँदै आमाअगाडि पुग्थेँ र दाइले पिट्नु भयो भन्दिन्थेँ। दाइले कुचाले दनक भेट्दा दंग पर्थेँ पनि। सायद एघार-बाह्र बर्षजतिको उमेर पुगेपछि आमालाई अब यो मर्दैन भन्ने पनि भयो वा मेरो अतिरञ्जना आमाले बुझ्‍नथाल्नु भयो। मेरो रुवाइमा दाइले पिटाइ भेट्न छाड्नु भयो र बदलामा अब दाइले स-साना कुरामा पिट्न थाल्नुभयो।

हुन त माथिको सानो कथा लेख्‍दै गर्दा मलाई थाहा छ भरे नै कतिजनाबाट 'थुक्क! तँ त मरेकै भए जाति हुन्थ्यो' भन्ने प्रतिकृया आउने नै छ। तर पनि मनमा लागेका केही कुरा लेख्‍न यो कुथुरी जरुरी ठानेँ र लेखेँ पनि। मन नहुनेले यसभन्दा अगाडि पढेर बेकारमा आफ्नो उर्जा मलाई गाली गर्नमा खर्च गर्नु हुन्न भन्नेमा उहाँहरूको विद्वतालाई ध्यानमा राख्दा अतिसयोक्ति नहोला।

म एक साधारण मान्छे अझ भनौँ मानसिक र शारारिक श्रम गरेर जीविका चलाइरहेको एउटा आम नेपाली। न म आफूलाई विद्वान ठान्दछु न त कहिल्यै त्यसमा दावी नै गरेको छु। म मलाई मनमा लागेका केही कुराहरू हाकाहाकी भन्न रुचाउने स्वभावको भएँ। त्यसमा केही 'नभनेको भए के बिग्रिन्थ्यो' भन्ने लाग्छ पनि तर स्वभाव एकदिनमा नबदलिने रहेछ। अब त आफ्नै स्वभावको पनि आदत लागिसक्यो। हरेक कुरामा तपाईँ जे देख्‍नुहुन्छ, जसरी विश्लेषण गर्नुहुन्छ अर्काले पनि अझ सबैले त्यसरी नै देखुन् वा बुझुन् भन्ने सोच अतिवादी हो भन्ने लाग्दछ र म कुनै पनि आवरणको अतिवादको पक्षपोषण रुचाउन्न।

मधेस आन्दोलन भयो। पहिलो र दोस्रो आन्दोलनका मागमा त्यति विमति थिएन र प्रश्नहरू पनि थिएनन्। मेरा केही अग्रज र मित्रहरू नाकाबन्दीका पक्षमा धर्ना दिन वीरगंज जानुभयो। त्यो वहाँहरूको विचार र धारणा थियो। टिकापुरमा पुलिस मारिए। मलाई गलत लाग्यो। वीरगंजमा आन्दोलनकारी मारिए। मलाई गलत लाग्यो। अनि लाग्यो यो आन्दोलनको मागबारे विचार जरुरी छ। मैले मधेस आन्दोलनका माग, संविधान, राजनीति र राजनीतिक भविष्यबारे आफ्ना विचार राखेँ।

बल्ल थाहा पाएँ यो विचारको निषेध।

म रातारात गालीको पात्र बनेँ। मैले न कसैलाई मेरा विचारका अनुयायी बनाउन चाहेको थिएँ न मेरा कुरामात्र ठीक हुन् भनेर दावी नै गरेको थिएँ। ईतर विचार र प्रश्न सुन्नै नचाहने जमात हामीमाझ छ भन्ने त्यहीबेला जानियो।

मधेस मुद्दासंगै आरक्षणका कुरा स्वभाविकरुपमा आउने नै भए। म प्रष्ट थिएँ कि जातीय र लैङ्गिक आरक्षणले तत् तत् क्षेत्रका ठालुहरूले मात्र 'तर' मार्छन् र पछि परेका/पारिएका वर्गको उत्थान हुन्न। यो बाटोको कुप्रयोगले संसदमा बारम्बार दोहोरिने अनुहार, मधेसी आरक्षणबाट आउने उही जातका मानिस, जनजातिमा नेवारको वर्चस्व र लोकसेवामा लगभग सबै खस-आर्य महिला मलाई सही लागेनन्। आरक्षण जातीय वा लैङ्गिकभन्दा पनि वर्गीय हुनुपर्दछ र जाजरकोटको प्रजिअ रामानन्द झाका छोराले भन्दा उनको आवासमा भात पकाउने कार्यालय सहयोगी चक्र बहादुर शाहीको छोराले आरक्षण पाउनुपर्दछ भन्न धक लागेन न त राष्ट्रपतिको जानकी मंदिर भ्रमणपश्चात गरिएको शुद्धिकरण गलत भन्न।

