Tuesday, October 15, 2019

चीनिया रेलः एउटा कन्स्पिरेसी थ्योरी (रेल विचार भाग २)

5:38 PM 0
चिनियाँ रेलः एउटा कन्स्पिरेसी थ्योरी
- रामेश कोइराला

          
      कुनै जमानामा गिरिजा प्रसाद कोइराला हरेक अप्ठ्यारा कुरालाई ‘ग्राण्ड डिजाइन’मा टुङ्ग्याउँथे। हर मर्ज का एक दवा! हिजोआज त्यस्तै शुरू भएको छ, “विकास विरोधी!”
       गत असारमा प्रधानमन्त्रीको चीनभ्रमणताका भएको सम्झौताअनुरुप बताइएजस्तै अबको पाँच-सातबर्षमा केरुङबाट काठमाण्डौँ साँच्चै रेल आउँछ त भनेर मैले केही खोजतलास गरें र विज्ञहरूलाई प्रश्न गर्ने जमर्को गरेँ पनि। तर मेरा अर्थशास्त्र, भू-गर्भशास्त्र र भौतिकशास्त्रसित सम्बन्धित प्रश्नहरूलाई राजनीतिशास्त्रले जित्यो र भनियो “गुगल गरेर प्रश्न नसोध!”
       आजका दिनमा कम्प्युटर र इन्टरनेटको सहारा नलिई साहित्य वा दर्शनका अमूर्त कुरा त गर्न सकिन्छ र अरु यावत विषयमा लेख्ने सबै लेखकले गुगल गर्छन् नै।  हाम्रा पालामा ‘प्राण’ को चित्रकथामा चाचा चौधरी नामक नायक हुन्थे र ‘उनका दिमाग कम्प्युटर से भी तेज चलता है’ लेखिएको हुन्थ्यो। यथार्थमा विरलै व्यक्तिमा मात्र  कम्प्युटर नै नचलाई सबै कुरा जान्ने चाचा चौधरीको जस्तो विलक्षण प्रतिभा हुन्छ।  ममा त्यस्तो क्षमता हुने कुरै भएन। तर गर्वको कुरो, देशमा त्यस्ता चाचा चौधरीहरू बग्रेल्ती रहेछन्। मेरा गुगल गरेर सोधेका प्रश्नहरूले एकमुष्ठ जवाफ पाए, “राजनीतिले जवाफ दिनेछ।“
       अनि जब राजनीतिबाट जवाफ अपेक्षा गरेँ,  त्यताबाट जवाफ होइन, प्रतिक्रिया आयो, “यो प्रतिपक्षले उठाएको हल्ला हो।“
       उदेक लाग्छ, यदि कांग्रेसलाई  यो कुरा उठाउनु थियो भने त त्यो दलमा लागेका एकसे एक इन्जिनियरले उठाइहाल्थे नि!  विद्यार्थीकालदेखि अहिलेसम्म कहिल्यै कुनै दल वा त्यसका भातृसंगठनको साधारण सदस्यतासमेत नलिएको म अदना सरकारी डाक्टरलाई जबरजस्ती चारतारे बनाएर मेरा प्रश्नलाई ‘प्रतिपक्ष’को आक्षेप लगाउनेहरूलाई  अलिकति धक  समेत लागेन। लाज त परको कुरो। फेरि राजनीतिले भन्यो, डीपीआर नै तयार नभई असम्भव नभन (यद्यपि मैले सम्भव छैन भनेको थिइँन) अर्थात् डीपीआर तयार हुन अगाडि प्रश्न नसोध।
       तपाईँ चाहिँ डीपीआर तयार हुनु अघि नै भन्नुहुन्छ, ‘हामीले लक्षित गरेको समयभित्र नेपालमा रेल गुड्छ’। त्यो डीपीआर नबनिकनै तपाईँ चैँ कसरी पाँच वा सातबर्षमा रेल कुद्छ  भन्ने कुरोमा निश्चिन्त हुनु भयो? तपाईँको विश्वास चैँ ध्रुवसत्य र मेरो संशय चेँ बेतुकका कुरा? अझ षड्यन्त्र?
       बरु पहिलो लेखमा युनिकोडबाट प्रितिमा लाँदा र केही ठाउँमा असावधानीले गर्दा अनुपात र कोण सही भए पनि प्रतिशत र डिग्रीमा गडबढ भएको थियो। तत्कालै सच्याउन चाहेको थिएँ तर विज्ञहरूको समेत त्यता ध्यान नगएको देख्दा सच्याइनँ। त्यस्तै केरुङ सहरको उचाई ४१०० मिटर लेखेको देखियो। हैट! जम्मा २४ किलोमिटरमा दुई किलोमिटर तल रसुवागढी त कसरी झर्ला र भनेर त्यो केरुङ उपत्यकाको सबैभन्दा होचो ठाउँको उचाइ २७०० मिटरलाई मानिदिएर त्यसैअनुरुपको ढलान लेखेको थिएँ।
       फेरि तगत्तै केही चाचा चौधरीजीहरूले सोध्नु भयो, त्यत्रो अग्लो तिब्बतमा चैँ कसरी रेल आयो त?
       म भने कम्प्युटर र गुगलसंग उहाँहरूको वितृष्णा भएकाले मात्र यो प्रश्न आएको भन्ठानछु। जिनिङ-ल्हासा रेलमार्ग १९५६ किलोमिटर लामो छ र त्यो २२८३ मिटरको उचाइबाट ५०७२ मिटरको तानगुला भञ्ज्याङ हुँदै ३४९० मिटरको उचाइको ल्हासा पुग्दछ। लामो दुरीका कारण गोलमुण्ड खण्डमा बाहेक कतै पनि २ प्रतिशतको ढलान छैन र त्यो गोलमुण्ड- तानगुला खण्डमा पनि २ प्रतिशतको अधिकतम कोण राखेर दुईवटा इन्जिनले रेल तान्ने व्यवस्था मिलाइएको छ। यसै गरी २५३ किलोमिटर लामो ल्हासा-सिगात्से रेलमार्ग पनि २ प्रतिशतभन्दा कम ढलानमा बनेको छ र ५६४ किलोमिटरको प्रस्तावित सिगात्से- केरुङ रेलमार्ग पनि त्यही हिसाबमा बन्नेछ।

विज्ञानः
       मेरो अघिल्लो लेख चिनियाँ प्राविधिककै प्रारम्भिक रिपोर्ट र नेपालको रेल विभागले भनेकै कुरामा आधारित  थियो। यसपालि फेरि चीनले नेपाली विज्ञलाई सियान सहरमा छलफलका लागि बोलाएको बारे केही कुरा समाचारमा आएका छन्। चिनियाँचिनियाँ रेलवे फर्स्ट सर्वे एण्ड डिजाइन इन्स्टिट्युटले महिनादिन लगाएर गरेको प्राविधिक संभाव्यता अध्ययनले १२१ किलोमिटर लामो केरुङ-काठमाण्डौँ रेलमार्गबारे निकै प्राविधिक र भौगोलिक कठिनाइहरू देखाएको छ। तर यति चैँ सत्य हो कि सिगात्सेबाट केरुङ सहर आउने रेल पाइकु ताल वरपरबाट आउँछ र त्यसको उचाई लगभग ४६०० मिटर छ। मलाई पहिलो लेखमा डर लाग्यो, केरुङ सहरको उचाई करिब ४१०० मिटर देखेर। अनि २५ किलोमिटर दुरीमा रसुवागढीको मितेरी पुलको उचाई जम्मा १९५० मिटर। त्यो अरू सबै कुराका लागि सम्भव भए पनि रेलका लागि असम्भव थियो।  त्यो ढलानमा कसरी रेल कुद्ला भनेर केही कम अंकहरू राखेर चीनपट्टिको रेलबारे धेरै विचार नगरेकै हो। तर अहिले चीनले सन् २०२० सम्ममा निर्माण सम्पन्न गर्ने भनेको सिगात्से-केरुङ ५६४ किलोमिटर लामो रेलमार्ग बनाउन किन सुरु नै गरेन त भनेर केही संशय जन्माएको छ। किन उसले तीनबर्षसम्म पनि यस परियोजनामा काम थालेन? यो हामीलाई लालीपप त हैन? आज आएर बल्ल त्यो प्राविधिक संभाव्यता अध्ययनले पाइकु तालकै दक्षिणी पहाडमा र्‍याम्प बनाएर रसुवागढीसंगको उचाइको फरकलाई कम गर्न सकिन्छ कि भनेर भन्न थालेको छ। उसैलाई अत्याधिक प्राविधिक, आर्थिक र भौगोलिक जटिलता भएको यो केरुङ-काठमाण्डौँ रेलमार्ग दुवै देशका सरकारको चाहनामा मात्र भर पर्ने भनेर किन्तु परन्तु गर्ने बनाएको छ। राजनीतिले किन्तु परन्तु गरेमा त्यति आशंका गर्न पर्दैन तर जब विज्ञानले किन्तु परन्तु गर्न थाल्दछ, तब भ्यालु फर मनी सतहमा आउँछ नै।
       डीपीआरकै रट लगाउने हो भने भन्न सकिन्छ, उच्च रक्तचापले दुखेको टाउकाको व्यथा टाउकैको सिटी स्यान वा एमआरआई गरेर थाहा पाइन्न। हो उखान चैँ राम्रै बने पनि आजका दिनमा काशी पुग्‍न कुतीको बाटो तताउनु त्यति फाइदाजनक नहोला।
       अलिकति कति सम्भव छ भनेर प्रारम्भिक ‘विचार’मात्र गर्नका लागि आजका दिनमा काठमाण्डौँ-केरुङको होरिजन्टल तथा भर्टिकल अलायन्मेन्ट हेर्नका लागि न त हेलिकप्टरमा उड्नु पर्दछ न त थियोडोलाइट बोकेर कान्ला कान्ला कुद्नु नै। गुगल म्यापको  टेराइन पनि देखाउने विकल्पमा गएर १ सेन्टिमिटरः १किमिको स्केलमा हेरे काठमाण्डौँदेखि केरुङसम्मका हरेक पहाड र खोलानाला अनि त्यसको विभिन्न भागका उचाइहरू देख्न सकिन्छ। उदाहरणका लागि लाङटाङ खोलाको खोँच १५०० मिटरको हाराहारीमा देखिन्छ भने बेत्रावति खोला निकै पूर्वसम्म जम्मा ८०० मिटरको उचाइमा देखिन्छ। यसरी नै विदुर र छहरे पनि देखिन्छ।
       भरखरै भू-गर्भविद्हरूलाई नसमेटिएको डीपीआरको भरमा मुग्लिन-नारायणघाट सडक खण्डको विस्तार गलत तरिकाले भयो र बाटो बनाउनभन्दा पहिरो न्युनिकरणमा धेरै खर्च आउने भयो भन्ने कुराहरू आइरहेका छन्। चीनले बनाइदिने डीपीआर चैँ त्यस्तो हुन सक्दैन? अघिल्लो लेखमै लेखेको कुरोः कमजोर भूखण्ड र भूकम्पबाट अति प्रभावित यो क्षेत्रमा यस्तो हुन गएमा हाम्रो खर्बौँको परियोजनाको भविष्य के होला?
     
       केरुङबाट काठमाण्डौँसम्मै रेलमार्ग ल्याउने हो भने त्यो केवल दुई तरिकाले  मात्र आउन सम्भव छ। या त पहाडमा सुरुङ र अग्ला पुलमार्फत लगभग सिधा रेखा ताने जसरी या त त्रिशुलीको दुवैतिरका पहाडमा सडक बनाए जसरी। तर पहाडै पहाड सुरुङ र उच्च भूभागको पुलहरूमा रेल कुदाउने कुरामा उनीहरू पनि तयार थिएनन् र त उनीहरूको प्रारम्भिक रिपोर्टमा त्रिशुलीको किनारैकिनार बट्टार हुँदै काठमाण्डौँ ल्याउने संभाव्यता देखाएका थिए।
       त्यसैले उनीहरूको प्रारम्भिक अनुसन्धानहरू त्रिशुलीको लगभग किनारै किनार केही छोटा सुरुङहरूसहितको रेलमार्ग बनाउने तिर केन्द्रीत थियो। अघिल्लो लेखको प्रतिकृयामा केही विज्ञले भनेअनुसार ती स्टेसनका  नाम मैले अम्मल डम्मल खैरे पात गरेर छानेको थिइँन।  गतसाल चिनियाँ विज्ञहरूले नै गरेको प्रारम्भिक अध्ययनले त्यही बाटोबाट काठामाण्डौँ रेल भित्रिने संभावना देखाएको थियो। तर नेपालको रेल विभाग त यस्ता प्रतिवेदन बुझ्‍न र न्यारोगेज र ब्रोडगेजको फरक छुट्याउनमात्र गठन भएको देखिन्छ। विशालनगरको सानो घरले कहिले द्रुत भन्छ त कहिले १८० देखि २०० किलोमिटर प्रतिघण्टा त कहिले १०० किलोमिटर प्रतिघण्टाको गीत गाउँछ। विज्ञ इन्जिनियरहरू नै एउटै गतिमा अडिन नसक्ने कस्तो प्रचलन हो?
       अहिलेसम्म चीनले यो योजनामा कम्तिमा तीनपटकजति अध्ययन गरेको पाइन्छ। त्यसअनुसार ४१०० मिटर उचाइको केरुङ सहरबाट २५ किमीको दुरीमा रेल १९५० मिटरको उचाइमा झर्नु पर्ने हुन्छ र त्यसका लागि भरखरै पाइकु तालछेउ र्‍याम्प बनाउने खबर आएको छ। रसुवागढीबाट स्याफ्रुबेसी (१५०० मि), मैलुङ (९०० मि), बेत्रावति (९०० मि) र विदुर (६०० मि) हुँदै ककनीबाट काठमाण्डौँ ल्याउने उनीहरूको प्रारम्भिक योजना छ। ककनीको डाँडो नचढाएर सुरुङबाट ल्याए पनि विदुरबाट ३५ किलोमिटरभन्दा कम दुरीमा लगभग ९०० मिटरको उकालो  (३%) उक्लिनै पर्ने हुन्छ। यसरी समानान्तर रेखा तानेजसरी रेलमार्ग बन्छ भनेर मान्दा पनि ४% को हाराहारीको कोणमा रेल सजिलै चल्न सक्दैन। अनि यो पनि यथार्थ हो कि पहाड ताछेर बनाइने बाटो एकनासले उचाइ लिँदैन र कतै अलिक बढि ढलान र कतै अलिक कम ढलान भएकै बन्नेछ। मेरो पहिले कै प्रश्न फेरिः ४% देखि ७% सम्मका ढलानमा कसरी रेल कुद्छ त? झन् सम्झौतामा त मालगाडी (कार्गो रेल) समेत चल्न सक्ने रेलमार्ग भनिएको छ। र हामीलाई यो पनि थाहा छ कि कार्गो रेलमार्गका लागि १.५ प्रतिशतभन्दा कम कोणमात्र चलनचल्तिमा छ। र यो भनेको लगभग सत्तरी किलोमिटरको दुरीमा बल्ल एक किलोमिटर उकालो चढ्नु हो।
       त्यसो त ढलानलाई न्युनिकरण गर्ने उपायहरू पनि छन्। यसका लागि दाँती भएको र्‍याक बनाउन वा केवलले तलमाथि गराउन पनि सकिन्छ। अझ केरुङबाट सुरुङैसुरुङ सगरमाथा वा अन्नपूर्णतिर लगेर काठमाण्डौँसम्मको दुरी तीन-चारसय किलोमिटरको बनाएर त्यो ढलानलाई कम गर्न पनि सकिन्छ। त्यस्तै पहाडभित्र सुरुङ बनाएर र्‍याम्प बनाउन सकिन्छ। त्यसो गर्दा रेल कम ढलानको केही उचाइ चढिसकेपछि पुःन उल्टो दिशातर्फको अर्को सुरुङमा चढ्छ र यसै रितले आवश्यक र्‍याम्पहरूका मद्दतले उचाइ हाँसिल गर्नेछ। र अर्को उपाय चाहिँ पहाडभित्र स्पाइरल सुरुङ बनाउने र फनफनि घुमेर आवश्यक उचाइ लिने।
       सुरुङ र अग्ला भायाडक्ट र पुलवाला उपाय, पहाडभित्र र्‍याम्प सुरङवाला उपाय र स्पाइरल सुरुङवाला उपायबारे सोच्दा हामीलाई नै अलिक हावादारी लाग्दछ। हो, संसारको कुनै कुनाहरूमा यस्तो पनि भएका छन्।  हालसम्मको संसारकै अग्लोऽ फ्रान्सको ३४३ मिटर लामो पिलरमा ठडिएको ‘मिलाउ भायडक्ट’ नामक पुलभन्दा तीनगुणा माथि आकासतिर देखिने नेपाली पुलहरू लाङटाङ खोला र बेत्रावति खोलामाथि बन्ने सम्भावनालाई नकार्न सकिन्न। तर मुग्लिनमा एउटा १२० मिटर लामो पुल बनाउन चारबर्ष लगाएर अझ ‘नमुना पुल’ बनाएको भनेर पत्रिकाको मूख्यपृष्ठमा गर्वसाथ छाप्‍नुपर्ने देश खोला, खहरे र गल्छीमा एक किलोमिटर अग्लो पिलर उठाएर डेढकिलोमिटर लामो पुल बनाउन समर्थ हुनेछ  आशा गर्नु पनि राम्रै हो।
       अनि कलंकीको सानो अन्डरपास बनाउन त्यही चीनले छ बर्ष लगाएको  चाहिँ अरू नै कारणले हो भनेर अब त्यति नै बर्षमा दशौँ किलोमिटर लामा सुरुङहरूसहितको रेलमार्ग बनाउने कुरा पत्याउन सक्नु पनि राम्रै हो।
हामीले जम्मा ४० टनका ट्रकहरू अमलेखगञ्जदेखि कन्दै उकालो लागेको र त्यसले गर्दा धसिएको बाटो देखिआएका छौँ। त्यस्तै मुग्लिन-नारायणघाट खण्डको बाटोमा दिनहुँजसो पहिरोले अवरुद्ध पारेको खबर हामी सबैले पढिरहेका छौँ। लु, बाटो त अलिकति पहिरो पन्छाएर, अलिकति डाइभर्सन बनाएर केही घण्टामा खुल्ला रे। रेलको सन्दर्भमा पनि त्यस्तै हुन्छ? भास्सिएको ठाउँमा चारवटा ढुङ्गा र स्याउला राख्दिएको भरमा आधुनिक रेल रोकिन्छ?
        हजार टनको रेलले लिगमा शुन्य ढलानमा गतिअनुसार जति दबाव श्रृजना गर्दछ, त्यसै अनुरुप ओरालो लागेको रेलले ढलानको प्रतिशतअनुसार अतिरिक्त दबाव बनाउँछ। प्रारम्भिक अध्ययनअनुसार ९५ किलोमिटर लामो ओरालोमा लगातार लगाउनु पर्ने ब्रेक सिस्टमले रेलमार्गलाई निकै क्षति पुर्‍याउने देखिन्छ। भौतिक विज्ञानअनुसार सिधा लिकमा उही गतिमा गुडिरहेको रेल रोक्न जति शक्ति लाग्छ ओरालो लाग्दा त्यसमा ढलानअनुसार बृद्धि हुन्छ। १:३०० को कोण भए दुईगुणा भने १:७५ को भए पाँच गुणा बढिको घर्षण र दबाव श्रृजना हुन्छ। अब ४ प्रतिशत ढलानमा दुई-तीन हजार टनको रेल गुडेको सोचौँ। हाम्रा पहाड र बाटा यस्तो दबाव झेल्न सक्छन्?