तर फेरि ईतर विचारलाई आक्रमण गरियो। अनि मधेस मुद्दाभन्दा पनि त्यो मुद्दा उठाउने अगुवाबारे जानी नजानी ममा एउटा धारणाको विकास भयो। मलाई विदेशमा संधै 'तँ भारतीय होस्' भनेरै सोधे। अझ खप्तड वा सोलु वा अन्यतिर पनि घुम्‍न जाँदा भारतीय ठानेर हिन्दीमा होटेलमा सोध्‍नु सामान्य मानियो। अमेरिकी दाइलाई अझ पनि कहाँबाट आएको भनेर सोध्छन् रे। तिब्र प्रतिवाद गर्ने जरुरी ठानिएन र कसैले गरेमा अलिक 'अतिरञ्जित' भयो कि भन्दा ठूलै गल्ति गरिएको ठान्दिन पनि। म 'मोरल पोलिसिङ' गर्ने ठेकेदारी कसैमा छ भन्ने ठान्दिन नै।

अब महिला अधिकारका कुरा।

म घरमा श्रीमतिलाई प्राय भनिरहन्छु, त्यो 'सावधान इण्डिया'जस्तो कार्यक्रम नहेर। सावधानी अपनाउनु एउटा कुरा हो, अपनाउनु पनि पर्छ नै। तर यो कार्यक्रम हेर्‍यो भने तिमी डरले मर्छ्यौ। गेट खोलेर मार्न आउलान् कि, बाटोमा छेउमा कुदिरहेको मारुति भ्यानको ढोका खोलेर अपहरण गर्लान् कि, पानीमा बिष हालेको छ कि..... के के मा डराउने? छोरीलाई त अझ परिपक्व नहुँदासम्म दिनहुँ छापामा आउने हत्या, बलात्कार र हिंसाका कुरा पनि त्यत्ति नपढ भन्छु। हो! समाजमा त्यस्ता कुत्सित मानसिकताका मानिसहरू पनि छन् तर 'कम' छन् र त बस्‍न योग्य छ। दिनहुँ त्यही कुरा मनमा लिएर मेरी छोरीले बाटामा हिंड्ने हरेक लोग्‍नेमानिसलाई देख्‍नेबित्तिकै उनको मनमा संभाव्य बलात्कारीको छवि नबनोस् अनि माइक्रोको छेउमा बस्‍ने हरेक पुरुषको काम नै तिघ्रा चिमोट्ने हो भन्ने विचार लिएर यो समाजमा नआओस् भन्ने अदम्य चाहना छ। त्यस्तै हजुरबाका पालामा हजुरआमा भुइँमा गलैचामा सुत्‍नु हुन्थ्यो भनेर आफ्नो श्रीमानलाई महिनाका चारदिन भुइँमा सुत्‍न बाध्य पार्ने चैँ नबनोस् भन्ने पनि त्यत्तिकै चाहना छ।

मेरा एक मित्र सदा भन्नुहुन्छ, तपाईँ र म त छोरीका बाउ, कसरी महिलाविरोधी हुन सक्छौँ र? चाहेर पनि सक्दैनौँ नि। हो पनि। म मेरी छोरीले यो देशमा सबै सुख पाउन् र कुनै पनि रुपको भेदभाव देख्‍नु-भोग्‍नु नपरोस् भन्ने चाहन्न र? म छुवाछुतको विरोधी हुँ र रजस्वलामा पूजाकोठासमेत बन्देज लगाउन्न पनि। मैले मेरी दिदीलाई कहिल्यै सोध्‍ने आँट गरिन, 'यदि आमा-बुबाले तिमीलाई पनि डाक्टर, इन्जिनियर वा वकिल बनाउने सपना देखाउनु भएको भए तिमी राम्ररी पढ्थ्यौ कि नाई?' तर त्यो नसोधिएको प्रश्न मेरी छोरीलाई 'तिमी जे बन्न मन छ बन, म छु' भन्ने रुपमा मनबाट निस्किएको छ।