सोध्नै नहुने कुराः
       कसैले “रेलमा के हालेर पठाउने” भन्यो भने जवाफ आउँछ, अहिले चाहिँ के हालेर पठाएका छौ नि? अहिले पनि नेपाल आउने ९६% कन्टेनर खालि फर्किन्छन् भने। त्यसैले पछि पनि रित्तै कन्टेनर पठाए आकासै खस्दैन।“तर प्रधानमन्त्रीजीले नै भन्नुभएकाले एउटा कुरा चैँ  सम्झाइराखौँ, उहाँले रेलमा हिमालबाट आउने पानी बोतलमा भरेर पठाउने भन्नु भएको छ।
       प्रश्न गर्नु राम्रो होइन, तर सोच्न त पाइएला, के तिब्बतमा चैँ हिमालबाट झरेको पानी पाइन्न? उसले त झन् सगरमाथाकै फेदिमा ‘झोमोलोङ्मा ग्लासियर’ नामकै मिनरल वाटर बनाएर बेचिरहेको छ। कसरी केरुङकै बाटो चीन हुँदै पुर्‍याइएको नेपाली पानी चिनियाँ पानीभन्दा सस्तो हुन्छ वा राम्रो हुन्छ र विदेशीले खोजिखोजी नेपाली पानी खान्छन्? विदेशी बजारमा नेपाली उत्पादनको साख चिनियाँ उत्पादनको भन्दा खत्तम छ भन्ने कुरा सबैलाई थाहै छ।
       सन २०१४ मा जम्मा डेढ लाख घनमिटर बोतलबन्द पानी उत्पादन गरेको तिब्बतबाट सरकारले सन २०२० भित्र ५० लाख घनमिटर बोतलबन्द पानी उत्पादन गर्ने लक्ष राखेको छ। त्यहाँ सिनोरेलदेखि अन्य विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरू धमाधम हिमनदीमा ड्रिल गर्नेदेखि झरनामा पानी थाप्दैछन्। तर त्यो हिमाली पानीले चीनकै बजारको पनि जम्मा तीन प्रतिशत हिस्सा ‘मात्र’ ओगट्न सक्नुमा पानी ‘नमीठो’ भएरभन्दा पनि ढुवानी खर्चले गर्दा महंगो बनाएकाले हो। अनि सोचौँ, नेपालको हिमाली ‘औषधीय’ मिनरल वाटर बनाउने उद्योगबाट केरुङ हुँदै फेरि तिनै तिब्बती पानीका फ्याक्टरीछेवैबाट संसारभर पुर्‍याइएका हाम्रा पानीका बोतलहरू। सपना राम्रै हो, तर अर्थशास्त्रअनुसार सायद हिसाब मिल्दैन।
       अर्को उच्चारण गर्नै नहुने शब्द हो ‘चीनको ऋण-पासो’। भनिन्छ, श्री लंकाको हम्बनटोटा बंदरगाहको “कुरै बेग्लै हो”। भएको खासमा चैँ के हो त? चिनियाँ डीपीआर, चिनियाँ प्राविधिक र ८५% चिनियाँ ऋणमा करिब ४० अर्बको लागतमा त्यो बन्दरगाह बन्यो। संचालन भएको ६ बर्षपछि सन् २०१६ मा पनि श्री लंकाले त्यसबाट जम्मा १ अर्बमात्र आम्दानी गर्न सक्यो। संचालन र मर्मत-संभार खर्च नकाटीकन नै त्यो आम्दानी चीनबाट लिएको ऋणको ब्याज तिर्न पनि अपुग थियो र हरेक बर्ष २०% को आम्दानीमा बढोत्तरी गर्ने प्रक्षेपण गर्दा पनि उसले कहिल्यै त्यो ऋण तिर्न नसक्ने देखियो। अन्तत पुरै परियोजनाको ८०% हिस्सा र ९९ बर्षको लिजमा श्री लंकाले त्यो बन्दरगाह र त्यसले चर्चेको जमिन चिनियाँ कम्पनीलाई बुझायो। अब भनौँ, श्री लंकाले पायो के? यदि यसलाई ठीक मान्ने हो भने २५ बर्षपछि नेपालकै हुने कर्णाली वा अन्य विद्युत आयोजनाको विरोध किन गर्ने त? शुन्य लगानीमा केही प्रतिशत निःशुल्क बिजुली पनि पाइने र चारगुणा कम समयमा नै सम्पूर्ण परियोजना नै आफ्नो हुने आयोजनाहरू पक्कै पनि श्री लंकाको भन्दा फाइदाजनक ‘डिल’ हुन्। नत्र त करिब डेढ खर्बको ८०% वैदेशिक ऋणमा निजगढ विमानस्थल चीन वा भारतलाई बनाउन दिएर त्यसको ८०% सेयरसहित उनीहरूलाई नै सयबर्षसम्म संचालन गर्न दिए हुन्छ त?
       लगभग ४ खर्ब रुपैयाँको लागतमा ब्रिटिस राजको पुरानै रेलमार्ग समानान्तर चिनियाँ ऋणबाट बनेको जम्मा बार्षिक १३ लाखले चढ्ने र प्रतिदिन दुईवटा यात्रुवाहक रेल कुद्‍ने केन्याको मोम्बासा-नैरोबी रेलमार्गले चीनलाई फाइदा भयो वा केन्यालाई कुरै गर्न नमिल्ने भएको छ यो ‘उत्तर हेर’ नीतिमा। अर्काले तर ऋणमा बनाइदिएको केन्याको रेलमार्ग बनिसक्दा अन्तराष्ट्रिय मापदण्डअनुसार तीन गुणा र आफ्नै प्रारम्भिक अनुमानभन्दा चार गुणा बढि लागतमा सम्पन्न भएको ४७२ किलोमिटर मध्यम गतिको रेलमार्ग केन्याको समृद्धि हो वा दूर्दशा, कुरै हुन पाएको छैन। केन्यामात्र हैन, दक्षिण सुडान, इथियोपिया, युगाण्डालगायतका भू-परिवेष्ठित छिमेकी देशमा पनि कार्गो बोक्ने अवसर पाएमा यो रेलमार्गको औचित्य पुष्ठी होला। र पनि केन्या सरकारलाई निकै समयसम्म दुईगुणा समय लिने पुरानै रेलमार्गलाई विस्थापित गरेको यो मार्ग यत्रो ठूलो ऋणमा तत्कालै बनाउन कति आवश्यक थियो र कसरी ऋण तिर्न सकिन्छ भनेर बताउन कठिन भइरहने छ।
       यदि नेपालले यो रेलमार्ग चिनियाँ ऋणमा बनाउन चाह्यो भने र सौभाग्यवश परियोजना जम्मा १० खर्बमै सम्पन्न भयो भने पनि अहिलेको प्रतिनेपालीको टाउकोमा रहेको आन्तरिक र बाह्य ऋणको भार २५ हजार रुपैयाँबाट बढेर ५५ हजार रुपैयाँमा पुग्छ।  किन्तु परन्तुबाट मुक्त यो ऋणको ब्याज तिर्ने २० अर्ब बार्षिक खुद नाफाको हिसाब देखाउन मेरो टाउकामा दोब्बर ऋणको भार बजार्ने विज्ञ र सरकारसंग अनुरोध गर्न सम्म त पाइएला नै।
       जम्मा केही अर्ब लागतको त्रिशुलीको दुवै किनारमा दुई-दुई लेनको गरेर काठमाण्डौँ-केरुङ चारलेनको सडक बनाउँदा सायद लागत र प्रतिफलका हिसाबले तात्कालिन अवस्थामा देशलाई फाइदाजनक हुन्छ भन्ने मेरो भनाइ हो। त्रिशुलीको तिरैतिर रेल ल्याउने उद्घोष गरेका दिन न त त्यो ठाउँमा चारलेनको बाटो बनाउन मिल्नेछ न त रेल नै फटाफट आउने छ। दशकौँ त्यही योजनाले हुनसक्ने र सस्तो सडक नै पो नबन्ने हो कि? गल्छी-त्रिशुली-मैलुङ-केरुङ लोकमार्ग अहिले धमाधम बनिरहेको छ। जम्मा ८२ किलोमिटरको बाटोमध्ये चीनले रसुवा-स्याफ्रुबेसी खण्डको १६ किलोमिटर बनाउँदैछ बने बाँकी खण्ड नेपाल सरकारले आफैँ बनाउँदैछ। जम्मा ९ अर्ब ५० करोडको लागतमा दुई लेनको ११ मिटर कालोपत्रे हुने सडक बन्दैछ। अझ टोखा- छहरे सुरुङमार्ग पनि अध्ययनमा छ। २६ अर्ब खर्चमा सुरुङमार्गसहितको बाटोबाट नै साढे दुईघण्टामा केरुङ पुग्ने बताइँदै छ। आशा गरौँ, रेलले यो बाटोको भविष्य धरापमा नपारोस्!
     
       चिनियाँ रेलबारे अलिक धेरै कुरा उठेको हुनाले र अलिक गाह्रो देखेकाले यही रेलको कुरा गरियो। तर चाचा चौधरीहरू लगत्तै प्रतिप्रश्न गर्नु हुन्छ, भारतीय रेल चैँ आउँछ? फेरि भनौँ, यदि चिनियाँ रेल काठमाण्डौँ आउने भयो भने त्यो पक्कै ऋणमा आउँछ र त्यो आउनेबेलासम्म भारतीय ऋणमा रक्सौल-काठमाण्डौँ रेल पनि आउँछ। आफ्नो लगानी नगरी दुईसय किलोमिटरमा छोटिन पाउने भएपछि कसले गर्दैन? अनि हामी पनि आफ्ना टाउकामा बोकाइएको अतिरिक्त पचास हजारको ऋणभारले बनेको घाउमा स्वतः स्टेसनमा नुन-खोर्सानी दलेको काँक्रो र चिया बेच्‍नेजस्ता असिमित रोजगारी श्रृजना गरेर मलम लगाउने नै छौँ।
        म रेल विज्ञ हैन र हुन पनि सक्दिन। तर अब यति चैँ भन्न मन छ कि केरुङबाट काठमाण्डौँ रेल आएछ भने पनि कुनै द्रुत वा मध्यम गतिको नभई दार्जिलिङको जस्तै १५-२० किलोमिटर प्रतिघण्टा चल्ने न्युनगतिको पहाडी छुकछुके रेल आउनेछ अनि अझ उच्च ढलान, पहिरोको जोखिम र कमजोर धरातलका कारण समानान्तर सर्भिस लेनमा मोटरसाइकल वा बोलेरोमा रातो वा हरीयो झण्डा बोकेका कामदारको भरमा बिस्तारै गुड्नेछ। सायद पुरै बर्खायाम रेलसेवा बन्द हुनेछ। दैव! रेल कुद्दा कुद्दै पहिरो चैँ नजाओस्!
       रेलबारे प्रश्न गर्नेबित्तिकै कसैले कन्स्पिरेसी थ्योरी लगाएर यो समृद्धि नचाहनेहरूको हल्ला भन्न सक्दछन् भने म पनि रेलको सपना देखाएर चीन जोड्ने एउटा ढंगको सडकमार्ग बन्न सक्ने ठाउँलाई रेलका लागि छुट्याएर सडक बन्न नदिने र युगौँ युग फेरि भारतपरस्त बनाइरहने ग्राण्ड डिजाइन हो भनेर आफ्नै कन्स्पिरेसी थ्योरी पनि पस्कन सक्छु नै। चिल आयो चिल आयो भनेर गाउँका कुखुरा चोर्ने बाठो स्यालको दन्त्यकथा पढेका नेपालीका सन्तानले रेल आयो रेल आयो भनेर बाटो नबनाउने सरहरूका कुरा नपत्याउन पनि के बेर?

       कि रेल नभनेर रोलर कोस्टर भन्दिउँ?

(नयाँ पत्रिका ०४ भदौ, २०७५)

समृद्धिको ढोकाः चीनिया द्रुतरेल (रेल विचार, भाग १)

5:29 PM 0

समृद्धिको ढोकाः  चिनिया द्रुतरेल
-रामेश कोइराला
           हाम्रा प्रधानमन्त्रीले जस्तै मैले पनि मेचीपारि गलगलियामा गुडेको रेलको आवाज र मालगाडीको डिब्बा गनेरै बाल्यकाल बिताएको छु, सुदूरपूर्वको गाउँमा। तत्कालिन अञ्चलाधीश मनमोहन मिश्रले मेचीपुलको शिलान्यास गर्दादेखि नै मैले पनि खोलो तरेर झापामा रेल कुदे कस्तो गजब हुन्थ्यो भनेर निकैपटक सपना पनि देखेको छु।
          अहिले समय केही बद्लियो। अर्धशताब्दीपछि मेचीमा पक्की पुल बन्यो। पुलसम्म पुग्ने बाटो नबने पनि भद्रपुरेलाई बिहान-बेलुका घुम्ने र आगन्तुकलाई गर्वका साथ देखाउने पर्यटकीय स्थल बनेको छ त्यो पुल। बुद्धको मुर्ति र औधोगिक क्षेत्र दमकतिरै बने पनि सुक्दैगएको भद्रपुरलाई पुरानो वैभव फर्की पो हाल्छ कि भनेर भुल्याउने अस्त्र बनेको छ। तर बिडम्बना, पुलमा रेल गुड्ने लिक पनि छैन र भद्रपुरेलाई पूर्व-पश्चिम रेलमार्ग भएर आफ्नै गाउँबाट राजधानी मेल, ४२० अपमा कुनै दिन काठमाण्डौँ पुगेर दसैँमा आफ्नै जिल्लावासी प्रधानमन्त्रीको हातबाट टिका ग्रहण गर्न पाइएला भन्ने आशा नै छ।
           तर जे भए पनि हाम्रा प्रधानमन्त्री र मलाई रेलप्रति निकै आशक्ति छ। अझ विगत केही बर्षदेखि निरन्तर र यस जनप्रिय सरकारले तारान्तर भनिरहेको केरुङबाट काठमाण्डौँसम्म पुरै नेपाललाई पुग्ने समृद्धि बोकेर आउने द्रुतरेललाई यतै कतै सामाखुसीतिर अबिर दल्दिने सपना पनि छ। तर संगसंगै मलाई नेपालमा रेल समृद्धिका लागि प्रमुख अवयव हो वा होइन भन्नेमा संशय पनि छ।

त्यसैले सोध्‍न मन छ,
“कसरी नेपालमा द्रुतगतिको रेल आउँछ?”

       नेपालले निकै दशकपछि चीनसंग सम्बन्ध दरीलो बनाउँदैछ र भारतपरिवेष्टित मूलुकबाट बल्ल भूपरिवेष्टित बनाउँदैछ। यो हाम्रालागि अत्याधिक खुसीको कुरो हो। तर नेपालमा पछिल्लो भारतीय नाकाबन्दीपछि ‘उत्तर हेर’ नीति ब्यवहारमा नभए पनि ‘कुरा’मा निकै फस्टाएको छ। र त्यो नीतिको उत्कर्षमा चीनबाट केरुङ हुँदै काठमाण्डौँ, पोखरा र लुम्बिनीसम्म पुग्ने रेल गजधम्म बसेको छ। समृद्धि यानेकि चुच्चे रेल। चुच्चे रेल यानेकि समृद्धि। यो नारा सत्तारुढ वामपन्थीले मात्र हैन घोषणापत्रमार्फत लुरे प्रतिपक्षले समेत जोरबलले उचालेका छन् भने विज्ञहरूबाट समृद्ध स्वतन्त्र अस्तित्ववाला दलले पनि। चीनको उच्चस्तरीय भ्रमणमा रहेको सरकार यसैपालि द्रुतरेलबारे ठोस प्रगति गर्न हतारिएको देखिन्छ भने देशका नगन्य पूर्वाधारविज्ञहरू पनि ‘समृद्धिको ढोका खोल्न सक्ने केरुङ-काठमाण्डौँ द्रुतरेलमार्गजस्तो पूर्वाधार आयोजना जसरी पनि बन्नु पर्दछ र यसमा कुनै पनि किन्तु, परन्तु लगाएर बाधा-व्यवधान गर्नु हुँदैन’ भनेर भन्दै छन्। हाम्रै आशक्ति बुझेर बुधबार चिनिया राष्ट्रपति सि जिनपिङले रेल प्राथमिकतामा त राखे, धन्न ‘द्रुत’ चैँ भनी दिएनन्। बिहिबार हस्ताक्षर भएको ‘ट्रान्स-हिमालयन मल्टी-डाइमेन्सनल कनेक्टिभिटी’ अन्तर्गतको रेलवे कनेक्टिभिटीसम्बन्धित समझदारीपत्रलाई त परराष्ट्रमन्त्रीको भाषामा नेपालमा रेलमार्ग निर्माण नै हुने भयो र अबका दुई महिनाभित्र वृहद परियोजना अध्ययन सुरु हुनेछ अनि सातबर्षभित्र रेल केरुङबाट काठमाण्डौँ आइपुग्नेछ भनेर बुझिँदैछ।

      एउटा कालखण्डमा केपी ओलीजी देशकै भविष्य सपार्न क्रान्तितिर लागेर जेल पर्नु भयो। म आफ्नै भविष्य सपार्न इन्जिनियर बन्ने सपना लिएर काठमाण्डौँ भास्सिएँ। अनि गलगलियाको छोटीलाइनको लिकमा रेल चल्न छाड्यो। झापालीले रेलको अनुहार देख्‍न छाडे।
      हो, रेल पक्कै चाहिन्छ। ‘सेलेक्टिभ पक्षपातवाद’मा पुगेपछि जापानले आफूलाई बुलेट ट्रेन बनाएकाले मात्र कायापलट गर्‍यो भन्दै गर्दा दक्षिण कोरियाको सोल-बुसान द्रुतमार्गको उदाहरण दिन बिर्सिने रहेछ। जापान द्वितीय विश्वयुद्धभन्दा अगाडि नै प्लेनसमेत बनाउने हैसियतवाला देश थियो। ऊसंग पूँजी थियो, रेल थियो र थप उन्नतिका लागि ‘द्रुतरेल’तर्फ लाग्यो भने आर्थिकरुपले निर्घो दक्षिण कोरियासंग थैलीअनुसारकै योजना थियो। कोरियासंग ऋण लिएर समृद्धिको पथ बनाउनु थियो र कम खर्चिलो द्रुतमार्गतिर लाग्यो। त्यसबेला द्रुतरेललाई ‘किन्तु परन्तु’ गर्दिएको दक्षिण कोरियामा अहिले चैँ ऋणको गह्रुङ्गो भारबिना नै मनग्यै रेल कुद्छन्।
       मेरो आसय नेपालमा त्यो रेलमा के आउँछ र त्यसमा नेपालले के हालेर चीन पठाउँछ भन्नेतिर पटक्कै छैन। न त चीन र भारतले नेपाललाई दुईघण्टे ‘ट्रान्जिट’ बनाउने दाउ गर्दा नेपालले के पाउँछ भनेर नै मतलब गर्न चाहन्छु। पनामा भन्ने देशले पनामा नहरबाट नेपालको आधाउधी बजेट बराबर रकम विदेशी जहाजसंग भाडामात्र उठाउँछ, हामी पनि भारतीय र चीनिया रेलसंग ‘टोल’ उठाएरै समृद्धि ल्याउने कुरामा पनि त्यति अलमलिन चाहन्न। मेरो मित्रजस्तै ओरालोमा रेलले ब्रेक लगाउँदा यति मेगावाट बिजुली निकालेर देशै झलमल्ल पार्छ वा पार्दैन भन्ने बहसमा जान नै चाहन्छु। म त खाली सिलिगुडीबाट दार्जिलिङतिर घस्रिएको सानो रेलमा हरेक उकालोमा सहयोगीले लिगमा बालुवा छरेको र रेल गाडी केही पछाडि सर्दै उकालो चढेको सम्झिँदै ‘अविज्ञ’का रुपमा गुगलेश्वरीको चरणमा पर्न चाहन्छु। मलाई चासो नेपालमा कुन चौडाईको रेलमार्ग बनाइदैछ, देशभरि एउटै गेजको रेलमार्ग हुन्छ कि फरक फरक, यसले के फरक पार्छ अनि चीन र भारतबाट द्रुतरेल आउँछ वा कस्तो रेल आउँछ भन्ने कुरामा छ।
       विगत केही समयदेखि समाचारअनुसार नेपालमा कसले पहिला रेल ल्याउने भनेर चीन र भारतका बिच प्रतिस्पर्धा चलिरहेको छ। वास्तविकतामा चैँ भारतीय रेल नेपालमा निकै पहिलादेखि थियो र दशकअगाडिदेखि पाँचवटा नाकाका सुख्खा बन्दरगाहसम्म, जयनगर-जनकपुरको रेलमार्ग बर्दिबाससम्म र पूर्व-पश्चिम रेलमार्ग निर्माणका चरणमा छन्। तर ती कुनै पनि योजना नेपालको राजधानीसंग जोडिएका थिएनन्। अनि समृद्धि ती बाटाबाट नआउने भइन्।
       नयाँ सरकार आयो। म इन्जिनियर बन्न नसके पनि ओलीजी सर्वोच्च पदमा पुग्‍न सफल हुनुभयो अनि यसै छेक गलगलियाको ब्रोडगेजको लिकमा फेरि रेलको सिठ्ठी बज्‍न थाल्यो। अझ मोदीजीले वीरगंजबाट द्रुतरेल काठमाण्डौँ पुग्नेछ पनि भन्दिई सक्नु भएको छ। अनि यसपालि त सरकारले चीनसंग रेलमार्गसंग सम्बन्धित समझदारीपत्रमै हस्ताक्षर पनि गरी सक्यो। अब त समृद्धिलाई नआई सुःख?

       रुसी रेलमा युरोप घुम्न जाँदा बेलारुस-पोल्याण्ड सिमानाको ब्रेस्ट शहरमा एकघण्टाभन्दा बढिको बिश्राम हुन्थ्यो, रसियन गेज (१५२० मिमि)को रेललाई युरोपियन गेज (१४३५ मिमिको स्ट्यान्डर गेज)मा बदल्न। भारतमा १६७६ मिमिको ब्रोडगेज चलनमा छ र उसले बेलायतराजका बेलाका १४३५ मिमिका प्राय सबै रेल लिकलाई विस्थापित गरिसकेको छ। अनि त्यही बडीलाइनको लिक अहिले जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्म बिच्छ्याउँदैछ। तर उता चीनमा स्ट्याण्डर्डगेजको चलन छ। छेन्दु-ल्हासा-सिगात्से रेलमार्ग १४३५ मिमिको लिकमा बनेको छ र त्यही नै केरुङ हुँदै काठमाण्डौँसम्म आइपुग्नेछ। भनेपछि भारतबाट काठमाण्डौँको स्टेसनमा आइपुगेको सामान या त रेलको डिब्बा नै बदलेर या त हरेक डिब्बाको चक्का बदलेरमात्र चीन पुग्नेछ।
नेपालमा रेलबारे बुझेका विज्ञ भनेर रेल विभागकै इन्जिनियरलाई नै मान्नुपर्छ। रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायका अनुसार केरुङ-काठमाण्डौँ रेल सम्भव भएको अनि अब विस्तृत अध्ययन गर्ने र काम अघि बढाउने सहमति गरिने कुरामा ढुक्क हुने हो। उनका अनुसार काठमाण्डौँ-वीरगंज एकसय किलोमिटर रेलमार्ग हुनेछ भने काठमाण्डौँ-रसुवागढी ७५ किलोमिटर। अनि उनले नेपाली रेलको गति पनि तोकेका छन्, एकसय अस्सी किलोमिटर प्रतिघण्टादेखि दुईसय किलोमिटर प्रतिघण्टा।  लिक १४३५ एमएम।
       लगत्तै रेल आयोजनाका इन्जिनियर विश्व केसीको भनाइ पनि पत्रिकामा छापियो। उनका अनुसार मेची-महाकाली रेलमार्ग स्टेन्डरगेजको सिंगल ट्रयाकमा निर्माण गरिँदैछ। केही हरफ तल फेरि उनैको भनाइ छ, ‘स्टेन्डरगेजको रेलमार्ग निर्माण गरिए पनि भारतको ब्रोडगेजसंग लिंकअप गर्न समस्या हुँदैन। भारतमा १६३६ एमएमको ब्रोडगेज छ र नेपालमा स्टेन्डरगेज १५३६ एमएमको निर्माण भइरहेको छ।‘
       तर जानेअनुसार जयनगर-जनकपुर-बर्दिवासको ६९ किमी मार्ग १६७६ मिमिको भारतीय ब्रोडगेजमा छ र त्यसैलाई अहिले लालबन्दीसम्म थप २५ किमीको निर्माण सम्पन्न भएको भनिएको छ। के बर्दिवासमा ट्रयाक बदलिएको छ? त्यस्तै रेल विभागअनुसार अहिलेको पूर्व-पश्चिम रेलमार्गको लागत ५० करोड प्रतिकिलोमिटर छ। अनि नेपाल सरकारको ३ अर्ब ३० करोड रुपैँया लगानीमा बर्दिवासदेखि लालबन्दीसम्म २५ किलोमिटर रेलमार्गको निर्माण सकिएको छ। यी दुवै कुरालाई सही नमानेर सुख?
       मलाई कताकता लाग्छ, ‘यी पत्रकारलाई केही आउँदैन, जे भन्दिए पनि हुन्छ’ भनेर रेल विभागले सूचना दिन्छ र हामी पाठक ‘दिमाग नलगाईकन’ ती समाचारहरू पढ्दैछौँ।

       अब चीनिया रेलबारे केही कुरा। हामी केरुङबाट काठमाण्डौँ ‘बुलेट ट्रेन’ कुदेको सपना देखिरहेका छौँ। केही भूगोल र भौतिक विज्ञानको कुरा हेरौँ। अलिकति संसारको रेलमार्ग, द्रुतरेल र सुरुङरेलको इतिहास पनि हेरौँ। गाडीभन्दा पुरानो रेल निकै बर्षसम्म यातायातको प्रमुख साधन बन्यो र समृद्धिको संबाहक पनि। रेल चिल्लो फलामको लिकमा चिल्लो फलामकै चक्का गुड्किएर चल्दछ। गाडीको रबरको चक्काजस्तो घर्षण कम हुने हुँदा रेल गाडीजस्तो सजिलै उकालो-ओरालो गर्न सक्दैन। सिधा रेखा तानेजस्तो गरे पनि ‘एड्हेसन’ प्रविधिमा चल्ने रेलमार्ग ठूलो उचाईमा चढ्दैन। तर त्यतिबेला विकास ल्याउन संसारका निकै देशले कठीन भूगोलमा रेल पुर्‍याए पनि। रेललाई उकालो चढाउन तीनवटा विकल्प अपनाइन थाल्यो। कम कोणमा एड्हेसन (साधारण लिक) रेलमार्ग बनाउने, र्‍याक रेल (दाँती भएको रेलको लिकमा दाँती भएको रेलको चक्का चलाउने) र केवलको मद्दतले तान्ने। ओरालो ओर्लदा डिब्बाहरूका बिचबिचमा ब्रेक रेल पनि राख्‍न थालियो।
       बाटोजस्तै रेलको ढलानलाई कोण वा अनुपातमा नापिन्छ। १:१०० भन्नाले हरेक सय किलोमिटरमा १ किलोमिटरको उचाई बुझिन्छ। यसलाई १ प्रतिशतको उचाई भनेर भन्ने चलन छ। त्यस्तै १:२५ ले ४ प्रतिशतको कोण बुझिन्छ भने १:४० ले २.५ प्रतिशतको। ससाना रेलहरू बढी उकालो चढ्न सक्दछन्। लिकमा गुड्ने ट्रामलाई पनि रेल नै मान्दा संसारमा आजसम्म चलेको रोमानियाको ट्रामलाई सबैभन्दा उच्च कोणको रेल भन्नु पर्दछ। भारतकै हिमाचल प्रदेशको काङ्गडा उपत्यका रेल १:१९ को अनुपातमा र दार्जिलिङ हिमालय रेल १:२२ को अनुपातमा उकालो चढेका रेलमार्गका उदाहरणहरू हुन्। ती रेलहरू हेरी सकेकालाई भन्नु नपर्ला यो साढेचार प्रतिशतको उकालोमा कस्ता द्रुतरेलहरू कुद्‍न सक्दछन् भनेर।
       नेपालजस्तै उच्च भूगोल भएको बोलिभियामा आजभन्दा सयबर्षभन्दा अघि नै एरिका-ला पाज रेलसेवा सुरु भएको थियो। चिलीको समुन्द्र सतहबाट ४२५७ मिटरको उचाईसम्म पुगेर यो बोलिभियाको राजधानी पुग्दथ्यो। तर त्यो उचाई लिनका लागि ४४० किलोमिटरको रेलमार्गमा ४३ किलोमिटर पुरै र्‍याक रेल थियो, दाँती लगाएर माथि चढाउने। अनि चिलीको बन्दरगाहबाट रेलमा ल्याउन भन्दा ट्रकमा सामान ढुवानी गर्न सस्तो र सजिलो अनि रेल चढ्ने यात्रुको कमीका कारणले यो दुःख गरेर बनाइएको रेलसेवा १९९६ मा बन्द भयो।
       हामी सयबर्ष पछि लगभग यस्तै सपना देख्दैछौँ।
       अहिले संसारमा मेट्रो र अन्य पेसेन्जर ट्रेनहरू ४ प्रतिशत उचाईसम्मका छन्। तर द्रुतरेललाई चार प्रतिशतभन्दा कम कोणमा बनाइन्छ, त्यो पनि फगत केही मिटरका लागिमात्र, ‘मोमेन्टम’बाट पार लगाउँछ भनेर। यस्ता द्रुतरेलमा जर्मन र फ्रान्सका एक-एक रेलमार्ग पर्दछन्। अहिलेसम्म संसारमा १:२५ भन्दा बढि उचाई चढ्ने द्रुतरेल छैन। अनि मालगाडी (कार्गो रेल)का लागि चैँ १.५ प्रतिशतभन्दा कम कोणमात्र चलनचल्तिमा छ। र यो भनेको लगभग सत्तरी किलोमिटरको दुरीमा बल्ल एक किलोमिटर उकालो चढ्नु हो।
       केरुङबाट द्रुतरेल या त पहाडहरूमा सुरुङमार्गबाट दौडिन्छ र हरेक पहाडहरूका बिचमा आउने गहिरा गल्छीहरूमा आधा किलोमिटर अग्ला पुलहरूबाट सिधा रेखा ताने जसरी काठमाण्डौँ आइपुग्छ या त चिनिया प्रारम्भिक अध्ययनअनुसार केरुङ-रसुवागढी-स्याफ्रुबेसी-बट्टार-ककनी हुँदै काठमाण्डौँ आउँछ।
       केरुङ शहरदेखि काठमाण्डौँसम्मको दुरी र उचाई तल चित्रमा दिइएको छ। बक्सहरूभित्र स्टेसनहरू रहने भनिएका ठाउँहरू बिचको कोणलाई उचाई र दुरीको अनुपातमा देखाइएको छ। त्यसअनुसार विदुरबाट ककनी लगभग सात प्रतिशतको कोणमा उक्लिने रहेछ भने मैलुङदेखि विदुरसम्मको खण्डबाहेक हरेक खण्ड १:२५ देखि १:३५ का बन्ने देखिन्छ। अझ थाहा छ, रेलमार्ग एकनासको कोणमा बन्दैन र त्यसबखत देखाइएको अनुपातभन्दा अचाक्ली धेरै कोणका केही खण्डहरू हुनेछन्।

     
        द्रुतरेलमार्ग आजकाल विद्युतियमात्र बनाइन्छ र हामीसंग आफ्नै बिजुली हुने हुनाले पेट्रोलियमबाट चलाउने रेलमार्ग बनाउने छैनौँ नै। विद्युतिय रेलमार्गका धेरै फाइदाहरू छन् तर आजका दिनमा पनि बेलायतमा रेलको ढिलाइमा तार-चोरीलाई प्रमुख कारण मानिन्छ। तामाको तार चोरीबाट निकै देशहरू आजित छन्। त्यस्तै साधारण रेलभन्दा द्रुतमार्गमा कुद्‍ने रेलका इन्जिन र डिब्बाहरू निकै महंगा हुन्छन् भने तिब्र गतिका कारण रेलका लिक चाँडै बिग्रिन्छन्।
       सम्म लिकमा जति शक्तिमा रेल गुड्न सक्दछ, उकालो लाग्दा त्यसमा अत्याधिक बृद्धि हुन्छ। विज्ञानअनुसार सम्ममा गुड्दाभन्दा १:३०० को कोणमा उक्लिन दुई गुणा शक्ति चाहिन्छ, १:१५० भए तीन गुणा, १:१०० भएन चार र १:७५ भए पाँच गुणा शक्ति खर्च हुन्छ। त्यस्तै गति र शक्तिको पनि सम्बन्ध हुन्छ। यदि एउटा ट्रेनले १६ किमि प्रतिघण्टाको गतिमा २५० टन तान्न सक्छ भने ४० को गतिमा जम्मा ५० टनमात्र र ५०को गतिमा जम्मा २५ टनमात्र तान्न सक्दछ। त्यस्तै रेलको शक्तिमा रेलमार्गमा भएका घुमाइले पनि क्षय गर्दछ। उकालो चढेको लिक सिधा रेखामा नभएर जति मोडिन्छ, त्यति बढी तागतको इन्जिनको जरुरत हुन्छ।
       एउटा यात्रुले पुरा भरिएको रेल लगभग ११०० टनको हुन्छ भने मालगाडीमा इन्जिनबाहेक दशवटामात्र डिब्बा राखेको खण्डमा १५०० टन हाराहारी। अहिलेका विद्युतिय रेलमा प्राय नौवटा डिब्बा हुन्छन् र हरेक डिब्बामा दुईवटा १७४ किलोवाट विद्युतिय मोटर (इन्जिन) हुन्छन्। यस अर्थमा एउटा रेलमा तीन मेगावाटको इन्जिन हुन्छ। र संसारमा द्रुतरेलहरू पाँचदेखि दश मेगावाटका इन्जिनका छन्।
       यो हिसाबले जम्मा १:२५ को उचाईवाला द्रुतरेलमार्गमा १०० किमिकै हिसाबले गुड्ने रेलको इन्जिन लगभग ८० मेवाको हुन्छ। अब १८० देखि २०० किमिको गतिको त कुरै नगरौँ। २० मेवाभन्दा बलियो इन्जिन अहिलेसम्म प्रयोगमा आएको देखिँदैन।
       अनि लागत? अहिलेको प्रारम्भिक अनुमानअनुसार लगभग तीन खर्ब लाग्‍ने भनिँदैछ, त्यो पनि चीनले आफ्नो देशमा बनाएका रेलमार्गको प्रतिकिमी औसत लागत हेरेर। हाम्रो विगत भन्छ, काठमाण्डौँ- निजगढ द्रुतमार्गको लागत अनुमान सातबर्षमा ५६ अर्बबाट बढेर ११२ अर्ब भइसक्यो। यो हिसाबले निर्माण सुरु हुँदासम्म प्रति किलोमिटर लागत तीन अर्बबाट बढेर पाँच अर्ब पुग्नेछ र सकिँदासम्म हाम्रोमा चलिआएको भेरिएसन, मुद्रास्फितिका कारण सात-आठ खर्बको लागतमा बर्षौँ लगाएर हाम्रो सपना पुरा हुनेछ।
       ट्रान्स-हिमालयन रेलवे केवल दुईतरिकाले आउनेछ, या त लामा सुरुङहरू र आधा किलोमिटरभन्दा अग्ला स्थानमा बनाइएका पुलहरूबाट सिधै काठमाण्डौँ या त अलिक सजिलो र कम सुरुङ र पुल भएको रसुवागढी-स्याफ्रुबेसी-मैलुङ-बट्टार हुँदै काठमाण्डौँ। तर दुवै तरिकाबाट आए पनि द्रुत रेल चैँ सजिलै आउँदैन। आजका दिनमा रेलको पुच्छरमा रकेट इन्जिन हालेर पनि ल्याउन सकिने प्रविधिलाई हाँक दिएर आउँदैन भन्नु भन्दा ‘सजिलै’ आउँदैन भन्न सजिलो हुन्छ नै। रेल विभागले दावी गरेजस्तो १८० देखि २०० किमी प्रतिघण्टा त के १०० किमी प्रतिघण्टा कुद्‍ने रेल पनि सजिलै आउन्न। अझ भारतीय र युरेसियन टेक्टोनिक प्लेटको संघर्षबाट अति प्रभावित हुने यो क्षेत्रमा पुल (भायाडक्ट र अग्ला पुलहरू) र सुरुङको अत्याधिक प्रयोग गरेर बनाइने द्रुतरेलमार्ग कति सुरक्षित होला? कति खप्ला? कुनै दिन एउटामात्र सुरुङ वा पुल भत्कियो भने फेरि चीन वा भारत कसको मुख ताक्नु पर्ला? कति दिन वा महिना बन्द होला? राजनीतिक नियुक्ति लिन नहतारिने हो भने हाम्रा किन्तु परन्तु निकै छन्।
       नेपालका पूर्वाधार विज्ञ भन्नु हुन्छ, भारतबाट आउने विरगंज-काठमाण्डौँ रेल द्रुत गतिको नबनाऔँ। बरु काठमाण्डौँ-निजगढ द्रुतमार्गलाई चार-लेनको सट्टा दुई-लेनको बनाऔँ र त्यसैमा कम गतिको रेलको लिक ओच्छ्याऔँ। नबुझेको कुरो चैँ चीनभन्दा निकै बर्ष त के दशकहरूसम्म भारतीय बन्दरगाहहरू उपयोग गर्नु हाम्रालागि वाध्यतामात्र नभएर आर्थिकरुपले समेत फलदायी हो र आगामी निकै समयसम्म भारतसंग ‘दुश्मनी’ नभएको खण्डमा नेपाल-भारत सिमानाबाट काठमाण्डौँतिर भित्रिने सामानको अनुपात चीनतिरबाट भित्रिनेभन्दा सैयौँ गुणा बढी हुने नै छ। उद्योग र व्यापार नाफाले चल्छ, राष्ट्रवादले चल्दैन। पाँच हजार किमिको दुरी त्यो पनि चीनलाई नै संचालन गर्न महँगो भएको तिब्बती पठारबाट रेलमा ल्याउनुभन्दा जम्मा हजार किमीको कलकत्ता वा बिसाखापट्टनमबाट काठमाण्डौँ ल्याउन राष्ट्रवादीले नरुचाए पनि ‘व्यापारी’ले रुचाउने नै छन्। अझ पूर्व-पश्चिम राजमार्गनजिक खुलेका अनगिन्ति उद्योगहरूको प्रमुख बजार काठमाण्डौँ नै छ। उनीहरूले पनि सामान उपत्यका सस्तो र सजिलोसंग पठाउन चाहनेछन्। किन वीरगंज-काठमाण्डौँ चैँ द्रुतमार्ग नबनाउने? चिनियाभन्दा यो मार्ग बढी लाभदायी र सस्तो निर्माण हुन्न र? लिङ्कअपलाई समस्या हैन भनेर हावादारी कुरा गर्नुभन्दा जहिलेसम्म हाम्रो व्यापार-व्यवसाय भारतसंग बढी हुन्छ तहिलेसम्म ब्रोडगेजको रेल चलाउने र केरुङमा चक्का बदल्ने र जुन दिनदेखि चीनसंगको व्यापार-व्यवसायले उछिन्छ त्यसबेला वीरगंजमा नै स्यान्डरगेजको चक्का बदल्ने नीति किन जरुरी छैन यसतर्फ बहसको खाँचो छ।
       ‘नेपाली विज्ञ-उत्पादन’ राष्ट्र भनेर चिनिने जापान, युरोप र अमेरिकातिरकै कुरा गरौँ। आजका दिनमा पनि त्यहाँ प्लेनको यात्रा रेलको भन्दा सस्तो हुन्छ र रेलभन्दा बस अझ सस्तो। प्लेन चढ्न विमानस्थलसम्म जाने र त्यहाँको अध्यागमन र सुरक्षा-जाँचको चक्करले बरु शहरभित्रै रहेको रेल बढी किफायती मानिन्छ भने बसको यात्रा असुविधाजनक र समय लाग्ने भएर त्यति रुचिकर ठानिन्न। एउटा विज्ञानः रेलभन्दा उकालो बस वा ट्रकले सुपथ मूल्यमा चढ्छन्। अनि अबका दिनमा बस वा ट्रक विद्युतियरुपमा पनि उपलब्ध हुन्छन्। यसका लागि उदाहरण पूर्वी एसियाका भियतनाम, मलेसिया, कम्बोडियाहरू नै छन् जहाँ ब्रिटिस शासनकै बेला खुलेका रेलका लिकमा तरकारी बजार लगाएर चिल्ला सडकहरूले समृद्धि ल्याउँदैछन्।
        गल्छी-त्रिशुली-मैलुङ-केरुङ लोकमार्ग अहिले धमाधम बनिरहेको छ। जम्मा ८२ किलोमिटरको बाटोमध्ये चीनले रसुवा-स्याफ्रुबेसी खण्डको १६ किलोमिटर बनाउँदैछ बने बाँकी खण्ड नेपाल सरकारले आफैँ बनाउँदैछ। जम्मा ९ अर्ब ५० करोडको लागतमा दुई लेनको ११ मिटर कालोपत्रे हुने सडक बन्दैछ। अझ टोखा- छहरे सुरुङमार्ग पनि अध्ययनमा छ। २६ अर्ब खर्चमा सुरुङमार्गसहितको बाटोबाट नै साढे दुईघण्टामा केरुङ पुग्ने बताइँदै छ। के यति कम खर्चमा केरुङ पुगेर केही बर्ष विचार गर्न सकिन्न र? समृद्धिलाई रेल नै प्यारो हो र, बाटोबाट नआउने? अनि नुवाकोटको बट्टारबाट टोखा हुँदै सामाखुसी आइपुग्ने बाटोमा पर्ने घरहरूमा बर्षौदेखि प्लस ६.५ मिटर लेखेर पनि भत्काउन नसकेको सरकारले रेलमार्गका लागि चैँ भत्काउँछ भन्ने के ग्यारेन्टी? रेल काठमाण्डौँ नआएर नौबिसेमै बिसाउने पो हो कि? एउटा ढँगको चार वा छ लेनको सडकले वीरगंजलाई काठमाण्डौँ हुँदै केरुङसम्म त जोडेर हेरौँ, के थाहा आधाउधी समृद्धि यही कम खर्चमा हाम्रा घरको ढोका ढक्‌ढकाउन आउलिन् कि? त्यति नै मात्राका पर्यटक लिएर चौबीस घण्टामा जम्मा सयवटा बस त यो बाटोमा फिलिलिलि कुद्‍छ त होला नि?
     