एकपटक कुनै व्यङ्ग चित्रकारले हाम्रा मेयरको महिला वस्त्र लगाएको कार्टुन बनाए। कार्टुन किन बनाए त्यो उनै जानुन्। कोरिया वा अमेरिकाका शासकका त्यस्ता आवरणका कार्टुन पहिला पनि देखिएकै हो र कपिल शर्माले पुरुषलाई महिला बनाएर मजाक उडाएकामा हाँस्‍ने जमात ठूलो छ भनेर जानेको पनि निकै भयो। हो, काम गर्न नसक्ने त नामर्द त हुन् नि र हामी नामर्द हौँ भनेर कतै कुनै महिलाले लेख्‍नु भयो। मैले पढे-जानेअनुसार काम गर्न नसक्ने, लडाइँमा भाग्‍ने पुरुषलाई तँ लाछी, तँ नपुँसक भनेर चुरा वा सारी पठाइन्थ्यो रे। त्यसो गरेर उसलाई महिला भइस् भनेको भन्दा पनि तँ किन्नर (यो शब्द अझसम्म पोलिटिकल इन्करेक्ट भएको जानकारी भएन) भइस् भनेको रे। पुरुषले महिलाको पहिरन लगाए ऊ तेस्रोलिङ्गी (सायद यसै भनिन्छ होला, यसमा मेरो जानकारी कम भएकाले सम्बद्ध पक्षमा पर्न जाने अपमानका लागि क्षमा माग्दछु) हुन्छ न कि महिला। नामर्द भनेको किन्नर भइस् भनेर गाली गरेको हो न कि महिला र यो मुद्दा अब महिला अधिकारवादीले भन्दा पनि किन्नर अधिकारवादीले उठाउनु पर्दछ र यसमा उनीहरूको आपत्ति जायज छ भनेर लेखेको थिएँ। के किन्नर र महिला फरक हैनन् र? त्यसरी काम गर्न नसक्ने भनेर कुनै पुरुषलाई तेस्रोलिङ्गी बनाइएकामा आपत्ति उनीहरूबाटै आओस् न कि 'नबनाइएका' महिला बनाइयो भन्दै महिला अधिकारवादीबाट भन्नु कताबाट गलत थियो, आजसम्म बुझेको छुइन। फरक विचार हुन पाउँछ र मन नपरेका कुरा पढ्नै पर्छ भन्ने पनि नहोला। तर किन हो, एकजना स्वनामधन्य महिला अधिकारवादी महिलाले घृणाको थुक मुखैमा थुक्नु भयो, छेउछाउमा थुक्ने सेनामेना त कति कति। चिकित्सक, बाहुन र पुरुष हुनुमा सायद त्यति गाली अझसम्म कसैले गरेका थिएनन्।

म त्यस दिनदेखि घटिया मानिसमा घटुवा भएँ।

फेरि केही दिनदेखि सञ्जालमा अर्को समाचार देखियो। नेपालगंजतिर कुनै महिला अधिकारको लडाइँमा पीडित छिन्। म पनि चाहन्छु कि उनले न्याय पाउन्। राम्रो होस् र फेरि यस्तो कहिल्यै पढ्नु नपरोस्। बस्, त्यहाँ लेखिएको 'बच्चालाई एक कक्षामा भर्ना गराउन धेरै स्कुल चहारेँ। .....। बाबुको फोटो टाँस्‍नै पर्ने रहेछ।' आसयका वाक्य मेरालागि नितान्त नौलो र अझ नेपालको कानूनअनुसार त पुरै अवैध थियो यो प्रावधान। आफ्नै घर सम्झिएँ। अहँ! मेरा बाको अनि मेरो फोटो टाँस्‍नु परेन। साथीभाइलाई सोधिहेरेँ, अहँ, उनीहरूले काठमाण्डौँमा पनि टाँसेनछन्। अनि नेपालगंजका सरकारी तथा निजी? सबैमा? सोधेजतिमा पर्दैन रहेछ। काठमाण्डौँमा पर्दैन अनि नेपालगंजमा पनि पर्दैन। कताका 'सबै' स्कुल हो थाहा भएन तर ती कतैका पनि होइनन् कि भन्ने लाग्यो नै। यो कुरा चैँ अलिक अतिरञ्जित, हावादारी वा बकम्फुसे भएन? यो फोटाको कुरा नलेख्‍दा के बिग्रिन्थ्यो होला? जायज मागमा यस्ता फुर्का जोड्दा के फाइदा हुन्छ, बरु जायज मागहरू नै ओझलमा पर्छन् कि भनेर सोधियो। दोस्रोपटक गल्ति गरियो। यसरी सोध्दा आकासै खस्दो रहेछ। जानिएन। यो त विल्कुल वर्जित प्रश्न रहेछ। जानिएन। र समवेदनाहीन, मुटुहीन, .... के के भइएन। फगत फोटा राख्‍ने प्रावधान छ त भनेर सोध्दा।