       समाचारमा श्री-लंका हामबन्टोटा बन्दरगाह बनाउने चक्करमा चीनसंग नराम्ररी फसेको खबर पनि छ अनि जिबुटी नामक देश पनि अन्तर्राष्ट्रीय विमानस्थल र बन्दरगाहमार्फत ‘डेथ ट्रयाप डिप्लोमेसी’मा फसेको कुरा पनि आइरहेछ। चीनले श्री-लंकासंग ९९ बर्षको लिजमा त्यो बन्दरगाह लिएर हङकङ लिएको कुनै जमानाको ब्रिटिस तुस यता साध्य त गरिरहेको छैन? ऋण अनुपात जति नै होस्, ऋणिको तिर्न सक्ने क्षमतामा निर्भर गर्दछ। श्री-लंकाको आर्थिक अवस्था र हाम्रो देशको आर्थिक अवस्थाले यस्तो अनुपात दाँज्न मिल्छ र?
       आजको ‘नाफामूलक सम्बन्ध’को युगमा यदि भारत र चीन जोड्ने द्रुतरेल नेपालबाट सम्भव हुन्थ्यो भने सुरक्षा संवेदनशीलतालाई पनि सम्बोधन हुने अनि घुमाउरो समुन्द्री पारवहनभन्दा सहज पनि हुने यो रेलमार्गका लागि चीनले नै वीरगंज-काठमाण्डौँ लिक बिच्छाउँथ्यो र भारतले पनि काठमाण्डौँ-केरुङ द्रुतरेलको उपहार हामीलाई दिन्थ्यो। हामीले निकै ‘मित्र’ मानी ल्याएको जापानले धेरै समय र अचाक्ली धेरै खर्च गरेर बनाएको चौडा गर्न पनि नमिल्ने र गह्रुङ्गो सवारीसाधन पनि चलाउन नसकिने बिपी राजमार्ग बनाइदिएबजस्तै ‘लाइफ साइज एक्सपेरिमेन्ट’ अर्का मित्रराष्ट्रहरूद्वारा पुःन एकपटक नेपालमा नगरियोस् पनि। फलामको लिगमा गुड्ने रेल बनाउन अहिलेसम्म प्रयुक्त प्रविधिका हिसाबले अति नै महत्वाकांक्षी केरुङ-काठमाण्डौँ द्रुतरेल नल्याएर बाटाको छेवैछेउ गुड्ने कम गतिको ‘छुकछुके’ रेल हाम्रालागि उपयुक्त हैन र? यो रेलमार्ग प्राविधिक र आर्थिक हिसाबले पनि फाइदाजनक होला। एक घण्टामा आउनुपर्ने समृद्धि तीन घण्टामा आउला। के भो त? बरू सुरुङ भित्र भित्र सुलुलुलु हुत्तिनुभन्दा बिस्तारै हिमाल र पहाडका मनोरम दृष्य हेर्दै ओरालो लाग्ने फुच्चे रेलमा कहिले गणेश त कहिले लाङटाङ हिमाललाई पछाडि पारेर सेल्फी लिन पाउने भएपछि ती दश लाख चिनिया पर्यटकमा अर्को पाँच लाख पनि थपिएला नि? अनि अर्को कुरो, छेन्ग्दुबाट लगभग बीस हजार नेपाली रुपैँयाको टिकटमा उडेरै काठमाण्डौँ आउन पाइने योबेला भन्दा भविष्यमा त्यो रकमभन्दा बढी रेलभाडा, लेक लागेर ज्यान जाने डर र अचाक्ली बढी समय खर्चेर बसन्तपुर दरबार हेर्न चिनिया पर्यटक पर्खिरहेका छन् भनेर भन्नु चैँ त्यति पत्यारिलो नहोला। चिनिया पर्यटक कम आउनुमा द्रुतरेल नबनेरभन्दा पनि हाम्रो प्रचारलगायत विविध कमजोरीका कारणले हुनुपर्दछ। अनि ठाउँ-ठाउँमा लिक नबद्लिई भनेजस्तो सजिलो तरिकाले भारतीय सामान नेपाल हुँदै चिनिया रेलले बोकेर रसिया हुँदै युरोप लाँदैन।
        मेरो अनुरोध त हाम्रा प्रधानमन्त्रीले केरुङबाट काठमाण्डौँ द्रुतरेल आउँछ भनेर सपना हुर्काइरहेका विज्ञहरूलाई फगत एक-दुई प्रश्न सोधिदिउन्। ‘केरुङबाट दुई किलोमिटर होचो बट्टारसम्म जम्मा ६० किलोमिटरको द्रुतरेल कसरी आउँछ, संसारमा यस्तो ढलानमा कहाँ द्रुतरेल चलेको छ, सुरुङमा उकालो कसरी चढाउँछौ, बट्टारबाट १५-२० किलोमिटरमा डेढ किलोमिटरको उकालो ककनीसम्म कसरी चढाउँछौ र साधारण वा अझ कम गतिवाला रेल निर्माणाधीन काठमाण्डौँ-केरुङ बाटाको छेवैछेउ लैजानभन्दा यो द्रुतरेल आर्थिक र प्राविधिक हिसाबले किन अब्बल छ?’ यिनै प्रश्नको जवाफ चित्तबुझ्दो पाएर मात्र विस्तृत परियोजना अध्ययन गर्न लगाउन् भन्ने आश छ। बेफ्वाँकमा किन यस्ता सिधा प्रश्नको जवाफमा विस्तृत अध्ययनका नाममा पचास-साठी करोड खर्च गर्नु?
     
        ‘विषालु साँपले टोकेमा मरिन्छ’ यो विज्ञान हो अनि ‘खै खै, मलाई बाबाले बुटी दिनुभएको छ, टोकाएर त हेरौँ। म त मर्दै मर्दिन’ यो बेवकुफी हो। हरेक तथ्यको कसीमा आफैँलाई राख्नुभन्दा थैली सानो भएकाबखत आधाउधी समृद्धिमै चित्त बुझाएको बेस! आधा बाटो हिँडेर थैली बलियो बनाएपछि त त्यो समूल समृद्धि कता नै भाग्ला र?
         मेरो सानो चेत भन्छः चुरेको फेदबाट लगभग पचास किलोमिटरको दुरीको काठमाण्डौँमा न त वीरगंजबाट द्रुतरेल आउँछ न त हिमालपारिको तीनहजार मिटर उचाईको केरुङबाट सय किलोमिटरभन्दा कम दुरीको काठमाण्डौँमा। यी रुटमा स-साना ‘हिमाली रेल’ कुद्‍नेछन् र पर्यटकलाई आकर्षित पनि गर्नेछन्। सायद बढेका पर्यटक र बिस्तारै चीन-भारत गर्दैगरेका मालगाडीहरू नै समृद्धिका संवाहक होलान्। ती सपना हुन् तर मध्यम गतिका पूर्व-पश्चिम रेलमार्ग र काठमाण्डौँ-पोखरा रेलमार्ग चैँ यो जीवनमै देख्‍न सकिने विपना हुन किन नसकुन्?
        यो देशमा विज्ञ हुन गाह्रो छ। अझ गाह्रो त गुगल गरेका भरमा प्रश्नहरूका पोका लिएर बसेका हामीजस्ता ‘अविज्ञ’हरूको जवाफ दिनसक्ने विज्ञ हुन। झन् मजस्ता हिसाब पढ्ने ल्याकत नपुगेर ‘इन्जिनियर’ बन्ने सपनाको बिस्कुन पाटन क्याम्पसतिरै छाडेर हिँडेको मानिसको प्रश्नको जवाफ दिने। बट्टारबाट ककनी चढ्ने द्रुत त के साधारण गतिको मालबाहक रेलको भौतिकशास्त्रिय गणित बुझाइदिने यस्तै विज्ञको अपेक्षा यो अकिञ्चन गर्दछ नै।
       रसियामा गोर्वाचोभको पेरेस्त्रोइका र ग्लास्तनोस्त आउँदाबखत हामी विदेशी विद्यार्थी सोभियत संघले भारतलाई बार्टर सिस्टममा ट्यांक बेचेर आयात गरेको दंतमञ्जन कसरी हात पार्ने भन्ने उपक्रममा हुन्थ्यौँ। बजारमा मञ्जन नपाएका दिन खाने सोडा र नुन मिसाएर घरेलु पाउडरले दाँत माझ्दै सोची पनि हाल्दथ्यौँ, ‘रसियालाई आफ्नै जनतालाई चाहिने दंतमञ्जन नबनाएर रकेट उडाउने के लहड चलेको होला?’
       हुन त ‘आदत बढी चीज है’। तर पनि फेरि भनौँ, छिमेकीले हात्ती चढ्यो भनेर धुरी चढ्न नहतारिए पनि मलाई प्रधानमन्त्रीजीलाई जस्तै रेलका सपना हरेक रात आइरहन्छन्!
त्यसैले सोध्‍न मन छ,
“गाउ सु लेइ चअ रुह ख लि दाइ निपोऽर?”

(नयाँ पत्रिका, ११ असार, २०७५)


Sunday, August 18, 2019

ट्विटर र भालेवादमा को छुच्चो ?

8:22 PM 0
ट्विटर र भालेवादमा को छुच्चो?


'जति गरि दिनमा काम् सो सबै विन्ति गर्दी।
मधूर बचन बोल्दी स्वामिको चित्त हर्दी।।
पतिकन यस रित्ले बातले खुस बनाओस्।
जब त पति निधाउन् काखमा त्यो निधाओस्।।'

सामाजिक सञ्जालबारे विश्वमा निकै अनुसन्धान भएका छन्। आ-आफ्नै विशेषताले गर्दा लोकप्रिय सामाजिक सञ्जालहरूका चरित्रबारे पनि मोटामोटीरुपमा अध्ययन भइसकेकै छ पनि। भनिन्छ फेसबुकमा मानिसहरू आफ्ना वास्तविक सहपाठीहरूसंग जोडिएका हुन्छन् भने ट्विटरमा चाहिँ कस्ता मानिसहरू सहपाठी भएका भए हुन्थ्यो भन्नेहरूसंग। फेसबुकको दाँजोमा ट्विटरलाई यूवाहरूले अनि पुरुषहरूले बढी रुचाउँदारहेछन् भन्ने पनि देखिएको रहेछ।

सिमित वाक्यमा केही भन्न पर्ने हुनाले र संचारसंग सम्बन्धित व्यक्तिहरूको बाक्लो उपस्थितिले पनि होला, विश्वका प्रायदेशमा जस्तै नेपालमा पनि ट्विटरलाई पारिवारिक भन्दा पनि वैचारिक र सूचनाको मञ्चका रुपमा लिएको देखिन्छ। प्रयोगकर्ता पहिलो फलोअर भएकै दिनदेखि २४० क्यारेक्टरमा आफ्नो धारणा बताइरहेको हुन्छ। उसका कुरालाई मन पर्न पाउनेजत्ति नै मन नपर्न पाउने पनि अधिकार पाठकमा छ भनेरै ऊ आफ्नो विचार सम्प्रेषण गरिरहेको हुन्छ। तर, तबसम्म मात्र, जबसम्म भानुभक्तहरू मोरल पोलिसिङका लागि आधुनिक वधुशिक्षा लिएर आउन्नन्।

नेपाली समाजमा कुनै पनि विषयका बारेमा धारणा बनाउने र जनतामा संप्रेषण गर्ने अधिकार पहिला राजा, राणा र तिनका भारदारमा मात्र सिमित थियो। करिब डेढसयवर्षअघि तत्कालिन शासक र समाजका दृष्टिले भानुभक्तले वधुशिक्षा नामक कविताद्वारा महिलाका आचारसंहिता लेखे। त्यसबेलाको सत्ताले त्यस्तै कुरालाई मानक बनाउन चाहेको थियो। त्यस्तै धारणा संप्रेषण गर्‍यो। तर सातसालपछि र मूलतः ४६ सालपछि शासकहरूको त्यो एकाधिकार खोसियो। विचारविशेषको अधिकार खोज्ने समूहहरूको वृद्धिसंगै अब त्यो पुरानो ठूलो संरचना स-साना मठहरूमा बाँडियो। विकासको आफ्नै मठ। महिला-अधिकारवादीको आफ्नै मठ। मधेस-अधिकारवादीको आफ्नै मठ। कहिले काहीँ एउटै लक्ष लिएका अलग अलग मठहरू बनेका खण्डमा ‘उही पुरानो बाजेको असली पेडा दोकान’ यही नै हो भनेर विज्ञापन गर्नु पर्ने लेठोलाई बिर्सने हो भने मुस्लिम, पहाडे, चुरे, तिज, दसैँ, वैदेशिक रोजगार, पानीजहाज,रेल, अर्थशास्त्र, स्वास्थ्य, शिक्षाजस्ता हरेक क्षेत्रबारे बोल्ने र विचार बनाउने एकाधिकार अब तत् तत् मठाधीसहरूलाई प्राप्त भयो। यसबाहेक पनि मेलाको मौकामा राखिने पसलजस्तै शान्ति, हतियार व्यवस्थापन र द्वन्दजस्ता केही अस्थायी मठहरू पनि परिदृष्यमा देखिन्छन्। यसरी मठहरूको उदयसंगै आफ्नो मठले संप्रेषण गरेका आधिकारिक विचारलाई प्रश्न गर्नेलाई धुरिएर अलग्याउने र ठुङग्ने भालेवादको विकास भयो। अब पुरातन भालेवाद लिङ्गविहिन भएको छ। भालेवादी हुन पुरुष भइरहनु पर्दैन, यो एउटा चरित्र भइसकेको छ।

यस्ता मठका अलावा ट्विटरमा आजका दिनमा विचार वा कर्मबाट भन्दा पनि चर्का कुराबाट सामाजिक सञ्जालमार्फत पनि केपी ओलीबाहेक कसैले देश बनाउनै सक्दैन भन्ने त देउवा नै नेपालका एक्ला उद्धारक हुन् भन्ने, त्यसरी नै माधव वा प्रचण्ड वा गगन वा रवि वा कुलमान वा धुर्मुस-सुन्तलीको महिमागान गाएर हाम्रा पालनहार श्री कृष्ण यीबाहेक कोही हुनै सक्दैनन् भन्ने मुद्दा जनमानसमा स्थापित गर्न लागिपरेको समूह पनि छ। यसका लागि सामाजिक सञ्जालमा पक्ष र त्यसको प्रतिपक्षमा बनेका यस्ता समूहइतर विचार आयो भने धुरिएर त्यो विचारकलाई खेद्नु छ। दपेट्नु छ। भगाउनु छ। जमिन फिर्ता आउनुभन्दा पनि कर्णजी भागेकामा गर्व गर्नु छ। समग्रमा ख्याँस्नु छ। यो दोस्रोवर्गका ट्विटेको आमचरित्र हो।

मठाधीसहरू संगठित हुन्छन्, उनीहरूसंग आफ्ना विचार स्थापित गराउन ठूलो संजाल हुन्छ र संचारजगतमा सजिलो पहुँच हुन्छ। ती संप्रेषित विचारमा बिमति राख्ने व्यक्तिविषेशसंग त्यस्तो पहुँच हुने कुरै हुन्न थियो। छापाकै कुरो गर्ने हो भने मदनमणि दीक्षित वा खगेन्द्र संग्रौला वा हरिहर विरहीहरू सिमित थिए। तर अहिलेको समयमा सामाजिक सञ्जालको प्रयोगसंगै इतर विचार वा प्रश्नहरूलाई पनि जनतामाझ पुग्न सजिलो भयो। पहिलेको जस्तो भालेको ठुँगाइबाट बच्न अचाक्ली साधन र स्रोतको जरुरत हुन छाड्यो। गाउँघरतिरै पाइने डोको या थुन्सेभित्र बसेर भालेनजिक जान सकिने भयो। यस्ता यी तेस्रोवर्गका असंगठित ट्विटेहरू ‘निकले उठ्नेबित्तिकै प्रियंकाको अनुहार हेर्छन्’ भन्ने समाचारलाई पनि जिस्काउछन् अनि कुनै ‘तोरी विद्वान’का लेखमा के कस्तो अपराध भयो भनेर पनि प्रश्न गर्दछन्। कुनै मठाधीसको अधिकारक्षेत्रभित्र नपरेको कुनै ट्विट गाली नखाई हराउँछ भने कुनै पुरै कोपभाजनको शिकार बन्न जान्छ।

नेपाली ट्विटरजगतका यी बाहेक पनि केही अन्य चरित्र देखिन्छ। ट्विटे प्राय समूहमा हुन्छ। ट्विटे हरेक कुरोमा बोल्दैन। ट्विटे अर्कालाई उडाउनमा दंग पर्छ। अनि ट्विटे रिसाहा छ। रीस वा छुच्चोपनबारे पनि निकै अध्ययन भइसकेको छ। समग्रमा पुरुषहरू बढी रिसाहा हुन् कि भन्ने धारणा भए पनि अध्ययनले यस्तो फरक देखाएको छैन। हो, महिलामा रीसलाई प्रकट नगर्ने क्षमता पुरुषहरूभन्दा बढी भएकाले समाज र सञ्जालमा उनीहरू कम रिसाहा देखिएका छन्। त्यस्तै पहिलादेखि मानिआएको रीसलाई पोखेपछि ‘शान्त’ हुइन्छ भन्ने सिद्धान्तलाई हाँक दिने फरकखालका परिणाम देखिन थालेका छन्। त्यस्तै अर्काको क्षेत्राधिकार हस्तक्षेप भएका निउँमा ट्विटरमा अमृता, सरला, रामेश, युग, सावित्री, कनक, खगेन्द्र कोही पनि भालेवादको ठुँगाइबाट अछुतो रहन्नन्। र, अर्को रमाइलो पक्ष भनेको चैँ हामी कतिपय भालेवादीहरू कहिले कसैलाई ठुँग्न पुग्छौँ भने कहिले कसैको ठुँगाइमा पनि पर्छौँ। मार्क्सले भनेको द्वन्दात्मक भौतिकवाद नै यही हो कि त?

सत्तालाई रुन्चे गीत वा साहित्य वा कलाले कुनै प्रश्न गर्दैन र नै संसारभर रोदन सर्वग्राह्य हुनेगर्दछ। मुनामदन भूपिका कविताभन्दा लोकप्रिय छ। गौरीसंग मनले प्रतिस्पर्धा गर्नै सक्दैन। तर यो पनि मानिन्छ कि समाज मुनामदन वा गौरीले हैन, बागी कुराले बदलिन्छ। र, सत्तालाई असहमती सदा छुच्चा लाग्दछन्। आफूलाई प्रश्न गर्ने सामान्य ट्विटेलाई छुच्चो करार दिनुमा स्वनामधन्य महान मठाधीसहरूलाई सजिलो हुने ने भयो। मठाधीसहरूले प्रश्न गरेको अपराधमा कसैलाई दोषी ठहर्याए भने उनीहरूको कार्बाही सुरु हुन्छ। उनीहरूबाट ‘तँ जस्तो मान्छेले यसो भन्ने’, डिएममा ‘माफ माग’ भन्ने, ‘तँलाई सबै नामचिनहरूले ब्लक गरिसके, के गरेको यस्तो’ भन्ने विभिन्न सजाय दिएर पनि नसुध्रिएको खण्डमा सबैभन्दा ठूलो सजायस्वरुप अन्त्यमा प्रश्नकर्तालाई ‘छुच्चो’को पदवी दिएर आफ्नो कार्बाही पुरा गर्ने गरेको देखिन्छ।

मेची खोलो बर्खामा नदी बन्छ अनि म निकैवर्ष त्यो नदीमा बहावको विपरित बाँकटे हान्ने गर्थेँ। मलाई 'एन्टिकरेन्ट'ले रोमाञ्च दिन्थ्यो होला। त्यसैले मलाई फूर्सदमा कहिलेकाँही नेपाली भालेवादलाई जिस्क्याउने रहर जाग्दछ। फेसबुकबाट सुरु गरेको मेरो सामाजिक सञ्जालको यात्रा ट्विटरमा निक्कै वर्ष अल्झिनुमा पनि सायद स्वभाव र रुचीले साथ दियो। यसरी शनैशनै म फुलटाइम ट्विटे भएँ। मदनमणि दीक्षितले लगभग तीनदशकअघि भनेको ‘ठाडा ठाडा कुराहरू गरेर मैले महान् व्यक्तिहरूमध्ये निकैलाई आफूविरुद्ध क्रुद्ध तुल्याइसकेको छु र भोलि पनि त्यसो गर्नुपर्नेछ’ भन्ने भनाइअनुरुप नै अविज्ञ र व्यङ्गका साथै फरक फरक कुरामा रुची राख्‍ने साधारण मानिस भनेरै आफ्नो परिचय दिएर ‘सदाचारी’ र ‘असल’ मानिसको घेराभित्र बस्‍न नरुचाउने यो अदना अराजक ट्विटेलाई जबरजस्ति वधुशिक्षा घोक्‍न लगाइयो। स्वभाविक थियो, गृहकार्यमा हेलचेक्रयाइँको कसुरमा ‘छुच्चो’को पदवी दिइयो पनि।

मैले आफैँलाई ट्विटेको रुपमा हेर्दा केही घटनाहरू सम्झिन पुग्दछु। कुनैबेला बहाव नाकाकस्सी र संविधानको विभेदमा थियो। अनि मैले संविधानको मस्यौदाभित्र छिरेर तथ्याङ्कका साथ एन्टिकरेन्ट बाँकटे हान्दिएँ। सहमतिजत्ति नै असहमतिको स्थान हुन्छ भन्ने हेक्का राखिनछु। त्यसरी नै एनसेलले कर तिर्न नपर्ने विज्ञहरूको लेख पढेरै तिर्नु पर्छ भन्ने एन्टिकरेन्ट धारमा मिसिएँ। अनि लगत्तै मधेसको पीडामा पहाडले ऋण तिर्ने हैन कि हामी नै आफ्नाका लागि हौँ भन्नु पर्छ र समानुभूत हुनु पर्छ भन्दिएँ। कतै इतर विचारलाई वर्जित गर्नु हुन्न भनेँ भने कतै नेपाली जनसाधारणको हरीयो पासपोर्टको पीडा 'नेताजी'लाईभन्दा हजार गुणा बढी छ भनेर ऐना देखाएँ। फेरि लोडसेडिङ हटाएकामा अति नै कृतज्ञ हुँदाहुँदै पनि एलइडी बत्तीका कुरामा लगभग ‘भगवान’ बनाइसकिएका कुलमानलाई नै तथ्याङ्कसहित प्रश्न गर्न धक मानिँन। रेलका प्रश्नबारे त के कुरा गराइ भो र?

नेपालमा समयसंगै सायद पहिलोवर्ग र दोस्रोवर्गका ट्विटेहरू संगठित हुँदै गए। कुनैबेला नेपाल वायुसेवा निगमलाई पारा मिलेन भन्न नधकाएको ट्विटे त्यस्तै जिज्ञासामा साझाको अप्रत्यासित प्रतिकृया देखेर चकित पनि भयो। ट्विटर छुच्चो छ। किन? किनकि यो सजिलो छ। कसैका कुनै कुरा चित्त नबुझे सजिलै प्रश्न गर्न सक्दछ। यसरी नै हालसालै स्तनपानबारे एउटी लेखकको लेख आयो। शहरी महिलाबारे केही वाक्य प्रतिशतमा नभनेकाले अनि पत्रकारीताको चरित्रले मास अपिज् गर्दा हामी कतिपयलाई शिर्षक पनि अलिक नराम्रो लाग्यो। आकाश खस्यो? हैन, फगत 'हामी'लाई मन परेन।

अलिकति स्वास्थ्यक्षेत्रको कुरो हुनाले र मेरो रुचीको विषय हुनाले लेख पढेँ। ट्विटरका प्रतिकृयाले फेरि पढायो। झन् केही कुरोमा जानकारी भएकैले थप खोज्न वाध्य बनायो। र उता लेखकलाई हाकाहाकी हाम्रो सिमानामा हस्पक्षेप गर्‍यो भन्दैमा सो क्षेत्रको आधिकारिकता 'म'बाहेक अरूसंग हुनै सक्दैन भन्ने स्वनामधन्यहरूले 'तोरी विद्वान’ वा यस्तै कुनै पदवी दिए। अचम्मित भएँ नै, केही शब्दलाई मिलाए शहरिया महिलाले स्तनपान गराउनु पर्दछ भनेर वकालत गरेको सो लेख 'तोरी' नै हो त? पत्रिकामा लेखेकोभन्दा बढ्ता आधिकारीकता हुने संबन्धित विषयका 'म्यागाजिन'मा के कस्ता अनुसन्धानात्मक लेख रहेछन् भनेर खोज्दा पनि त्यो लेख तोरी लागेन। मलाई थाहा छ कि हरेक खोजकर्ताले सन्दर्भसामाग्री आफ्नो कुरो पुष्टी हुनेवाला नै राख्दछ। यो अनुसन्धानात्मक लेख वा शोधको बेसिक चरित्र हो। कम नै सही, शरीर बिग्रने डरले स्तनपान नगराउनेदेखि छ महिनासम्म दुधमात्रै नख्वाउने महिला पनि छन् भनेर अनुसन्धनात्मक लेखहरूमा लेखिएको पनि रहेछ।

पहिल्यै प्रतिशतात्मक शब्दहरूको प्रयोगमा केही गल्ती छ भनेर भन्दाभन्दै पनि विवादको उत्कर्ष भयो, शरीर बिग्रने भनेर स्तनपान नगराउने पनि छन् है भनेर अनुसन्धात्मक लेखको लिङ्कसहित गरेको ट्विटलाई कोट गरेर 'शरीर बिग्रनु भनेको के हो?' भन्ने प्रश्न। त्यो जम्मा एउटा क्लिक टाढा त्यसैको उत्तर हुँदाहुँदै यसरी प्रश्न सोध्नु नै असभ्य भएन र भन्ने जवाफ स्वतः दिइयो नै। तर कतिपयलाई तोरी विद्वान भन्नु सामान्य भयो, पदवी दिने मठको भालेवाद असामान्य हो भन्नु नै दोष भयो। असभ्य प्रश्न सोध्नु सही भयो तर 'असभ्य'को पर्यायवाची शब्द लेख्नुलाई अपराध ठानियो।

मलाई थाहा छ, प्राय ट्विटे ट्विटरले उपलब्ध गराएका म्युट, ब्लक र अनफलोमात्र हैन कि इतर 'शब्दनिषेध'समेतका विकल्पबारे अनभिज्ञ छैनन् नै। त्यसैले म मेरा हरेक वाक्यप्रति जिम्मेबार छु र गलत भए क्षमा माग्दै मेटाउँछु पनि। तर सदा डाक्टर गोविन्द केसीका मुद्दामा ऐकबद्धता जनाउँदा जनाउँदै पनि कुनै दिन जुम्लामा एकवर्षमा कसरी एमबिबिएस पढाउन सकिन्छ भनेर उनैलाई प्रश्न गर्न छाड्दिन। म तपाईँहरू संगै छु अनि म तपाईँहरूसंग कहिल्यै छुइँन पनि। रहर भए पनि, केही गरेर देखाउने हुटहुटी भए पनि ब्रिफकेस दिएर पदमा पुगेर भ्रष्टाचार नामेट गर्न सकिन्न अनि बिना दलीय डोरो यो देशमा केही गर्न सकिन्न भन्ने ज्ञान प्राप्त गरेपछिको मेरो यो स्विकारोक्तिलाई क्षोभ वा कुण्ठा जे नाम पनि दिन सकिन्छ। यो मेरालागि यथार्थ हो। ध्रुवसत्य हो। देश बनाउने स्थानमा नपुगे पनि त्यस स्थानमा पुगेका र समाजलाई डोहोर्‍याउने हैसियत बनाएकासंग मेरो आस छ। मेरा सन्ततिमात्र हैन, म स्वयं बस्‍ने देश र समाज राम्रो बनोस् भनेरै त प्रश्न छ।

'पहुना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति।
सो जानेरै उसै बमोजिम गरोस् मर्याद् न चुकोस् रति।।'

अन्त्यमा, नेपाली समाजमा ट्विटर एउटा विशाल चौतारीमा परिणत भइसकेको छ। यहाँ आ-आफ्नै धुनमा रमाइरहेका ‘तँ मेरो कविता सुन् अनि म तेरो कविता सुन्दिन्छु’ भन्ने मार्काका कविहरू पनि छन्, फोटोग्राफर छन्, मोमो छ, घुमफिर छ, चियाको कपमा तुफान ल्याउने विश्लेषकहरू छन्, मन्द र चर्का आवाजमा आफ्ना समाचारहरू सुनाइरहेको संचारजगत छ, टेबलमा भाले राखेर प्रश्नकर्ताहरूलाई ठुंग्न तत्पर मठाधीसहरूका पसल छन् अनि छन् थुन्सेभित्र लुकेका छद्म र डोकाभित्र बसेर परिचय खुलाएरै ती भालेहरूलाई जिस्क्याइरहेका ट्विटेहरू। आजका ट्विटे नरनारीका मानक चरित्र ’आज्ञाकारी र मधुर स्वरकी धनी हुनुपर्दछ’ भनेर हामी भालेवादी भानुभक्तहरूबाट रचित आधुनिक वधुशिक्षाका श्लोकहरूमाथि यी ट्विटेहरूले प्रश्न उठाएको हामीलाई मन परिरहेको छैन नै। तर पनि हामी विभिन्न मठाधीसहरूलाई म आफैँ चैँ कसैले हाम्रो ‘स्मार्ट वधुशिक्षा’ नमानेकै कारण उसलाई तोरी वा छुच्चोको पदवी दिन हतार नगरौँ भनेर बिन्ति गर्न चाहन्छु।
आगे मौसूफको जो निगाहा!

****
[छपाउन सकिन्छ भन्दैमा जाबो ट्विटर र ट्विटेका कुरा पनि पत्रिकामा के छाप्‍नु र? अनलाइनतिर पनि कपी-पेस्ट नगर्न अनुरोध!]

Saturday, May 12, 2018

नेपाल-भारत सम्बन्धः नयाँ उचाईमा!

8:33 PM 0


सम्बन्ध त नयाँ उचाईमा पुग्यो पुग्यो।
यसपालि नेपाल-भारत सम्बन्ध फेरि नयाँ उचाईमा पुग्यो। केही महिनाअघि नेपालका प्रधानमन्त्रि भारत गएर आउनु भयो। त्यसबेला पनि परापुर्वकालदेखि चलिआएको नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको थियो। नेपालमै संसारको अग्लो स्थान भए पनि हामी त्यत्ति उचाईसंग अभ्यस्त छैनौँ, जति नै केशव स्थापीतजीले रारामा पौडी खेलाएर अरुलाई स्वाँ स्वाँ हुँदा हामीले फ्याट्ट गोल्ड मेडल जित्‍छौँ भने पनि। त्यसैले भारत गएर नयाँ उचाईमा पुगेको त्यो सम्बन्धलाई पनि सास फेर्न अलिक गाह्रो पर्‍यो। फ्याँ फ्याँ गर्दै 'एकछिन त बिसाउन देऊ' भन्दैथ्यो छन चैँ। फगत त्यो सम्बन्धलाई बोक्ने र माथि लैजानेभन्दा बाहेक हाम्रो सरकारको चैँ के कामै छैन र? सुन्ने कुरो पनि थिएन, सुनिएन र त त्यसका बाजे त्यो सम्बन्धलाई अझ उचाईमा लाने निर्णय फ्याट्टै गरियो। हुन त त्यो निर्णय हामीले हैन भारतले गरेको भनेर पनि भन्छन् नै। तर हामीलाई परिणामसंग मतलब छ। समृद्धिसंग मतलब छ। विकाससंग मतलब छ। आफ्ना जनताको पीडासंग मतलब छ। पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौति! (फेरि केही उपबुज्रुकहरू भतुवा किन भनिस् भनेर नखनिनु होला!)। हामीले पनि त्यसलाई बोक्न विश्वका महान नेता, प्रजावत्सल, दयासागर, हिन्दुसम्राट, करुणापति, जशोदापति, अधिपति, पछिपति महामहिम श्री श्री श्री श्री श्री नरेन्द्र दामोदार मोदीदेवलाई बोलायौँ। भन्न त मान्छेहरू उनले नै 'म यति गते आउँछु' भनेर भनेका भन्छन्। हो पनि। नजिकका साथीहरूले भन्ने नै त्यसरी हो। हाम्रा घरमा पनि त 'ओइ! के गर्दैछस्? भोलि म तेरामा आउँछु' भन्ने यारहरू हुन्छन् नि। याराना भन्ने नै त्यस्तै सम्बन्धलाई हो। हाम्रो यार-दोस्ती छ त अरुले रिस गरेर हुन्छ? नयनराज पाण्डेको मात्रै यार हुने, हामी यत्रो सरकारको चैँ यार नहुने? मोदी सर हाम्रा यारमात्रै हैन सुपर यार हुन्। लु जा त!

अँ, कुरो सम्बन्धलाई नयाँ उचाईमा लैजाने थियो। गहन छलफल गरियो। भूपू प्रधानमन्त्रिदेखि भविष्यका प्रधानमन्त्रि, आसेपासे, डोले, झोलेहरू सबैसंग सल्लाह गरियो, कसरी सम्बन्धलाई उच्चस्तरीय ट्रेकिङमा लैजाने। बोकेर कि उडाएर भन्नेमा डोले र झोलेबिच केहीबेर चर्काचर्की भए पनि अन्त्यमा हल निस्कियो। त्यो 'कसरी', 'कहिले' र 'किन' भन्ने कुराको निर्णय हाम्रा पाहुनाकै हुन्छ भनेपछि मत्थर भए। हाम्रा दलगत सेनाहरूलाई पनि 'तिमेरू हाम्रो लाज छोप्‍ने काममा लाग' भनेर खटाइयो। मन त 'एक जान' हुन तयार भइसकेको त्यो माओवादीका सेनालाई पनि काममा खटाउने इच्छा थियो तर प्रचण्डजीहरू त्यत्तिकै बाउँठिनु भएको छ। हामी एकता गरेर सग्लो जिनिस बनाऔँ भन्छौँ उहाँहरू चैँ दुईटा अध्यक्ष नभई त नाइँ भन्नुहुन्छ।  अरे यार! यो दल बनाउने कि भारुण्ड? दुईटा टाउका त त्यसकै हुन्छ के रे।

'अस्ति कै उचाईमै सास फुलेको छ। यति चाँडै फेरि बोक्ने? लेक लाग्ला कि?' एउटो जान्ने भो।
'तपाईँ डाक्टर कि म डाक्टर?' गज्जबले हकार्दिएपछि बल्ल त्यो चुप लाग्यो।
'जनकपुरले अभिनन्दन गर्ने रे। हामी चैँ के गर्ने?' यसपालि चैँ नेपालजी बोले।
'आरति उतार्ने। पूजा गर्ने' भन्दिउँ कि जस्तो त लागेको थियो। फेरि उनैले बजारमा भन्देलान् भनेर भनिएन। यो नेपालभन्ने चिजै किलकिले नभएको जिनिस हो कि क्या हो!
'यता पनि अभिनन्दन गर्ने नि। नयाँ उचाई भनेको छ अनि त्यो दुईसय मिटरको जनकपुरमा झार्न त मिल्दै मिल्दैन हाम्रो सम्बन्धलाई। बाह्रसय मिटरको डाइभ? हैट!'
यो नेपाल र नेपालीको चित्त बुझाउन चैँ साह्रै गाह्रो के। त्यत्रो भारत अनि यत्रो नेपाल। बराबरीको हैसियत चाहियो रे। हाम्रो पार्टीभित्र पनि नेपालको त्यही चाहना। देशभित्र पनि नेपालको त्यही चाहना। 'इस् पाइस् बराबरीको हैसियत'।
'अँ त अभिनन्दनमात्रै दिने कि अरु पनि केही?
'चाबी दिने। सुनको कलात्मक चाबी दिउँ।'
कुरो त ठीकै हो। तर यो आइडिया लगाएर गोरेले भारत सुन पठाउने हो कि? भुत्रै सित्ति! पठाएछ भने बरु पार्टीलाई लेभी माग्‍ने हो, हाम्रो आइडिया चोरेबापत।

यो हाम्रो हाम्रो भन्दा भन्दा यो ल्वाँठ सम्बन्ध नै मेरै छोरो हो कि जस्तो भइसक्यो यार!
'अनि पृथ्विनारान काम्रेड, समृद्धि कसरी आउँछ भन्नु?'
'नयाँ सम्बन्धले आउँछ नि। पर्यटक आउँछन्। पर्यटकसंग पैसो आउँछ। पैसोसंग विकास आउँछ। विकाससंग समृद्धि आउँछ', किताबै लेखिसकेछन्, अर्को पनि। दिए।(लिएँ र पछि डस्टबिनमा फाल्दिएँ।)
'अनि जनतालाई चैँ कसरी देखाउने?'
'अरे काम्रेट, सम्बन्ध कुनै वस्तु हो र देखाउने? मार्क्सको द्वन्दात्मक भौतिकवाद हो के काम्रेट द्वन्दात्मक भौतिकवाद। सम्बन्ध नयाँ उचाईमा पुगेको फोटो राख्दिने र भन्ने अब समृद्धि टाढा छैन। भइहाल्यो नि।'
विकास कसरी गर्ने भनेर किताबै लेखेका हाम्रा काम्रेटसंग पनि गजबकै आइडिया रछन्।

आउने दिन पनि आयो। बोलाएको हाम्रो सरकारले तर कता उत्रिन्छन्, के मा उत्रिन्छन् अनि कतिबजे कता जान्छन् फुट्टि थाहापत्तो नाइँ। लाजगाल भए पनि जनकपुर गएर पर्खिनै पर्‍यो। जसो जसो उनी गर्छन् त्यसै त्यसै हामी पनि गर्दिन्छौँ। पछि मैले गरेको उनले नक्कल गरे भनेर खोक्न सकिहालिन्छ के रे।
'ओइ सेना! सावधान!'
ए! सेना त उताबाट पनि पो आएको छ त।

के भाउँतो आइलाग्यो। अब यो कुर्ता सुरुवाल पनि लाउने बनायो यो छोरोको मायाले। श्रीमतीसंग सिकेर लगाए पनि कस्तो कस्तो भइरह्यो। बरु अर्कोपालि बर्माको प्रधानमन्त्रि बोलाउँला। लुङ्गी लगाउन सजिलो।
अँ! साले, त्यो विश्वदीपसंग अलिक होस् गर् है। अर्कोपटक हामीले जसरी नै राष्ट्रवादको नारामा त्यसले पछार्देला', लुगा फेर्दाफेर्दै नभएको सालोलाई पनि सतर्क गराइयो।
'त्यसले परार पनि विरोध गरेको थियो', लाचार सालो।
त्यसले हामीलाई भोट हाल्छ?'
'कांग्रेसलाई हालेजस्तो छ।' सेनाबाट कोही बोल्यो।
'तिम्रो नाम के बानर?'
'प...'
'जे सुकै होस्। अँ त्यसो भए त्योसंग देउवा जोडिदेऊ। मिनेन्द्र जोडिदेऊ। विमलेन्द्र जोडिदेऊ। त्यो संग्रौला पनि जोडिदेऊ। मलाई देखी सहन्न। स्साला कुमाई!'
हैट! कहाँ कुमाई भनेछु!
'तिमी नै सञ्जालको सेनापति' त्यो नाम पनि थाहा नभएको ठिटोलाई जिम्मा दिएर सरकार जनकपुरतिर हिंड्यो। 'कदम कदम पे कदम मिलाओ रे!'