हालैको आक्रमण पुःन त्यही समूहबाट भयो। 'बाहुन पुरुष'ले यसभन्दा बाहेक के जान्दछ र भनेर गाली गर्नेहरूमा मभन्दा जान्ने बाहुन पुरुष पनि थिए। महिला र अन्यहरू नहुने त कुरै थिएन। आफ्ना कुरा र गाली सकिएपछि वा विवादमा अलिक कमजोर देखिएपछि सदाबहार अस्त्रजस्तै रहेछ यो शव्दावली पनि। अन्त्यमा काठमाण्डौँको भारतीय स्कुलको फारममा बाबुको फोटो लेखेको पन्नाले कुरा सकाइयो र भनियो, बहस समाप्त। त्यो फारममा फोटो नराख्दा नेपाली कानूनअनुसार भर्ना नलिँदोरहेछ भनेर सोध्‍न पनि पाइएन त्यो बहस समाप्तको नोटिसले। अनि काठमाण्डौँका अरु स्कुलमा पनि त्यस्तै छ भनेर सोध्‍ने हैसियत झन् समाप्त पारियो।

जायज मागका बिच यस्ता फुर्का जोड्नाले के फाइदा हुन्छ, बरु जायज कुराहरू ओझलमा पर्दछन् कि?' भनेर सोध्‍दा वा विचार राख्‍दा आकास खस्छ? सोध्‍नै नमिल्ने प्रश्न हो यो?

मेरा दुवैपटकका मूल प्रश्नका जवाफ कसैले दिएनन्। कोही म कहाँ गलत छु भन्न बताउन आएनन्। आए त बस् मलाई महिलाविरोधी परपीडकको लेबल लगाइदिएर थुक्न आए। सायद म यो कुरा बुझाउन सकिरहेको छुइन कि मेरो बालापनको अतिरञ्जनाले भविष्यमा मलाई नै पीडा दिएको थियो। हरेक आक्रमणले एकखालको वितृष्णा जन्माउने रहेछ र समभाव राख्‍ने तर प्रश्न गर्न पनि चाहने एउटा सानो तप्कालाई अधिकारका अगुवाहरूबाट टाढा लैजाने रहेछ। (यहाँ फेरि दोहोर्‍याउँ, अधिकारका अगुवाबाट भनेको छु, अधिकार चाहिने तप्काका मानिसबाट चैँ हैन नि)।

तपाईँहरू आफ्नाइतर विचार बोकेका सलमान रुसदी वा तसलिमा नसरिनलाई फतवा जारी गर्ने आतङ्ककारीभन्दा कसरी फरक हुनुहुन्छ? वा तपाईँ कतै आफूलाई मन नपरेका प्रश्नलाई मौत का घाट उतारिदिन चाहने विजेपीका तथाकथित गोरक्षक त बन्दै गइरहनु भएको छैन? मलाई डर यत्तिमा लागेको हो। यो डर यति गाढा भइसक्यो कि चुप बस्‍न स्रेयकर देखिंसकेँ। मणि भाइको ट्विट दिमागमा राखेर लेख्दैछु कि यो इतर विचार निषेधको क्लबले मेरो मुल्याङ्कन गलत र फगत गलतमात्र गर्नेछ। नो इन्ट्री मिन्स नो इन्ट्री!