एक्लै जान डर लाग्थ्यो, सजिलो भयो साथी हुनाले। तर एउटा काम चैँ नकाम गरे मोदीजीले। हाम्रा प्रधानमन्त्रिलाई कोहली भन्दिए। कोहली नै भन्नु थियो भने विराट कोहली भने हुन्थ्यो। अनुष्का कोहली भने हुन्थ्यो। आहा! कति राम्री नि तिनी त! झन् त्यो ओठ ठूलो पारेपछि त बिछट्टै। हाम्रातिर त्यस्ता कस्मेटिक सर्जन छैनन् र?

गजब बोले मोदीजी। उहिले दिएको ऋण हो कि सहयोगको हजारौँ करोड नदिएकै भए पनि उताका फेँकुले यसपालि पनि गफ दिए। हुन त हामी पनि के कम छौँ र फेँक्न? केही थप कुरा त यिनीबाट पनि सिकियो। फेँकु रिसाएर सम्बन्धलाई बाटैमा छाडेर फर्केला कि भन्ने डर ले मात्र हो चुप लागेको नत्र त म पनि 'नेपालले पनि बम्बैको झोपडपट्टी हटाएर आवासगृह बनाउन नेपालले भारतलाई पचहत्तर खर्ब सहयोग गर्ने' भनेर बोल्नै लागेको थिएँ। खुनका घुँट पिउन गाह्रो रहेछ। महादेवले कसरी कालकुट निले होलान् नि? जय पशुपतिनाथ!
'जय सियाराम!"
हामीलाई त जनताको विरोधले गर्दा त्यो सम्बन्धलाई बिच्चैमा छाडेर फर्कौँजस्तो त लागेको थियो तर मोदीजी गजबका रहेछन्। एक्लै बोके गाँठे हाम्रो सम्बन्धलाई। अब्सोलुट्ली फिट एण्ड फाइन!

यहीबेला त्यो विवेकशील हो कि साझाबसले बेलुनमा नाकाबन्दी उडायो रे। हामीले जनतालाई नै उडाउँदा त केही नापिएन, त्यस्ता जाबो बेलुनको उचाई! चुस्स सियोले घोच्दियो भने प्याट्टै!

त्यसैले हेर्नोस्, चौधसय मिटरको काठमाण्डौँभन्दा माथि नउक्लेको त्यो सम्बन्धलाई यसपालि हामीले सैतीससय मिटरको मुक्तिनाथ पुर्‍यायौँ। अब त्योभन्दा माथिको चौवन्नसय मिटरको थोराङ-ला त के उहाँको शक्तिपीठ र हाम्रो भक्तिपीठ त्यता पनि छ भनेर हौवा फिँजाउन सकियो भने त्यो सम्बन्धलाई सगरमाथाको चुचुरोमै पुर्‍याउने हो। अझ अमेरिका, रुस, इजरायल, केन्या, पेरु, कति छन् कति  हाम्रो सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने।
हन चन्द्रमामै पुग्छ कि के हो ठिटो? रकेट नै नचाहिने हो त?
जय नयाँ उचाई! जय म!

Sunday, April 15, 2018

विद्यालय भर्ना

11:52 PM 0


‘तान्, तान्। जोर लगा के हैँऽ साऽऽ‘।
'स्साला बंगाली! तैँ तान् न जोडले। सक्किनै लाग्यो’।
‘चिनीको बोरा हो, यार। तान् न तान्’, बोराको गुणस्तर बताउँदै मलाई अझ बल लगाउन हौस्यायो।
‘पसिनाले कट्टु भिजिसक्यो। तँ बरु अलिक जोडले तान् न’।
वर्ण सरको पिठ्युँपछाडि हामी हाम्रै उद्दममा ब्यस्त थियौँ।
‘आयो। हुर्ऽऽराऽ!’ उताबाट हारेर छोडिदिए जस्तो लाग्यो। जे होस्, हामी दुवैजना आफ्नै बलले उत्तानो पर्‍यौँ, बोरासंगै।

‘एई केटा हो! केको हल्ला हो त्यहाँ?’ कालोपाटीमा आठको पहाडा लेख्‍दै गर्नुभएका वर्ण सर हामीतिर फर्किनु भयो। हतार हतार सोझो परिवरि हामी पनि सिलोटमा आठ एकान आठ, आठ दुने सोह्र लेख्‍न थाल्यौँ, मानौँ हामीले सरको प्रश्नै सुनेनौँ। ख्याउटे अनुहारमा अलिक भित्र पसेका चहकिला आँखालेसमेत कुनै सुत्र भेटेनछ। त्यसैले हामीलाई भकुर्न नआई पु:न पाटीतिरै फर्किनुभयो, आठ छका अढ्चालिस लेख्‍न। त्यै मौकामा हामीले पनि तानेको नयाँ चिनीको बोरा दोब्र्याएर दुवैजना बस्न मिल्ने बनायौँ, अनि पढन्दास बनिटोपल्यौँ।

झापा जिल्ला, भद्रपुर नगर पंचायत, वार्ड नं ७, भानुनगरको यो गोरूहट्टी स्कुल। खास नाम तीन नंबर केन्द्र। नयाँ शिक्षा सुरु हुनपूर्व भद्रपुरमा केही नयाँ प्राथमिक स्कुलहरू खोलिएका थिए, अनि नाम चैँ खै किन हो, नंबरमात्र। भद्रपुर हाटको दुई नंबर, गोरुहट्टी तीन नंबर र नगर पंचायतपछाडि देवी बस्ती चार नंबर स्कुल। तीन नंबर भए पनि गाउँ, शहर, गुरू-गुरुमादेखि सारा विद्यार्थी यसलाई गोरूहट्टी स्कुल भनेरै चिन्थे। हरेक बुधवार र शनिवार चौपायाको हाट लाग्थ्यो, स्कुलको चौरीमा। कोसी पूर्वको सबैभन्दा ठूलो पशुहाट। शनिवार त त्यस्सै बिदा। बुधवार थप बिदा हुन्थ्यो। ढोकामा पल्ला नभएर उदाङ्ग बस्ने कोठाहरूमा हाटका दिन नगर पंचायतका मुखियाबाजे र छिर्नसक्ने बलियाबाँगा गाईगोरुहरू पनि विद्यार्थी बनिदिन्थे। त्यसैले आइतवार र बिहिवार पहिला दुई घण्टी पढाइ हुँदैनथियो। पालैपिलो कक्षा कोठा र चौरीको गोबर सोहोर्नु पर्ने। अनि त्यै फोकटमा प्राप्त भएको गोबरले लिपेको भुईँमा घरबाट ल्याएको बोरा ओछ्छ्याएर हामी बस्थ्यौँ। जाबो त्यै बोरामा पनि वर्गविभेद भेटिँदोरहेछ। सक्नेले मिहिनतवरले बुनिएको बाक्लो चिनीको बोरा ल्याउथ्यो। त्यसपछि हैसियतअनुसार चामलका बोरा, सिमेन्टका बोरा, आलुका बोरा र झुलजस्तै पातलो बिंडी फ्याक्टरीका बोरा आइपुग्थे गोरुहट्टी स्कुल। हरेक दिन घरबाट बोरा, सिलेट र खरी बोकेर हामी पढ्न जान्थ्यौँ। बाँसको टाटीले बारेको भित्तामा झुण्ड्याइएको सेतो-सेतो हुँदैगएको कालोपाटीमा सर र गुरुमाहरूले चकले के-के लेख्थे। हामी पनि आ-आफ्ना टुटे फुटेका सिलेटमा खरीले के के लेख्थ्यौँ। दैवै जानोस्। यति चैँ थाहा थियो, चकले लेख्‍न सजिलो हुन्छ, तर मोटो लेख्छ। अनि खरीले मसिनो लेख्छ, तर फारु हुन्छ। निश्चय नै हामीलाई घरमा चक किन्दिदैन थिए।

वर्ण सरले दुई कक्षाको गणितको अध्यापन त्यसदिनलाई सक्नुभयो। आउनेबित्तिकै चारदेखि सातसम्मको पहाडा सोधेर प्राय सबैको हात सेकिसकेपछि संतुष्ट मुद्रामा कालोपाटीतिर लाग्नुभएको थियो, आठको पहाडा लेख्‍न। कुर्सीमा बेतको छडीलाई रामको खराउ बनाइवरि एकछिन हामीले आठ एकान आठ, आठ दुने सोह्र घोकेको घुमिघुमी हेर्नुभयो। बेतराजालाई उठाउनु भयो, देब्रे हातको घडी हेर्दै दाहिने हातमा समातेको खराउ महासयलाई लिरिकलिरिक हल्लाएर हामीलाई निर्देशन दिनुभयो।
‘चिच्याइचिच्याई घोकिराख!!!’

सर ढोकाबाट बाहिरिनेबित्तिकै अगाडिको श्यामेले रामेलाई चिमट्यो। सीताले गीताको रिबन तान्दिई। सोहनलालले बोरा मिलाउदै खोक्यो। राजेन्द्रेले अगाडि बसेकी मेरी दिदीको फ्रकमा कागजको पुच्छर उन्दियो। चार दशाङ चालिसमात्र हैन, चार बाराङ चौवालिससम्म भनेर वर्ण सरको ‘गुड’ भेटेकी दिदी पनि के कम थिई र! लगत्तै थाहा पाइहाली अनि पछाडि फर्केर राजेन्द्रेलाई भुत्ल्याई। तर यी सब कर्तुत ‘आठ एकान आठ, आठ दुने सोह्र’ कै पार्श्व ध्वनिमा भइरह्यो, स्कुलको घण्टी नबजुन्जेल।

बल्लतल्ल कार्की दाइले बरण्डाको घण्टी बजाए। सबका स्वरमा अचानक पूर्णविराम लाग्यो। कोही ‘आठ चौको बऽऽ’ मै अडिए, कोही ‘आऽऽऽ’ मै। स्वच्छन्द कल्याङ्कुलुङ सुरु भइहाल्यो। अनि घण्टी बजेपछि तीनमा पढ्ने गोपाल दाइले हाम्रो कक्षामा आएर सोहनलाल र मलाई पनि बजाए, बोरा चोरेको निउँमा।

जस्ताको छानामुनि अलकत्राको टिन सोझ्याएर वरिपरिबाट बारबेर गरेर काठका खाँबामा उभिएको एकतले घर, बाँसको टाटीले बारेर छुट्याइएका बाह्रै महिना गोरब गनाउने कक्षाकोठाहरू, कठोरभन्दा कठोर सजाय दिन लालयित सरहरू र पेन्सिलको अनुहार पनि देख्‍न नपाएका हामीहरू- गोरुहट्टी स्कुल यस्तै थियो। तर त्यही अवस्थाले गर्दा हामी पुछारतिर बस्ने ‘गवाँरहरू’लाई एउटा नितान्त नौलो खेलको आविस्कार गरिदिएको थियो।
बोरा चोर्ने खेल।

हामी पुछारवालाहरू टाटीमुनिको भुईँ यताबाट पनि खोतल्थ्यौँ, उनीहरू उताबाट पनि खोतल्थे। मंसिरमा टालटुल पारेका कोठाहरूमा पुस नबित्दै हरेकका पछिल्तिर एउटा सुरुङ बनिसक्थ्यो, एउटा कोठाबाट अर्को कोठामा हात छिराउन मिल्ने। सुरुसुरुमा अर्काको बोरा तान्न प्रयोग हुने मुख्य सुरुङले फागुन-चैततिर बिस्तारै हाँगाबिँगा हाल्दै जान्थ्यो। यो दाहिनेतिरको सह-सुरुङ सरले नभेटुन् भनेर गुच्चा लुकाउने ठाउँ बन्थ्यो त देब्रेतिरको पहिलो मोडमा लट्टु र धागो, दोस्रोमा सरले छाडेका चकका स-साना टुक्राटाक्रीहरू। बैसाखदेखि त एउटा पुरै भूमिगत संसार बनिसक्थ्यो, हाम्रैपछाडि।

त्यही मुख्य सुरुङबाट सोहनलाल र मैले मिलेर तान्न भ्याएको बोरा परेछ तीन कक्षामा पढ्ने हाम्रै वर्गमित्र गोपाल दाइको। आ-आफ्ना बोरा छेउमा पट्याइवरि राखेर ती दाइको बोरामा गजधम्म बसेर आठ एकान आठ गर्दै नै थियौँ, उनी आएर हामीलाई छ छक्के छत्तिस नगर्दासम्मै। पछि थाहा भयो, पारिपट्टि देवकी गुरुमाले ‘राम इज अ गुड ब्वाइ’ लेख्‍न नआएकोमा औँलाका बिचमा बाँसको सिर्कनो हालेर तिरिमिरी झ्याँई बनाउनु भएको रहेछ, हामीतिर आएर ‘ब्याड ब्वाइ’ बनिहाले।

तर हामी रोएनौँ। हाँसी हाँसी लात सह्यौँ।
त्यो सोहनलालसंगै म पनि थेत्तरो जो भैसकेको थिएँ।
'जौँ तेरोमा। आज त गुलगुल्ला खिलाउछस् नि हैन?' बोरा चोर्नमा मद्दत गरेकोमा सोहनलाल खुसी भएर उसको दोकानमा बेच्न राखेको गुलगुल्ला आधा भए पनि कसो नदेला त!
*
मेरो र सोहनलालको भेट एउटा काकताली नै थियो।
*

सात सालदेखि सत्र सालसम्मै सत्रौँपटक ‘काङ्ग्रेस’ लागेर आजित भएपछि मधेस झरेको मेरा हजुरबाको परिवारले सस्तो जमिनकै कारणले होला, झापालाई नै आफ्नो नयाँ थातथलो बनायो। कतै नम्बरी त कतै वन फँडानी गरेका ऐलानी, जे होस्, जस्तो होस्, बस ‘जग्गाजोड अभियान’ चलाउनुभयो, हजुरबाले पनि। बनियानी, राजगढ, चकचकी, बालुबाडी अनि अरु पनि बाह्र-सत्ताइस गाउँतिर गरेर दुखमसुखम बर्षभरि खानपुग्ने खेत जोडेर भद्रपुरमा एउटा टाँडेघर पनि बनाउन भ्याउनु भएको थियो, म जन्मिनु भन्दा निकै अगाडि नै। अझ ब्राम्हण खलकको जन्मले स्व:त दिएको साक्षरताले अड्डा-अदालततिरको विचारीसमेत बन्नु भयो। निश्चित थियो, त्यसैले त हजुरबाले उपनाम पनि पाइहाल्नु भयो। विचारी बा। बुबा जिल्ला पंचायतको सानो जागिरे, कहिले खोटाङ त कहिले इलामतिर पुग्नु हुन्थ्यो। खोटाङको दिक्तेलमा जन्मिएर तीन बर्षको हुँदै पढ्नलाई भद्रपुर झरेको म चार पुगेपछिमात्र बल्ल स्कुल जान लायक भएँ।

सुरुमा त जगन्नाथ मिलछेउ भरखर-भरखर खुलेको विदेशी स्कुल, ‘आनन्दमार्गी’मा कक्षा एकमा भर्ना भइयो।

एघार-बाह्र सालतिर भारतको जमालपुरबाट सुरु भई मुख्यतया पश्चिम बंगालमा हुर्केर एउटा धार्मिक विचारधारा सुरु भएको रहेछ, आनन्दमार्ग भन्ने। पश्चिम बंगालको छिमेकी सहर भएर होला, आनन्दमार्गीहरूले आफ्नो विचारधाराको प्रचारप्रसारका लागि नेपालमा पहिलो स्कुल भद्रपुरमा खोले। आँप र रुखकटहरको बगैँचाबिच हरियो टिनको छाना भएको एकतले राम्रो घर- भद्रपुरको आनन्दमार्गी स्कुलमा भद्रपुरका सबै भुराभुरी ओइरिए। जगन्नाथ मिल वरपरका मात्र नभएर संगम, लालमाटी, भानुनगर, जनताचोक आनि बजारैसम्मका चार बर्षमाथि आठ बर्षसम्मका केटाकेटीहरू तछाँडमछाँड गर्दै शिशुदेखि तीनसम्ममा भर्ना भए। विदेशीले खोलेको स्कुल भएरमात्र त्यस्तो भएको थिएन। मुख्य आकर्षण चैँ दिउँसो खान दिने दुध, खिर, मिठाईजस्ता खाना नै थियो। हामी हन्तकालेहरू पनि मस्तिष्कमा कलाकन्द या सन्देश राखेरै आचार्यले भनेको ‘आत्मामोक्षार्तम जगद्धिताया’ भट्याइदिन्थ्यौँ। त्यतिमात्रै कहाँ हो र, आसन, मुद्रा, बन्ध, योग, सम्भूति, महासम्भूति, ध्यान, चक्र, तत्व, प्राणायाम आदि-ईत्यादि कुराहरू सारतत्व नजानिकनै भन्न चाहिँ सक्ने भइसकेका थियौँ। हरेक कोठाका भित्तामा कुनै सरकार थर भएका बंगाली बाबाको फोटो सबैभन्दा माथिल्लो स्थानमा टाँगिएको हुन्थ्यो। ती फोटाका मानिसलाई गुरुहरू बाबा भन्थे अनि हामी साधकलाई श्री श्री आनन्दमुर्ति भन्न लगाउँथे। त्यसको अलिक तल कुनै आचार्य श्रद्धानन्द अवधुत: नामधारी लामो दारी पालेका अर्का फेटावालको फोटो हुन्थ्यो। हरेक गुरुले नाम लिइरहने भएर होला, सबैलाई त्यो नाम कण्ठै थियो। त्यसपछि एउटा लामो फोटो हुन्थ्यो ‘आनन्द शुत्रम्’ भन्ने, जसमा सोह्रवटा बुँदा हुन्थ्यो। हामी एक कक्षाका साधकलाई घोकाएनन्, त्यसैले सुत्रहरू जानेकै थिएनौँ।

हामी त्यो अचम्मको स्कुलमा विद्यार्थी थिएनौँ, साधक थियौँ। हरेक आइतबार राष्ट्रिय गानपछि आचार्यलगाएतका गुरुहरूले ध्यानमन्दिर भन्ने गरेको बिचको ठूलो कोठामा धर्मचक्र सुरु हुन्थ्यो। सबैभन्दा पहिला प्रभात संगीत अनि किर्तनका साथ लतिका मार्मिका:। पार्वतीको नाच भनेर गुरुहरू हामी सब भुराभुरीलाई किर्तनको लयमा पिटी खेलाएजसरी नचाउँथे। त्यस नृत्यपछि केही बेर आँखा चिम्लेर ध्यान गर्ने अनि अन्त्यमा गुरुमन्त्र। पालैपिलो आचार्य र गुरुहरू भुत्लोभाङ नबुझेका हामी केटाकेटीहरूलाई १०-१५ मिनेटजति धर्म के हो, धर्मको रक्षा कसरी गर्नु पर्छ, धर्मका दुश्मन कसरी चिन्ने- यस्तै यस्तै भाषण दिन्थे। त्यसपछि बल्ल हाम्रो मनको कुरा आइपुग्थ्यो।

सदाभन्दा अलिक बिशेष खाना। ध्यानमंदिरको जुटको कार्पेटमा पिँडुलामा कोठे छाप परुन्जेल पलेँटी कसिन्थ्यो र मस्तले बजाइन्थ्यो प्रसाद। यस्तो रमाइलो स्कुलमा पनि एकादशी-एकादशीमा चैँ प्राय विद्यार्थीको टाउको दुख्थ्यो, या छेरपाटी चल्थ्यो। कसैको मामाको बिवाहमा धुलाबारी जानुपरेको हुन्थ्यो त कसैको आमासंग अस्पताल। येनकेन प्रकारेण छुट्टीको बहानाको ताकमा हुन्थ्यौँ हामीसब। कारण प्रस्ट थियो, स्कुलमा हरेक विद्यार्थीले एकादशीमा अनिवार्य बर्त बस्नु पर्ने नियम। झन् आचार्यहरू त औँसी र पूर्णिमामा पनि उपवास बस्थे। अनि त्यो उपवासी औँसी र पूर्णिमामा गुरुहरू आचार्यसंग मिलेर अद्भुत तरिकाले नाच्थे। एउटा खुट्टा उचालेको महादेवको मुर्तिलाई नमस्कार गरेर नाचिने ताण्डव नृत्य साँच्चै नै डरलाग्दै हुन्थ्यो। एकथरि छेउमा ढोल, हार्मोनियम, खैँजडीआदि बजाउँथे र गुरुहरू उफ्री उफ्री नटराज बन्थे। हामी डराएरै तालीको ताल दिन्थ्यौँ।

आँप र रुख कटहरका रुखैरुखले घेरिएको त्यो हरियो टिनको छानो भएको स्कुलमा टाउकामा ठूल्ठूला फेटावाल बंगाली र पंजाबी गुरुहरूबाट आफ्ना संतानले के कस्तो पढ्दैछन्, सायद अविभावकहरूलाई त्यति चासोको बिषय पनि थिएन। हामी क ख पनि सिक्थ्यौँ, ए बी सी डी पनि जान्दैथियौँ अनि धर्मका कुराहरू पनि सिक्दैथियौँ । धर्मको रक्षाका लागि गुरुले तरवार घुमाएको पनि रमाइरमाई हेर्दै थियौँ। ताण्डव नृत्यका बेला हरेक गुरुसंग हुने लठ्ठीबाट एक्कासि निस्किने लामो चुप्पीसंग समेत अभ्यस्त हुँदैथियौँ।
सब ठीकै थियो।

अनि एकदिन भद्रपुरे त्यसै बौलाए।
‘त्यो आनन्दमार्गीमा त ती फेटावालहरूले बच्चाहरूलाई तरवार देखाएर तर्साउछन्’।
‘त्यहाँ त कालाजादुले भुराभुरीलाई लठ्याएर एकोहोर्‍याउछन् र पछि बंगालका नक्सलवादी र पाकिस्तानका मुसलमानसंग लड्न पठाउछन्’
‘हाम्रो किस्ने लडेछ अनि उसको औँलाबाट आएको रगत त त्यसको सरले मुखैले चुसेछ। तिनीहरू त पक्का तान्त्रिक हुन्’
‘फेटा त झुक्याउन ला’का रैछन्। वास्तवमा त अघोरी बाबा बनाउने चाल पो गरेका रै’छन्’
भद्रपुर भिड बन्न बेर लागेन। हामी मध्ये केही विद्यार्थी नै त्यो भिडका साक्षी बनिदियौँ। भिडका अगुवाहरूले निर्णय गरे, ‘त्यस्ता तान्त्रिकहरूकोमा बच्चा पनि पढाइदैन, भद्रपुरमा बस्न पनि दिइँदैन’।

भोलिपल्ट धर्मसभा सकिनेबित्तिकै जगन्नाथ मिलतिरबाट भद्रपुरेको हुल स्कुलतिर आयो। अलिअलि गाइँगुइँ सुनेर होला, आचार्य केही दिनअगाडि नै सिलिगुडीतिर गएका थिए। स्कुलतिर बढ्दै गरेको भिड देखेर गुरुहरू डराएर घोडामारातिर भागे। हामी भुराभुरी बरण्डामा निस्कियौँ, तमासा हेर्ने बालसुलभ ईच्छाका साथ।

तीन-चारजना दाइहरूको अगुवाईमा भिड स्कुल पस्यो। स्कुलका कोठाबाट जसले जे भेट्यो च्यातचुत, भाँचभुँच पारेर बाहिर फाल्न थाले। एउटा सिकुटे मान्छे म उभिएको ठाउँको छेवैमा आएर आचार्यको कोठाको ढोकामा लात्ता बजाउन थाले। अरुहरू पनि मिसिए र ढोका फोरे। हुल भित्र छिरेर भएभरका सामानहरू बाहिर हुर्‍याउन थाल्यो। ‘ढोकाफोड’ युवकले सरकार गुरुको फोटो आँगनतिर फालिदिए। हिजोसम्म रमाइरमाई पढेको स्कुलमा ब्रह्मलुट मचाउन हामी साधकहरू पनि के कम थियौँ र। अलिक ठूला कक्षाका साधकहरू कसैले ‘आनन्द शुत्र’ च्याते त कसैले खैँजडी भाँचे, कसैले ग्लोबलाई भकुण्डो खेले त कसैले भकुण्डोलाई आफ्नै घरतिरको बाटो देखाए। हामी सानाहरू चाहिँ तमासैमा मख्ख पर्‍यौँ। त्यसैबेला ती ख्याउटे नेता आचार्यको कोठाबाट बाहिर निस्किए। दाहिने हातमा नटराजको मुर्ति लिएर बाहिरिएका तिनलाई देखेर म चिच्याएँ।
“हाम्रो ताण्डव भगवान!”
नेता दाइले अलिक चकित हुँदै मलाई हेरे। रिसाए। पहिला त हातको नटराजलाई बेस्मारी रुखकटहरको बोटतिर हुर्‍याए अनि मलाई कस्सिएर एक लात्ता जमाए। हाम्रा नटराज आकासमार्गबाट र म ढुन्मुनिँदै स्थलमार्गबाट करिव करिव एकै ठाउँमा पुगेछौँ। रुखकटहरको फेदको गिलो भुइँबाट म उठ्दा भुइँमै पिँडुलाको छाप परेछ, स-साना कोठाहरू परेका। माथि हाँगामा उल्टो परेर बिस्तारै हल्लिरहेका नटराजलाई हेरेर म बिदा भएँ।

भोलिपल्टदेखि झापामा प्रचारको पहिलो अभियानस्वरुप खुलेको आनन्दमार्गी स्कुल बन्द भयो। रहलपहल फेटावालाहरूलाई भद्रपुरले खोजिखोजी लखेट्यो। हामीलाई पनि तीन-चार महिना स्कुलै जानु परेन। दिउँसो फोकटमा खान पाइने दुध, खीर, हलुवा र अरु मीठाईहरूले समय समयमा थकथक्याउदै थिए। अजिँगरको आहार दैवले पुर्‍याउँछ भनेजसरी नै श्री ५ को सरकारले त बालमंदिर पो खोल्दियो, आनन्दमार्गी स्कुलमा।

फेरि दिउँसोको खाजाको लोभमा हामी बालमंदिर जाने भयौँ। तर त्यहाँ एक कक्षा थिएन। खालि शिशुमात्र। आमाले म र दिदी दुवैलाई घटुवा गरिदिनुभयो। खीर खान हामी पनि बिना कचकच त्यै शिशु कक्षामा भर्ना भयौँ। आमाहरू दंग पर्ने कारण अर्को पनि पो रहेछ। दश बर्षमुनिको एउटा बच्चा बराबर महिनाको एकपटक एक किलो पाउडर दुध समेत बाँड्नेरहेछ, हाम्रो बालमंदिरले। दिदी र म- आमाले नै दुई किलो पाउडर दुध पाउने हुनुभयो। अरुहरूले पनि सके आफ्ना, नसके अरुका बच्चालाईसमेत आफ्ना बनाएर दुध लिने अक्कल लगाए। म पनि आफ्नी आमाको छोरामात्रै भइन, शान्ता दिदीको एउटै छोरो अनि जमुना काकीको माइलो छोरो पनि बन्दिएँ।

त्यस्तो ब्रम्हलुटमा दुध बाँडने काम के टिक्थ्यो र ! एक बर्षैमा ‘पाउडर दुध युग’ सकियो। दुध नपाउने भएपछि पाँच बर्ष पुगिसकेको कान्छोलाई कसले बालमंदिर पढाइराख्छ र?
यसरी थरिथरिका स्कुल चहारेपछि म तीन नंबर स्कुलमा भर्ना भएँ।
कक्षा: एक
रोल नंबर: छब्बीस।
*

Wednesday, April 4, 2018

भूमिपुत्र

10:33 PM 7


हरेकपटक स्कुलमा लामो बिदा हुनेबित्तिकै हामी मावलको मेजमानी खान भद्रपुरबाट चार कोस पश्चिमको राजगढतिर लाग्थ्यौँ । बेलुकाको खाना खाइसकेपछि हामी भुराभुरी हजुरबाको वरिपरि झुम्मिन्थ्यौ । गर्मीका रात माथि बार्दलीमा जमघट हुन्थ्यो । हाम्रा हजुरबा टिनको छानामा कराइरहेको झरीलाई पनि जित्‍ने स्वर निकालेर हामीलाई कथा भनिदिनुहुन्थ्यो । उहाँको धाराप्रवाह कथावाचनलाई बेलामौकामा मच्छड मार्दाको प्याट्ट प्याट्टले मात्र अल्मल्याउँथ्यो । जाडोको छुट्टीका बेला भने केटाकेटीहरूको बढदो उत्सुकताबाट हौसिएर हजुरबा आँगनमा सालको आँख्ला परेको गिँडमा जिउँदै रहेको आगोको बिउलाई ससाना झिक्रा र घुर मिसाएर बिउँताउनु हुन्थ्यो, फूऽऽऽ फूऽऽऽऽ । सालका जरा र घुर मिसिएर पुत्पुताउँदै गरेको धुँवातल दुई-चारपटक जोडले फुकेपछि  सानो ज्वालो देखिन्थ्यो । अनि ‘सिउऽ सिउऽ‘ गर्दै त्यही मरन्च्याँसे ज्वालामा एकछिन हात सेकेपछि हजुरबा सन्तुष्ट देखिनु हुन्थ्यो । केही सुकेका झिक्रा थपथाप गर्दै हामीलाई कथा सुनाउन लेघ्रो तान्नुहुन्थ्यो ।

वर्षौँसम्म हिउँद-बर्खै सुनाउँदा पनि हजुरबाको कथाभण्डार रित्तिँदैनथ्यो । एउटा कथा चाहिँ पटक-पटक दोहोरिए पनि हजुरबाको कथा भन्ने शैली र हरेकपटक केही थपथाप गर्ने बानीले गर्दा हामी पनि त्यो पहिल्यै सुनेको कथा पनि नयाँ मानेरै सुनिदिन्थ्यौँ, बडो चाखले ।

अँऽऽऽऽऽ !
उहिले उहिले उहिले, द्वापरयुग सकिनेबित्तिकै भारतबर्षको गंगातटको मैदानको कुनै गाउँमा जन्मे-हुर्केका एकजना ज्ञानी पुरुषलाई कलियुगका बारेमा गहन अध्ययन गर्न मन लागेछ । उनी हिमालय पर्वतमा गएर अध्ययन र चिन्तन मनन गर्न भनेर मुनिभेषमा उत्तर दिशातर्फ लागेछन् । जाँदा जाँदा जाँदा एकदिन एउटा नदी पहाडको खोँचबाट निस्किएको ठाउँमा आइपुगेछन् । नदीको कलकल, दुवैतिरका घना जंगल अनि फलफूल र कन्दमूलको त भण्डारैजस्तो त्यो ठाउँ ती मुनिलाई निकै नै रमणीय लागेछ । अनि उनी केही दिनका लागि त्यसै नदीको पश्चिमी तटनजिकै एउटा कुटी बनाएर बसेछन् । उनी अधिकांश समय ध्यान, पूजापाठ र भक्तिमै दिन बिताउँदा रहेछन् । त्यस्ता ज्ञानी मान्छेलाई गुरु थापेर शिक्षा लियो भने यो इहमात्रै होइन, परलोकै समेत सुध्रिन्छ भन्ने हल्ला चारैतिर फैलिएछ । त्यसैले वर परका मान्छे शिष्य बन्न आउन थालेछन् ।

ती मुनि बेलाबेलामा भने उनी अनौठा अनौठा प्रयोग गर्ने र त्यसबाट आफूले थाहा पाएका कुरा भोजपत्रमा लेख्ने काम पनि गर्न थालेछन् । एकदिन ती महात्माले आफ्ना शिष्यहरूलाई नदीको किनारामा एउटा ठूलो खोर बनाउन लगाएछन्, बीचमा एउटा काठको सिँढी समेत हालीवरी । छेवैको रूखको सियालमा आफू बस्ने व्यवस्था गरेर शिष्यहरूलाई अह्राएछन्, ‘जाओ, उताको जंगलबाट एक हुल बाँदरहरू समातेर ल्याओ !’
शिष्यहरूले पनि आज्ञा शिरोपर गरेछन् । मुनिले बाँदरहरू ल्याइनु पूर्व नै खोरको छतमा एकघरी केरा पनि बाँध्न लगाएछन्, सिँडी चढेर भेटिने ठाउँमै । शिष्यहरूले पनि जंगलबाट पाएसम्मका जात-जातका खोजेर बाह्र-पन्ध्रवटा बाँदरहरू ल्याइपुर्‍याएछन् । मुनिले तीमध्ये दशवटालाई छानेर खोरमा थुन्न लगाएछन् र बाँकीलाई जंगलमै छाड्न लगाएछन् । अनि त शिष्यहरूलाई ‘यसो यसो गर्नु है’ भनेर अह्राईवरि उनी ती बाँदरहरूको गतिविधिको विवरण लेख्‍न बसेछन् ।

केही क्षणपछि एउटा बाँदरले छतको केरा देखेछ । स्वाभाविक कुरो थियो, देखेपछि त्यो बाँदर केराको लोभमा सिँडी चड्नु । त्यसपछि त मुनिका शिष्यहरूले तुरुन्तै पिँजडाभित्रका सबै बाँदरहरूलाई ठिहिर्‍याउने चिसो पानी छ्याप्न थालेछन् । बाँदर एकैठाउँ भेला भएछन् । सिँढी चड्दै गरेको बाँदर पनि लुगलुग काम्दै बथानमा मिसिएछ । केहीबेरपछि अर्कालाई पनि केरा खान मन लागेछ । तर ऊ पनि सिँढीको खुड्किलो उक्लिन के  खोजेको थियो फेरि सबैलाई चिसो पानीले निथ्रुकै पारिएछ । एवं रितले चार- पाँच पटक भिजेपछि उनीहरूले बुझेछन्।
‘केराको लोभ गरेर  जसले सिँढी चढ्न खोजे पनि सबैले दु:ख पाउँदा रहेछन् ।’

अनि उनीहरू सिँढी चढ्नु त परै जावस्, त्यतातिर हेर्न पनि छाडेछन् ।
मुनि लेख्दै गएछन् । विचार गर्दै गएछन् ।
‘जाओ, फेरि त्यो पारिको वनबाट एउटा बाँदर पक्रेर यहाँ हुलिदेओ अनि एउटा पुरानोलाई यतापट्टीको जंगलमा छाडिदेओ !’ उनले अर्को आदेश दिएछन् ।

शिष्यहरूले फेरि पनि पहिले जसरी नै आज्ञा शिरोपर गरेछन् र पिँजडाको छेउमा चिसो पानीको भाँडो लिएर बसेछन् ।

अब त्यो नयाँ बाँदरले पनि केरा देखेछ । उसलाई पनि केरा खान मन लाग्नु स्वाभाविक नै थियो । ऊ पनि सिँडी समात्‍न पुगेछ । तर अचम्म ! उसलाई नौवटै बाँदरले झम्टेर सिँडीबाट तानेछन् । लछारपछार पारेछन् । पिटेछन् । चिथोरेछन् । नयाँ बाँदर रनभुल्ल परेछ । आफूलाई त्यस्तो गरिंदैछ भन्ने उसले बुझ्नै सकेनछ । केहीबेर सुस्ताए पछि उसले विस्तारै कहिले अरू बाँदरतिर त कहिले केराको घरीतिर हेरेछ । लोभले फेरि जितेछ र ऊ फेरि सिँडीतिर लम्किएछ ।
तर उसले फेरि पनि गोदाइ नै खाएछ र केरा खान पाएनछ । एवं रितले दुई-चारपटकको भकुराइपछि बल्ल चेतेछ ।
‘सिँडीतिर गइयो भने बर्बाद हुन्छ ।’
त्यो अद्‍भुत प्रयोगको अभिलेख लेखिरेहका ऋषीले शिष्यहरूलाई फेरि अह्राएछन्, ‘फेरि एउटा पुरानो बाँदरलाई पश्चिमतिर छाडेर नदी पारिबाट नयाँ बाँदरलाई पक्रेर ल्याएर पहिला जसरी नै थुन ।’

शिष्यहरूले गुरुले भने बमोजिम नै गरेछन् । नयाँ बाँदर पनि केरा देखेपछि लोभिएछ । अनि सिँडीतिर लम्किएछ । पुराना आठवटै बाँदर झम्टिएछन् । नवौँ, अर्थात् ऊभन्दा अगाडि ल्याइएको बाँदर शुरुमा त अलि अलमलिएर अरू आठवटाले नयाँ बाँदरलाई पिटेको हेरिरहेछ ।
अनि अचम्मसित ऊ पनि हुलमा मिसिएर त्यो सिँडीतिर लम्किने  नयाँ बाँदरलाई कुट्न थालेछ । उसलाई केरा खान खोज्दा पहिलो, दोस्रो बाँदरले कुटाइ खाएको प्रसङ्ग थाहा थिएन । आफूले किन कुटाइ खाएँ र यो नयाँले किन कुटाइ खाँदैछ भन्ने पनि थाहा थिएन । तर पनि उसले पनि नयाँ बाँदरलाई पिटेछ । 
मुनि मुसुक्क मुस्कुराएछन् । फेरि भोजपत्रमा केही लेखेछन् र उसैगरी शिष्यहरूलाई अह्राएछन्, ‘पुरानो एउटालाई पश्चिमतिर छाडेर पूर्वबाट नयाँ ल्याएर थुन्नू !’
यही प्रयोगलाई फेरि फेरि दोहोर्‍याउँदै बिस्तारै त्यस खोरबाट पुराना सबै बाँदरहरू अर्कै जंगलमा पुर्‍याइएछन् । पिँजडामा नयाँ बाँदरहरू मात्र बाँकी भएछन् । ती मध्ये कुनैले पनि ठिहिर्‍याउने पानीमा भिज्नुपरेको थिएन । कसैलाई पनि थाहा थिएन, एउटाको केरा खाने लोभले सबैलाई कसरी सताउँछ भन्ने ।

तर पनि कुनै बाँदर सिँडी चढ्न लम्कियो कि बाँकी सबै मिलेर त्यसलाई भकुर्न थालेछन् । मुनि यो देखेर दङ्ग परेछन् । उनले मन्द मन्द हाँस्दै भोजपत्रमा लेख्‍ने काम सकेछन् । आसनबाट उठेर नदीसम्म गएछन् । बगर मा उम्रिएको एउटा सिरुको पात टिपेछन् । अलिक मधुरो स्वरमा मन्त्रोच्चारण गरेर त्यो पात नदीतिर हुर्र्याएका मात्र के थिए, नदीमाथि डोरीको पुल बनेछ। अनि फर्केर बाँदरहरूलाई पनि त्यसैगरी मन्त्रिएर खोरको ढोका खोलिदिएछन् । बाँदरहरू सम्मोहितजस्तै भएर खुरुखुरु नदीतिर लागेर डोरीमा झुण्डिएछन् । शिष्यहरू पनि गुरुको चमत्कार देखेर दङ्ग परेछन् ।

अझ ठूलो चमत्कार त बाँकी नै रहेछ । जसै ती बाँदरहरू नदीमाथि डोरीमा झुण्डिएर नदीको पल्लो किनारातिर पुग्न थाले उनीहरूको पुच्छर पनि फुतुफुतु खसेछ । झन् किनारैमा पुग्दा त शरीरका रौँ पनि खस्न थालेछ । अन्तिम बाँदर पारि पुग्नेबित्तिकै उनीहरू तरेको डोरीपनि उनीहरूको पुच्छर जसरी नै हराएछ ।

अनि ती बाँदरहरू मानिसका रूपमा विकसित भएछन् । ती मुनीले पनि भोजपत्रमै एउटा शोधग्रन्थ तयार पारेछन् । स्वाभाविक थियो, कालान्तरमा त्यो नदीको पूर्वपट्टिको देश तिनै मुनीको नामबाट चिनिन थालेछ ।

**

Thursday, March 29, 2018

Redemption of Hippie trail

10:52 PM 2



The United States and Australia already legalized Marijuana. Some of the National newspapers are deliberately raising the issue and putting a pressure on government to legalize it here in Nepal also. Every fortnight there are either interviews of some Aurvedic professors talking about medicinal values of Marijuana or wise souls giving the data on how many patents we lost as they were already registered by westerners or even some botanists giving us knowledge on better quality of highland weeds with their scientific names and shapes.