मित्र, समवेदना मुटुमा हुन्न, मगजमा हुन्छ अनि गहिरो लेपभित्र मगजमा फोहोर थुपारेर कृतिम 'अच्छा' बन्न सजिलो छ न कि सबै फोहोर सफा गरेर 'औसत' बन्न। यहाँको विचारलाई वर्जित गर्ने न त मेरो विचार छ न त लड्न तम्तयार सेना नै!

3 comments:

  1. मैले आफ्नो लागि बनाएको सुत्र न.१: रक्सीको नशामा रहेका मानिसहरुसंग नशा नउत्रेसम्म दोहोरो संवाद गर्नु हुदैन । सुत्र न. २: जमिन तयार नहोउन्जेल बिउ रोप्न हुदैन अर्थात् तपाईको विचार बुझ्न सक्ने सामर्थ्य व्यक्ति वा समुदायमा छछैन चेक गर्ने अन्यथा उल्टो परिणाम आउंछ । यो चांही वुद्धवाणी बाट सिकेको ।

    ReplyDelete
  2. Many People only like to be praised or support their feelings.if something said more than that ,they take it as humilation n get afraid.gradndiose or narcissistic personality disorder☺so take it easy boss

    ReplyDelete
  3. रामेश सरलाई टुईटरमा चिनेर सगरमाथाको वारेमा लेखिएको लेख पढेपछी पछ्याउँदा पछ्याउँदै यो बल्गमा आईपुगेको। धेरै लेख माझ यै लेखले आँखा तान्यो। रामेश सरसँग विमती राख्नुपर्ने कुरा केई छैन्। तर्कसँग हारेर व्यक्तिगत रुपमै हमला गर्ने "लजिकल फ्यालसी" को बारेमा "लजिक" भन्ने बिषयमै पढेको मान्छे परियो। यस्ता फ्यालसी त कति छन् कति। जसको तार्किक क्षमता कम छ तिनीहरुले आफ्नो पावरको आडमा ती फ्यालसीहरु प्रयोग गरिरहन्छन्।

    नेपालमा "पोलिटिकल" पावर नेतामा जत्तिकै "आईएनजीओ" का नेताहरुमा पनि छ, विदेशीको पैसाको आडमा यिनीहरुले विदेशीका एजेन्डा नेपालमा स्थापित गर्न राम्रै भुमिका खेलेका छन्। नेपालको पहिलो समस्या भ्रष्टाचार हो। नीतिगत भ्रष्टाचारमा यिनीहरुको भुमिका अब्बल छ। यिनीहरुबाट नेपालका 'अर्गानिक बुद्धिजीवी' रामेश सर माथि हमला हुनु मलाई नौलो चाँहि लागेन। एउटा सामान्य उदाहरण - विश्वका थुप्रै देश जहाँ तेस्रोलिङ्गी समुदायलाई कानुनी मान्यता छैन, तिनी देशहरु नेपालमा आईएनजीओ बनेर तेस्रोलिङ्गीलाई अधिकार दिनुपर्छ भनेर चिच्याउछन्। मेरो मान्यता तेस्रोलिङ्गी मानिने समुदायलाई पनि आम मानवलाई जस्तै अधिकार हुनुपर्छ भन्ने नै हो तर जब उनिहरुले हामीलाई त्यो अर्ति दिन्छन् उनीहरुको उद्देश्य नेपाललाई बिगार्नु रहेको हुन्छ भन्ने बुझ्न गाह्रो छैन। जब म आफु चुरोट नखाएर अरुलाई मज्जाले चुरोट पिउनुपर्छ भनेर अर्ति दिन्छु, तब त्यसको मतलब के हुन्छ? हो तिनीहरुको उद्दैश्य पनि तेस्तै हो।

    यिनीहरुले नेपालका बुद्धिजीवीहरुलाई कुण्ठीत पार्छन्, नेपाललाई 'आईएनजीओ' मुक्त देश घोषणा गर्नुपर्दछ। रामेश सरले पनि अनुसन्धान गरेर यिनीहरुका काला कर्तुत बाहिर ल्याईदिन पर्यो। धेरै के लेखौँ, अब यो किबोर्डमा अौँला चलाउन बन्द गर्दछु, हस्त धन्यवाद।

    ReplyDelete