Cannabis sativa. Cannabis landraces. Cannabis indica. Cannabis Nepalese. Cannabis Nepalese dragon.

I still remembered my childhood classmate, Sohanlal. In dew seasons, right after Dashain and Tihar, I usually witnessed him running through his father’s farm in a thin underwear.
‘Don’t repeat the same course! Don’t fall!’ His father constantly shouted while poor chap ran through the thick bushes of sacred and secret crops hidden from the world by vast maize field.
Half an hour would have passed easily and panting for a breath Sohanlal would be standing by his father. Uncle would have used his blunt knife to extract as much the resin from his son’s skin as possible.
‘It is expensive. You know hippies? They like it so much.’ Whipping red spots in his skin with local butter he would have explained me later. Though we both were unaware of the product and its effect we enjoyed our naive conversations. Probably few more coins what he pocketed were enough to buy us more Singadas! Or rather marbles!

And now, it seems that in no time Nepal will legalize Marijuana.

Once grass will be legal, how can running a naked boy in that grassland will be illegal?

So, Uncle will be here.

Sohanlal will be here.

Grass will be here.

Cannabis resin will be here.

Hash will be here.

Overland trail was just tested by outgoing German Ambassador.

Jhonchhe is still called Freak Street.

Monkey temple is still a popular habitat for primates.

Why Hippie era not to revamp?

************

Tuesday, March 20, 2018

वर्जित विचार

8:43 PM 2



म मरेर बाँचेको रे। आमा सुनाउनु हुन्थ्यो सात-आठ महिनाको वहाँको कान्छो छोरो झाडापखालाले अब आज राति जान्छ भनेर खाटबाट तल मलाई लिएर सुत्‍नु भएको थियो। भोलिपल्ट बिहान म खाटमुनि फेला परेँ रे निस्लोट आँखा अलिक चम्किला भएको। अनि म बाँचे रे। र त्यो बचाइले आमाको प्यारो बनायो। अलिक ठूलो भएपछि त्यही मायामा अलिकति चलखेल गर्न पाएँ। दाइले केही दिनुभएन भने म रुँदै आमाअगाडि पुग्थेँ र दाइले पिट्नु भयो भन्दिन्थेँ। दाइले कुचाले दनक भेट्दा दंग पर्थेँ पनि। सायद एघार-बाह्र बर्षजतिको उमेर पुगेपछि आमालाई अब यो मर्दैन भन्ने पनि भयो वा मेरो अतिरञ्जना आमाले बुझ्‍नथाल्नु भयो। मेरो रुवाइमा दाइले पिटाइ भेट्न छाड्नु भयो र बदलामा अब दाइले स-साना कुरामा पिट्न थाल्नुभयो।

हुन त माथिको सानो कथा लेख्‍दै गर्दा मलाई थाहा छ भरे नै कतिजनाबाट 'थुक्क! तँ त मरेकै भए जाति हुन्थ्यो' भन्ने प्रतिकृया आउने नै छ। तर पनि मनमा लागेका केही कुरा लेख्‍न यो कुथुरी जरुरी ठानेँ र लेखेँ पनि। मन नहुनेले यसभन्दा अगाडि पढेर बेकारमा आफ्नो उर्जा मलाई गाली गर्नमा खर्च गर्नु हुन्न भन्नेमा उहाँहरूको विद्वतालाई ध्यानमा राख्दा अतिसयोक्ति नहोला।

म एक साधारण मान्छे अझ भनौँ मानसिक र शारारिक श्रम गरेर जीविका चलाइरहेको एउटा आम नेपाली। न म आफूलाई विद्वान ठान्दछु न त कहिल्यै त्यसमा दावी नै गरेको छु। म मलाई मनमा लागेका केही कुराहरू हाकाहाकी भन्न रुचाउने स्वभावको भएँ। त्यसमा केही 'नभनेको भए के बिग्रिन्थ्यो' भन्ने लाग्छ पनि तर स्वभाव एकदिनमा नबदलिने रहेछ। अब त आफ्नै स्वभावको पनि आदत लागिसक्यो। हरेक कुरामा तपाईँ जे देख्‍नुहुन्छ, जसरी विश्लेषण गर्नुहुन्छ अर्काले पनि अझ सबैले त्यसरी नै देखुन् वा बुझुन् भन्ने सोच अतिवादी हो भन्ने लाग्दछ र म कुनै पनि आवरणको अतिवादको पक्षपोषण रुचाउन्न।

मधेस आन्दोलन भयो। पहिलो र दोस्रो आन्दोलनका मागमा त्यति विमति थिएन र प्रश्नहरू पनि थिएनन्। मेरा केही अग्रज र मित्रहरू नाकाबन्दीका पक्षमा धर्ना दिन वीरगंज जानुभयो। त्यो वहाँहरूको विचार र धारणा थियो। टिकापुरमा पुलिस मारिए। मलाई गलत लाग्यो। वीरगंजमा आन्दोलनकारी मारिए। मलाई गलत लाग्यो। अनि लाग्यो यो आन्दोलनको मागबारे विचार जरुरी छ। मैले मधेस आन्दोलनका माग, संविधान, राजनीति र राजनीतिक भविष्यबारे आफ्ना विचार राखेँ।

बल्ल थाहा पाएँ यो विचारको निषेध।

म रातारात गालीको पात्र बनेँ। मैले न कसैलाई मेरा विचारका अनुयायी बनाउन चाहेको थिएँ न मेरा कुरामात्र ठीक हुन् भनेर दावी नै गरेको थिएँ। ईतर विचार र प्रश्न सुन्नै नचाहने जमात हामीमाझ छ भन्ने त्यहीबेला जानियो।

मधेस मुद्दासंगै आरक्षणका कुरा स्वभाविकरुपमा आउने नै भए। म प्रष्ट थिएँ कि जातीय र लैङ्गिक आरक्षणले तत् तत् क्षेत्रका ठालुहरूले मात्र 'तर' मार्छन् र पछि परेका/पारिएका वर्गको उत्थान हुन्न। यो बाटोको कुप्रयोगले संसदमा बारम्बार दोहोरिने अनुहार, मधेसी आरक्षणबाट आउने उही जातका मानिस, जनजातिमा नेवारको वर्चस्व र लोकसेवामा लगभग सबै खस-आर्य महिला मलाई सही लागेनन्। आरक्षण जातीय वा लैङ्गिकभन्दा पनि वर्गीय हुनुपर्दछ र जाजरकोटको प्रजिअ रामानन्द झाका छोराले भन्दा उनको आवासमा भात पकाउने कार्यालय सहयोगी चक्र बहादुर शाहीको छोराले आरक्षण पाउनुपर्दछ भन्न धक लागेन न त राष्ट्रपतिको जानकी मंदिर भ्रमणपश्चात गरिएको शुद्धिकरण गलत भन्न।

तर फेरि ईतर विचारलाई आक्रमण गरियो। अनि मधेस मुद्दाभन्दा पनि त्यो मुद्दा उठाउने अगुवाबारे जानी नजानी ममा एउटा धारणाको विकास भयो। मलाई विदेशमा संधै 'तँ भारतीय होस्' भनेरै सोधे। अझ खप्तड वा सोलु वा अन्यतिर पनि घुम्‍न जाँदा भारतीय ठानेर हिन्दीमा होटेलमा सोध्‍नु सामान्य मानियो। अमेरिकी दाइलाई अझ पनि कहाँबाट आएको भनेर सोध्छन् रे। तिब्र प्रतिवाद गर्ने जरुरी ठानिएन र कसैले गरेमा अलिक 'अतिरञ्जित' भयो कि भन्दा ठूलै गल्ति गरिएको ठान्दिन पनि। म 'मोरल पोलिसिङ' गर्ने ठेकेदारी कसैमा छ भन्ने ठान्दिन नै।

अब महिला अधिकारका कुरा।

म घरमा श्रीमतिलाई प्राय भनिरहन्छु, त्यो 'सावधान इण्डिया'जस्तो कार्यक्रम नहेर। सावधानी अपनाउनु एउटा कुरा हो, अपनाउनु पनि पर्छ नै। तर यो कार्यक्रम हेर्‍यो भने तिमी डरले मर्छ्यौ। गेट खोलेर मार्न आउलान् कि, बाटोमा छेउमा कुदिरहेको मारुति भ्यानको ढोका खोलेर अपहरण गर्लान् कि, पानीमा बिष हालेको छ कि..... के के मा डराउने? छोरीलाई त अझ परिपक्व नहुँदासम्म दिनहुँ छापामा आउने हत्या, बलात्कार र हिंसाका कुरा पनि त्यत्ति नपढ भन्छु। हो! समाजमा त्यस्ता कुत्सित मानसिकताका मानिसहरू पनि छन् तर 'कम' छन् र त बस्‍न योग्य छ। दिनहुँ त्यही कुरा मनमा लिएर मेरी छोरीले बाटामा हिंड्ने हरेक लोग्‍नेमानिसलाई देख्‍नेबित्तिकै उनको मनमा संभाव्य बलात्कारीको छवि नबनोस् अनि माइक्रोको छेउमा बस्‍ने हरेक पुरुषको काम नै तिघ्रा चिमोट्ने हो भन्ने विचार लिएर यो समाजमा नआओस् भन्ने अदम्य चाहना छ। त्यस्तै हजुरबाका पालामा हजुरआमा भुइँमा गलैचामा सुत्‍नु हुन्थ्यो भनेर आफ्नो श्रीमानलाई महिनाका चारदिन भुइँमा सुत्‍न बाध्य पार्ने चैँ नबनोस् भन्ने पनि त्यत्तिकै चाहना छ।

मेरा एक मित्र सदा भन्नुहुन्छ, तपाईँ र म त छोरीका बाउ, कसरी महिलाविरोधी हुन सक्छौँ र? चाहेर पनि सक्दैनौँ नि। हो पनि। म मेरी छोरीले यो देशमा सबै सुख पाउन् र कुनै पनि रुपको भेदभाव देख्‍नु-भोग्‍नु नपरोस् भन्ने चाहन्न र? म छुवाछुतको विरोधी हुँ र रजस्वलामा पूजाकोठासमेत बन्देज लगाउन्न पनि। मैले मेरी दिदीलाई कहिल्यै सोध्‍ने आँट गरिन, 'यदि आमा-बुबाले तिमीलाई पनि डाक्टर, इन्जिनियर वा वकिल बनाउने सपना देखाउनु भएको भए तिमी राम्ररी पढ्थ्यौ कि नाई?' तर त्यो नसोधिएको प्रश्न मेरी छोरीलाई 'तिमी जे बन्न मन छ बन, म छु' भन्ने रुपमा मनबाट निस्किएको छ।

एकपटक कुनै व्यङ्ग चित्रकारले हाम्रा मेयरको महिला वस्त्र लगाएको कार्टुन बनाए। कार्टुन किन बनाए त्यो उनै जानुन्। कोरिया वा अमेरिकाका शासकका त्यस्ता आवरणका कार्टुन पहिला पनि देखिएकै हो र कपिल शर्माले पुरुषलाई महिला बनाएर मजाक उडाएकामा हाँस्‍ने जमात ठूलो छ भनेर जानेको पनि निकै भयो। हो, काम गर्न नसक्ने त नामर्द त हुन् नि र हामी नामर्द हौँ भनेर कतै कुनै महिलाले लेख्‍नु भयो। मैले पढे-जानेअनुसार काम गर्न नसक्ने, लडाइँमा भाग्‍ने पुरुषलाई तँ लाछी, तँ नपुँसक भनेर चुरा वा सारी पठाइन्थ्यो रे। त्यसो गरेर उसलाई महिला भइस् भनेको भन्दा पनि तँ किन्नर (यो शब्द अझसम्म पोलिटिकल इन्करेक्ट भएको जानकारी भएन) भइस् भनेको रे। पुरुषले महिलाको पहिरन लगाए ऊ तेस्रोलिङ्गी (सायद यसै भनिन्छ होला, यसमा मेरो जानकारी कम भएकाले सम्बद्ध पक्षमा पर्न जाने अपमानका लागि क्षमा माग्दछु) हुन्छ न कि महिला। नामर्द भनेको किन्नर भइस् भनेर गाली गरेको हो न कि महिला र यो मुद्दा अब महिला अधिकारवादीले भन्दा पनि किन्नर अधिकारवादीले उठाउनु पर्दछ र यसमा उनीहरूको आपत्ति जायज छ भनेर लेखेको थिएँ। के किन्नर र महिला फरक हैनन् र? त्यसरी काम गर्न नसक्ने भनेर कुनै पुरुषलाई तेस्रोलिङ्गी बनाइएकामा आपत्ति उनीहरूबाटै आओस् न कि 'नबनाइएका' महिला बनाइयो भन्दै महिला अधिकारवादीबाट भन्नु कताबाट गलत थियो, आजसम्म बुझेको छुइन। फरक विचार हुन पाउँछ र मन नपरेका कुरा पढ्नै पर्छ भन्ने पनि नहोला। तर किन हो, एकजना स्वनामधन्य महिला अधिकारवादी महिलाले घृणाको थुक मुखैमा थुक्नु भयो, छेउछाउमा थुक्ने सेनामेना त कति कति। चिकित्सक, बाहुन र पुरुष हुनुमा सायद त्यति गाली अझसम्म कसैले गरेका थिएनन्।

म त्यस दिनदेखि घटिया मानिसमा घटुवा भएँ।

फेरि केही दिनदेखि सञ्जालमा अर्को समाचार देखियो। नेपालगंजतिर कुनै महिला अधिकारको लडाइँमा पीडित छिन्। म पनि चाहन्छु कि उनले न्याय पाउन्। राम्रो होस् र फेरि यस्तो कहिल्यै पढ्नु नपरोस्। बस्, त्यहाँ लेखिएको 'बच्चालाई एक कक्षामा भर्ना गराउन धेरै स्कुल चहारेँ। .....। बाबुको फोटो टाँस्‍नै पर्ने रहेछ।' आसयका वाक्य मेरालागि नितान्त नौलो र अझ नेपालको कानूनअनुसार त पुरै अवैध थियो यो प्रावधान। आफ्नै घर सम्झिएँ। अहँ! मेरा बाको अनि मेरो फोटो टाँस्‍नु परेन। साथीभाइलाई सोधिहेरेँ, अहँ, उनीहरूले काठमाण्डौँमा पनि टाँसेनछन्। अनि नेपालगंजका सरकारी तथा निजी? सबैमा? सोधेजतिमा पर्दैन रहेछ। काठमाण्डौँमा पर्दैन अनि नेपालगंजमा पनि पर्दैन। कताका 'सबै' स्कुल हो थाहा भएन तर ती कतैका पनि होइनन् कि भन्ने लाग्यो नै। यो कुरा चैँ अलिक अतिरञ्जित, हावादारी वा बकम्फुसे भएन? यो फोटाको कुरा नलेख्‍दा के बिग्रिन्थ्यो होला? जायज मागमा यस्ता फुर्का जोड्दा के फाइदा हुन्छ, बरु जायज मागहरू नै ओझलमा पर्छन् कि भनेर सोधियो। दोस्रोपटक गल्ति गरियो। यसरी सोध्दा आकासै खस्दो रहेछ। जानिएन। यो त विल्कुल वर्जित प्रश्न रहेछ। जानिएन। र समवेदनाहीन, मुटुहीन, .... के के भइएन। फगत फोटा राख्‍ने प्रावधान छ त भनेर सोध्दा।

हालैको आक्रमण पुःन त्यही समूहबाट भयो। 'बाहुन पुरुष'ले यसभन्दा बाहेक के जान्दछ र भनेर गाली गर्नेहरूमा मभन्दा जान्ने बाहुन पुरुष पनि थिए। महिला र अन्यहरू नहुने त कुरै थिएन। आफ्ना कुरा र गाली सकिएपछि वा विवादमा अलिक कमजोर देखिएपछि सदाबहार अस्त्रजस्तै रहेछ यो शव्दावली पनि। अन्त्यमा काठमाण्डौँको भारतीय स्कुलको फारममा बाबुको फोटो लेखेको पन्नाले कुरा सकाइयो र भनियो, बहस समाप्त। त्यो फारममा फोटो नराख्दा नेपाली कानूनअनुसार भर्ना नलिँदोरहेछ भनेर सोध्‍न पनि पाइएन त्यो बहस समाप्तको नोटिसले। अनि काठमाण्डौँका अरु स्कुलमा पनि त्यस्तै छ भनेर सोध्‍ने हैसियत झन् समाप्त पारियो।

जायज मागका बिच यस्ता फुर्का जोड्नाले के फाइदा हुन्छ, बरु जायज कुराहरू ओझलमा पर्दछन् कि?' भनेर सोध्‍दा वा विचार राख्‍दा आकास खस्छ? सोध्‍नै नमिल्ने प्रश्न हो यो?

मेरा दुवैपटकका मूल प्रश्नका जवाफ कसैले दिएनन्। कोही म कहाँ गलत छु भन्न बताउन आएनन्। आए त बस् मलाई महिलाविरोधी परपीडकको लेबल लगाइदिएर थुक्न आए। सायद म यो कुरा बुझाउन सकिरहेको छुइन कि मेरो बालापनको अतिरञ्जनाले भविष्यमा मलाई नै पीडा दिएको थियो। हरेक आक्रमणले एकखालको वितृष्णा जन्माउने रहेछ र समभाव राख्‍ने तर प्रश्न गर्न पनि चाहने एउटा सानो तप्कालाई अधिकारका अगुवाहरूबाट टाढा लैजाने रहेछ। (यहाँ फेरि दोहोर्‍याउँ, अधिकारका अगुवाबाट भनेको छु, अधिकार चाहिने तप्काका मानिसबाट चैँ हैन नि)।

तपाईँहरू आफ्नाइतर विचार बोकेका सलमान रुसदी वा तसलिमा नसरिनलाई फतवा जारी गर्ने आतङ्ककारीभन्दा कसरी फरक हुनुहुन्छ? वा तपाईँ कतै आफूलाई मन नपरेका प्रश्नलाई मौत का घाट उतारिदिन चाहने विजेपीका तथाकथित गोरक्षक त बन्दै गइरहनु भएको छैन? मलाई डर यत्तिमा लागेको हो। यो डर यति गाढा भइसक्यो कि चुप बस्‍न स्रेयकर देखिंसकेँ। मणि भाइको ट्विट दिमागमा राखेर लेख्दैछु कि यो इतर विचार निषेधको क्लबले मेरो मुल्याङ्कन गलत र फगत गलतमात्र गर्नेछ। नो इन्ट्री मिन्स नो इन्ट्री!

मित्र, समवेदना मुटुमा हुन्न, मगजमा हुन्छ अनि गहिरो लेपभित्र मगजमा फोहोर थुपारेर कृतिम 'अच्छा' बन्न सजिलो छ न कि सबै फोहोर सफा गरेर 'औसत' बन्न। यहाँको विचारलाई वर्जित गर्ने न त मेरो विचार छ न त लड्न तम्तयार सेना नै!